दक्षिण चीन सागरमा अमेरिका–चीन टकरावको खतरा « Khabarhub
Logo
९ माघ २०७७, शुक्रबार

दक्षिण चीन सागरमा अमेरिका–चीन टकरावको खतरा



दुई दशक अघि मुद्रा संकटका कारण इन्डोनेसियाको अर्थतन्त्र ध्वस्त हुँदा आक्रोशित मानिसहरूले चिनियाँ मूलका सयौँ व्यापारीको हत्या गरे । अहिले परिस्थिति फेरिएको छ । चिनियाँ सफ्टेवयर इन्जिनियर तथा उद्यमी चेङ तावले इन्डोनेसिया स्थित अग्लो बिल्डिङमा रहेको आफ्नो कार्यालयबाट चिनियाँहरूले चलाएको किराना पसल, रेस्टुरेन्ट र आफ्नै छोराको विद्यालय देख्न सक्छन् ।

चौतीस वर्षीय चेङ युवा चिनियाँ लगानीकर्ता हुन् । उनले इन्जिनियर, वेब डिजाइनिङ लगायतका क्षेत्रमा लगानी गरेका छन् । एक दशकअघि उनी चिनियाँ टेलिकम कम्पनी हुवाईसँगै इन्डोनेसिया प्रवेश गरेका थिए । अहिले उनी र उनीजस्तै अरू लगानीकर्ताहरूले इन्डोनेसियामा आफैँ नयाँ किसिमको लगानी सुरु गरेका छन् ।

दक्षिणपूर्वी एसियामा केही वर्षअघिसम्म पनि चिनियाँ कम्पनीहरू यस क्षेत्रको प्राकृतिक स्रोत खरिदमा केन्द्रित थिए । अहिले चीनले भविष्यका निम्ति लगानी गरिरहेको छ । आविष्कार कम्पनीमा विशेष गरी पर्याप्त लगानी र बुद्धि खर्च गरिरहेको छ ।

गत वर्ष इन्डोनेसियामा नयाँ व्यवसाय सुरु गर्न लगानी सम्मेलन भएको थियो । गुगल र कर्नीजस्ता कम्पनीहरूले गरेको सर्वेक्षण अनुसार ९५ प्रतिशत चिनियाँ कम्पनीले आविष्कार कम्पनीमा लगानी गरेको देखाएको छ । अर्को अर्थमा भन्नुपर्दा ‘चीन इन्डोनेसियाको सिलिकन भ्याली हो’ उद्यमी अड्रियन लि । स्ट्यानफोर्ड विश्वविद्यालयबाट एमबिए गरेका ली २०१४ मा बेइजिङबाट जकार्ता लगानीकै लागि पुगेका थिए ।

दक्षीणपूर्वी एसियामा चीनको उपस्थिति योजनाबद्ध रूपले अघि बढेको छ । यसले गर्दा यो क्षेत्रमा अमेरिकी प्रभाव बिस्तारै ओरालो लागिरहेछ । वास्तवमा, अमेरिकाले आफ्नो प्रभाव गुमाइरहेको पो हो कि भन्ने विश्लेषण सुरु भएको छ ।

सन् २००३ मा चिनियाँ प्रधानमन्त्री वेन जियावाओले दक्षीणपूर्वी राष्ट्रहरूको सङ्गठनलाई इन्डोनेसियामा सम्बोधन गरेका थिए । त्यसको एक दशकपछि इन्डोनेसियाको बालीमा आयोजना भएको सोही स्तरको कार्यक्रमलाई सम्बोधन गर्न अमेरिकी राष्ट्रपति बाराक ओबामा उपस्थिति भएनन् । ओबामाको अनुपस्थितिलाई उल्लेखनीय रूपमा विश्लेषण गरिएको थियो ।

आर्थिक लगानी र जुक्तिबाहेक चीनले सैन्य शक्तिमार्फत पनि आफ्नो क्षमता प्रदर्शन गर्ने गरेको छ । एलेक्स पामाले यो शक्तिको बढ्दो प्रदर्शनलाई नजिकबाट देखेका छन् । सन् १९९० को दशकमा उनी फिलिपिन्सको नौसेनामा एक कनिष्ठ अधिकारीका रूपमा काम गर्थे ।

चीनका राष्ट्रपति सि चिन फिङले पनि वेन जियावाओको बाटो पछ्याए । उनले त इण्डोनसियाको संसदलाई पनि सम्बोधन गरे । उनी त्यहाँ एसियाली पूर्वाधार लगानी बैंकको उद्घाटनका क्रममा पुगेका थिए । एसियाली बैंकलाई विश्व बैंकको प्रतिद्वन्द्वी मानिन्छ ।

चिनियाँ राष्ट्र प्रमुखले इन्डोनेसियासँग आडम्बरका साथ सहकार्य गरिरहँदा चिनियाँ व्यवसायले पनि इन्डोनेसियामा तीव्र गतिमै आफ्नो स्थान बनाइरहेका छन् । घरेलु बजारमा चिनियाँ इन्टरनेट कम्पनीले नयाँ ग्राहक पाइरहेका छैनन् ।

उनीहरूका लागि २६ करोड जनसंख्या भएको इन्डोनेसिया एक नयाँ बजार सावित भएको छ । त्यहाँ चिनियाँ कम्पनीहरूले संसारका अन्य ठाउँमा भन्दा बढी इन्टरनेट प्रयोगकर्ता पैदा गरिरहेछन् ।

चीनको इ–कमर्स कम्पनी अलिबाबाका मालिक ज्याक माले सुरुमै यो यथार्थ पहिचान गरेका थिए । उनले अहिले इन्डोनेसियाको स्थानीय व्यापारमा लगानी गरिरहेका छन् । गत वर्षमात्रै उनले १ अर्ब १० करोड अमेरिकी डलर टोकोपेडियामा लगानी गरेका थिए ।

टोकोपेडिया इन्डोनेसियाको महत्वपूर्ण व्यापारिक अनलाइन साइट हो । मुसलमानहरूको पवित्र महिना रमादानमा मात्रै ७ करोड ८० लाख मानिसले यो साइट हेरेका थिए । यो संख्या औसतभन्दा ७० प्रतिशतले बढी हो ।

ज्याक माको यो शक्तिले उनी आफ्नो विश्वव्यापी प्रतिस्पर्धी अमेजनलसँग टक्कर लिन सक्छन् भन्ने देखाउँछ । सिङ्गापुरमा कार्यरत भए पनि अमेरिकी इ–कमर्स कम्पनी अमेजनले दक्षिणपूर्वी एसियामा आफ्नो बजार बनाउन सकेको छैन ।

अलिबाबाले आफ्नो पुरानो प्रतिस्पर्धी अनलाइन कम्पनी लाजाडामा ती अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ । यसको अलिपे डिजिटल पेमेन्ट सिस्टमले दक्षिणपूर्र्वी एसियाभरि काम गर्छ । यो क्षेत्रको एड्भाइजर बोर्डमा अलिबाबाका ज्याक मा आफैँ बसेका छन् । उनको उपस्थिति ग्राहकको दृष्टिकोणमा मानक बन्न सहयोग पुग्छ ।

सैन्य शक्ति सञ्चय

आर्थिक लगानी र जुक्तिबाहेक चीनले सैन्य शक्तिमार्फत पनि आफ्नो क्षमता प्रदर्शन गर्ने गरेको छ । एलेक्स पामाले यो शक्तिको बढ्दो प्रदर्शनलाई नजिकबाट देखेका छन् । सन् १९९० को दशकमा उनी फिलिपिन्सको नौसेनामा एक कनिष्ठ अधिकारीका रूपमा काम गर्थे । त्यतिबेला उनले चिनियाँ जहाजहरू ‘मिसचीफ रीफ’ मा उत्रिएको देखेका थिए ।

एकातिर चीन क्षेत्रीयरूपमा प्रभुत्वशाली आर्थिक शक्तिका रूपमा उदाइरहेछ भने अर्कोतर्फ उसले सामुद्रिक शक्तिको रूपमा पनि आफूलाई स्थापित गरिरहेको छ । यी सबै परिदृश्यले परिस्थिति चीनले भनेसरी बढेको छैन भन्ने देखाउँछ । चीनले आफ्नो प्रयास शक्ति राष्ट्र बन्नेभन्दा पनि सबैसँग सहकार्य गर्ने रहेको भन्दै गर्दा उसका यस किसिमका कदमले भनाइ र गराइमा सामञ्जस्य ल्याउँदैन ।

मिसचीफ रीफ दक्षिण चीन सागरमा अवस्थित चट्टाने टापु हो जसलाई फिलिपिन्सले स्वामित्व दाबी गर्दै आएको छ । चिनियाँ जहाजहरूले सुरुमा त्यहाँ आश्रयस्थल बनाए अनि भकाभक ठूला भवनहरू बनाउन थाले ।

आफ्नो क्षेत्रमा बढ्दै गएको चिनियाँ उपस्थिति घटाउन फिलिपिन्सले अमेरिकाको सहयोग खोज्यो । त्यसो त फिलिपिन्स आफैँमा अमेरिकाको पूर्वउपनिवेश थियो । तत्कालीन क्लिन्टन प्रशासनले फिलिपिन्सको आग्रह अस्वीकार गर्‍यो । फलस्वरूप अमेरिकी नौसेनाले लामो समयदेखि प्रयोग गर्दै आएको फिलिपिन्समा अवस्थित सुबिक बन्दरगाह गुमाउनुपर्‍यो ।

उक्त निर्णय ऐतिहासिक मोड भएको एलेक्स पामाको ठम्याइ छ । पामा आफैँ फिलिपिनी नौ सेनाको अध्यक्ष बन्नेवाला थिए । त्यही निर्णयबाट दक्षिण चीन सागरमा द्वन्द्व बढेको उनी बताउँछन् ।

त्यसको दुई दशकपछि चिनियाँ राष्ट्रपति सिले मिसचीफ रीफ र स्प्रेट्ली चट्टानहरूलाई द्विपको रूपमा निर्माण गर्न आदेश दिए । स्प्रेट्ली चट्टानहरू दक्षिणपूर्वी सागरमा छरिएका ठूला चट्टानहरूको समूह हो ।

अहिले ती चट्टानहरूमा चीनले बन्दरगाह, मिसाइल स्टेशन आदि बनाइरहेको छ । ऊ ती स्थानलाई जलसेनाको क्याम्प बनाउन चाहन्छ । सामुद्रिक मार्गमा भएका यी निर्माणपछि चीनले संसारमै सबैभन्दा बढी आवतजावत हुने जलमार्गमा पकड जमाएको छ ।

दक्षिण चीन सागरमा आफ्नो प्रभुत्व स्थापना गर्ने र अमेरिकालाई किनारा लगाई चीनको प्राचीन वैभव पुनर्स्थापना गर्ने चिनियाँ राष्ट्रपति सीको ध्याउन्न छ । सन् २०१९ मा मात्रै पहिलोपटक चीनले दक्षिण चीन सागरमा हवाई परीक्षण गरेको थियो ।

त्यसैगरी चीनका राज्य नियन्त्रित कम्पनीहरूले हिन्द महासागारमा रहेको श्रीलंका र पाकिस्तानका दुई बन्दरगाह निर्माण गरिरहेका छन् । यस्तै किसिमका बन्दरगाह म्यानमार र बङ्गलादेशमा पनि निर्माण हुँदै छन् । यी बन्दरगाहहरूले चीनलाई अफ्रिकाको सुडानको बन्दरगाहसम्म पहुँच स्थापित गर्ने रणनीति पूरा गर्न सघाउनेछन् ।

यस्तै, चीनले जिबुटीमा आफ्नो सैन्य अखडा स्थापना गरेको छ, जुन विदेशी भूमिमा उसले स्थापना गरेको पहिलो सैन्य अखडा हो ।

चीनले आफ्ना यी अभ्यासलाई प्रतिरक्षात्मक भन्दै आएको छ । चीनको यो कदमलाई अमेरिका र उसका एसियाली सहयोगी देशहरूले बेइजिङले अमेरिकालाई पन्छाउँदै विश्व व्यापारमा आफ्नो प्रभुत्व स्थापना गर्न गरेको प्रयासका रूपमा हेरेका छन् ।

एकातिर चीन क्षेत्रीयरूपमा प्रभुत्वशाली आर्थिक शक्तिका रूपमा उदाइरहेछ भने अर्कोतर्फ उसले सामुद्रिक शक्तिको रूपमा पनि आफूलाई स्थापित गरिरहेको छ ।

यी सबै परिदृश्यले परिस्थिति चीनले भनेसरी बढेको छैन भन्ने देखाउँछ । चीनले आफ्नो प्रयास शक्ति राष्ट्र बन्नेभन्दा पनि सबैसँग सहकार्य गर्ने रहेको भन्दै गर्दा उसका यस किसिमका कदमले भनाइ र गराइमा सामञ्जस्य ल्याउँदैन ।

चीनले कसरी विश्वमा आफ्नो प्रभाव जमाइरहेछ भन्ने व्याख्या गर्नुभन्दा पहिला ६ वटा सामुद्रिक घाटीहरूमा ध्यान दिनुपर्छ । ती घाटीहरू भूमध्यसागरबाट कालो सागर छिर्ने प्रवेशद्वार (१), मलक्काको नहर हुँदै प्रशान्त र हिन्द महासागर जोडिने मार्ग (२), युरोपलाई अफ्रिकासँग छुट्टाउने ‘गिब्रल्टारको नहर’ को करिडोर (३), जिबुटीको बब एल म्यान्डेब नहर जसले रातो सागर र एडेनको खाडीलाई जोड्छ (४), पर्सियाली खाडीको हर्मुज नहर (५) र भूमध्यसागर र रातो सागर जोड्ने स्वेज नहर (६) ।

‘कालान्तरमा उक्त क्षेत्रमा चीनको शक्ति र प्रभावले अमेरिकी प्रभुत्व नष्ट गरिदिनेछ’, चिनियाँ सरकारका सल्लाकार एवं रेन्मिन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक सी यिंहोङ भन्छन् ।

दक्षिण चीन सागरमा भएको यो हानथाप सन् २०१२ मा सतहमा आएको हो । स्कारबोरो शोअलमा भएको हानथापले यो विवाद सतहमा ल्याइदिएको थियो ।

स्कारबोरो शोअल दक्षिण चीन सागरमा रहेको घोडाको टापजस्तो आकारको चट्टानी समूह हो । यो चट्टान चीनभन्दा फिलिपिन्सको नजिक छ ।

फिलिपिन्सको नौसेनाले माछा मार्ने चिनियाँ जहाजलाई रोकेपछि विवाद बढेको थियो । त्यतिबेला ओबामा प्रशासनले दुवैलाई उक्त क्षेत्र छोडेर सहमतिमा आउन सल्लाह दियो । अमेरिकी आग्रहपछि फिलिपिनी जहाज फर्कियो तर चिनियाँ जहाज भने त्यहीँ रहे ।

त्यसयता उक्त क्षेत्र चीनको कब्जामा छ । ती टुक्रे चट्टानलाई सात वटा टापुमा परिवर्तन गर्न चीनले निर्माण कार्य सुरु गरेको छ ।

फिलिपिन्समा दक्षिण चीन सागर राजनीतिक अजेन्डा भएको छ । फिलिपिनी संसद् एवं पूर्वनाविक ग्यारी अल्जेनोको कार्यालयमा दक्षिण चीन सागरका दुईवटा ठूला नक्सा टाँसिएका छन् । आफ्नो कार्यालयमा आउने हरेकलाई उनी ती नक्सा देखाउँछन् र कसरी चिनियाँ नौसेना प्रशान्त महासागर प्रवेश गर्ने बासी नहरको छेउमा रहेको स्कारवोरा शओलमा बसेको छ भन्ने देखाउँछन् ।

उनी स्पार्टली चट्टानहरूमा बनाइएका कृत्रिम टापु र मिसचिफ टापु देखाउँछन् । त्यहाँ कसरी चिनियाँ लडाकु जहाज तैनाथ हुन्छन् भन्ने देखाउँछन् ।

घाटीको नियन्त्रण

चीनले कसरी विश्वमा आफ्नो प्रभाव जमाइरहेछ भन्ने व्याख्या गर्नुभन्दा पहिला ६ वटा सामुद्रिक घाटीहरूमा ध्यान दिनुपर्छ । ती घाटीहरू भूमध्यसागरबाट कालो सागर छिर्ने प्रवेशद्वार (१), मलक्काको नहर हुँदै प्रशान्त र हिन्द महासागर जोडिने मार्ग (२), युरोपलाई अफ्रिकासँग छुट्टाउने ‘गिब्रल्टारको नहर’ को करिडोर (३), जिबुटीको बब एल म्यान्डेब नहर जसले रातो सागर र एडेनको खाडीलाई जोड्छ (४), पर्सियाली खाडीको हर्मुज नहर (५) र भूमध्यसागर र रातो सागर जोड्ने स्वेज नहर (६) ।

यी जुन पनि क्षेत्रमा विवाद आउँदा चीनको स्वतन्त्र आवागमनमा प्रभाव पर्छ । यसले चीनको व्यापार र प्राकृतिक स्रोतसाधनमा उसको पहुँच खुम्च्याउँछ ।

चीनले इजिप्टको राजधानी नजिक मुख्य व्यापारिक क्षेत्र पनि निर्माण गर्दैछ । यो निर्माणकार्यमा चीनको राज्य नियन्त्रित बैंक समूहले प्रारम्भिक चरणमा करिब ३ अर्ब अमेरिकी डलर खर्च गर्दैछ । यो निर्माण कार्य तीन वर्षमा पूरा हुने अनुमान छ ।

इतिहासदेखि नै यी क्षेत्रमा अमेरिकी जलसेनाले निरीक्षण गर्दै अएको छ जसले चीनको आवागमन अमेरिकामा निर्भर बनाइदिएको छ । यी क्षेत्रलाई अमेरिकी नियन्त्रणबाट बाहिर ल्याउन ती घाटीमा रहेका देशमा चीनले ठूलो मात्रामा लगानी विस्तार गरेको छ ।

त्यसैले इजिप्टका राष्ट्रपति सिसीले कायरोको पूर्वमा रहेको मरुभूमिमा बनाइरहेको राजधानीमा चीनले प्रशस्त लगानी गरेको छ ।

इजिप्टको सरकार नियन्त्रित एक कम्पनीका प्रमुख जनरल अमेद जकी एब्डेनले एक अन्तर्वार्तामा अमेरिकाको विरोध गरेका थिए । अमेरिकाले इजिप्टको विकासमा आर्थिक सहयोग गर्न इच्छा नदेखाएपछि उनले अमेरिकी प्रवृत्तिको विरोध गरेका थिए ।

‘हामीसँग मानव अधिकारका विषयमा कुरा गर्न छाड’, उनी भन्छन्, ‘आऊ हामीसँग व्यापार गर । चिनियाँहरू आउँदैछन् । उनीहरू दुवै पक्षको जित खोजिरहेका छन् । चीनलाई हाम्रो देशमा स्वागत छ ।’

नयाँ राजधानी निर्माणमा सहयोग गरेर चीनले इजिप्टको शक्ति समूहको वर्षौं पुरानो सपना पूरा गरिरहेछ । उसले मरुभूमिको नामकरण गरिदिएको छ, ६५ लाख मानिस बसोबास गर्न सक्ने गरी उक्त शहर निर्माण हुँदैछ । यो शहर बनाउन १५ वर्ष लाग्ने र ११ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ ।

चीनले इजिप्टको राजधानी नजिक मुख्य व्यापारिक क्षेत्र पनि निर्माण गर्दैछ । यो निर्माणकार्यमा चीनको राज्य नियन्त्रित बैंक समूहले प्रारम्भिक चरणमा करिब ३ अर्ब अमेरिकी डलर खर्च गर्दैछ । यो निर्माण कार्य तीन वर्षमा पूरा हुने अनुमान छ । इजिप्टले उक्त पैसा चीनकै इन्जिनियरिङ संस्थालाई काम लगाउन प्रयोग गर्नु पर्नेछ । दोस्रो किस्तामा करिब ३ दशमलव २ बिलियन अमेरिकी डलर खर्च हुने अनुमान छ ।

(गुडम्यान ‘द टाइम्स’ का विश्व अर्थतन्त्र सम्बन्धी संवाददाता हुन् जसले ‘द वासिंटन पोस्ट’ का लागि सांघाई ब्युरो प्रमुख भएर चीनमा ६ वर्ष बिताए । सेप्टेम्बर १६ मा द न्यूर्योक टाइम्समा प्रकाशित उनको यो लेख पुरुषेत्तम पौडेलले भावानुवद गरेका हुन् ।)


भर्खर

0