नेताहरूलाई आफू देउता भएको भ्रम | Khabarhub Khabarhub

नेताहरूलाई आफू देउता भएको भ्रम



प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती आरजुको देवत्वकरण गर्ने अभियान सामाजिक सञ्जालमा शुरू भएको छ । ‘राजनेता शेरबहादुर देउवा’ भन्दै फेसबुकमा पेज खोल्ने प्रतिस्पर्धा चलेको छ । देवत्वकरणको यो अभियानमा देउवा दम्पतीको इच्छा, आकांक्षा तथा आर्थिक लगानी जोडिएको छ वा पर्दा पछाडिबाट कसैको हात छ भन्ने थाहा भइसकेको छैन ।

शक्तिशाली पदमा पुगेको व्यक्तिको देवत्वकरण नेपालको राजनीतिमा नयाँ होइन । खासगरी २०४६ सालको परिवर्तनपछि एउटा वर्गले राजनीतिक शक्तिमा रहेकाहरूको देवत्वकरण गर्ने रणनीति अख्तियार गरेको देखिन्छ । यस्तो अभियानमा प्रतिगामीहरूले पर्दापछाडि बसेर चलखेल गरेका विगतका नजीरहरू छन् ।

२०४६ सालको परिवर्तनलगत्तै गणेशमान सिंहको देवत्वकरण शुरू भयो । प्रधानमन्त्री पदसमेत त्यागेका गणेशमान सिंह देवत्वकरणबाट भ्रमित हुन पुगे । २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँका ५ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा श्रीमती मङ्गलादेवी सिंह र अर्को एउटामा छोरा प्रकाशमान सिंहलाई उम्मेदवार बनाए । चुनावी परिणामपछि मात्रै गणेशमान सिंहको भ्रम टुट्यो ।

अन्ततः गणेशमान सिंह कांग्रेसबाटै बाहिरिन बाध्य भए । गणेशमानको देवत्वकरण गर्नेमध्ये अधिकांशले २०५९ साल असोजमा राजा ज्ञानेन्द्रले चालेको प्रतिगामी कदममा साथ दिए । उनीहरूको नामको सूची निकै लामो भएका कारण यस आलेखमा समावेश गर्न सम्भव भएन ।

२०४८ सालको आमनिर्वाचनमा पराजित हुनु तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यक्तिगत कमजोरी थियो । उम्मेदवारी मनोनयन भइसकेपछि पनि मतदाता सूचीमा हजारौँको नाम थपिइरहँदा आफ्नै गृहमन्त्रीबाट पनि भट्टराईले सूचना पाएनन् । मतदाता नामावलीमा आफ्नो नाम नरहेको कुरा भोटहाल्न जाँदा मात्रै तत्कालीन गृहमन्त्री योगप्रसाद उपाध्यायले थाह पाए ।

चुनावी परिणामपछि आफ्नो कमजोरी महसुस गर्दै भट्टराईले पाँच वर्षका लागि सत्तामा जाने सपना नदेख्ने अनुमान गरिएको थियो । भट्टराईलाई यसरी देवत्व करण गरियो कि  ‘गिरिजाप्रसाद कोइरालाले प्रधानमन्त्रित्व सम्हाल्न सकेनन्, म बाहेक अर्को विकल्प छैन’ भन्ने भ्रममा उनी पारिए ।

दुई वर्ष बित्दा नबित्दै प्रधानमन्त्री बन्न भट्टराई त्यही क्षेत्रमा चुनाव लडे, फेरि चुनाव हारे । राज्य संयन्त्र प्रयोग गरेरै, सरकारी सञ्चारमाध्यमबाट देशवासीका नाममा सम्बोधन गरेरै प्रधानमन्त्री कोइरालाले आफ्नै पार्टीका सभापति भट्टराईलाई चुनाव हराइदिए ।

२०४६ सालको जनआन्दोलनका उपलव्धिहरू चोइटिन थालेको यही प्रकरणदेखि हो । चुनाव हराउने कोइरालाको जति गल्ती छ, उम्मेदवार बन्ने भट्टराईको पनि त्यति नै गल्ती छ । आफूलाई देवत्वकरण गर्नेहरूले उपनिर्वाचनका क्रममा जनताका बीच के के नारा लगेका छन् र यी नाराहरूले प्रधानमन्त्री कोइरालालाई के कति आहत बनाउँछन् भन्ने हेक्का भट्टराईले राखेनन् ।

देवत्वकरणमा सामेल हुनेहरूले भट्टराईलाई कतिन्जेल साथ दिए त भन्ने प्रश्नको उत्तर पनि कम पेचिलो छैन । जब भट्टराई कांग्रेसको राजनीतिमा सधैँका लागि पछारिए तब देवत्वकरण गर्नेहरू काज फिर्ता भए । राजाको प्रतिगामी कदमलाई साथ दिँदै मन्त्री बने, महत्वपूर्ण राजनीतिक नियुक्ति हात पारे ।

गिरिजाप्रसाद कोइरालाको हकमा पनि करिब त्यस्तै देखियो । उनको देवत्वकरण गर्नेहरू पनि धेरैजसो दरबारका एजेन्ट रहेछन् भन्ने पुष्टि भयो । कोइरालाको देवत्वकरण गर्ने अभियानमा सामेल भएका मध्ये कोही मधेशी दल खडा गरेर साम्प्रदायिक राजनीतिमा छिरे ।

नेपाली कांग्रेसमा मात्रै होइन नेकपा एमाले र माओवादी केन्द्रमा पनि प्रतिगामी शक्तिले देवत्वकरणको अस्त्र प्रयोग गरे । खास गरी पुष्पकमल दाहल प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा देवत्वकरणको अस्त्रद्वारा नै छियाछिया पारिए ।

प्रचण्डपछि एमालेका केपी ओलीको देवत्वकरण शुरू भयो । करिब दुई तिहाई बहुमतका साथ शक्तिसम्पन्न बनेका ओली आफू प्रधानमन्त्रीमात्रै होइन देवता नै बनिसकेको भ्रममा परे । राज्यका सारा शक्तिहरू आफैँमा खिचेर पुराणका देवताको जस्तै अभ्यास गर्ने क्रममा ओली दुर्घटनामा परे ।

ओलीको देवत्वकरण गर्ने अभियानमा संलग्नहरूमध्ये ८ जना सांसद त गत साउन ३ गते प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने क्रममा सतहमै देखापरे । काम सम्पन्न हुन बाँकी छ, ओलीको देवत्वकरण अभियान जारी छ । ओलीलाई राजनीतिबाट उखेलिदिने काम सम्पन्न हुन अझै केही महिना लाग्ने देखिन्छ ।

ओलीकालमा राधिका शाक्यको सक्रियता थिएन । यतिबेला आरजुको सक्रियता निकै खतरनाकरूपमा प्रकट भइरहेको छ । चौतर्फी अशुभ संकेत देखिएका बेला देउवाको देवत्वकरण उनीमाथि व्यङ्ग्य हो । तीन साता बितिसक्दा समेत मन्त्रिपरिषदले पूर्णता पाएको छैन । पूर्ववर्ती सरकारले ल्याइदिएको खोप समेत जनताले व्यवस्थित रूपमा लगाउन पाएका छैनन् ।

नेताहरूको देवत्वकरण नयाँ होइन । यसमा अभियान नै चल्ने गरेको छ । गणेशमान सिंहदेखि कृष्णप्रसाद भट्टराई, प्रचण्ड र केपी ओली हुँदै प्रधानमन्त्री शेरबहादुर देउवाको पालो आएको छ । भ्रम टुट्न भड्खालोमै पर्नुपर्ने रहेछ । 

प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै देउवाले गठन गरेको पाँच सदस्यीय मन्त्रिपरिषदमा कानुन तथा न्याय मन्त्रालय प्राथमिकतामा पर्‍यो तर स्वास्थ्य मन्त्रालय नजरमा परेन । महामारीमा स्वास्थ्य मन्त्रालय खाली राखेको भनेर व्यापक विरोध भएपछि प्रधानमन्त्री देउवाले निजी अस्पतालका व्यवसायीलाई मन्त्री नियुक्त गरे । सरकारी अस्पताललाई तहस नहस पारेर निजी अस्पताल पोसेको आरोप लागेका व्यक्ति स्वास्थ्यमन्त्री भए ।

गण्डकी प्रदेश सरकार गठनका बेला सामाजिक न्यायलाई तिलाञ्जलि दिन समेत प्रधानमन्त्री देउवाको भूमिका रहेको टिप्पणी भइरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले ‘आफूलाई अपराधबोध भएकोले रातभरि निदाउन नसकेको’ भन्नु भनेको देउवामाथि सानो प्रहार होइन ।

नागरिक अभियन्ता डा. गोविन्द केसीले त फेरि सत्याग्रहको चेतावनी दिइसकेका छन् । यसको पूर्वसंकेतका रूपमा गत शनिबार नागरिक समाजका अगुवाहरूले विरोध प्रदर्शन गरे । प्रधानमन्त्री देउवा यो विरोध प्रदर्शनप्रति गम्भीर बन्नुभन्दा देवत्वकरण गर्नेहरूको घेरामा मख्ख छन् । अब पनि गम्भीर नबन्ने हो भने मुलुकको परिस्थिति नियन्त्रणबाहिर जान सक्नेछ ।

नागरिक समाजका अगुवाहरूले देउवामाथि गम्भीर प्रश्न उठाएका छन् । उनले पैसा लिएर व्यापारीहरूलाई सांसद बनाएको र मन्त्री नियुक्त गरेको भन्दै कटाक्ष भइरहेको छ । गण्डकी प्रदेशमा डोवाटे विश्वकर्मालाई पछाडि पारेर घरजग्गा दलाललाई एकाएक मन्त्री बनाइएको घटनाप्रति कटाक्ष गर्दै प्रदर्शनकारीले लेखेका थिए– दलितलाई बाटोमै छाडेने, दलाललाई काटोमै टिप्ने ?

निजी अस्पताल व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएको घटनाप्रति कटाक्ष उनीहरूले लेखे– सामाजिक न्यायविना लोकतन्त्र कहाँ ?

पूर्ववर्ती सरकारका पालामा आएको कोराना विरुद्धको खोप निष्पक्ष रूपमा लगाइदिन पनि  वर्तमान सरकार असफल भएको भन्दै कटाक्ष गरे– सरकार तिम्रो प्राथमिकता के हो ?

संघीय र प्रदेश सरकारमा मन्त्री नियुक्ति गर्दा दलित, आदिवासी, जनजाति र महिलालाई छुटाइएको घटनाप्रति कटाक्ष लेखे– सरकार तिमी कति समावेशी ?’

नागरिक समाजले उठाएका यस्ता मुद्दाहरू जनताका हुन् । उनीहरूले देउवामाथि झुठो आरोप लगाएका होइनन् । देउवाले आफ्नो मति नसुधार्ने हो भने जनता समेत सडकमा उत्रने छन् । त्यस बेला ओलीभन्दा पनि पत्रु नेताका रूपमा देउवाको बहिर्गमनमात्रै हुने छैन, लोकतन्त्र नै गम्भीर संकटमा पर्नेछ ।

महाकाली सन्धिलाई देउवाको राजनीतिक जीवनकै सबैभन्दा ठूलो उपलव्धि भन्दै उक्साउनेहरूको जमात थप सक्रिय भएको छ । महाकाली सन्धि पारित भएको २५ वर्ष बित्यो, अझै कार्यान्वयन हुने छाँट छैन । टनकपुरमा बाँध निर्माण गरेर एकलौटी रूपमा भारतले महाकाली नदी उपयोग गरिरहेको छ । यसलाई वैधता दिनेबाहेक महाकाली सन्धिले सिन्को भाँचेको रहेनछ ।

करिब ५५ अर्ब रुपैयाँ सहायता उपलव्ध हुने एमससी सम्झौता दुई सय पेज लामो छ । यसमा धेरै प्रश्नहरू उठेका छन् । यति ठूलो बहस भइसकेपछि एमसीसी सम्झौतापत्र नेपाली भाषामा अनुवाद गरेर सञ्चारमाध्यम मार्फत जनताबीच लैजानुपर्ने थियो । यसो गर्दा  जनमत प्रष्ट हुने थियो र सरकारलाई नै सहयोग पुग्ने थियो ।

देउवा यी सबै कुरा बेवास्ता गर्दै देवत्वकरणमा रमाएका जस्ता देखिएका छन् ।

 

प्रकाशित मिति : २० श्रावण २०७८, बुधबार  १० : ३५ बजे

कतारका अमिर र प्रधानमन्त्री दाहालबीच भेटवार्ता हुँदै, विभिन्न सम्झौतामा हस्ताक्षरको तयारी

काठमाडौं– नेपालको दुई दिने भ्रमणमा आएका कतारका अमिर शेख तमिम

एशियन च्याम्पियन्स लिगबाट अल हिलाल बाहिरियो

काठमाडौं– साउदी क्लब अल हिलाल एशियन च्याम्पियन्स लिगको सेमिफाइनलबाट बाहिरिएको

आर्थिक संवृद्धिसँगै अन्तर्राष्ट्रिय प्रभाव बढाउँदै कतारका अमिर

कतारका लागि बङ्गलादेश र नेपाल दुई प्रमुख श्रम बजार हुन्।

इंग्लिस प्रिमियर लिग : चेल्सीमाथि आर्सनलको ५ गोल

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सानदार जित निकालेको छ

गण्डकी सरकारविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध सर्वोच्चमा परेको रिटमा आज सुनुवाइ हुँदैछ