गौरवशाली सेना र फास्ट ट्र्याक | Khabarhub Khabarhub

गौरवशाली सेना र फास्ट ट्र्याक


२० असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय एकीकरण अभियानको अग्रपङ्क्तिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको नेपाली सेनाको इतिहास निकै गौरवशाली छ । राष्ट्र निर्माणदेखि अन्तर्राष्ट्रिय शान्ति मिसनहरूमा उच्च प्रतिष्ठा हासिल गर्न सफल नेपाली सेनाप्रति आम जनताको ठूलो भरोसा छ ।

राणा शासन अन्त्यदेखि गणतन्त्रसम्मको राज्य व्यवस्था आत्मसात गर्दै वैधानिक सरकारको निर्देशन सदैव अनुपालन गर्न तत्पर नेपाली सेना अहिलेसम्म नेपालको एकमात्र विवादरहित र प्रदूषणमुक्त संस्था हो । संयुक्त राष्ट्र संघअन्तर्गत शान्ति स्थापनार्थ परिचालित मिसनमा विश्वको तेस्रो सर्वाधिक सहभागिता नेपाली सेनाको छ । देशमा बाढीपहिरो, आगलागी, भूकम्प लगायतका प्राकृतिक प्रकोपमा पीडितहरूको उद्धार र उपचारमा पनि नेपाली सेना अग्रणी रहेको छ । राजनीतिप्रतिको निराकार भाव नेपाली सेनाको अर्को गुण हो । यसरी देशविदेशमा नेपाली सेनाको छवि सकारात्मक र निकै उज्यालो रहेको छ । नेपालीका लागि यो राष्ट्रिय गौरवको कुरा हो ।

यति हुँदाहुँदै कहिलेकाहीँ नेपाली सेनाका कतिपय गतिविधि विवादमा पर्ने गरेका छन् । माओवादीको सशस्त्र द्वन्द्वका समयमा घटित केही विवादास्पद घटनाले नेपाली सेनामाथि केही प्रश्न खडा गरेको थियो । अहिलेसम्म सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्ति छानविन आयोगले काम नसक्नुले सेनाबारे प्रश्न उठ्न छाडेको छैन । यद्यपि यसमा कमजोरी सेनाबाट होइन सरकारबाट भएको छ ।गौरवशाली इतिहास रहेको एउटा सफल र विश्वसनीय राष्ट्रिय संस्थामाथि नकारात्मक टिप्पणी हुनु राष्ट्रिय हितअनुकूल हुँदैन ।

यता केही समयदेखि निर्माणाधीन निजगढ–काठमाडौँ द्रुत मार्ग (फास्ट ट्र्याक) बारे अनपेक्षित र विवादास्पद कुराहरू चर्चामा आएका छन् जसमा नेपाली सेना पनि मुछिएको छ । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सेनाले निर्माण गरिरहेको उक्त सडकमा केही संरचनाहरूको टेन्डर र सम्झौता प्रक्रियाबारे प्रश्न उठाउँदै रक्षा मन्त्रालयमार्फत केही प्रक्रिया रद्द गर्न निर्देश दिएको थियो ।

जसले जे दाबी गरे पनि दोस्रो प्याकेजका लागि एकमात्र चिनियाँ कम्पनी छनौट गरेर अन्तर्राष्ट्रिय टेन्डर आह्वान प्रक्रिया प्रतिस्पर्धाविहीन बनाएकोमा शङ्का भएको छ ।

फास्ट ट्र्याक सम्बन्धमा उठेका विवादहरू मुख्यतः प्रतिस्पर्धामा सीमित कम्पनी छनौटसँग सम्बन्धित छन् । सेनाले दुई प्याकेजमा कुल १० दशमलव ५९ किलोमिटर लम्बाइका १६ वटा विशेष प्रकृतिका पुल र दुईवटा सुरुङमार्ग (६ दशमलव ४१ किलोमिटर) बनाउन टेन्डर गरेको थियो । यी दुवै प्याकेजको कुल बजेट लगभग ५२ अर्ब रुपैयाँ छ । जसमध्ये पहिलो प्याकेजको लागत २७ अर्ब रुपैयाँ छ । दोस्रो प्याकेज अन्तर्गतको सुरुङ र पुल निर्माणका लागि २५ अर्ब रुपैयाँको बजेट छ ।

नेपालको लागि सर्वथा नौलो र अहिलेसम्म स्वीकृत भइनसकेको इन्जिनियरिङ, प्रोक्युर्मेन्ट एन्ड कन्स्ट्रक्सन (इपीसी) मोडल अन्तर्गत सुरुङ तथा पुल निर्माणको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिइएको छ । यसअन्तर्गत ठेकेदार कम्पनीले पुल र सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) ६ महिनाभित्र बनाउनेछन् । निर्माण अवधि डीपीआर स्वीकृतपछिको ३६ महिना राखिएको छ ।

उक्त टेन्डरमा पूर्वयोग्यता निर्धारण गर्ने क्रममा पहिलो छनोटमा नपरेको कम्पनी दोस्रो पटकको टेन्डरमा एकाएक छनोटमा परेपछि सार्वजनिक लेखा समितिले मिलेमतोको आशङ्का गरेको थियो ।

दुई वर्षअघि उपर्युक्तअनुसारका पुल र सुरुङमार्ग निर्माण गर्न अन्तर्राष्ट्रिय स्तरको टेन्डर अह्वान गर्दा ४३ वटा कम्पनीले भाग लिएका थिए जसमा ६ वटा छनोटमा परेका थिए । दोस्रो पटकको टेन्डरमा छनोट भएको पोली चङ्डा ग्रुपको पोली चङ्डा इन्जिनियरिङ भने पहिलो छनोटमा नपरेको भनिएको छ । यसबारे संसदीय लेखा समितिले ‘अन्तर्राष्ट्रियस्तरमा टेन्डर आह्वान गर्दा ४३ वटा कम्पनीले निवेदन दिएका भए पनि प्रतिस्पर्धाविना कसरी दुई वटा चिनियाँ कम्पनीमात्र छनौट भए’ भन्ने प्रश्न उठाएको छ ।

निजगढ र काठमाडौँका अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्भावित अत्यधिक सवारी साधनको प्रयोगबाट रकम असुल्ने लक्ष्य पूरा हुन निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्छ ।

सार्वजनिक लेखा समितिले उक्त ठेक्का प्रक्रिया रद्द गर्न निर्देश दिए पनि कार्यान्वयन भएको छैन । सैनिक अधिकारीले सार्वजनिक लेखा समितिको निर्देशन सरकारका लागि हो भन्ने प्रतिक्रिया जनाएका छन् । सामान्यतः यसमा रक्षा मन्त्रालय आगडि देखा पर्छ । उसले अहिलेसम्म ठेक्का प्रक्रिया रोक्न सेनालाई निर्देशन दिएको छैन । त्यसै प्रक्रिया रोक्ने कुरा आउँदैन, मन्त्रालयले सेनाको रायसम्म मागेको छ ।

रक्षा मन्त्रालयका अधिकारीका अनुसार लेखा समितिले फास्ट ट्र्याक अन्तर्गत फेज–२ को ठेक्का प्रक्रिया रोक्न दिएको निर्देशनको सम्बन्धमा मन्त्रालय जानकार छ । त्यस विषयमा सेनासँग राय लिने काम भइरहेको छ  तर ठेक्का रोक्ने निर्णय भएको छैन । मन्त्रालयका अधिकारीहरूले यो विषय छलफलकै चरणमा रहेको भन्दै पन्छाउने गरेका छन् ।

जसले जे दाबी गरे पनि दोस्रो प्याकेजका लागि एकमात्र चिनियाँ कम्पनी छनौट गरेर अन्तर्राष्ट्रिय टेन्डर आह्वान प्रक्रिया प्रतिस्पर्धाविहीन बनाएकोमा शङ्का भएको छ । यसबारे सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, २०७७ मा रक्षा मन्त्रालय सम्बन्धी महलको दफा ८ मा लागत अनुमान भन्दा १ प्रतिशतदेखि ५ प्रतिशतसम्मको फरक र न्यून प्रतिस्पर्धालाई बेरुजु मान्दै सच्याउन निर्देशन दिने गरी टिप्पणी गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना भनिएको निजगढ–काठमाडौँ फास्ट ट्र्याक बनाउनुपर्ने मुख्य कारण निजगढमा निर्माण गर्ने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल हो । तत्काल यसको सम्भावना छैन । यो सडक निर्माणको खर्च पटके सवारी दस्तुर (टोलट्याक्स) बाट उठाउने लक्ष्य छ ।

निजगढ र काठमाडौँका अन्तर्राष्ट्रिय विमानस्थलबीच सम्भावित अत्यधिक सवारी साधनको प्रयोगबाट रकम असुल्ने लक्ष्य पूरा हुन निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बन्नु पर्छ । निजगढ विमानस्थल नबने ऋणबाट निर्माण हुने फास्ट ट्र्याकको लागत उठाउन सजिलो छैन । वातावरणीय प्रभावमा पर्न सक्ने असरबारे पनि प्रष्टताको अभाव देखिन्छ ।

नेपाली सेना समग्र राष्ट्रको गौरवशाली संस्था हो । यसलाई विवादमा पर्न नदिनु सरकारको जिम्मेवारी हो । नेपाली सेना आफैँ हतपत विवादमा परेको छैन ।

आम नेपाली जनताले पत्याएको संस्थाबारे कुनै प्रकारको विवादास्पद चर्चा हुनु राष्ट्रिय हितमा हुँदैन । माओवादीको सशस्त्र द्वन्द्वको बेला भएका कतिपय घटनाहरू अझै अनुत्तरित छन् जसका कारण सेनाबारे नकारात्मक टिप्पणी हुने गरेको छ ।

सार्वभौमसत्ता सम्पन्न जनताको सर्वोच्च प्रतिनिधि संस्था संसद अन्तर्गतको सरकारी व्ययसम्बन्धी महत्वपूर्ण निर्देशक निकाय सार्वजनिक लेखा समितिले उठाएको प्रश्न उपेक्षित हुनु राम्रो होइन । यसले नकारात्मक सन्देश फैलाउन मद्दत गर्छ ।

नेपाली सेना समग्र राष्ट्रको गौरवशाली संस्था हो । यसलाई विवादमा पर्न नदिनु सरकारको जिम्मेवारी हो । नेपाली सेना आफैँ हतपत विवादमा परेको छैन ।

निजगढ–काठमाडौँ फास्ट ट्र्याक निर्माण देशको आर्थिक विकासका लागि अनिवार्य हो तर यही कारणले सेनाको छविसँग सम्झौता गर्न कोही पनि तयार हुनु हुँदैन । सार्वजनिक लेखा समितिले उठाएका प्रश्नहरू निरूपण गर्ने मुख्य दायित्व निःसन्देह रक्षा मन्त्रालयको हो । यसो भनेर सेना सरक्क पन्छिँदा झन् शङ्का बढाउँछ । सेनाले गर्ने हरेक काम उसको संस्थागत छवि प्रवर्द्धन गर्न सहयोगी हुनुपर्छ ।

सैन्य सम्बन्धी विषयहरूमा रक्षा मन्त्रालय तालुकवाला भए पनि उसको एक्लो अधिकार छैन । राष्ट्रिय सुरक्षा परिषद लगायतका निकायहरू छन्, प्रधानमन्त्रीको पनि सोझो चासो हुन्छ ।

फास्ट ट्र्याकको ठेक्का सामान्य कुरा होइन । यसमा संसदीय समितिले उठाएका प्रश्नहरू बेकार ठान्दा सेनाको छविमा नकारात्मक प्रभाव पर्छ । यति ठूलो ठेक्कापट्टामा अनेक पक्षका अनेक अपारदर्शी चासोहरू हुन सक्छन् । हाम्रो राष्ट्रको गौरवशाली अङ्ग नेपाली सेना पारदर्शी हुनुपर्छ । पारदर्शिता व्यवहारमा देखिनुपर्छ । यसो हुँदामात्रै नेपाली सेनाको गौरवमय छवि झन् उज्यालिँदै जान्छ ।

नेपाली सेना राष्ट्रको गौरव हो । यसको छवि निष्कलङ्कित राख्नु राष्ट्रिय दायित्वको कुरा हो ।

प्रकाशित मिति : २० असार २०७८, आइतबार  २ : ५५ बजे

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर