बिर्तामोडका मेयरको दाबी : कुन सही, कुन गलत ? | Khabarhub Khabarhub

बिर्तामोडका मेयरको दाबी : कुन सही, कुन गलत ?



काठमाडौँ– झापाको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले स्थानीय सूर्योदय टेलिभिजनमा गत जेठ १९ गते दिएको अन्तर्वार्तामा नगरवासीहरूले सोधेका प्रश्नको उत्तर दिएका छन्। अन्तर्वार्तामा उनले कोभिड-१९ महामारीसँग जुझ्न नगरपालिकाले गरेका कामका बारेमा बताएका छन्। उक्त कोरोना विशेष कार्यक्रममा ती कामका सन्दर्भमा उनले गरेका दाबी सामाजिक सञ्जालमा भाइरल भएका छन् । करिब १ घण्टाको अन्तर्वार्तामा उनले गरेका केही दाबीको हामीले तथ्यजाँच गरेका छौँ ।

. मेरो कोरोनाको ‌औषधि यही हो भन्दै उनले एउटा पोको देखाएका छन् । यसबीचमा आफै समेत सङ्क्रमित भएका उनले तीनवटा कपुर, चारवटा लसुन र आधा चम्चा ज्वानो कोभिडको ‍औषधि भएको दाबी गरेका छन्। उनको भनाइ छ, “यसले पाँच दिनसम्म सुँघ्नपर्छ । एउटा नाक बन्द गरेर अर्को नाकको प्वालले सुँघ्ने र पालैपालो गर्नाले यसको छेउमा भाइरस आउँदैन ।”

साउथ एसिया चेकले यससम्बन्धी तथ्यजाँच यसअघि पनि गरेको जनाएको छ । उक्त सामग्रीमा कपुरले रुघा लागेमा नाक खोल्न मद्दत गर्ने, ल्वाङले कफलाई सुकाउने र ज्वानो समेत विभिन्न औषधिमा मिसाइने भएकाले श्वासप्रश्वासलाई सजिलो गराउने उल्लेख छ। तर अक्सिजन लेभल बढाउँछ भन्ने कुनै प्रमाण देखिएको छैन । सो सामग्री पूरा पढ्न यहाँ क्लिक गर्नुहोस् ।

. उनको अर्को दाबी छ- “दिनमा तीन पटकसम्म गरेर नौ चोटिसम्म आँपको पात, तीतेपाती, तुलसीको पात भकभक उमालेर पात फाल्ने अनि तातो पानीमा भिक्स र एक टुक्रा कपुर मिसाएर बाफ ३ दिनसम्म लिनाले कोभिड कोमामा जान्छ ।”

साउथ एसिया चेकले तथ्य जाँच गर्दा यो सामग्री  भ्रामक र आधारहीन भएको फेला परेको छ । आयुर्वेदका एकजना चिकित्सक डा प्रकाश ज्ञवाली  आँपको पात, तितेपाती र तुलसीको पात उमालेर बाफ लिँदा कोभिड निमिट्यान्न हुन्छ भन्ने आधार कतै  नभएको बताउँछन् । उनले भने, “कसैलाई कोभिड भएको बेलामा केही नहुन पनि सक्छ त कोही भेन्टिलेटरमा गएर नबाँच्न पनि सक्छ । त्यस्तो उपाय आयुर्वेदमा कतै भेटिँदैन ।”

आधुनिक विज्ञान र आयुर्वेद दुवै वैज्ञानिक तथ्यमा आधारित भएकाले तिनका अभ्यासहरू प्रमाणित रूपमा ‘एउटै एउटै’ हुने डा ज्ञवाली बताउँछन् । “अनुभवको आधारमा भन्नेहरुले आयुर्वेदभनेर बर्बाद गरेका छन्। आयुर्वेदको ग्रन्थहरुमा लेखिएको छैन ।”

यस बिषयमाथि चर्चा चलेपछि नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्ष समेत रहेका डा ज्ञवालीले आफ्नो सञ्जालका अन्य चिकित्सकहरूलाई समेत थप खोजबिन गर्न लगाए । तर त्यस्तो सन्दर्भ सामग्री कतै नभेटिएको उनले हामीलाई बताएका छन् ।

नेपाल आयुर्वेद चिकित्सक परिषदको ऐन र नियमअनुसार परिषद्मा दर्ता भएका चिकित्सकले ‘तथ्यमा आधारित भएर मात्र’ बोल्न पाइन्छ। डा ज्ञवाली भन्छन्, “उहाँले भनेको कुरा तथ्य भएपनि नभएपनि भन्न पाइन्न ।”

त्यस्तो शैलीले मानिसहरूलाई ‘झुठो रूपमा सुरक्षित रहेको अनुभूति दिने र त्यो घातक हुने’ उनी बताउँछन् । “जसले गर्दा समयमा चिकित्सककोमा पुग्दैनन् । त्यतिबेला सम्म कडा खालको निमोनिया भइसकेको हुन्छ। सके गाह्रोगरी बचाउन सकिएला नत्र त्यो पनि सकिँदैन,” उनले भने ।

कोभिड महामारीमा सरकारले निकालेको आयुर्वेद मापदण्ड (प्रोटोकल) लाई मात्र आधिकारिक ठानेर पालना गर्न उनी सुझाउँछन् ।

. मेयर शिवाकोटीले मास्क लगाएर हिँडेर ठूलो अपराध भएको बताउँदै त्यसबारे समेत आफ्नो दाबी राखेका छन् । उनको भनाइ छ, “भित्रबाट आएको दुषित स्वास बाहिर फ्याक्नु पर्नेमा त्यहाँ अडकिएर भित्र गइरहेको छ। फोक्सोलाई असर गरेको (छ) ।”

मेयरले उक्त कार्यक्रममा मास्क लगाउनाले भित्रको हावा अर्थात् फाल्नुपर्ने कार्बन डाईअक्साइड अड्किनाले असर गर्ने बताएका छन्। यस्तो भ्रम नेपालमा मात्र होइन, विश्वभरी फैलिरहेको पाइन्छ जसलाई विश्वका वैज्ञानिक एवं विज्ञहरुले चिर्दै आएका छन् ।

रोयटर्स समाचार संस्थाले एउटा विवरणमा अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडिसी) का एक अधिकारीलाई उद्घृत गर्दै लेखेका छ: “मास्क धेरै समय लगाउँदा कार्बन डाइअक्साइडको मात्रा जम्मा भएर हाइपरकाप्निया हुने भए पनि अहिले मानिसहरुले लगाएको मास्कमा जम्मा हुने कार्बन डाइअक्साइडले हाइपरकाप्नियाको लक्षण नदेखाउने देखिएको छ।” हाइपरकाप्निया रगतमा उच्च रूपमा कार्बन डाइअक्साइडको मात्रा बढेर श्वासप्रस्वासमा समस्या देखिने एउटा शारीरिक अवस्था हो जसको असर श्वासप्रस्वास जोडिने दीर्घरोगीहरूमा उच्च देखिन्छ ।

विश्व स्वास्थ्य संगठनले समेत यस बिषयमा सार्वजनिक सूचना जारी गर्दै राम्ररी प्रयोग नगर्दा त्यसले केही असहज गराउन सक्ने भए पनि लामो समय लगाउँदा समेत मेडिकल मास्कले कार्बन डाइअक्साइडका कारण लठ्ठ नपार्ने र अक्सिजनको अभाव समेत सिर्जना नगर्ने जनाएको छ।

यसै बिषयमा इन्टरनल मेडिसिनका विज्ञ रहेका अमेरिकाको युनिभर्सिटी अफ आयोवा हस्पिटलस एण्ड क्लिनिकका प्राध्यापक ग्रेगोरी ए स्मिथले कोभिड फैलाउने छिटाहरूका तुलनामा अक्सिजन र कार्बन डाइअक्साइड निकै मसिनो हुने हुँदा त्यो मास्कबाट सहजै पार गर्ने बताउँछन्। विश्वविद्यालयको वेबसाइटमा प्रकाशित एउटा भिडियोमा उनले मानिसको रगतमा हुने अक्सिजनको मात्रालाई दुई घण्टा मास्क लगाएपछि पुन: जाँच्दा उस्तै पाइने बताएका छन्। ६ घण्टासम्म अक्सिजन र कार्बन डाइअक्साइडको मात्रा नाप्दा समेत कुनै उल्लेख्य परिवर्तन नदेखिएको र तिनको मात्रा स्वस्थ्य मानिसहरूकोझैँ पाइएको बताएका छन् ।

.मेयर शिवाकोटीको अर्को दाबी छ- “सबै आमाबुवा दिदीबहिनीहरुले यो सुनको ‌औँठी लगाउनु भएको छ भनेभरे नै खोल्नुस्। किनकि यसले चाहिँ भाइरसलाई छिटो लिने गर्छ ।”

मेयरको सुनको गहनालाई भाइरसलाई तान्छ भन्ने दावी पनि भ्रामक हो । कुनै डाक्टर वा विशेषज्ञको परामर्श बिना आफ्नै ज्ञानको आधारमा बोलेको बताउने मेयरको बुझाइ अपुरो देखिन्छ। कोभिड-१९ संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा, बोल्दा वा गीत गाउँदा मुख वा नाकबाट निस्किएका ससाना छिटामा कोरोनाभाइरस हुन्छन् ।

उनीहरुको नजिक बस्ने मानिसहरुको शरीरमा मुख वा नाकबाट भाइरस छिर्न सक्छ। पछिल्ला अध्ययनहरुले कोभिड हावाबाट पनि सर्ने जनाएका छन् । द वायर्ड पत्रिकामा हालै प्रकाशित लेख अनुसार छ दशक पहिलेको हावामा कुनै वस्तु कसरी फैलिन्छ भन्ने विषयमा गरिएको अध्ययनमा निहित सानो त्रुटीका कारण त्यसबारेको बुझाइमा हालसालैसम्म पनि समस्या थियो । तर यसलाई विश्व स्वास्थ्य संगठन र सिडिसी दुवैले सच्याइसकेका छन् ।

सङ्क्रमित व्यक्तिले सरसामान वा त्यसको सतह छोएर हात नधोई आफ्नो नाक, मुख छुँदा कोरोनाभाइरसको संक्रमण फैलिन सक्छ। तर सीडिसीका अनुसार सतह, धातु र अन्य वस्तु कोभिड फैलिने मुख्य स्रोत भने होइनन्। विज्ञानसम्बन्धी जर्नल नेचरले समेत वैज्ञानिकहरूका अध्ययनलाई हवाला दिँदै विभिन्न सतहबाट कोभिड बिरलै फैलिने जनाएको छ। तर त्यसको ठोस निष्कर्ष भने निकालिहाल्न नहुने उसको जिकिर छ।

कोभिड संक्रमितले हात धुँदा आफूले लगाएको गरगहना पनि सफा गर्नुपर्छ। गरगहनामा कोभिड भाइरस केही समय बस्न सक्छ तर त्यसले भाइरस तान्छ भन्ने दाबी भ्रामक ठहर्छ ।

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  ५ : ०५ बजे

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार

बिहीबार वर्षाले अवरुद्ध नेपाल र आयरल्याण्ड ‘ए’को सिरिज आजदेखि

काठमाडौं – बिहीबारदेखि हुने भनेको नेपाल र आयरल्याण्ड ‘ए’को टी-२०