विद्युत प्राधिकरणका कार्यकारी भन्छन् : सरकारले दिएको जिम्मेवारी स्वीकार्छु | Khabarhub Khabarhub

विद्युत प्राधिकरणका कार्यकारी भन्छन् : सरकारले दिएको जिम्मेवारी स्वीकार्छु


२० श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोनाका कारण स्थलगत रुपमा जान नसक्दा विद्युत् चुहावट बढ्न गएको नेपाल विद्युत् प्राधिकरणले स्पष्ट पारेको छ ।

कोरोनाका काराण निषेधाज्ञा, लकडाउनलगायत कारणले उपभोक्ताको घर घरमा जान नसकेको हुक तथा अन्य माध्यमबाट हुने चोरी नियन्त्रण गर्न नसकिएको प्राधिकरणको भनाइ छ ।

आर्थिक वर्ष २०७७/७८ मा १५ प्रतिशतमा सीमित राख्ने भनिएको चुहावट बढेर १७ प्रतिशतको हाराहारीमा पुगेको छ । एक प्रतिशत चुहावट बढ्दा झण्डै रु ७० करोड बराबरको घाटा हुन जान्छ । दुई प्रतिशत चुहावट बढ्दा रु एक अर्ब ४० करोड बराबरको प्राधिकरणलाई घाटा लागेको छ । प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा झण्डै २७ प्रतिशतको हाराहारीमा रहेको चुहावटलाई घटाएर १४.६ प्रतिशतमा झारिएको थियो ।

पछिल्लो डेढ वर्षमा कोरोनाका कारण प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणमा ध्यान दिन सकेको छैन । सोही कारण देशव्यापीरूपमा पुनः चुहावट बढ्न गएको देखिन्छ । यस्तै, प्रसारण लाइनमा हुने चुहावट नियन्त्रणमा समेत ध्यान दिन सकेको छैन । त्यसलाई प्राधिकरणले प्राविधिक चुहावट भन्ने गरेको छ ।

मुलुकको प्रणालीमा थप १५ प्रतिशत बिजुली थप भएको र पुरानै प्रणालीमा बिजुली प्रवाह गर्नुपर्दा प्रसारण लाइनको तार तातेर हुने चुहावटमा वृद्धि भएको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले भने, “प्राविधिक चुहावट नियन्त्रणका लागि नयाँ प्रविधिमा आधारित प्रसारण लाइन बनाउनु पर्दछ । त्यसका लागि आजको भोलि नै काम हुने अवस्था छैन तर पनि चुहावट नियन्त्रण कसरी गर्न सकिन्छ भन्नेबारेमा हामीले ध्यान दिएका छौँ ।”

अनौपचारिकरूपमा आयोजित पत्रकार भेटघाटमा कार्यकारी निर्देशक शाक्यले कोरोनाका कारण सोचे जति काम हुन नसके पनि आफूहरूले सक्दो प्रयास गरेको जानकारी दिए ।

आफूहरूको ध्यान कोरोना कालमा बिजुली उपलब्ध कसरी गराउने भन्नेमा नै केन्द्रित रहेको भन्दै उनले भने, “शैक्षिक संस्थाले समेत विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गरेका छन् । अस्पतालमा बत्ती नजाने ग्यारेन्टी गरिएको छ । अक्सिजन उद्योगमा पनि एउटा लाइन जाँदा अर्को लाइनले काम गर्ने गरी व्यवस्थापन गरिएको छ ।”

उनले आर्थिक वर्ष २०७६/७७ मा देशभर प्राधिकरणको प्रणालीमा ४० पटक समस्या आएको भए पनि २०७७/७८ मा त्यसलाई ३४ पटकमा सीमित गरिएको जानकारी दिए । उपभोक्तामा आएको सचेतता र सामाजिक जागरणका कारण पनि बिजुलीको विषयमा आम मानिस जानकार भएको उनको भनाइ छ । वितरण लाइन तथा प्रणालीमा रहेको समस्या समाधानका लागि प्रयत्न गरिएको भए पनि त्यो पुग्दो नभएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

सरकारले दिएको जिम्मेवारी स्वीकार छ

सरकारले कार्यकारी निर्देशकलाई राजीनामा दिन आग्रह गरेको भन्ने सन्दर्भमा पत्रकारको जिज्ञासामा उनले भने, “म नेपाल सरकारको कर्मचारी भएकाले आफूलाई दिइने जुनसुकै जिम्मेवारी स्वीकार गर्छु ।”

उनले आफूलाई सरकारले उचित र क्षमताअनुसारको जिम्मेवारी दिनेसमेत विश्वास व्यक्त गरे ।

“दोष देखाएर होइन, आवश्यकताका आधारमा जिम्मेवारी दिए, म त्यसलाई स्वीकार गर्छु । सरकारको निर्णय शिरोपर छ”, उनले भने ।

आफूलाई सरकारले राजीनामा नमागेको, बरु वैकल्पिक व्यवस्थाका बारेमा सोधिएको बताए ।

“सरकारले खटाएको ठाउँमा काम गर्न मलाई कुनै समस्या छैन । महामारीको समयमा प्राधिकरणमा बसेर काम गरेको छु । सरकारले दिने जिम्मेवारी स्वीकार गर्छु”, उनले भने ।

मङ्गलबार सरकारले कार्यकारी निर्देशक शाक्यको राजीनामा मागेको सूचना सार्वजनिक भएको थियो । सरकारले आफूलाई अन्याय नगर्ने विश्वास व्यक्त गर्दै उनले विकल्प दिएर खटाएमा आफू काम गर्न तयार रहेको बताए ।

यस्ता काम भए

कार्यकारी निर्देशक शाक्यका अनुसार पछिल्लो छ महिनाको अवधिमा देशकै ठूलो ढल्केबर सवस्टेशन सञ्चालनमा आएको छ । कूल ४०० केभी क्षमताको सवस्टेशन निर्माणमा यसअघिको व्यवस्थापनको ठूलो हात र मेहनत रहेको भन्दै उनले आवश्यक व्यवस्थापन एवं प्राविधिक तयारी गरेर सञ्चालनमा आएको बताए ।

यस्तै, कूल ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको चौथो युनिट सञ्चालनमा आएको छ । गत वैशाखमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको भए पनि पेनस्टक पाइपको डिजाइनमा भएको परिवर्तन तथा अन्य प्राविधिक काम गर्न लामो समय लागेका कारण केही समय पर धकेलिएको हो ।

कूल ७६ मेगावाट क्षमताका चार वटा युनिटले हाल कूल ३०४ मेगावाट बिजुली उत्पादन गरेको छ । सो काममा समेत आफूले जस लिन नखोजेको भन्दै उनले यसअघिको व्यवस्थापनको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताए ।

“आयोजना अन्तिम चरणमा पुगेर मात्रै पनि हुँदो रहेनछ । अनेकन प्राविधिक समस्या आउँदा रहेछन्, ती समस्या समाधान गरेर सञ्चालनमा ल्याएका छौँ । यो नै महत्वपूर्ण विषय हो भन्ने मेरो ठहर छ”, उनले भने ।

यस्तै, १३२ केभी क्षमताको ढल्केबर–खिम्ती प्रसारण लाइनलाई २२० केभीमा स्तरोन्नति गरिएको छ । खिम्ती–लामोसाँघु प्रसारण लाइनमा लुप मिलाइएका कारण तामाकोशीको बिजुली सहजै काठमाडौँ आउने वातावरण बनेको छ ।

सामान्य लुपमा परिवर्तन गर्दा मात्रै पनि गुणस्तरीय बिजुली उपभोक्ताले पाएको कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

“हेर्दा यो विषय सामान्य लाग्न सक्छ तर, देशभर नै बिजुली जाने समस्या समाधानमा यसले सहयोग गरेको छ ,” उनले भने ।

उनले २२० केभी क्षमताको कुश्मा–दाना प्रसारण लाइन र १३२ केभी क्षमताको समुन्द्रटार–त्रिशूली प्रसारण लाइन सञ्चालनमा आएको तथ्याङ्कसमेत सो अवसरमा सुनाए ।

यस्तै, प्राधिकरणले भारतका खुल्ला बजारबाट पहिलोपटक बिजुली आयात गरिएको र निर्यातका लागि समेत आवश्यक तयारी अन्तिम तयारी भएको भएको उनको भनाइ छ । -रासस

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  ६ : ०७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका