भान्छाभित्र महिलाका संघर्षको कथा « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

भान्छाभित्र महिलाका संघर्षको कथा



उनी तरकारी केलाउँछिन्, काट्छिन्, पिस्छिन्, पकाउँछिन्, परिवारका सदस्यलाई खान दिन्छिन्, भाडा मोल्छिन्, कुचो लगाउँछिन्, भुइँ पुस्छिन् । ऊ खाना खान्छ । उनलाई घरभित्रको काम गर्दा भ्याईनभ्याई हुन्छ । ऊ मस्तले बस्छ । योग गर्छ । श्वास भित्र लिन्छ, बाहिर फाल्छ ।

यो भारतीय भान्छाभित्रको कथा हो । थोरै बजेटमा बनेको ‘द ग्रेट इन्डियन किचन’ मलयालम भाषामा बनेको फिल्म हो । यो फिल्मले शानदार ढङ्गबाट पितृसत्तात्मक सोच हाबी रहेको परिवारको कथा राम्रोसँग बुन्दै दैनिक जीवनमा महिलाले भोग्नुपर्ने भयावह समस्या उजागर गर्ने प्रयास गरेको छ ।

प्रदर्शनमा आएको केही समयमै यो फिल्मले ‘यो वर्षकै पानीढलो फिल्मको संज्ञा’ पाएको छ । एक मध्यम वर्गीय परिवारभित्रको भान्छामा हुने घटनालाई कथा बनाइएको यो फिल्म दक्षिण भारत केरलामा चर्चाको विषय बनेको छ । सामाजिक सञ्जालमा घरभित्रै हुने लैङ्गिक असमानताका विषयमा पनि प्रश्न उठाइएको छ ।

‘यो एउटा सार्वभौम कथा हो । भान्छाभित्र एउटा महिलाले गर्नुपर्ने संघर्ष सबै भारतीय महिलाको साझा कथा हो,’ यस फिल्मका निर्देशक जोय वेवी भन्छन्, ‘पुरुषहरू महिलालाई चिया बनाउने, लुगा धुने र बच्चा हुर्काउने मेशिनजस्तो व्यवहार गर्छन् ।’

भारतीय भान्छासम्बन्धी कथाको प्रेरणा आफूलाई आफ्नै घरबाट मिलेको निर्देशक वेवी बताउँछन् । उनी भन्छन्, ‘म आफू लैङ्गिक समानताको पक्षपाती भएका कारण सन् २०१५ मा बिहे गरेपछि, आफ्नो धेरै समय भान्छामा बिताउने गरेको छु । सोही समयमा मैले भान्छाको काम गर्नु धेरै मिहिनेतको र धेरै वजनदार सामानको भारी उठाउनु पर्ने महसुस गरे ।’

यो फिल्म नेटफिक्स र एमेजोनले प्रदर्शन गर्न अस्वीकार गरेपछि निस्टिममा प्रदर्शन गरिएको थियो । धेरै समालोचकले यो फिल्मको प्रशंसा गरेका छन्, खासगरी महिला समालोचकले ।

केही दिनपछि उनी यस्तो एकोहोरो काम गर्नबाट कसरी जोगिने, कसरी भाग्ने भनेर सोच्न थाले । उनी भन्छन्, ‘भान्छामा काम गर्नुपर्दा मलाई जेलमा बसेको जस्तो अनुभव हुन्थ्यो । त्यतिबेला मैले भान्छा छोडेर भाग्न नसक्ने सबै महिलाका विषयमा सोच्न थालेँ । त्यसले मलाई धेरै विचलित बनायो ।’

फिल्मको शुरूवात बिहेको दृश्यबाट हुन्छ । भारतमा हुने धेरै जसो बिहे जस्तै यो पनि मागी बिहे नै हो । यसमा दुलही र दुलाहा फिल्मको प्रमुख पात्रको भूमिकामा छन् । दुलहीको भूमिकामा निमिषा सजयन र दुलाहाको भूमिकामा सुरज वेन्जरमुडु रहेका छन् । बिहेपूर्व परिवारका अन्य सदस्यसँग एकपटक मात्रै भेटका हुन्छन् उनीहरूले । उनीहरूबीच थोरै समय कुराकानी भएको हुन्छ ।

जब बिहेको सबै रीत पूरा हुन्छ, नातागोता लाखापाखा लाग्छन् नि शुरू हुन्छ भान्छाभित्रको दिनचार्य । भर्खर बिहे भएर आएकी नयाँ दुलहीले भान्छामा आफ्नी सासुआमालाई सहयोग गर्छिन् । उनीहरू आआफ्ना श्रीमान् खुशी होऊन् भन्ने चाहन्छन्, त्यसैले मिठो परिकार बनाउन लागि पर्छन् । एउटा भनाइ नै छ नि, पुरुषको मनमा बस्न पेटको बाटो हुँदै जानुपर्छ ।

बिहान शुरू भएको भान्छाको काम राति नभएसम्म सकिँदैन । जब राति भान्छाको काम सकिन्छ, त्यसपछि उनीहरू यौन सम्बन्धका लागि तयार भई देऊन् भन्ने अपेक्षा राखिन्छ । यसको लागि उनी तयार छिन् अथवा छैनन् भन्ने कुराले खास अर्थ राख्दैन । भारतीय पितृसत्तात्मक संरचनामा महिलाको इच्छाले खास महत्व राख्दैन ।

यो फिल्म नेटफिक्स र एमेजोनले प्रदर्शन गर्न अस्वीकार गरेपछि निस्टिममा प्रदर्शन गरिएको थियो । धेरै समालोचकले यो फिल्मको प्रशंसा गरेका छन्, खासगरी महिला समालोचकले ।

क्रिट कलेजका सहायक प्राध्यापक किन्ता पिएस भन्छन्, ‘यस फिल्मको कथा धेरै हदसम्म हाम्रो परिवारको कथासँग जोडिएको छ । त्यसैले फिल्मको कथा अनुभव गर्न सकिन्छ । फिल्ममा कुनै हिंसात्मक दृश्य छैन । यो फिल्मको कथा यथार्थको नजिक हुनुका साथै परिवारभित्र हुने असंवेदनशील घटनासँग नजिक छ ।’ किन्ता आफूले आफ्नी आमा र अन्य महिलाले भान्छामा गर्नु परेको संघर्ष देखेको बताउँछिन् ।

केरलामा एक छाक खानामै धेरै परिकार पकाउनुपर्ने हुँदा भान्छामा दैनिक संघर्ष गर्नुपर्ने किन्ताको भनाइ छ । उनी भन्छिन्, ‘खाना बनाउँदा धेरै परिकार काट्नुपर्ने, धुनुपर्ने, पिस्नुपर्ने हुँदा धेरै समय खर्च हुन्छ । यो छरितो हुन सक्थ्यो तर हामी छरितो बनाउँदैनौँ । छोरीहरू श्रीमान् र परिवार सबै थोक हुन् भनेर हुर्काइएका हुन्छन् । बुहारीको कर्तव्य भनेकै परिवारलाई खुशी राख्नु हो भनेर सिकाइएको हुन्छ । त्यसको लागि उनी आफैँले जतिसुकै पीडा खप्न किन नपरोस् !’

केरलामा एउटा चर्चित भनाइ छ : तपाईँ प्रगतिशील चप्पल त लगाउनुहुन्छ तर जब घरभित्र छिर्नु हुन्छ त्यो चप्पल घर बाहिर नै खोल्नुहुन्छ ।

केरला भारतको प्रगतिशीलमध्येको एक राज्य हो । यो राज्यलाई शतप्रतिशत साक्षरता भएको राज्यका रूपमा पनि व्याख्या गरिन्छ । यहाँका प्रायः महिला औपचारिक रोजगारीमा नै आवद्ध छन् । यद्यपि भारतका अन्य राज्य जस्तै यो राज्य पनि पितृसत्तात्मक सोचले ग्रस्त रहेको सहायक प्रध्यापक किन्ता बताउँछिन् ।

उनी भन्छिन्, ‘हामी केरलामा महिला सशक्तीकरणको कुरा गर्छौँ  धेरै महिला रोजगारीका लागि घर बाहिर पनि जान्छन् । अन्त्यमा प्रगतिशील भनिने र धेरै शिक्षित व्यक्ति बस्ने घरमा पनि घरधन्दा महिलाले मात्रै गर्नुपर्ने हुन्छ ।’

किन्ताको घरमा भने लैङ्गिक समानता छ । उनका श्रीमान् स्कूलदेखिका साथी हुन् । उनीहरू तीन वर्षदेखि सँगै छन् । भान्छाको काम मिलिजुली गर्छन् । आफ्नो माइतीको कथा भने फरक रहेको उनी बताउँछिन् ।

किन्ता भन्छिन्, ‘पुरुषहरूलाई लैङ्गिक समानताको विषयमा थाहा त हुन्छ तर आफ्नै घरमा त्यो व्यवहारमा उतार्नुपर्छ भन्ने जानकारी हुँदैन । भारतका धेरै पुरुषजस्तै यो मामिलामा मेरो बुबाको द्वैध चरित्र छ । आमाप्रति गरेको अन्यायका लागि मैले उहाँसँग धेरै पटक बहस गरेकी छु । मेरो बुबा एक प्रगतिशील पुरुष भईकन पनि जब घरधन्दाको कुरा आउँछ तब सबै काम आमाले गर्नुपर्छ ।’

केरलामा एउटा चर्चित भनाइ छ : तपाईँ प्रगतिशील चप्पल त लगाउनुहुन्छ तर जब घरभित्र छिर्नु हुन्छ त्यो चप्पल घर बाहिर नै खोल्नुहुन्छ ।

भारतमा विश्वका अन्य ठाउँमा जस्तै जब घरभित्रको विना तलबवाला कामको कुरा आउँछ, त्यो सबै महिलाको जिम्मामा पर्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको एक प्रतिवेदन अनुसार सन् २०१८ मा भारतीय शहरमा महिलाले औसतमा प्रतिदिन ३१२ मिनेटविना तलबवाला काम गर्दा सोही काम पुरुषले २९ मिनेटमात्रै गरेका थिए ।

भारतीय भान्छाभित्रको यस्तो प्रवित्ति परिवर्तन हुन आवश्यक रहेको फिल्मको सन्देश हो ।

‘महिलाहरू पुरुषहरूले निर्माण गरेको जेलभित्र बाँच्न विवश छन् । घरभित्रको निर्णयकर्ता पुरुष हुन्छन् । महिलाहरू बेतलबी काम गर्ने श्रमिक मात्रै हुन्,’ निर्देशक वेवी भन्छन्, ‘फिल्ममार्फत मैले महिलाहरूलाई यो बन्धनबाट बाहिर आउनुपर्ने सन्देश दिएको छु । उनीहरूमात्रै किन प्रताडित हुने ? यो विश्व उनीहरूको मनोरञ्जनका लागि पनि हो ।’

यी सबै चिज यथार्थमा परिवर्तन आउनुअघिसम्म रहन्छन् । ‘द ग्रेट इन्डियन किचन’ फिल्मले भने घरपरिवारभित्रको लैङ्गिक असमानताको विषय जोडदाररूपमा उठाएको छ ।

एक पुरुषले फिल्म हेरिसकेपछि आफूलाई आफैँप्रति हिनताबोध भएको लेखेका छन् । अर्का पुरुष भन्छन्, ‘म यस विषयमा केही लेख्न सक्दिनँ किनकि फिल्ममा देखाइएको पुरुष पात्र म आफैँ हो ।

एउटा मलयाली साथीले आफ्ना साथीभाइ र परिवारका सदस्यबीच यो फिल्मका विषयमा ह्वाट्सएपमा गु्रपमा छलफल भएको बताए । यो फिल्मका विषयमा सामाजिक सञ्जालका माध्यम ट्वीटर, फेसबुक, इन्स्टाग्राममा पनि छलफल भएको छ । विशेष गरी महिलाहरूले आफ्ना साथीसङ्गी र आफन्तलाई फिल्म हेर्ने सल्लाह समेत दिएको पाइएको छ ।

‘यो हाम्रो कथा हो’, सामाजिक सञ्जाल प्रयोगकर्ता एक महिला लेख्छिन् । ‘यो फिल्मले हाम्रो समस्याको प्रतिनिधित्व गर्छ’, अर्की महिला लेख्छिन् । अर्की लेख्छिन्, ‘फिल्मको सबैभन्दा शानदार पक्ष भनेकै यसले कथा बढाईचढाई नगर्नु हो । कसैलाई औँला नठ्याई शालीन भाषामा सौम्य देखिने पुरुष पनि विषालु हुन सक्ने सन्देश दिएको छ ।’

केही त द ग्रेट इन्डियन किचनका निर्देशक महिला हुनुपर्ने अनुमानसमेत गर्छन् । केहीले फिल्मको सबैभन्दा सबल पक्ष भनेकै पुरुषलाई परिवारभित्र आफूले गर्ने व्यवहारका विषयमा सोच्न बाध्य पार्नु हो भनेका छन् ।

एक पुरुषले फिल्म हेरिसकेपछि आफूलाई आफैँप्रति हिनताबोध भएको लेखेका छन् । अर्का पुरुष भन्छन्, ‘म यस विषयमा केही लेख्न सक्दिनँ किनकि फिल्ममा देखाइएको पुरुष पात्र म आफैँ हो ।’ अर्का व्यक्ति फिल्मले आफ्नो आँखा खोल्ने काम गरेको बताउँछन् ।

सहायक प्रध्यापक किन्ता मानिसले यस विषयमा बहस गर्न थाल्नु राम्रो पक्ष भएको बताउँछिन् । शताब्दीऔँदेखि दमन गरेर बसेको पितृसत्तात्मक सोच बदलिन वर्षौं लाग्ने उनको भनाइ छ ।

उनी भन्छिन्, ‘म यस्ता विषयमा मेरा साथीभाइसँग र कक्षामा चर्चा गर्ने गर्छु । म मेरा लेक्चरका माध्यमबाट विद्यार्थीलाई सचेत बनाउने प्रयास पनि गर्छु । पुरुष विद्यार्थीले लैङ्गिक समानताका विषयमा सौद्धान्तिकरूपमा त बुझ्छन् तर उनीहरूले आफूले पाएको सुविधा सजिलै त्याग्छन् भन्ने विषयमा भने खासै विश्वास छैन’, उनी भन्छिन् ।

(११ फेबु्रअरी २०२१ मा बीबीसी न्युजमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)


भर्खर

0