मलेसियाको सामाजिक सुरक्षा सङ्गठनमा ३ लाख नेपाली आवद्ध | Khabarhub Khabarhub

मलेसियाको सामाजिक सुरक्षा सङ्गठनमा ३ लाख नेपाली आवद्ध



दोहा- नेपालको वैदेशिक रोजगार बोर्ड र मलेसियाको सामाजिक सुरक्षा सङ्गठन (सोसल सेक्युरिटी अर्गनाइजेसन) बीच ‘सामाजिक सुरक्षा योजना’ समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाली कामदारहरूको लागि सामाजिक सुरक्षा कार्यक्रम र गतिविधिहरूको प्रवद्र्धन सम्बन्धी सहकार्यको समझदारी पत्रमा हस्ताक्षर भएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

समझदारीपत्रमा नेपालका तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृत दातो श्री डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका छन् ।

दूतावासका अनुसार विश्वव्यापी कोभिड–१९ को संक्रमणका परिदृष्यमा पत्रको आदानप्रदान मार्फत काठमाडौँ र क्वालालम्पुरमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

दूतावासको सक्रियतामा समझदारी पत्रको मस्यौदामाथि विभिन्न चरणमा छलफल भई अन्तिम मस्यौदा गत माघ २६ गते बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

के हो सामाजिक सुरक्षा संस्था ?

सामाजिक सुरक्षा सङ्गगन (सोक्सो) मलेसियाको सामाजिक सुरक्षा ऐन, १९६९ अन्तर्गत गठन भएको हो । सन् २०१९ को जनवरी १ देखि रोजगारदाताले विदेशी श्रमिकहरू भर्ना गर्दा सोक्सोमा दर्ता गराउनुपर्ने प्रावधान छ ।

सोक्सोका अनुसार हालसम्म करिब ३ लाख नेपाली श्रमिकहरू यसमा आवद्ध भइसकेका छन् ।

सोक्सोमा आबद्ध हुन रोजगारदाताले श्रमिकको निम्ति उसले पाउने मासिक तलबको १ दशमलव २५ प्रतिशतले हुन आउने रकम मासिक रूपमा जम्मा गरिदिनुपर्छ ।

१ जनवरी २०२० पछि सबै रोजगारदाताले आफ्ना कामदारलाई अनिवार्यरूपमा सोक्सोमा आवद्ध गराउनुपर्ने व्यवस्था छ । यसअनुसार हालसम्म ४ लाखभन्दा बढी रोजगारदाता र ७० लाखभन्दा बढी स्वदेशी तथा विदेशी श्रमिकहरू आवद्ध भइसकेका छन् । मलेसियाभर सोक्सोका ५४ वटा कार्यालय छन् ।

विदेशी श्रमिकलाई लाभ

सोक्सोमा आबद्ध भएका विदेशी श्रमिकहरू ‘इम्प्लोएमन्ट इन्जुरी स्किम फर फरेन वर्कर’ नामको योजनामा सामेल हुन पाउँछन् । यस योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लाग्न गएमा तोकिएको क्षतिपूर्ति प्राप्त हुनेछ ।

यस योजना बमोजिम प्राप्त हुने लाभलाई स्वास्थ्य लाभ, अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ, आश्रित लाभ, निरन्तर उपस्थिति भत्ता, अन्त्येष्टि खर्च र पुनर्स्थापना सुविधामा वर्गीकरण गरिएको छ ।

उल्लिखित लाभहरू कतिपय श्रमिक स्वयम्, कतिपय श्रमिकका परिवार तथा श्रमिकको रोजगारदातालाई उपलब्ध हुने प्रकृतिका छन् । श्रमिकका परिवारजनले प्राप्त गर्ने लाभहरूका निम्ति सोक्सोले परिवारको लगत अद्यावधिक गर्ने काम पनि गरिरहेको छ ।

काममा आउँदा वा कामबाट फर्किंदा दुर्घटना भएको छ भने आवश्यक कागजातहरूका अतिरिक्त पुलिस रिपोर्ट र आवतजावत हुँदा प्रयोग भएको बाटोको नक्शा पनि सामेल गरेको हुनुपर्छ ।

कार्यस्थलको दुर्घटना वा कार्यस्थल जाँदा आउँदाको दुर्घटनामा वा कार्यस्थलजन्य रोगबाट पीडित भएका श्रमिकहरूका लागि सोक्सोसँग आबद्ध प्यानल क्लिनिक, सरकारी क्लिनिक र सरकारी अस्पतालमा निःशुल्क उपचार हुन्छ ।

पूर्णरूपमा अक्षमता भएका वा भविष्यमा शतप्रतिशत आय क्षमता गुमाएका वा निरन्तर हेरचाह आवश्यक पर्ने श्रमिकहरू तोकिएको मेडिकल बोर्डको सिफारिशका आधारमा निरन्तर उपस्थिति भत्ताका हकदार हुने व्यवस्था छ ।

यसैगरी मृत्यु भएका श्रमिकहरूका रोजगारदाताले मलेसियामै वा श्रमिकको मुलुकमा तोकिए बमोजिमको अन्त्येष्टि खर्च उपलब्ध गराउनुपर्छ ।

अस्थायी असक्षमता लाभ, स्थायी असक्षमता लाभ र आश्रित लाभ श्रमिक स्वयम् वा निजको परिवारजनले पाउँछन् ।

कुनै श्रमिक दुर्घटनामा परी स्थायीरूपमा आय आर्जन गर्न असक्षम भएमा निजले आफ्नो दैनिक तलबको ९० प्रतिशतका दरले स्थायी असक्षमता लाभ पाउँछ । अस्थायी रूपमा काम गर्न असक्षम भएकाहरूले तोकिएका शर्तका अधीनमा तलबको ८० प्रतिशतसम्म लाभ प्राप्त गर्न सक्छ ।

आश्रित लाभअन्तर्गत कुनै श्रमिकको तोकिए बमोजिम कामको सन्दर्भमा मृत्यु भएमा निजको विधवा वा विधुरले आजीवन निजको दैनिक तलबको ६० प्रतिशतका दरले हुनआउने रकम पाउने व्यवस्था छ ।

मृतक श्रमिकका सन्तानले २१ वर्षको उमेरसम्म (आमा वा बाबु जीवित रहेको अवस्थामा) दैनिक तलबको ४० प्रतिशतका दरले र आमा वा बाबुको मृत्यु भएको अवस्थामा दैनिक तलबको ६० प्रतिशतले हुन आउने रकम पाउने व्यवस्था छ ।

श्रीमान् वा श्रीमती वा छोराछोरी नभएमा बाबुआमा वा दाजुभाइ वा हजुरबा हजुरआमाले दैनिक तलबको ३० देखि ४० प्रतिशतले हुन आउने रकम पाउँछन् ।

समझदारीमा हस्ताक्षर भएपछि मलेसियामा कार्यरत नेपाली श्रमिकहरूको सामाजिक सुरक्षा प्रभावकारी तुल्याउन सामाजिक सुरक्षा वापतका लाभहरूको प्रवाह, विचारको आदान प्रदान तथा श्रमिक तथा सरोकारवालाहरूको सचेतीकरणमा दुवै देशबीच सहकार्य अभिवृद्धि हुने अपेक्षा गरिएको नेपाली दूतावासले जनाएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहीबार  ९ : ५५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न