मङ्गल ग्रहमा ६ दशक : अक्सिजन र जीवनको खोजी « Khabarhub
Logo
२९ चैत्र २०७७, आइतबार

मङ्गल ग्रहमा ६ दशक : अक्सिजन र जीवनको खोजी



काठमाडौँ- पृथ्वीको छिमेकी ग्रह मङ्गलमा मान्छेको चासो देखिएको ६ दशक भइसकेको छ । यो ६ दशकमा धेरै पटक स्पेस यान मङ्गल ग्रहमा पुगे ।

यही फेब्रुअरी महिनामा भएका तीन वटा प्रयास खगोल शास्त्रको एउटा महत्त्वपूर्ण फड्को मानिएको छ । नासा, चीन र संयुक्त अरब इमिरेट्सका यानले एकै पटक काम गरिरहेका छन् ।

इमिरेट्स र चीनका यानले कक्षमा रहेर तथ्य पठाइरहेका छन् । नासाको यानले जमिनमा अवतरण गरेर आफ्नो काम गरिरहेको छ । यस कारण नासाको यो उपस्थितिलाई अझ महत्त्वका साथ हेरिएको छ ।

नासाको ‘प्रिजरभेन्स रोभर’ ले ६ महिना लगाएर पृथ्वी र मङ्गल बीचको ३० करोड माइलको दूरी पूरा गरेको हो । रोभरको पर्सी नामकरण गरिएको एउटा भागले मङ्गलको सतहमा छुने बित्तिकै त्यहाँको तस्वीर जम्मा गरेर पृथ्वीमा पठाएको थियो । कोरोना महामारीको बीचमा भएको यो प्रयास नै नासा र अमेरिकाको स्पेस अभियानको चुनौती मानिएको थियो ।

‘मार्स प्रिजरभेन्स मिसन’ नाम दिइएको यो अभियानले सन् २०३० सम्ममा मङ्गल ग्रहमा कुनै जीवको अस्तित्व थियो कि या थिएन भन्ने मात्र होइन, भविष्यमा मान्छेको बस्ती सम्भावनाको बारेमा पनि निष्कर्ष निकाल्नेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो उपलब्धिका लागि सम्पूर्ण अमेरिकी बधाईका पात्र भएको र अमेरिका सधैँ विश्वको शक्तिशाली देश रहेको पुष्टि भएको बताएका छन् । मङ्गल ग्रहसँग जोडिएका थुप्रै रहस्य पत्ता लाग्ने बाइडेनको भनाइ छ । उनले छिमेकी ग्रहमा मानव पुर्खाको अवशेषका बारे हुने खोजी अझ रोमाञ्चक हुने बताएका छन् ।

मङ्गल ग्रहका बारे थप तथ्य पत्ता लगाउने क्रममा नासाले केही वर्षमै अर्को यान तयार गर्नेछ । सो यानले ३.९ अर्ब वर्ष अगाडि देखि अस्तित्वमा रहेको तालको क्षेत्र ‘जेजेरो कार्टर’ मा गएर जैविक पदार्थ तथा ढुङ्गा र माटो खोजी गर्नेछ । यी सबै तस्वीर सन् २०३० सम्ममा पृथ्वीमा आइपुग्ने छन् ।

सो यानसँगै मङ्गल ग्रहमै हेलिकप्टर पनि पठाइएको छ । ‘मार्स हेलिकोप्टर’ नाम दिइएको यसको तौल १.८ किलोग्राम छ । यसले पनि त्यहाँको अन्वेषण गर्ने नै हो ।

कोभिडको सामाजिक दूरीको प्रोटोकल मानेरै प्रयोगशालामा काम गरेर यो अभियान अगाडि बढाइएको हो ।

यसकारण यो काम अझ चुनौतीपूर्ण भएको नासाका प्रशासकीय अधिकृत थोमस जुर्बुचेनले बताएका छन् ।

प्रिजरभेन्स नासाको नवौँ तथा रोभरको पाँचौँ मङ्गल अवतरण हो । जमिन अवतरणको यो समयलाई ‘सेभेन मिनेट टेरर’ भन्ने गरिन्छ । त्यहाँको कुनै ध्वनि पृथ्वीमा आइपुग्न ११ मिनेट लाग्छ । साथै, यसपटक पृथ्वीको आविष्कार टिमको सहयोग बिना नै सात मिनेटको यात्रा यानले गरेको थियो । मतलब १२ हजार माइल प्रतिघण्टाको गतिमा चली रहेको यान नजिक पुगेपछि १.७ माइल प्रतिघण्टाको गतिमा चल्दै सात मिनेटपछि अवतरण भएको थियो ।

नासाले पठाएको रोभरले अहिले धमाधम काम गरिरहेको छ । त्यसै रोभरमा जडान गरिएको क्यामराले ३.९ अर्ब पुरानो तालको अस्तित्व भएको ठाउँमा खोजी गरिरहेको छ । आगामी दुई वर्षमा त्यहाँ जीवको अस्तित्व भएको पत्ता लगाउने लक्ष्य राखिएको छ । त्यहाँ जडान गरिएका पानोरमा क्यामराले सतहको दृश्य पठाएको छ ।

६० वर्षअघिको यो अभियानमा पहिलो पटक मङ्गल ग्रहमा प्रभावकारी उपस्थिति जनाउने यानको रूपमा नासाका ‘भाइकिङ–१’ र ‘भाइकिङ–२’ रहेको थियो । सन् १९७५ मा पृथ्वीबाट गएको यान सन् १९७६ मा पुगेको थियो । सन् १९७६ को भाइकिङ कार्यक्रम नै पहिलो थियो, जसले धेरै वर्षअघि मङ्गल ग्रहमा मानव जीवनको सम्भावना अध्ययन गरेको थियो ।

यसअघि सबैभन्दा धेरै असफल प्रयास सोभियत संघबाट भएको थियो । सन् १९६० अक्टोबर १० का दिन मङ्गल ग्रहमा यान पठाउने सोभियत संघको पहिलो प्रयास थियो । ‘मार्सनिक–१’ नामको सो यान पृथ्वीको कक्षमा नै विस्फोट भएको थियो । त्यसको चार दिनपछि पठाइएको ‘मार्सनिक–२’ त झन् पृथ्वीको कक्षमा नपुग्दै विस्फोट भएको थियो ।

सन् १९९३ मा मङ्गल अभियानमा नासाले अर्को धक्का सहेको थियो । सेप्टेम्बर २५, १९९२ मा पृथ्वीबाट उडेको यान अगस्ट २१, १९९३ मा मङ्गलमा पुगेको थियो । सो यान एकाएक सम्पर्कबाट हरायो । कुल ८१ करोड ३० लाख अमेरिकी डलरको सो यान हराउनु नासाको लागि ठूलो धक्का थियो ।

सन् १९६२ मा ‘स्पुतनिक–२२’ को रूपमा सोभियत संघले पठाएको रकेट पृथ्वीको कक्ष छाड्ने बित्तिकै विस्फोट भएको थियो । सन् १९६२ को नोभेम्बर ४ मा ‘स्पुतनिक–२४’ पनि टुक्रा टुक्रा भएर पृथ्वीमै खसेको थियो ।

सोभियत संघको यो लगातारको धक्कापछि सन् १९६४ नोभेम्बर ५ मा अमेरिकी प्रयासको सुरुवात भएको थियो । पृथ्वीको भुइँ छाडेपछि यानको ब्याट्रीले काम गर्न सकेन । पहिलो अमेरिकी अभियान पनि असफल भएपछि अमेरिकाको ‘मारिनर–४’ ले पहिलोपटक सफलता पायो । नोभेम्बर २८, १९६४ मा पृथ्वीबाट गएको यान जुलाई १४, १९६५ मा मङ्गल ग्रहमा पुगेको थियो । यसै यानले २१ वटा फोटो खिचेर पठाएको थियो ।

‘मारिनर–४’ को दुई दिनपछि सोभियत संघले अर्को प्रयास गरेको थियो । यसको यान मङ्गलको नजिक पुगेको थियो । तर, रेडियोले काम नदिएपछि कुनै डाटा उपलब्ध हुन सकेन । सन् १९६९ मा नासाले ‘मारिनर–६’ र ‘मारिनर–७’ पनि मङ्गलमा पठाएको थियो । ज्वालामुखीको जस्तो स्थानको धेरै तस्वीर त्यहाँबाट प्राप्त भएका कारण लामो समयसम्म चन्द्रमा र मङ्गल ग्रह उस्तै हुन् भन्ने भ्रम रहेको थियो ।

सन् १९६९ देखि १९७१ सम्म धेरै प्रयास भए तर ती सबै खेर गए । सन् १९६९ मा सोभियत संघका दुई वटा प्रयास खेर गए । सन् १९७१ मा सोभियत संघ र अमेरिकाका प्रयास खेर गए । धेरै लामो समयको प्रयासपछि सन् १९७१ मा सोभियत यान मङ्गल ग्रहमा अवतरण गरेको थियो । सन् १९७१ डिसेम्बर ३ मा सोभियत यान ‘मार्स–३’ अवतरण भएको थियो । यसले केही सेकेन्ड त्यहाँ काम गरेको थियो ।

सन् १९७१ नोभेम्बर नासाका लागि महत्त्वपूर्ण उपलब्धिको रूपमा रहेको थियो । मे ३० मा मङ्गलमा पुगेको ‘मारिनर–९’ ले एक वर्ष बिताएको थियो । यस क्रममा ७ हजार ३२९ वटा तस्वीर पठाएको थियो । यिनै तस्वीरको आधारमा मङ्गल ग्रहको स्वरूप तयार पारियो । रातो ज्वालामुखी फुटेको जस्तो, धुलो देखिने र हावा चल्ने यसका विशेषताका बारे टुङ्गो लाग्यो ।

सन् १९७३ मा मात्र सोभियत संघले चार पटक प्रयास गर्दा कुनै महत्त्वपूर्ण डाटा पाउन सकेन । जब भिकिङ कार्यक्रमले सफलता पायो, तब मात्र मङ्गल ग्रहका धेरै तथ्य बाहिर आयो । सतहमा जीवाणुको अवशेष अझै विवादित छ । परन्तु वैज्ञानिक मत यो छ कि कि मङ्गल ग्रहमा कुनै समय जीव थिए । यो मात्र होइन, मङ्गल ग्रहबाट उल्का उठ्ने गरेको तथ्य पाइएपछि पृथ्वीमा देखिने उल्का मङ्गल ग्रहबाट आएको हो भन्ने मत विज्ञानको यसै भिकिङ कार्यक्रम अन्तर्गत शुरू भएको हो ।

रुसले उपग्रहमा आफ्नो प्रभाव यथावत राख्ने क्रममा सन् २०११ मा ‘फोबोज ग्रान्ट मिसन’ तयार गरेको थियो । यो मिसन अन्तर्गतको यान सन् २०१२ को जनवरी १५ मा पृथ्वीको कक्ष नछाड्दै विस्फोट भएको थियो ।

मङ्गल अभियानमा अमेरिकाभन्दा पछि रहेको सोभियत संघले सन् १९८० मा अर्को प्रयास शुरू गरेको थियो । मङ्गलको उपग्रह फोबोजमा जाने दुई पटकको सोभियत अभियान असफल रहेको थियो ।

सन् १९९३ मा मङ्गल अभियानमा नासाले अर्को धक्का सहेको थियो । सेप्टेम्बर २५, १९९२ मा पृथ्वीबाट उडेको यान अगस्ट २१, १९९३ मा मङ्गलमा पुगेको थियो । सो यान एकाएक सम्पर्कबाट हरायो । कुल ८१ करोड ३० लाख अमेरिकी डलरको सो यान हराउनु नासाको लागि ठूलो धक्का थियो ।

यो दुर्घटनामा पछि नासाले कम्प्युटर सफ्टवेयरको उच्चतम प्रयोग गर्दै काम गर्न सकिने गरी ‘बेटर, फास्ट एन्ड चिपर’ अभियान अघि सारेको थियो । यसलाई ‘एफबीसी’ कार्यक्रम पनि भनिन्छ ।

सन् १९९६ को नोभेम्बर ७ मा पृथ्वी छाडेको नासाको ‘मार्स ग्लोबल सर्भेयर–१२’ सेप्टेम्बर १९९७ मा त्यहाँ पुगेको थियो । सो सर्भेयरले सन् २००६ मा हराउनुअघि थुप्रै तथ्य उपलब्ध गराएको थियो । मङ्गलकै एक ध्रुवबाट अर्को ध्रुवमा पुगेर गरिएको खोजमा पानीका विभिन्न स्वरूप देखिए । साथमा भविष्यमा पठाइने यान कहाँ अवतरण गराउने भन्ने निर्णय गर्न पनि नासालाई सहज भयो ।

९० को दशकमा पनि रुसलाई धक्का लाग्ने क्रमले छाडेन । सन् १९९६ को नोभेम्बर १६ मा शुुरू भएको मार्स ९६ अभियानको रकेट सँगै दुई पेन्ट्रेटर र दुई ल्यान्डर पनि हराए । उता, नासाको एफबीसी कार्यक्रम अन्तर्गत पाथ फाइन्डर ल्यान्डर र सोजाउनर रोभर सन् १९९७ जुलाईमा मङ्गल पुगे । यी दुवै सन् १९९७ सेप्टेम्बरसम्म रहे ।

सन् १९९८ मा नोजोमी कार्यक्रम शुरू गर्दै मार्स अभियानमा प्रतिस्पर्धा गर्ने जापान पहिलो एसियाली देश बनेको थियो । सन् २००३ को डिसेम्बरमा मङ्गलको कक्षमा प्रवेश नगर्दै यो विस्फोट भएपछि जापानको अभियान असफल भयो । सन् १९९० को दशकमा नासाका अन्य दुई प्रयास पनि असफल भएका थिए ।

सन् २००१ को मार्च ७ मा नासाले ‘मार्स ओडीसी’ छाडेको थियो । सन् २००१ को अक्टोबर २४ मा मङ्गल पुगेको यसले १५ डिसेम्बर २०१० सम्ममा धेरै डाटा मात्र पठाएन, लामो समय काम गर्ने स्पेस यानको रूपमा नयाँ कीर्तिमान पनि बनायो । यसले ३ लाख ५० हजार तस्वीर पठाएको थियो । यस पछि नै मङ्गलको नक्सा तयार भएको हो ।

पछिल्लो समय संयुक्त अरब इमिरेट्स, चीन र नासाका यानले पठाएको तस्वीर र भिडियोले त्यहाँ हावा चलेको झैँ आवाजको पनि पुष्टि गरेको छ । त्यसो हो भने यो हुरी पृथ्वीमा झैँ अक्सिजनसहितको हावा र बस्तीको सम्भावना यो दशकको महत्त्वपूर्ण खोजी हुनेछ ।

सन् २००३ मा युरोपेली युनियनले बनाएको योजना असफल भएपछि सन् २००५ का अर्को योजना बनेको थियो । जसअन्तर्गत अझै काम भइरहेको छ । नासाले सन् २००४ मा ‘स्पिरिट’ र ‘अपरच्युनिटी’ दुई यान पठाएको थियो । यसैले मङ्गलमा कुनै समय पानी बगेको तथ्य फेला पारेको हो । स्पिरिटको अवशेष सन् २०१० मार्चमा सकियो । अपरच्युनिटीले लगभग एक दशक काम गरेको थियो ।

नासाको अर्को यान ‘मार्स फोनिक्स’ सन् २००८ को मे २५ मा मङ्गलमा पुगेको थियो । यसले जमिनमा पानी जमेर ठोस भएको प्रमाण फेला पारेको थियो । फोनिक्सको सोलार प्यानल जाडोमा काम नलाग्ने बनेर बिग्रिएको थियो । फोनिक्स पनि काम नलाग्ने भयो ।

रुसले उपग्रहमा आफ्नो प्रभाव यथावत राख्ने क्रममा सन् २०११ मा ‘फोबोज ग्रान्ट मिसन’ तयार गरेको थियो । यो मिसन अन्तर्गतको यान सन् २०१२ को जनवरी १५ मा पृथ्वीको कक्ष नछाड्दै विस्फोट भएको थियो ।

सन् २०१२ मा नासाको रोभर क्युरेसिटीले मङ्गलबाट पानीको थप तथ्य फेला पारेको थियो । यहाँबाट बस्तीको सम्भावनाका बारे सोध पनि भएको हो । सतहमा मिथेन ग्यास र अन्य थुप्रै अर्गानिक पदार्थ भएको तथ्य फेला पारेको थियो ।

सन् २०२० मा तीन मङ्गल अभियान अन्तर्गतका यान पृथ्वीबाट उडेका थिए । अमेरिकी यान पुगिसकेको छ । संयुक्त अरब इमिरेट्सको ‘होप मिसन’ ले कक्षबाट तस्वीर पठाउन शुरू गरेको छ । यसले कक्षबाटै त्यहाँको मौसम र वातावरण नियाल्छ । पानीका अवशेष विगतमा नै फेला परेका कारण हाइड्रोजन र अक्सिजनका बारे यो होप मिसनले थप रहस्य खोज्ने छ ।

चीनको ‘ताइनवान वान’ पनि अहिले मङ्गलको कक्षमै छ । यसले पनि त्यहाँबाट भिडियो पठाउन शुरू गरेको छ ।

पछिल्लो समय संयुक्त अरब इमिरेट्स, चीन र नासाका यानले पठाएको तस्वीर र भिडियोले त्यहाँ हावा चलेको झैँ आवाजको पनि पुष्टि गरेको छ । त्यसो हो भने यो हुरी पृथ्वीमा झैँ अक्सिजनसहितको हावा र बस्तीको सम्भावना यो दशकको महत्त्वपूर्ण खोजी हुनेछ । (एजेन्सीहरूको सहयोगमा)


भर्खर

0