पश्चिम बङ्गालमा बलशाली ममता बनर्जी  | Khabarhub Khabarhub

पश्चिम बङ्गालमा बलशाली ममता बनर्जी 


२१ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सन् २०११, पश्चिम बङ्गालमा ३४ वर्षदेखिको कम्युनिस्ट सत्ताविरुद्ध निर्वाचनमा उदाइन् ममता बेनर्जी । हरियो किनारा भएको सेतो सारीमा चप्पल लगाएर नपत्याउँदो ढङ्गले हिँड्थिन् उनी । पत्याउन कठिन थियो, यति सामान्य महिलाले पुरानो कम्युनिस्ट सत्तालाई निर्वाचनमा पराजित गर्दै आफू मुख्यमन्त्री हुन्छिन् भन्ने कुरा ।

मा, माती र मानुष (आमा, पृथ्वी र व्यक्ति) ममताले आफ्नो भाषणमा भन्ने कुरा थिए । सभा र जुलुस हेर्नेहरू ‘ममता खोइ ?’ भनेर सोध्थे ।

ममताका समर्थकहरू जोसका साथ आफ्ना नेतालाई उपस्थित गराउँथे । फूलका गुच्छाले स्वागत गर्थे ।

दश वर्षमा समय फेरियो । फरक सत्ताको सामना गर्न पुगिन् ममता । एकातिर कोरोना महामारी र अर्कोतिर प्रधानमन्त्री नरेन्द्र मोदीले गराएको चुनावी पदयात्रामा हजारौँको भिड । धार्मिक अतिवादको आरोप खेपिरहेका मोदीले कुम्भमेलासमेत गराए ।

ठिक एक वर्षअघि भारतमा कडा लकडाउन थियो तर कोरोना महामारी अहिलेको जस्तो कडा थिएन । मुस्लिम जमातीका केही गतिविधिले कोरोना फैलिएको आशयको अभिव्यक्त प्रधानमन्त्री मोदीले दिइरहेका थिए । एक वर्षपछि भारतमा कुम्भ मेला भयो । यसले हाहाकार मच्चायो । कुम्भ मेलामा सहभागी भएर फर्कने ७५ प्रतिशत नेपाली संक्रमित भएको समाचार आएको छ ।

केही दिनअघि कोरोना महामारीबाट पार पाइसकेको भन्ने भारत संसारकै ‘हट स्पट’ बनेको छ । संसारका सबै देशले भारतमा आवत—जावत बन्द गरेका छन् ।

अहिले कोरोना यति बढ्दो छ कि शव दाह गर्ने स्थानको समेत अभाव हुन थालेको छ । वल्डोमिटरका अनुसार एक दिनमा ३ हजार ६०० भन्दा बढीको ज्यान जान थालेको छ । कतिपयले त अझ बढीको ज्यान जाने गरेको अनुमान गरेका छन् ।

दिल्लीका हरेक अस्पतालले थप अक्सिजनको माग गरिरहेका छन् । यो क्रम दुई साताअघिदेखिको हो । आइतबार बाँच्न सक्ने अवस्थामा रहेका एक चिकित्सक सहित १२ जनाले एउटै अस्पतालमा ज्यान गुमाए ।

अस्पतालमा बेड पाउन नसक्नेहरू बाहिर पोर्टेबल सिलिन्डर बोकेर बसिरहेका छन् । बेड खाली हुने आशमा मानिसहरू घन्टौँ यसरी कुरिरहेको दृश्य प्रायः सबै अस्पतालका देखिन्छ ।

अक्सिजन भण्डारण गर्ने ठूलो ट्याङ्की भएका अस्पतालमा पनि हाहाकार मच्चिएको छ । यस्तो सुविधा नभएको र सिलिन्डरमा मात्र अक्सिजन राख्ने अस्पतालको त कुरै छाडौँ । आइतबार मात्र दिल्लीमा २० हजारभन्दा बढी संक्रमित फेला परे, ४०७ जनाको ज्यान गयो ।

प्रान्तीय र केन्द्रीय सरकारको जुहारीबीच संक्रमितले जीवन गुमाइरहेका छन् । यो महामारीमा भारतमा धेरैका हृदयविदारक कथा लेखिए ।

श्रीराम सिंह अस्पतालका चिकित्सक डा. गौतम सिंह आफ्नो अस्पतालमा ५० बेड र १६ आइसीयू भए पनि अक्सिजन नभएका कारण बिरामी भर्ना नगरेको बताउँछन् । उनले अस्पतालका आधा कर्मचारी अक्सिजन भर्न सिलिन्डर बोकेर उभिने गरेको बताए ।

उनले ट्वीट गर्दै भेन्टिलेटरका लागि सहयोगको आह्वान गर्ने गरेका छन् । अक्सिजन अभावका कारण बिरामी मर्ने डरले उनी लगातार दुई दिनदेखि सुत्न सकेका थिएनन् ।

उक्त अस्पतालकै एक कर्मचारीले भनिन्, ‘अक्सिजन बेड उपलब्ध गराउने ठाउँमा म भएका कारण धेरैले सम्पर्क गर्छन् । आफू असक्षम रहेको बताउँदा कम्ती दुःख हुँदैन ।’दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले सङ्घीय सरकारले प्रान्तीय सरकारलाई अक्सिजन उपलब्ध नगराएको आरोप लगाएका छन् ।

प्रान्तीय र केन्द्रीय सरकारको जुहारीबीच संक्रमितले जीवन गुमाइरहेका छन् । यो महामारीमा भारतमा धेरैका हृदयविदारक कथा लेखिए ।

यस्तै पीडा अल्ताफ साम्सीको छ । उनी र उनकी श्रीमती दुवै कोरोना संक्रमित भए । गर्भवती श्रीमतीलाई आइसीयूमा राख्नुपर्ने भयो । उनले अक्सिजनका लागि हारगुहार गरे । अर्को अस्पतालमा उनका बाबु बिते । मुश्किलले श्रीमती र छोरी भएको अस्पतालमा अक्सिजनको जोहो भयो । यो सकिएपछि के गर्ने भन्ने चिन्ताले उनलाई सताएको छ ।

दिल्लीका अभिषेक शर्माको पीडा पनि कम्तीको छैन । शनिबार एकाएक उनका बाबुको अक्सिजन लेभल घट्यो । उनी सिलिन्डर खोज्न दर्जनौँ पसल पुगे । एउटा सानो सिलिन्डर पाए जसले ६ घण्टामात्र काम दिन्थ्यो ।

यसपछि एउटा ठूलो खाली सिलिन्डरमा अक्सिजन भर्न थुप्रै पसल चहारे । बल्ल एउटा पसलमा लामो लाइनमा बसे । उता बाबुको अक्सिजन लेभल पनि घट्दै थियो । उनले अक्सिजन भरे । बाबु जोगाउन उनी भोलि पनि यसै गरी घण्टौँ लाइनमा बस्नुपर्छ ।

नागरिक यति धेरै पीडामा रहँदा प्रधानमन्त्री मोदीका लागि पश्चिम बङ्गालको चुनाव प्राथमिकतामा थियो ।

मोदीले उच्च प्राथमिकता दिएको पश्चिम बङ्गालको निर्वाचनमा मोदीको भारतीय जनता पार्टी (वीजेपी) को हार भएको छ । ममता बेनर्जीले नेतृत्व गरेको टेनामल कांग्रेस पार्टी (टीएमसी) ले २९४ मध्ये २०० स्थान जितेको छ ।

बेनर्जी आफ्नो निर्वाचन क्षेत्रमा पराजित भइन् तर उनको पकड यथावत छ ।

पराजयका बाबजुद मोदीको दलले सन् २०१६ को भन्दा तीन स्थान बढाएर ८० स्थानको नजिक सफलता पाएको छ । वीजेपी प्रमुख विपक्षी दल बनेको छ । परन्तु जसरी भए पनि यस पटक जित हात पार्ने मोदीको प्रयास भने असफल भयो ।

ममता बनर्जीको दल टीएमसीको जित प्रधानमन्त्री मोदीको वीजेपीविरुद्ध मात्रै होइन, निर्वाचन आयोगविरुद्धको पनि ठानिएको छ । बङ्गाली भाषामा भाषण र आफ्नो दाह्री रवीन्द्रनाथ टैगोरको सम्मानको प्रतीक भन्ने मोदीको चलाखीले काम गरेन ।

पश्चिम बङ्गालका जनतासामु भावुक मुद्रामा मोदीले आफ्नो लामो दाह्री कवि रवीन्द्रनाथ टैगोरको सम्मानको प्रतीक भएको भन्दै भाषण गरेका थिए । यो भाषणले बङ्गालीको मन जित्न सकेन ।

भारतका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको र मानिसहरूमा रुवाबासी चलेको समयमा प्रधानमन्त्री मोदीले हजारौँको लस्कर लगाएर मत माग्दा उनीप्रति बङ्गालीमात्र होइन, सिङ्गो दुनियाँ नै नकारात्मक बन्नु स्वाभाविक थियो ।

ममता बेनर्जीका लागि यो भिडन्त केन्द्रीय सत्तामात्र होइन सधैँ आफ्ना विरुद्धमा रहने सञ्चारकर्मीसँग पनि थियो । प्रधानमन्त्री मोदीले ट्वीट गर्दै बेनर्जीलाई बधाई दिए, वीजेपीको उपस्थिति बढेकोमा खुसी पनि व्यक्त गरे । कांग्रेस नेता राहुल गान्धीले पनि बेनर्जीलाई ट्वीटमार्फत बधाई दिए ।

आदित्य ठाकरेले पनि ट्वीट टर्दै बेनर्जीलाई बधाई दिए । उनले सबै चुनावी अस्त्रका बाबजुद ममताको जित भएको ठहर गर्दै बङ्गालका नागरिकले निर्भीक भएर मतदान गरेको प्रतिक्रिया दिएका छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्वीट टर्दै बधाई दिए । उनले ‘दिदी’ सम्बोधन गर्दै लेखे— ह्वाट अ फाइट !

पश्चिम बङ्गालमा आठ चरणमा निर्वाचन भएको थियो । निर्वाचन आयोग विजेपीको पक्षधर भएकोले चुनावी अभियान भर्चुअल मात्र हुनुपर्ने आवाज निरर्थक भएको आरोप पनि विश्लेषकहरूले लगाए । कतिले त बेनर्जीको दलको जित निर्वाचन आयोगविरुद्धकै भएको प्रतिक्रिया पनि दिएका छन् ।

तामिल नाडुमा क्षेत्रीय विपक्षी दल डीएमकेले सत्ता हात पारेको छ । केरलामा वाम गठबन्धनले निर्वाचन आफ्नो पक्षमा पार्दा वीजेपीले कुनै सिट जित्न सकेन । धेरै विश्लेषकहरूले कोरोना महामारी बढेसँगै मुस्लिम बाहुल्य क्षेत्रमा वीजेपीको उपस्थिति कमजोर भएको प्रतिक्रिया दिएका छन् ।

बङ्गालमा बङ्गालीभाषी र हिन्दीभाषी बीचको निर्वाचनको रूपमा लिइएको थियो । दशक अघिदेखि राज्य सरकार चलाउँदै आएकी र दिदीको उपमा पाएकी बेनर्जीलाई लक्षित गर्दै मोदीले १० वर्षमा दिदीले केही गर्न नसकेको आरोप लगाएका थिए । उनले बङ्गाली भाषामा भाषण गरेर बङ्गालीको मन जित्ने प्रयास पनि गरेका थिए ।

ममता बेनर्जी सन् २०११ मा ३४ वर्ष लामो कम्युनिस्ट शासन विस्थापित गर्दै ९ करोड २० लाख जनसंख्या भएको पश्चिम बङ्गालमा सत्ताको बागडोर सम्हाल्न आएकी थिइन् । टीएमसी व्यवस्थित साङ्गठनिक संरचनाको नभई व्यक्तिगत प्रभावको दल मानिन्छ ।

वीजेपीले जिते बङ्गालमा हिन्दु अतिवादीको उपस्थिति बढ्ने र टीएमसीले जिते बेनर्जी राष्ट्रिय स्तरमा छाउने चर्चा चलेको थियो ।

बेनर्जीमाथि निर्वाचनअघि गम्भीर आरोपहरू थिए । हरेक स्थानमा राजनीतिक हस्तक्षेप र कतिसम्म भने बैंकमा चेक साट्दा बेनर्जीका पार्टी कार्यकर्ताले कमिसन लिन्छन् भन्ने आरोप थियो ।

यसका बाबजुद बेनर्जी स्वच्छ छवि, राहतका हजारौँ कार्यक्रम, समुदाय केन्द्रित कार्यक्रम लगायतले टीएमसीको लोकप्रियता कायम राखेको छ । विद्यार्थीका लागि निःशुल्क साइकल र छात्रवृत्ति छ । गरिब छात्राका लागि नगद सहयोग लगायतले बेनर्जी सीमान्तकृत वर्गमा लोकप्रिय छिन् ।

महिलाका माझ लोकप्रिय बेनर्जीले आफ्नो दलबाट १७ प्रतिशत महिलालाई उम्मेदवार बनाइन् । विजेपीले २८२ मध्ये ४५ जना अन्य दलका असन्तुष्टलाई उम्मेदवार बनाएका थियो जसमा ३४ जना टीएमसी छाडेका थिए ।

कोरोनाको बढ्दो महामारी र सङ्कटका बीच केन्द्रीय सत्ता र वीजेपीप्रतिको असन्तोष भारतका हरेक राज्यमा बढ्ने अनुमान हुन थालेको छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलबार  ७ : ५५ बजे

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको