फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी लगानी छ तर सरकारको प्राथमिकतामा छैन « Khabarhub
Logo
८ आश्विन २०७८, शुक्रबार

फिल्ममा भन्दा म्युजिक भिडियोमा बढी लगानी छ तर सरकारको प्राथमिकतामा छैन



नेपालमा म्युजिक भिडियो निर्माणको इतिहास तीन दशकभन्दा पनि पुरानो छ । सङ्गीतकार शम्भुजित बासकोटाले २०४४ सालतिर अभिनेता भुवन केसीले गाएको ‘मायालु तिमी टाढा भइदिनाले’ बोलको गीतमा भिडियो बनाएपछि नेपालमा औपचारिकरूपमा म्युजिक भिडियो निर्माणले प्रवेश पाएको हो । हाल यस्तो भिडियो बनाउनमा वार्षिक झन्डै दुई अर्ब रूपैयाँ खर्च हुने गरेको छ । फिल्म र सङ्गीतसम्बन्धी विभिन्न संघसंस्था स्थापना भइरहँदा हालै जुझारु भिडियो निर्देशक विधान कार्कीको नेतृत्वमा ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’ स्थापना भएको छ । विधानसँग समाजको गतिविधि र म्युजिक भिडियोका विषयमा खबरहबका नेमिष गौतमले संवाद गरेका छन् ।

म्युजिक भिडियो बनाउनेहरूको संस्था स्थापना गर्न तीन दशकभन्दा धेरै समय नै लाग्यो नि !

सामान्य अर्थमा बुझ्दा संस्था भनेको आवश्यकता महसुस भएपछि स्थापना हुने हो । हामीले काम गर्दै जाँदा प्राविधिक समस्या र कठिनाइहरू जोडिँदै आउँछन् । हामी निर्देशक भएको हिसाबले राजनीति र समाजसेवाभन्दा पनि काममा बढी केन्द्रित छौँ । संस्थातिर लागेपछि काममा अथवा करियरमा तलमाथि हुने हो कि भन्ने डरले गर्दा धेरै निर्देशकहरूले संस्था नखोलेको देखिएको छ ।

म्युजिक भिडियो निर्देशक समाज स्थापना गर्ने चाहना धेरैको थियो । मेरो नेतृत्वमा रहेको टिमले यसपटक निर्देशकहरूको पहिचान स्थापित हुने गरी र निर्देशकलाई धेरै तरिकाले फाइदा हुने गरी संस्था खोल्नुपर्छ र व्यवस्थित बनाउनुपर्छ भन्ने ध्येयले संस्था स्थापना गर्‍यौँ ।

कहिलेदेखि यस्तो सोच विकास भयो ?

मेरो दिमागमा दुई वर्षअघि नै संस्था स्थापनाको सोच आएको थियो । यसपटक कोभिड महामारीको लकडाउनले गर्दा संस्थाको अवधारणालाई मूर्तरूप दिने माहौल बन्यो । नेपालमा म्युजिक भिडियोको तीन दशक लामो इतिहासमा कसैले संस्था खोलेका थिएनन् ।

हाम्रो संस्थाको प्रथम उपाध्यक्ष निर्देशक देवेन्द्र पाण्डे एकदिन संस्थाको आवश्यकता औँल्याउनुभयो । त्यसपछि म, देवेन्द्र पाण्डे, हेमप्रभाष अधिकारी, सुब्रतराज आचार्य, निकेश खड्का, दयाराम घिमिरेलगायतका निर्देशकहरूसँग छलफल भएपछि संस्था स्थापनालाई मूर्तरूप दियौँ ।

यस्तो संस्था स्थापनाको खास उद्देश्य के हो ?

प्रमुख उद्देश्य भनेको म्युजिक भिडियो निर्देशकहरूको पहिचान स्थापित गर्ने हो । हामी पनि देशको महत्वपूर्ण अङ्ग हौँ भन्ने मान्यता स्थापित गर्नु हो ।

अन्तर्राष्ट्रिय रूपमा कुनै ठाउँमा गएर आफूलाई ‘म नेपालको म्युजिक भिडियो निर्देशक हुँ’ भनेर परिचय दिँदा कसैले पहिचान खोज्यो भने युट्युबको लिंक देखाउनुभन्दा परिचय पत्र, नेपाल सरकारद्वारा मान्यता पाएको संस्थाको कुनै वैधानिक संस्थाको परिचय पत्रजस्ता कुराको आवश्यकता उद्देश्यमा राख्यौँ ।

सबै भिडियो निर्देशकहरूलाई एउटै छातामुनि राखेर विविध अन्तक्रिया गर्ने, संस्थालाई अघि बढाउन अग्रजसँग सल्लाह लिने, समकालीनसँगै कनिष्ठलाई सिकाउँदै अगाडि बढ्ने र म्युजिक भिडियोको अनियन्त्रित बजारलाई नियन्त्रणमा राखेर त्यसको तथ्यांक संकलन गरी प्रक्रियागत बाटोमा लैजाने सोच छ ।

यसबाहेक विदेशमा पनि ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’ गठन गर्ने, नेपालका जिल्लाहरूमा शाखा विस्तार गर्ने, विदेशमा बसेर भिडियो बनाउने निर्देशकहरूलाई समेट्ने, नेपाली सङ्गीत तथा म्युजिक भिडियोमा योगदान पुर्‍याउने व्यक्तिहरूसँग छलफल गरेर उहाँहरूलाई मानार्थ सदस्य, संरक्षक, आजीवन सदस्य वा टिमकै सदस्यका रूपमा ल्याउने उद्देश्य छ ।

उद्देश्य प्राप्तिका लागि कस्तो कार्ययोजना बनाउनुभएको छ ?

संस्थामा बढीभन्दा बढी सदस्य बनाउने उद्देश्यअनुरूप कार्यदिशा तय भइसकेको छ । विधानअनुसार छुट्टै कार्यदिशा बनाएका छौँ । सामाजिक सञ्जालमा संस्थाको विज्ञप्ति राखेर सबैसँग सञ्चार गर्ने, साथीहरूसँग सम्पर्क गर्ने काम गरिसक्यौँ । संस्था स्थापना भएको दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले म्युजिक भिडियो फिल्म निर्माणको अङ्ग भएको र राज्यस्तरबाट, राज्यसँग जोडिएका निकायबाट कुनै सहयोग चाहिएमा आफू तयार रहेको बताउनुभयो ।

त्यसै अनुसार अहिले प्रस्ताव लेखनको काम भइरहेको छ । प्रस्तावमा हामीले नेपाली म्युजिक भिडियोको अध्ययन, वार्षिक रूपमा निर्माण हुने भिडियोका संख्या, लगानी, रोजगारीको संख्या, कलाकारको अवस्था र नेपाल सरकारको प्राथमिकताको आवश्यकताको कुरा समेट्दैछौँ ।

सदस्यहरूको जीवन बीमाका लागि केही बीमा कम्पनीले चासो देखाएका छन् । संस्थाको कोषका लागि पनि एकदुई ठाउँमा कुराकानी भएको छ ।

संस्था स्थापना भएपछि केही निर्देशकले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका थिए । उनीहरूको असन्तुष्टि कसरी सम्बोधन गरिँदैछ ?

हामीले संस्था खोलेको दिन अथवा संस्थाको बारेमा सोचेदेखि सबैको साझा संस्था बनाउने संकल्प थियो । अहिले संस्थामा पन्ध्र जनामात्रै देखिए पनि यो सबैको साझा संस्था हो । उहाँहरू जतिले खोज्नुभयो, त्यसको मूल्यांकन गरिनेछ ।

जो साथीहरूले विवाद निकाल्नुभएको छ, त्यो उहाँहरूको नैसर्गिक अधिकार हो । संविधानले दिएको कुरा हो । उहाँहरूको गुनासो सही या गलत, प्राविधिकरूपमा कमजोर छ कि छैन भनेर पत्ता लगाउन बैठक बसेर हामीले निर्णय लिइसक्यौँ । उहाँहरूको माग सम्बोधन गर्दै भेटघाट र कूटनीतिक तवरबाट संवादको काम भइरहेको छ ।

सदस्यताको मापदण्ड के छ ?

संस्थाको सदस्य हुन चाहने व्यक्ति नेपाली नागरिक हुनुपर्छ । उहाँले १५ वटा म्युजिक भिडियो निर्देशन गरेको र त्यो सार्वजनिक प्रदर्शन भएको हुनुपर्छ । उहाँले प्रमाणस्वरूप १५० रूपैयाँ तिरेपछि हामी सदस्यता नम्बर प्रदान गर्छौं । उहाँलाई संस्थाको परिचयपत्र र प्रमाणपत्र चाहिएमा संस्थाको विधानअनुरूप हजार रूपैयाँ शुल्क लाग्छ । वार्षिक नवीकरणमा १५ सय रूपैयाँ शुल्क लाग्छ ।

हामीले सल्लाहकार, मानार्थ सदस्य र संरक्षकहरूका लागि कुनै रकम तोकेका छैनौँ । आजीवन सदस्यताका लागि १० हजार रूपैयाँ शुल्क तोकेका छौँ ।

भिडियोमा स्वदेशका नेपालीभन्दा विदेशमा बस्ने नेपालीले बढी लगानी गरेका छन् भन्ने सुनिन्छ नि !

भिडियोमा रुचिको कुरा आउँछ । लगानीमा निश्चय नै बढी रकम आवश्यक पर्छ । तपाईंसँग रुचि भए पनि लगानी गर्न पर्याप्त पैसा छैन भने त्यसको अर्थ रहँदैन ।

म्युजिक र भिडियो बनाउने भन्ने कुरा त्यति सहज पनि छैन । चार, पाँच लाखको लगानी हुन्छ । यति पैसा ल्याएर म्युजिक भिडियो बनाउन आयस्रोत छैन भने चाहनामै सीमित हुन्छ ।

विदेशमा बस्ने जति पनि अग्रजहरू हुनुहुन्छ, उहाँहरूले आफ्नो जीवन सेटलमेन्ट गरिसक्नुभयो । एउटा स्थायित्व पाइसकेपछि गाएर, गीत लेखेर, सङ्गीत भरेर, भिडियोमा अभिनय गरेर, निर्माता भएर, कम्पनी खोलेर भिडियोमा आफूलाई जोडिरहनुभएको छ । अहिलेको अवस्था हेर्दा करिब हामी ६० प्रतिशत हामी बाहिर निर्भर छौँ ।

भिडियोप्रति कलाकार र प्राविधिकहरू सन्तुष्ट छन् ?

पक्कै छन् । म करिब १३ वर्षदेखि भिडियो निर्देशनमा सक्रिय छु । म म्युजिक भिडियोबाटै निर्भर छु । निर्देशकहरूको जीवनशैली फेरिएको छ । केही आधारभूत कुराहरू म्युजिक भिडियोकै कामबाट पूरा भएको छ ।

कलाकारको जीवनशैली परिवर्तन भएको छ । प्राविधिकहरूले राम्रो पारिश्रमिक पाइरहेका छन् । सङ्गीत र म्युजिक भिडियोसँग जोडिएका सबै पक्षको वातावरण राम्रो छ । भिडियो निर्माणमा छरिएको वातावरण छ । मलाई मात्र काम आउँछ भन्ने छैन, धेरैलाई आइरहेको छ ।

लगानीको वातावरण कस्तो छ ?

निर्माताले के कारणले लगानी गर्नुहुन्छ भन्ने कुरा भन्न सकिँदैन । नियमित रूपमा लगानी आइरहेको छ । दैनिक ५ देखि १० वटा भिडियो अहिले पनि बनिरहेका छन् ।

म्युजिक भिडियोप्रति सरकारी निकायको बुझाइ चाहिँ कस्तो पाउनुभएको छ ?

नेपाली फिल्ममा वार्षिक रूपमा दुई अर्बदेखि तीन अर्बको लगानी हुन्छ भने भिडियोमा चारदेखि पाँच अर्बको लगानी छ । सरकारले फिल्म क्षेत्रका प्रायः सबै कुरा प्राथमिकतामा राखेको छ तर म्युजिक भिडियो प्राथमिकतामा छैन । फिल्ममा भए पनि भिडियोमा भए पनि गीत त गीत हो नि ! श्रोता र दर्शकले म्युजिक भिडियो भए पनि फिल्मको गीत भए पनि हेर्नुहुन्छ ।

हाम्रा पनि केही कमजोरी छन् । हामी केहीबाहेक अधिकांशले आफूलाई करको दायरामा ल्याउनुभएको छैन । व्यक्तिले आफूले नतिरे पनि कम्पनीमार्फत वर्षेनी कर तिरिरहेका छौँ । सरकारलाई प्रतिवेदन बुझाएका छौँ । सरकारले म्युजिक भिडियोलाई प्राथमिकतामा राख्नुपर्छ । यो माग पूरा गर्न सरकारसमक्ष चलचित्र विकास बोर्डमार्फत निश्चित कार्य योजनासहित जाँदैछौँ ।

म्युजिक भिडियो निर्देशकका रूपमा भिडियोमा तपाईंको प्राथमिकता के हुन्छ ?

म कथाको मौलिकता र वास्तविकतालाई प्राथमिकतामा राख्छु । गीतको थिमअनुसार कथालाई कहीँ न कहीँ दर्शकको भावनाको नजिक लैजाने प्रयास गर्छु । हातमा गीत आइसकेपछि कलाकारको छनोटभन्दा पनि गीतलाई कसरी कथात्मक बनाउन सकिन्छ भन्ने सोच्छु । निर्माता तथा स्रष्टाको चाहनालाई पुरा गर्छु कि गर्दिन भन्ने कुरामा ध्यान दिन्छु ।

कथा र थिम बनाइसकेपछि कलाकार छनोट गर्छु । नयाँ र पुराना कलाकारलाई समान अवसर दिन्छु ।

निर्देशकको सिर्जनामाथि लगानीकर्ता अथवा स्रष्टाको हस्तक्षेप कति हुन्छ ?

तपाईं कमजोर हुनुहुन्छ भने हस्तक्षेप हुन्छ । सक्षम हुनुहुन्छ, तपाईंको काम र नाम देखेर आउनुभएको हो भने तपाईंलाई बढी विश्वास गर्नुहुन्छ । प्राविधिक र रचनात्मक हिसाबले हुने हस्तक्षेपलाई म स्वीकार्छु ।

अमेरिकामा फिल्मसम्बन्धी अध्ययन गरेर आउनुभएको छ । भिडियो निर्माणमा कस्तो सहयोग पुगेको छ ?

पक्कै पनि सहयोग पुगेको छ । हामीले कार्यस्थलमा अध्ययन र त्यसको प्रयोगात्मक सिद्धान्त दुवै प्रयोग गर्छौं । फिल्म निर्माण एउटा प्रयोगात्मक विषय हो । त्यसकारण यसमा फिल्डवर्क जरुरी छ । फिल्म मेकिङमा पढ्ने र पर्ने दुवै अनुभव आवश्यक छ ।

अन्तर्राष्ट्रियरूपमा देशको कला म्युजिक भिडियो र फिल्ममार्फत अगाडि बढाउने चाहना छ भने बाहिरको अध्ययनले परिपक्क बनाउँछ । त्यहीअनुसार म सन् २०१६ मा अमेरिका गएर फिल्म अध्ययन गरी २०१८ मा नेपाल फर्किएँ ।

सरकारले म्युजिक भिडियोका लागि के गरिदियोस् भन्ने लाग्छ ?

सरकारले यसो गरिदियोस् भन्दा पनि पहिला हामीले आफ्नो बजार आफैँ बनाउनुपर्छ । सरकारले बनाइदिने होइन । सरकारले यो क्षेत्रमा पनि राम्रा व्यक्ति छन् भन्ने बुझिदिनुपर्‍यो । जसरी सङ्गीतसँग जोडिएका अन्य क्षेत्रमा सरकारको चासो छ, त्यसरी नै भिडियोमा पनि चासो दिनुपर्‍यो । सरकारले मन्त्रालयस्तरबाट हामीलाई पनि केही सुविधा दिनुपर्‍यो ।

हामीले विदेशमा गर्ने कार्यक्रम, विदेशी संस्थासँग आबद्धता हुने कुरामा सरकारको दूतावासमार्फत केही पहल हुनसक्छ भने राजदूत अथवा सद्भावना दूतमार्फत हाम्रो कला अन्तर्राष्ट्रियकरण गर्ने कुरामा ध्यान दिनुपर्छ । हामीलाई केही अप्ठ्यारो पर्‍यो भने सिधै केही कुरा राख्ने खालको व्यवस्था हुनुपर्छ ।


भर्खर

0