कोरोना महामारीले गर्भवती तनाबमा | Khabarhub Khabarhub

कोरोना महामारीले गर्भवती तनाबमा


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कोरोना भाइरस सङ्क्रमणको दोस्रो भेरियन्टको सङ्क्रमण तीब्ररुपमा फैलिएपछि गर्भवती तथा सुत्केरी बढी तनाबमा देखिएका छन् । कोरोना सङ्क्रमण भइहालेमा घरमै आइसोलेशनमा बस्नेदेखि अस्पतालमा भर्ना हुने अवस्थाका अन्य व्यक्तिलाई भन्दा गर्भवती तथा सुत्केरीका लागि बढी जोखिम हुने हुँदा उनीहरु बढी नै चिन्तित बनेका हुन् ।

टीकापुरकी रमिला चौधरीको यही वैशाख २८ गतेको सुत्केरी हुने मिति अस्पतालले दिएको छ । टीकापुर अस्पतालमा नियमित गर्भ परीक्षण गरिरहेकी रमिला सुत्केरी हुने मिति नजिकिदै गर्दा निकै चिन्तामा छिन् ।

जागिरे रमिलालाई कार्यालयले कोरोना सङ्क्रमण बढेपछि बिदा मिलाइदिएको छ तर उनलाई अस्पतालसम्म कसरी जाने भन्ने चिन्ताले सताएको छ ।

‘आठ महिनामा भिडियो एक्सरे गर्दा डाक्टरले बच्चा उल्टो छ भन्नु भएको थियो । अस्पतालमा कोरोना सङ्क्रमणका धेरै बिरामी छन् । मलाई अस्पताल गए सङ्क्रमित भइन्छ कि भन्ने डर छ’, रमिला भन्छिन्, ‘घरमा सुरक्षित छु, सामान्य हिसाबले बच्चा जन्मिए त हुन्थ्यो तर शल्यक्रिया गर्नुपर्ने हो कि भन्ने डर लागिरहेको छ ।’ उनी सुत्केरी हुने भन्दा पनि कोरोना सङ्क्रमण भइन्छ कि भन्ने चिन्ता लागेको बताउँछन् ।

टीकापुरकै रुपनी शर्माको पनि सुत्केरी मिति नजिकिएको छ । दोस्रो बच्चा पाउने मिति आइसक्दा रुपनी पनि कसरी अस्पताल जाने भन्ने चिन्तामा रहेको बताउँछिन् । ‘पहिलो बच्चा शल्यक्रिया गरी निकालिएको हो । शल्यक्रिया गर्दा एक साता बढी अस्पताल बस्नु परेको थियो, यस पटक के हुने हो भन्ने डर लागिरहेको छ’, उनले भनिन्, ‘पहिलो बच्चा पनि सानो छ । कोरोना भन्ने कस्तो रोग आयो । आफ्नै मान्छे पनि नजीक आउन डराउनु पर्ने, अस्पताल जान पनि डर लाग्ने ।’

कैलालीको जोशीपुरकी सन्ध्या विक पहिलो पटक गर्भवती भइन । सन्ध्याका श्रीमान् स्वास्थ्यकर्मी हुन् । श्रीमान् दिनभरि कार्यालयमा काम गर्छन्, सन्ध्यालाई तनाब बढेको छ । ‘गाउँमा ज्वरो आएका बिरामी बढेका छन् । म आठ महिनाकी गर्भवती छु । श्रीमान् बिरामीको उपचार गर्ने काम गर्नुहुन्छ’, सन्ध्याले भनिन्, ‘कुन दिन हामी पनि सङ्क्रमित हुन्छौँ भन्ने डरले सताएको छ ।’

टीकापुर अस्पतालमा उपचारमा आउने तीन जना गर्भवतीलाई कोरोनाका लक्षण देखिएको छ । एक जना गर्भवती सङ्क्रमित भएर अस्पतालमै उपचार भइरहेको छ । गर्भ परीक्षण सेवा नियमित राखेको टीकापुर अस्पतालले यस साताबाट दुई साताका लागि बन्द गर्ने तयारी गरेको छ ।

‘समुदायमा सङ्क्रमण फैलिएको छ । यस्तो बेला सुत्केरी र गर्भवती बढी सुरक्षित हुन आवश्यक छ’, सिनियर स्टाफ नर्स कल्पना खड्काले भनिन्, ‘सेवा नियमित भए पनि गर्भवतीहरु डरले अस्पताल आउन सक्नु भएको छैन । हामीले पनि दुई हप्ता गर्भ परीक्षण सेवा नगर्ने सल्लाह गरेका छौँ । सङ्क्रमण फैलिनबाट जोगिन यो आवश्यक छ ।’

अस्पतालले समस्यामा रहेका गर्भवती तथा सुत्केरीलाई टेलिफोनबाट परामर्श दिन थालेको छ । टीकापुर अस्पतालमा सातामा दुई दिन गर्भ परीक्षण सेवा दिइन्छ । सातामा ७० जनासम्म गर्भवती सेवा लिन आउने गरेको स्टाफ नर्स खड्काले बताइन ।

‘कुनै दिन त ३५ जनासम्म गर्भवती आउँथे, यो त जोखिम भयो भनेर हामीले फोनमै समस्या भए सोध्न भनेका छौँ’, उनले भनिन्, ‘यस्तो बेला खानपिनमा ध्यान दिने, घरमै रमाउने, तनाबबाट मुक्त भएर बस्नुपर्छ ।’

अस्पतालका स्त्री रोग विशेषज्ञ गौरी रिजाल अन्य नागरिकभन्दा गर्भवती तथा सुत्केरीको रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले सर्तकता अपनाउन आवश्यक रहेको बताउँछिन् । ‘सङ्क्रमणको जोखिम पनि बढी हुन्छ, यस्तो बेला बालबालिका र आमालाई जोगाउन सचेतना अपनाउनु नै विकल्प हो’, डा रिजालले भनिन्, ‘सुत्केरी सेवा नियमित छ । सुत्केरी सेवा दिँदा स्वास्थ्यका मापदण्ड पूरा पालना गरिएका छन् । ब्यथा लागेमा अस्पताल आउनुहोला । घरमै सुत्केरी हुनु सुरक्षित होइन ।’

टीकापुर अस्पतालमा दैनिक चारदेखि छ जनासम्म महिलाले सुत्केरी सेवा लिने गरेका छन् । अस्पतालले अन्य सेवा बन्द गरे पनि सुत्केरी सेवा स्वास्थ्यका मापदण्ड पालना गरेर नियमित दिइरहेको छ । यहाँ टीकापुरका मात्र नभई कैलालीका जानकी, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका र बर्दिया जिल्लाको राजापुर नगरपालिकाका महिलासमेत सेवा लिन आउने गरेका छन् ।

कोरोना सङ्क्रमण बढेसँगै निषेधाज्ञा जारी गरिएपछि सुत्केरी व्यथा लागेका महिला अस्पतालसम्म सहजै आउन झन कठिनाइ भइरहेको बताउँछन् । हरेक पालिकामा रहेका स्वास्थ्य संस्थामा समेत सुत्केरी सेवा उपलब्ध भएपनि त्यहाँ शल्यक्रिया सेवा नभएका कारण अधिकांश महिला सेवा लिन यहाँ आउने गर्दछन् । रासस

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ३ : ५९ बजे

सबै कम्युनिष्ट एकतावद्ध हुनुपर्छ : नेता खनाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै कम्युनिष्ट

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत लिनुपर्ने

काठमाडौं– कोशी प्रदेशसभामा संकल्प प्रस्ताव पारित भएसंगै मुख्यमन्त्री केदार कार्कीले

एमालेको प्रतिनिधि परिषद् बैठकमा २ हजार ४५४ जना सहभागी हुने

काठमाडौं– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा २ हजार

निलम्बित सचिव मधु मरासिनीले सफाइ पाए, सुनील पौडेल दोषी ठहर

मधु मरासिनी काठमाडौं- निलम्बनमा परेका नेपाल सरकारका सचिव मधु मरासिनीलाई

३३ प्रतिशत सकियो फास्ट ट्रयाकको काम

काठमाडौं– तराईमधेश फास्ट ट्रयाकको हालसम्मको भौतिक प्रगति जम्मा ३३.२ प्रतिशत