जीवनशैलीमा सुधार गर्नु नै क्यान्सरबाट बच्ने उपाय हो « Khabarhub
Logo
२५ फाल्गुन २०७७, मंगलबार

जीवनशैलीमा सुधार गर्नु नै क्यान्सरबाट बच्ने उपाय हो



काठमाडौँ- नेपालमा हरेक वर्ष क्यान्सरका ५० हजार नयाँ बिरामी थपिने गर्छन् । सबैभन्दा बढी अन्तिम अवस्थाका बिरामीहरू उपचारका लागि अस्पताल पुग्ने गरेको चिकित्सकहरू बताउँछन् ।

क्यान्सर रोगको लाग्नुको कारण, रोगको अवस्था, क्यान्सरबाट बच्ने उपाय, कोभिडले क्यान्सरका बिरामीमा पारेको असर लगायतका विषयमा खबरहबले नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टर, जावलाखेलका क्यान्सर रोग विषेशज्ञ डा. मदनकुमार पियासँग कुराकानी गरेको छ ।

नेपालमा कहिले ‘क्यान्सर दिवस’ मनाउन थालियो ? यसको उद्देश्य के हो ?

सन् १९३३ तिर युनेस्कोका डाइरेक्टरले ‘वल्र्ड क्यान्सर डे’ मनाउन प्रस्ताव गरे । त्यो बेला मानिसहरू सामान्य झाडापखाला र निमोनियाबाट मरिरहेका थिए । क्यान्सरबारे कसैलाई वास्ता थिएन । पछि सन् २००० मा युएनले पुनः प्रस्ताव गर्‍यो ।

त्यससँगै सन् २००८ मा यूआईसीसी (इन्टरनेशनल युनियन अगेन्स्ट क्यान्सर) ले यो दिवस विभिन्न नारासहित मनाउन थालेको हो । यसको मुख्य उद्देश्य जनमानसलाई क्यान्सर रोगविरुद्ध सुसूचित बनाउने र रोकथामका लागि चेतना दिने हो ।

क्यान्सर दिवसका लागि यो वर्षको नारा ‘म हुँ, म गर्न सक्छु’ रहेको छ ।

क्यान्सर रोगको अवस्था कस्तो छ र पीडितको संख्या कति छ ?

विश्वकै कुरा गर्दा क्यान्सर पीडितको संख्या दिनप्रतिदिन बढ्दै छ । वार्षिकरूपमा झण्डै २ करोड मानिस क्यान्सर रोगबाट पीडित भइरहेका छन् । करिब १ करोडको पहिलो वर्षमै मृत्यु हुन्छ । यसको दुई तिहाई भाग गरिब देशभित्रै पर्छ । त्यसमा पनि पूर्वी एसियामा धेरै छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा वार्षिकरूपमा ३० हजार मानिसलाई क्यान्सर रोग लाग्ने गरेको तथ्यांक निकाल्ने गर्छ । यद्यपि वार्षिक ५० देखि ६० हजारसम्म मानिसलाई क्यान्सर लाग्ने गरेको हाम्रो अनुमान छ ।

विभिन्न कारणले ढिलो गरेर अस्पताल आइपुग्ने भएकाले झण्डै ८० प्रतिशत बिरामीहरूको पहिलो वर्षमै मृत्यु हुने गर्छ ।

क्यान्सर कसरी हुन्छ ?

सबैभन्दा पहिले कुरा त लाइफ स्टाइल नै हो । त्यसमा लवाइखवाइ कुन स्ट्यान्र्डडमा छ भन्ने कुरामा भर पर्छ । खानेकुरामा ध्यान पुर्‍याउन नसक्दा क्यान्सरका बिरामीको संख्या बढेको छ ।

विशेष गरी जङ फुड, बोसोयुक्त खानेकुरा, आगोमा पोलेको, तेलमा तारेको मासु, बोतलमा प्याक गरिएका खानेकुरा, मादक पदार्थ, धुमपान लगायतले क्यान्सर रोग निम्त्याउँछ । बढ्दो सवारी चाप र प्रदूषण पनि क्यान्सरको प्रमुख कारक बनेको छ ।

‘हेपाटाइटीस बी’, ‘हेपाटाइटिस सी’, ‘ह्युमन प्यापिलोमा भाइरस’ लगायतका कारण पनि क्यान्सर रोग लाग्ने गर्छ । महिलाहरूमा पाठेघरको इन्फेक्सन हुन्छ । घाँटी र आन्द्राको क्यान्सर पनि हुनेगर्छ ।

सामान्यतया यो रोग लागेपछि कस्ता लक्षणहरू देखिन्छन् ?

खोकी लाग्यो, ज्वरो आयो, खकारमा रगत आयो, साँझमा पसिना आयो भने टिभी लाग्यो भन्ने भइहाल्छ । क्यान्सरमा त्यस्तो कुनै लक्षण देखिँदैन ।

अमेरिकन क्यान्सर सोसाइटीले निकालेको वार्रिङ साइन्स अनुसार लामो समय (२ देखि ३ सातासम्म) खोकी लागे, लामो समय ग्यास्ट्रिक भए, अपच भइरहे, झाडापखाला लागिरहे, दिसामा गोलमाल भए, शरीरको कुनै स्थानमा गिर्खा देखिए, कोठीको आकार परिवर्तन भएमा क्यान्सर भएको हुन सक्छ ।

क्यान्सरका कति ‘स्टेज’ हुन्छन् ? ‘स्टेज’ अनुसार बिरामीलाई बचाउन सक्ने सम्भावना कति हुन्छ ?

क्यान्सर चार स्टेजको हुन्छ । पहिलो स्टेज सुरुको अवस्था हो । जसमा कुन अङ्गमा क्यान्सर लागेको छ, त्यो हेरेर ९५ प्रतिशतसम्म निको बनाउन सकिन्छ ।

दोस्रो स्टेजमा ६० प्रतिशत र स्टेज तीनमा ४० प्रतिशतसम्म निको बनाउन सकिन्छ ।

विशेष गरी स्टेज चार चाहिँ निको बनाउनेभन्दा पनि बाँच्ने समयको कुरा हुन्छ । त्यो भनेको ५ वर्षको अवधिसम्म बाँच्न सक्छ । स्टेज चार भन्नासाथ मरिहाल्ने भन्ने पनि हुँदैन । त्यो भनेको बसाइँ सरेको जस्तै हो । जसमा क्यान्सर एकठाउँबाट अर्को ठाउँमा सरिसकेको हुन्छ । अन्तिम स्टेज भने होइन । कडा औषधि दिएर समस्या समाधान गर्न सक्छौँ । निको त भगवानको हातमा पनि भर पर्छ ।

फोक्सोको क्यान्सर हरेक एक महिनामा दोब्बर हुँदै जान्छ । हामीले बाँच्ने अवधि ५ वर्षको देखे पनि भगवान भरोसा ! कतिपय क्यान्सर पीडित १० देखि १२ वर्षसम्म पनि बाँचेका छन् ।

कुन अङ्गमा हुने क्यान्सर बढी खतरनाक हुन्छ ?

क्यान्सर नहुने भनेको कपाल र नङमा हो । तीबाहेक शरीरका सबै अङ्गमा क्यान्सर हुन्छ तर कुनमा कम र कुनमा बढी भन्ने मात्र हो । संसारमै सबैभन्दा बढी क्यान्सर देखिने अङ्ग फोक्सो नै हो । महिलाहरूलाई भने स्तनको क्सान्सर बढी देखिन्छ । त्यस्तै धुमपान गर्ने ९५ प्रतिशत मानिसलाई क्यान्सर हुन्छ ।

पहिले महिलाहरूको पाठेघरमा हुने क्यान्सर एक नम्बरमै देखिन्थ्यो भने अहिले दुई नम्बरमा झरेको छ । सरकारी र गैरसरकारी तवरबाट पछिल्ला समय क्यान्सर रोग र रोकथामका लागि सुसूचित गराउने कार्यक्रमहरू गरेकाले पाठेघरको क्यान्सर घटेको छ ।

स्तन र पाठेघरको क्यान्सर सुरुको अवस्थामा थाहा पाउन सकेमा ग्यारेन्टीका साथ निको हुन्छ । अहिले क्यान्सर अस्पताल जावलाखेलले ‘पोटेबल स्क्यानर’ ल्याएको छ । अब पाठेघरको स्क्यान गराउँदा स्तनको पनि स्क्यान गर्दिन्छौँ । यो त निको बनाउन सकिने भयो । हामीले ध्यान दिने भनेको पनि निको हुनेमा हो ।

कोरोना भाइरसले क्यान्सर पीडितलाई कस्तो असर पारेको छ ?

सुरुमा कोरोना भाइरस भन्नासाथ सबै डराएका थिए । देशमा लकडाउन भएपछि बिरामीको उपचारको लागि असहज परिस्थिति उत्पन्न भयो तर पनि क्यान्सर अस्पतालले अस्पतालकै एम्बुलेन्समार्फत बिरामी ल्याउने पुर्‍याउने व्यवस्था गर्‍यो । त्यससँगै फलोअपका लागि फोनमार्फत सम्पर्क गरेर काम गर्‍यौँ ।

क्यान्सरका बिरामीहरूलाई कोरोना भाइरस लागे पनि लक्षण धेरै देखिएन । केमो लगाएको बेला पर्‍यो भने केही गाह्रो होला । हामीकहाँ पनि त्यस्तो केश नआएको होइन । हामीले त्यस्ता बिरामीलाई सहज होस् भनेर अस्पतालसँग सम्पर्क गरेर पाटन र टेकु अस्पताल रिफर गरिदियौँ ।

दोस्रो चरणमा आउने खोप सर्वसाधरणले पनि लगाउन पाउने भनिएको छ, कस्ता क्यान्सर पीडितले लगाउन हुँदैन ?

ब्लड क्यान्सर र ग्ल्यान्डको क्यान्सर भएका बिरामीले खोप लगाउन मिल्दैन । त्यो बाहेकका अन्य क्यान्सरका बिरामीहरूले खोप लगाउन मिल्छ ।

ब्लड क्यान्सर भएकाहरूको इम्युनिटी सिस्टम कमजोर हुन्छ, रगतमा गोलमोल हुन्छ । सुई लगाउने बित्तिकै असर देखिएको छ भने पनि लगाउनुहुँदैन ।

बिरामीहरूले जानीजानी रोग लुकाएर खोप लगाउनु हुँदैन । खोप लगाए पनि मास्क लगाउनुपर्छ, स्यानिटाइजर प्रयोग गर्नुपर्छ, सामाजिक दूरी पालना गर्नुपर्छ ।

 क्यान्सरबाट बच्न कस्ता उपायहरू अपनाउनुपर्छ ?

जीवनशैली र खानपानमा सुधार गर्ने, जङ फुड नखाने, बोसोजन्य र तारेको मासु लगायतका खानेकुरा नखाने, धुमपान र मध्यपान त्याग्ने हो भने क्यान्सरबाट बच्न सकिन्छ ।

त्यस्ता खाना खानै हँदैन भन्ने होइन तर नियमित खानु भएन । बालबालिकालाई चाउचाउ दिनु गलत हो । प्रदूषणरहित वातावरण, विषादिमुक्त र रसायनमुक्त खानेकुराको प्रयोग, नियमित व्यायाम, नियन्त्रित शारीरिक तौल, कम चिल्लो र स्वास्थकर खानपिन क्यान्सरबाट बच्ने उत्तम उपाय हो ।

शरीरमा सामान्य लक्षण देखिनसाथ चिकित्ससँग परामर्श लिने र समय समयमा स्वास्थ्य परीक्षण गराउने गरेमा क्यान्सर लागिहाले पनि पहिलो स्टेजमै थाहा पाउन सकिन्छ र बचाउन सकिन्छ ।

क्यान्सर विरुद्ध सरकारले कस्तो कदम चालेको छ ?

सरकारले नगरेको भन्न मिल्दैन । जति गर्नुपर्ने हो र जति सक्नुपर्ने हो त्यति चाहिँ गर्न सकेको छैन । विपन्न वर्गका लागि एक लाख रुपैयाँ दिइरहेको छ । बिरामीको हातमा सिधैँ पैसा दिएर नभई अस्पतालको माध्यमबाट गर्नुपर्छ । उपचारको लागि त्यो बराबरको सुविधा लिन पाउँछ भने त्यो रकर्ड देखाएर अस्पतालले सरकारसँग पैसा लिन पाउने व्यवस्था छ ।

क्यान्सरविरुद्ध सञ्चारमाध्यमले पनि काम गरेका छन् । विभिन्न स्थानमा चेतनामूलक कार्यक्रमहरू हुने गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारका लागि के सुझाव दिनुहुन्छ ?

चिकित्सा क्षेत्रमा राम्रो व्यवस्था ल्याउन सबैभन्दा पहिले डाक्टरको फी बढाउन पर्छ । आजभन्दा ३० वर्षअघि पञ्चायतकालदेखि नै हामीले ३ सय रूपैयाँ फी लिइरहेका थियौँ, अहिलेसम्म पनि त्यति नै छ । त्यो बेला एक प्याकेट दुध ५ रूपैयाँमा आउथ्यो भने अहिले ४० रूपैयाँ पुगिसकेको छ । महँगी बढेको छ । डाक्टरले थोरै बढी लिए भोलि नकारात्मक टिप्पणी हुन थाल्छ सञ्चारमाध्यममा छापिन थाल्छ ।

जबसम्म व्यक्ति सन्तुष्ट हुँदैन तबसम्म काम राम्रोसँग गर्न सक्दैन । सरकारले यसमा हेर्न आवश्यक छ । त्यस्तै, सरकारले चिकित्सा क्षेत्रमा सेवा बढाउन आवश्यक छ ।


भर्खर

0