वातावरण संरक्षण कि व्यवस्थापन ! | Khabarhub Khabarhub

वातावरण संरक्षण कि व्यवस्थापन !



निश्चय नै विश्वमा वातावरण विनाश बढ्दो क्रममा छ । यसले मानव अस्तित्वमाथि नै संकट उत्पन्न हुन थालेको भन्ने चिन्ता पनि प्रकट हुने गरेको छ ।

वातावरण विनाशको तीव्रताका अनेक लक्षणहरू देखिएका छन् । प्राकृतिक वातावरण संरक्षण आजको विश्वको ज्वलन्त चिन्ता र चासोको विषय हो । आज विश्व वातावरण दिवसका अवसरमा नेपालको सन्दर्भमा केही कुरा गरौँ ।

हाल नेपालमा राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित वनसहित करिब ४५ प्रतिशित भूमि संरक्षित वन क्षेत्रले ढाकेको छ । यस अतिरिक्त संरक्षण क्षेत्रहरू पनि छन् । सीमसार क्षेत्रहरू संरक्षित छन् । ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन’ ले वन्यजन्तुतको प्राकृतिक वासस्थानको संरक्षण गर्छ । अन्य कतिपय ऐनहरूमा प्राकृतिक वातावरण संरक्षणका प्रावधानहरू छन् । नेपाल प्राकृतिक वातावरण संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताहरूको पक्षराष्ट्र रहेको छ ।

संरक्षित वन क्षेत्रको हिसाबले नेपाल निकै उत्कृष्ट अवस्थामा छ । कुल भूभागको ४० प्रतिशतभन्दा माथि वनक्षेत्र हुनु चानचुने कुरा होइन । शून्य वन अर्थात वन नै नभएका कति देशहरू समृद्धशाली छन् । यति धेरै वन क्षेत्र भएर पनि नेपालले वनबाट अपेक्षित लाभ हासिल गर्न सकेको छैन । वनको उचित व्यवस्थापन र सदुपयोग हुन सकेको छैन ।

वन्यजन्तुका लागि राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र अन्य संरक्षित क्षेत्रहरू छन् । वन्यजन्तुहरू कहिलेकाहीँ मानवबस्तीमा छिर्छन् । चितवनतिर कहिलेकाहीँ मध्य शहरमा गैँडा हिँड्छ । बाघ, हात्ती, गैँडा जस्ता जनावरले मानिस मार्ने घटनाहरू हुने गरेका छन् । मानिस र वन्यजन्तुका बीच द्वन्द्व चलिहरन्छ । जब राज्यद्वारा संरक्षित क्षेत्रका संरक्षित जनावारले मानिसको ज्यान लिन्छ वा अन्य हानी पुर्‍याउँछ, त्यो उच्च सरोकारको मुद्दा बन्छ । संरक्षित क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा यस्तो समस्या बारम्बार देखापर्छ ।

शहरी क्षेत्र भएर बग्ने नदी/खोलाहरू असीमित रूपमा प्रदूषित छन् । राजधानी उपत्याकामा नदीहरू मृत अवस्थामा छन्; नदी होइन, ढल बनेका छन् । नदीमा जलचर हुँदैन र मानिसको संस्कृतिसँग जोडिँदैन भने त्यो नदी नै रहँदैन । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म शहरी क्षेत्र भएर बग्ने सबै नदीको दुर्दशा छ ।

विराटनगरको केसलिया होओस् कि काठमाडौँका वाग्मती र विष्णुमती होउन् वा काभ्रेको पुण्यमाता किन नहोस् सबै ढलमा परिणत भएका छन् । मिथिला संस्कृतिसँग जोडिएका जनकपुरका सरोवरहरू प्रदूषण र अतिक्रमणले अस्तित्वको संकटमा छन् । शहरी क्षेत्रमा देशभरि यस्तै अवस्था छ । प्रकृतिले हामीलाई अनेक उपहार दिएको छ तर हामीले व्यवस्थापन गर्न सकेका छैनौँ । हाम्रा अनमोल प्राकृतिक सम्पदाहरू जोगाउन सकेका छैनौँ ।

नेपालमा एक लाखभन्दा बढी पहाडी थुम्काहरू छन् । यी यीमध्ये हजार, दुई हजार थुम्का सम्याएर स्मार्ट शहर बसाउन सकिन्छ । यस्ता आधुनिक बस्तीलाई द्रुत गतिका मार्गले ठूला शहरसँग जोड्न सकिन्छ ।

शहरी क्षेत्रहरू भल बाढीको चपेटमा पर्न थालेका छन् । काठमाडौँ उपत्यकाका घनाबस्तीहरू मनसुनको भलमा अनपेक्षित ढङ्गले डुबानमा पर्न थालेका छन् । हामीले शहर बसायौँ, ठूलाठूला घरहरू बनायौँ तर भल निकासको उचित व्यवस्थापन गरेनौँ । पूर्व–पश्चिम राजमार्गमा बसेका अधिकांश शहरहरू मध्य मनसुनमा कैयौँ दिन डुबानमा पर्ने गरेका छन् । जनधनको क्षति हुने गरेको छ ।

कङ्क्रिटको शहर बढ्दै गएपछि शहरी क्षेत्रमा जमिनले वर्षाको पानी सोस्ने क्रम घट्यो । थारै समयमा आकाशे पानीले ठूलो क्षमता देखाउँछ । जमिनले पानी सोस्न नपाएपछि भलको समस्या बढ्छ र यसले अनपेक्षित क्षति गराउँछ । शहरी क्षेत्रमा पानीको प्राकृतिक वहाव खलबिलयो तर शहरी योजनाले भलको उचित निकास दिन सकेन । अब हरेक वर्ष भलको डुबानमा पर्नु, त्यसको रमिता हेर्नु र क्षति व्यहोर्नु बासिन्दाहरूको नियति बन्न थालेको छ ।

यता जमिनले पर्याप्त पानी शोषण गर्न नसक्दा जमिनमुनि पानीको सतह घट्दैछ । फेरि, जमिनमुनिको पानी तानेर सिँचाइ गर्ने क्रम पनि बढ्दो छ ।

हाम्रा लागि डढेलो अर्को ठूलो विपद् बन्दैछ । वनमा डढेलो लगाउने हाम्रो परम्परागत धारणा परिवर्तन हुन सकेको छैन । हामीसँग डढेलो नियन्त्रण गर्ने प्राविधक संयन्त्र पनि छैन । वायु प्रदूषण हाम्रो अर्को ठूलो चिन्ताको विषय हो । काठमाडौँ शहर विश्वका उच्च प्रदूषित शहरहरूको सूचीको अग्रस्थानमा पर्न थालेको छ । काठमाडौँको चर्चा बढी भए पनि तराई क्षेत्रका ठूला शहरहरू पनि कम प्रदूषित छैनन् । वायु प्रदूषण नियन्त्रण गर्ने उपायहरू अवलम्बन हाम्रो प्राथमिकतामा पर्न सकेको छैन ।

फोहोरमैला व्यवस्थापन अत्यन्त कमजोर छ । ठूला शहरहरू जैविक र अजैविक सबै प्रकारका फोहरहरूले प्रदूषित बन्दै गएका छन् । आधुनिक प्रविधिको द्रुत विकाससँगै अजैविक फोहरको मात्रा बढ्दो छ । हामीले ल्यान्डफिल बाहेक फोरहमैला व्यवस्थाको अर्को प्रविधि भित्र्याउनै सकेका छैनौँ । ल्यान्डफिल पनि वैज्ञानिक छैन ।

उपयुक्त ल्यान्डफिल साइटहरू पहिचान गर्न र तिनीहरूलाई राज्यप्रणालीको नियन्त्रणमा राख्न सकिएको छैन । फलस्वरूप कहिलेकाहीँ हप्ता दिनसम्म पनि शहरको फोहोर उठ्दैन । यस्तो समस्या काठमाडौँको मात्रै होइन, अन्य शहरहरूमा पनि देखिन थालेको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेटले व्यापारघाटा कम गर्न ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने भनेपछि यसले पक्ष–विपक्षमा ठूलै बहस सिर्जना गरेको छ । अहिले पनि ढुङ्गा, गिटी र बालुवाको व्यवस्थापन राणाकालको मुखियाका पालाको जस्तै छ । पहिलेका जिल्ला विकास समिति (जिविस) ले गरेजत्तिको व्यवस्थापन पनि छैन अहिले । आजकाल आईई गर्ने भनेको ठेक्का लगाउनलाई हो, लगाउन हुँदैन कि भनेर जाँच्नलाई होइन, वातावरण संरक्षणका लागि होइन ।

आजको नेपालको मुख्य वातावरणीय मुद्दा वातावरण संरक्षण होइन, वातावरण व्यवस्थापन हो । नेपालले जुन वातावरणीय विनाश भोग्दैछ, त्यो प्रकृति संरक्षण नगरेर होइन, संरक्षित क्षेत्रको उचित व्यवस्थापन नगरेर हो ।

नेपालले ढुङ्गा, गिटी र बालुवा निकासी गर्न नसक्ने होइन तर चुरे पहाडका भित्ता फोरेर, नदीबाट धमाधाम बालुवा निकालेर होइन । इन्जिनियरिङ, भूगर्भशास्त्रीय र अन्य आवश्यक वैज्ञानिक अनुसन्धान गरेर त्यसको सुझाबअनुसार मात्रै उत्खनन् गर्नुपर्छ । नदीबाट बालुवा निकाल्दा नदीको सतह र पानीको वहावको वैज्ञानिक अध्ययन हुनुपर्छ ।

मानिसले विकास निर्माणको काम प्रकृतिमै गर्ने हो, प्राकृतिक स्रोतसाधन नै प्रयोग गर्ने हो । यस क्रममा प्राकृतिक वातावरणमा क्षति पुग्छ तर विकास त रोकिँदैन । प्रकृति र मानव समुदायमा कमभन्दा क्षतिमा विकासका काम गर्नुपर्छ । यसो गर्न गहन वैज्ञानिक अनुसन्धान आवश्यक पर्छ । हामीलाई स्मार्ट विकास र स्मार्ट शहरहरूको आवश्यकता छ । हाम्रो निकै पुरानो शहर राजविराज आज कुन अवस्थामा छ ! निकै नयाँ शहर सुर्खेत कता जाँदैछ ! गम्भीरतापूर्वक विचार गर्ने र शिक्षा लिने बेला भएको छ ।

हामीले प्रतिघण्टा सय किलोमिटरका दरले गाडी गुड्ने उच्च प्रविधियुक्त राजमार्ग सोचेर काम गर्नुपर्छ । हाम्रा शहरका घरहरू पर्याप्त घाम छिर्ने र हावा खेल्ने किसिमका हुनुपर्छ तर के आज हाम्रो सरकारी संयन्त्रले यसतर्फ गम्भीरतापूर्वक सोचेको छ ! काठमाडौँबाट दुई–तीन सय किलोमिटर टाढा बसेर पनि काठमाडौँमा जागिर वा व्यवसाय गर्न सक्ने स्मार्ट विकास सोचेको छ ! यस्तो योजना बनाउँदैछ ! र, काठमाडौँ जस्तै अन्य शहरहरूको सन्दर्भमा पनि !

नेपालमा एक लाखभन्दा बढी पहाडी थुम्काहरू छन् । यी यीमध्ये हजार, दुई हजार थुम्का सम्याएर स्मार्ट शहर बसाउन सकिन्छ । यस्ता आधुनिक बस्तीलाई द्रुत गतिका मार्गले ठूला शहरसँग जोड्न सकिन्छ । यसो गर्दा दुई–तीन सय किलोमिटर टाढाबाट काठमाडौँ आएर जागिर र व्यवसाय गर्न सक्ने अवस्था हुन्छ । धेरै देशले यस्तो काम गरेका छन् । यस्तो योजना हामीले किन बनाउन नसकेको होला !

सुरुङमार्ग र रेलमार्गको कुरा पनि यसैमा जोडिनुपर्छ ।

हाम्रो चुरे क्षेत्र धेरै संवेदनशील छ । यसको उपयोग गर्न धेरै वैज्ञानिक अध्ययन आवश्यक पर्छ । भविष्यको ख्याल नगरी क्षणिक फाइदाका लागि चुरेलाई चलायौँ भने हामीले ठूलो दुर्गति व्यहोर्नु पर्नेछ । चुरेभन्दा तलको जमिनको प्राकृतिक वातावरण र बस्ती जोगाउन हामीले चुरे जोगाउनुपर्छ ।

संरक्षित क्षेत्रहरूको व्यवस्थापन र प्रकृति संरक्षण सहितको दिगो विकासका लागि हामीलाई उपयुक्त सूत्र, मन्त्र र संयन्त्र चाहिएको छ ।

आजको नेपालको मुख्य वातावरणीय मुद्दा वातावरण संरक्षण होइन, वातावरण व्यवस्थापन हो । नेपालले जुन वातावरणीय विनाश भोग्दैछ, त्यो प्रकृति संरक्षण नगरेर होइन, संरक्षित क्षेत्रको उचित व्यवस्थापन नगरेर हो । बाघ, गैँडा, हात्ती आदि जनावरका लागि हामीले निकुञ्ज र आरक्षण बनाएर यिनको संरक्षण गरेका छौँ । हामीसँग उपलब्ध चितवन, बर्दिया, शुक्लाफाँटा र पर्साको वासस्थानले कति वटा बाघ, गैँडा र हात्ती धान्न सक्छ ! हामीले संरक्षण गरेको वासस्थानको क्यारिङ क्यापासिटी कति हो ! यसमा गहन अध्ययन, सोहीअनुसार योजना र कार्यान्वयन आवश्यक छ । यसरीमात्र हामीले पारिस्थितिक प्रणालीको पुनरुत्थान गर्न सक्छौँ ।

कुन ठाउँमा कति ठूलो शहर बसाउने, कृषि भूमिको संरक्षण कसरी गर्ने, कति कृषिभूमि जोगाएर राख्ने भन्ने विषयमा बृहत्, वैज्ञानिक र दूरदर्शी योजना निर्माण र कार्यान्वयन अर्को ठूलो आवश्यकता हो । यसो हुन नसके जसरी काठमाडौँको उर्वर कृषिभूमि मासियो त्यसरी नै अन्यन्त्र पनि मासिने छ र कङ्क्रिटको जङ्गल विस्तार हुँदै जानेछ । यस्तो क्रम विभिन्न ठाउँमा द्रुत गतिले अघि बढ्दैछ ।

यस्ता विविध आयामहरूको गहन वैज्ञानिक अध्ययन नभई व्यवस्थित ढङ्गले वातावरण संरक्षण हुन सक्दैन । संरक्षित क्षेत्रहरूको व्यवस्थापन र प्रकृति संरक्षण सहितको दिगो विकासका लागि हामीलाई उपयुक्त सूत्र, मन्त्र र संयन्त्र चाहिएको छ ।

(वातावरण इन्जिनियर तथा अनुसन्धाता डा. खतिवडासँग सविना कार्कीले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : २२ जेठ २०७८, शनिबार  १२ : १२ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेले पाए भौतिक पूर्वाधार मन्त्रालय

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन्

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच