मिस युनिभर्स नेपाल अंशिका भन्छिन् : ब्युटी पेजेन्ट आउट अफ ब्युटीमात्र होइन, लिडरशिप हो  | Khabarhub Khabarhub

मिस युनिभर्स नेपाल अंशिका भन्छिन् : ब्युटी पेजेन्ट आउट अफ ब्युटीमात्र होइन, लिडरशिप हो 



काठमाडौँ– ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि जितेपछि चर्चामा छिन् अंशिका शर्मा ।

गत बुधबार भएको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो ‘मिस युनिभर्स नेपाल’ घोषित भइन् ।

यससँगै उनको दिनचर्या बदलिएको छ । अस्ट्रेलियामा इन्फरमेसन टेक्नोलोजी (आइटी)मा काम गर्ने अंशिका केही अघिसम्म साथी समूह र आफन्तमाझ मात्र परिचित थिइन् । ‘मिस युनिभर्स नेपाल’ को प्लेटफर्मले उनलाई सार्वजनिक परिचय दिएको छ ।

तीन महिनापछि उनी संयुक्त राज्य अमेरिकामा हुने मिस युनिभर्सको स्टेजमा नेपाली प्रतिनिधिका रूपमा देखिनेछिन् । सोही मञ्चबाट उनले नेपाललाई विश्वसामु चिनाउने प्रयास गर्नेछिन् ।

उनले अस्ट्रेलियामा एक लाखको हाराहारीमा रहेका नेपालीहरूको पनि प्रतिनिधित्व गरेकी छन् ।

अंशिका ‘मिस युनिभर्स नेपाल २०२०’ मा अस्ट्रेलियाबाटै तालिम र इभेन्टहरूमा सहभागी भइन् । कडा मिहिनेतले उनलाई ‘मिस युनिभर्स नेपाल २०२०’ को उपाधि दिलायो ।

‘यसपटक भर्चुअल रूपमा तालिमहरू भएका थिए, अस्ट्रेलियामा भएकाले मलाई पनि तालिम लिन सहज भयो,’ अंशिका भन्छिन्, ‘फिनालेमा छानिएपछि नेपाल आउने मौका पाएँ, सबैको सहयोग र उत्कृष्ट तालिमले सफलता पाएँ जस्तो लाग्छ ।’

उनी पढाइका लागि अस्ट्रेलिया गएको ६ वर्ष भयो । ‘मिस युनिभर्स नेपाल २०२०’ सँगै नेपाल आउन पाएकोमा खुशी लागेको बताउँछिन् अंशिका । उनका अनुसार अस्ट्रेलियामा संघर्ष र अवसर उत्तिकै छ ।

उनी भन्छिन्, ‘काठमाडौँले मलाई यति धेरै हार्डवर्किङ बनायो कि, मैले सिड्नीमा गएर खासै दुःख पाइनँ, दुःखका रूपमा पनि लिइनँ ।’ नेपालमा पर्याप्त अवसर नरहेको उनको बुझाइ छ ।

काठमाडौँमा पनि उनले करिअर विकासका लागि मिहिनेत गरेकी हुन् । भीएस निकेतनमा उनी अब्बल विद्यार्थी थिइन् । सधैँ परीक्षामा ९० प्रतिशतभन्दा बढी प्राप्त गर्ने उनको लक्ष्य हुन्थ्यो ।

भन्छिन्, ‘त्यतिबेला परीक्षामा प्रतिशतको महत्त्व थियो नि, त्यसले पनि मलाई हार्डवर्किङ बनायो ।’ पढाइसँगै नृत्यमा पनि उनको रुचि थियो । नाचेरै उनले धेरै पटक पुरस्कार पनि पाइन् ।

अंशिका आफूलाई भाग्यमानी ठान्छिन् । भनेजस्तो शिक्षा आर्जन गर्ने मौका पाइन् । आफ्नो सपना साकार पार्न आमाबुबाको साथ पाइन् ।

आफूले राम्रो स्कूलमा पढ्न पाए पनि ग्रामीण क्षेत्रका बालबालिकाले पढ्न नपाएको कुरा सुन्दा उनी खिन्न हुन्थिन् । भन्छिन्, ‘त्यतिबेलै लाग्थ्यो, आफूले पनि बालबालिकाका क्षेत्रमा थोरै नै किन नहोस् तर केही सहयोग गर्न सकियोस् ।’

उनलाई बुबाले पढ्न नपाएका बालबालिकाका कथा सुनाउँथे । गैरसरकारी संस्थामा काम गर्ने सिलसिलामा बुबा नेपालका कैयन गाउँमा पुगेको र त्यहाँका परिदृश्यहरू आफूलाई सुनाउने गरेको अंशिकाले बताइन् ।

अस्ट्रेलियामा पढाइ सकेर काम थाल्दा नेपालको शिक्षा क्षेत्रमा ‘केही गरौँ’ भन्ने उनलाई लागेको थियो । भन्छिन्, ‘बुबाले सुनाउने तिनै कथाका कारण म समाजसेवातर्फ प्रेरित बनेकी थिएँ । हाम्रो एउटा टिमले १० जना बालबालिकाको पढाइको जिम्मा लिएको छ ।’

अंशिका अस्ट्रेलियाले आफूलाई ठूलो मौका दिएको बताउँछिन् । त्यही मौकाले नै आफू स्टेजमा पुगेको र अझ धेरै गर्न बाँकी रहेको उनको भनाइ छ । उनले भनिन्, ‘अस्ट्रेलियामा मैले धेरै कुरा सिक्न पाएँ, राम्रो कलेजमा पढ्ने अवसर पाएँ ।’

विकसित देशको तुलनामा नेपालको शिक्षा क्षेत्र त्यति आशाजनक नभएको अंशिकाको बुझाइ छ । नेपालमा उच्च शिक्षा व्यावहारिक हुन नसकेको उनले बताइन् । भन्छिन्, ‘यहाँ हामी प्राध्यापकको भर पर्छौं, अस्ट्रेलियामा पनि लेक्चर त हुन्छ तर विद्यार्थीले नै धेरै मिहिनेत गर्नुपर्छ । त्यहाँको पढाइ र सिकाइ राम्रो छ ।’

नेपालमा हुने राजनीतिक खिचातानीले युवापुस्तामा निराशा छाएको र युवाहरू विदेश जानुपरेको उनको निष्कर्ष छ ।

‘अध्ययनका सिलसिलामा होस् या अन्य कारणले, विदेश जानुलाई त म नराम्रो मान्दिनँ, म आफैँ विदेश गएर पढेँ, अलिअलि कमाएर पठाएँ,’ अंशिका भन्छिन्, ‘युवाहरूले विदेशमा कमाएर रेमिट्यान्समार्फत नेपाललाई सहयोग गरिरहनुभएको छ । सरकारले युवाहरूलाई नेपालमै रोजगारका अवसरहरू दिनुपर्छ ।’

राज्य व्यवस्थामा पनि युवाहरूलाई नै अगाडि सार्नुपर्ने र सरकारमा ‘रोटेसन अफ लिडरशिप’ हुनुपर्ने अंशिकाको सुझाब छ । उनको विचारमा युवाहरूलाई मौका नदिँदा नयाँ आइडियाहरू सिर्जना सिर्जना हुन सकेका छैनन् ।

‘नेपालमा युवाहरूले रोजगारी पाउनुभएको छैन, केही गरौँ भन्ने सोचका युवाले आफैँ अवसरहरू सिर्जना गर्नुभएको छ,’ अंशिका भन्छिन्, ‘सबै युवाहरूले नयाँ अवसर सिर्जना गर्न सक्नुहुन्न, त्यसैले सजिलो उपायका रूपमा विदेश विकल्प बनेको हो ।’

अंशिका अध्ययन वा अर्थोपार्जनका लागि विदेश गए पनि नेपाल फर्केर अनुभवहरू उपयोग गर्नुपर्ने बताउँछिन् । भन्छिन्, ‘विदेशमा अध्ययन गर्न जानु नराम्रो होइन तर नेपालमा फर्केर आफ्नो सीपको सदुपयोग गर्नुपर्छ ।’

अंशिका मिस युनिभर्सको स्टेजबाट विश्वसामु नेपाललाई चिनाउने लक्ष्यमा छिन् । भन्छिन्, ‘यो स्टेजबाट नेपाललाई विश्वभर चिनाउने प्रयास गर्नेछु, विश्वभरका सक्षम महिलासँग प्रतिस्पर्धा गर्नुपर्ने छ, मैले सिकेको कुरा प्रस्तुत गर्नेछु ।’

नेपालमा ब्युटी पेजेन्टलाई विवादित बनाउने गरेको उनलाई राम्रो लागेको छैन । कतिपयले यसलाई सुन्दरताको व्यापार पनि भन्ने गरेका छन् । अंशिका ब्युटी पेजेन्टलाई लिडरशिप प्लेटफर्मका रूपमा लिन्छिन् ।

‘हामी महिलाहरूले ब्युटी पेजेन्टलाई व्यक्तित्व विकास गर्ने लिडरशिप प्लेटफर्मका रूपमा लिएका छौँ । यसले हाम्रो व्यक्तित्व विकासमा टेवा पु¥याएको हुन्छ,’ अंशिका भन्छिन्, ‘यो आफैँमा लिडरशिप हो । ब्युटी पेजेन्ट आउट अफ ब्युटी मात्र होइन, एक महिलाको जर्नी पनि हो ।’

उनको बुझाइमा कतिपय महिला ‘रोल मोडल’ बन्न सक्छन् । उनी आफ्नो अनुभव सुनाउँछिन्, ‘ब्युटी पेजेन्टपछि र अघि एउटै महिलाको व्यक्तित्व विकासमा कति फरक पर्छ होइन र !’

नेपालमा भने ब्युटी पेजेन्टलाई ग्ल्यामरकै रूपमा हेरिन्छ । ब्युटी पेजेन्टपछि कतिपय विजेता फिल्म क्षेत्रमा लाग्छन् । अंशिका भने नेपाली फिल्म क्षेत्रबारे जानकार छैनिन् । उनी आफू पुस्तक पढ्न रुचाउने बताउँछिन् ।

‘म खासै फिल्म हेर्ने गर्दिनँ, पुस्तक पढ्न रुचाउँछु, फिल्म हेर्ने त बानी नै छैन,’ उनी भन्छिन्, ‘अभिनय क्षेत्रमा त आउँदिनँ होला, अभिनय गर्न आउँदैन, कतै न कतैबाट नेपालकै माटोसँग जोडिएकी हुन्छु ।’

मिस युनिभर्स नेपालको उपाधि जित्दा अंशिकाका आँखाबाट हर्षका आँसु झरे । आफू विजेता भएपछि स्टेजबाट आमाबुबातिर हेरिन् । उनले भनिन्, ‘उहाँहरू त खुशीले उफ्रिनुभएको थियो ।’

अंशिकालाई विजयको त्यो क्षण शब्दमा वर्णन गर्न कठिन भएको छ । हाँस्दै उनले भनिन्, ‘सुरुमा त मेरो नाम अनाउन्स भएको पनि सुनिनँ, प्रतिस्पर्धी साथी सुजिता बस्नेतलाई सोधेँ, मैले त केही बुझिनँ, के भयो ?’

सुजिताले तिमी बिजेता भयौ भनेपछि  आँखाबाट हर्षाश्रु वहे । अलिक पर आमाबुबा उफ्रिएको देखेर झनै खुशी भइन् । उनले भनिन्, ‘त्यतिबेला त आँसु थाम्नै सकिनँ, तीन महिनाको मिहिनेत सार्थक भएको महसुस गरेँ ।’

अंशिका नेपालमै बसेर ‘केही गर्न’ चाहन्छिन् । आमाबुबाको काखमा बसेजस्तो विदेशमा नहुने उनको अनभव छ । उनी अस्ट्रेलियाको जागिर छोडेर नेपाल आएकी हुन् । दीर्घकालीन रूपमै नेपालमा बसेर काम गर्ने उनको योजना छ ।

‘अस्ट्रेलियामा सिकेको नेपालमै लगानी गर्ने योजना छ, विकसित देशमा कस्तो हुन्छ, युवाहरूले कसरी मौका पाउनुभएको हुन्छ भन्ने सिक्न पाएँ,’ अंशिका भन्छिन्, ‘अहिले मिस युनिभर्सको तयारीमा छु, नेपाली दर्शकले मलाई साथ दिनुहुन्छ भन्ने आशा छ ।’

तस्वीरहरू: आर्यन बिमली 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ७ : १० बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको