चितवनमा हुने १०औँ महाधिवेशनबारे एमालेले सार्वजनिक गर्‍यो कार्यतालिका (भिडियोसहित) | Khabarhub Khabarhub

चितवनमा हुने १०औँ महाधिवेशनबारे एमालेले सार्वजनिक गर्‍यो कार्यतालिका (भिडियोसहित)


१७ कार्तिक २०७८, बुधबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालले चितवनमा हुन लागेको पार्टीको १०औँ महाधिवेशनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलनमार्फत एमालेले मंसिर १०-१२ मा हुन लागेको महाधिवशेनबारे विस्तृत कार्ययोजना सार्वजनिक गरेको हो ।

एमालेको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशन स्थल र महाधिवेशन सफल बनाउन बनाइएका उपसमिति र जिम्मेवारीहरु जानकारी दिइएको छ ।

हेर्नुहोस् पूर्णपाठ

– नेपालको सबैभन्दा ठूलो र प्रमुख राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं राष्ट्रिय महाधिवेशन यही २०७८ मंसिर १०–१२ गतेसम्म चितवनमा आयोजना हुन गइरहेको यहाँहरूलाई जानकारी नै छ । यस महाधिवेशनको मूल नारा ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं !, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं !’ रहेको छ ।

– नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी, शान्तिपूर्ण जनक्रान्तिको सम्बाहक, संविधान निर्माण (२०७२) कोनिर्णायक शक्ति, राष्ट्रियता, जनजीविका र सामाजिक न्यायका लागि संचालित आन्दोलनको मुख्य परिचालक शक्ति हुनुको नाताले नेकपा (एमाले)को आसन्न दशौं राष्ट्रिय महाधिवेशनको ऐतिहासिक महत्व रहने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायबाट व्यापक चासोका साथ हेरिरहेको तथ्य स्वतः स्पष्टै छ ।

– २००६ सालमा कमरेड पुष्पलालको नेतृत्वमा स्थापित नेपाल कम्युनिष्ट पार्टी विभाजन र एकताका अनेकन श्रृंखलाहरू पार गर्दै यहाँसम्म आइपुगेको छ । दक्षिणपन्थी अवसरवाद र उग्रवामपन्थी अतिवादसँग वैचारिक तथा राजनीतिक संघर्ष गर्दै नेपाली धर्तीमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासको सिलसिलामा जननेता मदन भण्डारीको नेतृत्वमा जनताको बहुदलीय जनवाद स्थापित भएको र जबज नेपाली क्रान्तिको सिद्धान्तका रुपमा सर्वस्वीकार्य भएको छ । विभाजित कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न नेकपा (एमाले)ले सुरुदेखि नै पहल गर्दै आएको छ । २०७५ जेठ ३ गते नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा पार्टी एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रुपमा पार्टीलाई रुपान्तरण गरेर एकताको नयाँ उचाई प्राप्त गरेको सबैलाई विदितै छ । नेकपाभित्र उत्पन्न आन्तरिक समस्या, गुटबन्दी र फुटपरस्त चिन्तन र व्यवहारले एकताको त्यस अभियानमा केही ठेस लागे तापनि कमरेड पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको नेतृत्वमा स्थापित विरासत र पछिल्लो एकीकरणका रुपमा कायम नेकपाको निरन्तरता र सच्चा उत्तराधिकारी यतिबेला नेकपा (एमाले) नै हो । कम्युनिष्ट आन्दोलनमा देखिएका सबैखाले वैचारिक विचलनविरुद्ध संघर्ष गर्दै फेरि पनि कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक अभिभारा पनि नेकपा (एमाले)कै काँधमा रहेको छ । दशौं राष्ट्रिय महाधिवेशनले यस आवश्यकतालाई अझ ठोस ढंगले अघि बढाउनेछ ।

– वर्तमान सरकार गठन भएपश्चात् संवैधानिक व्यवस्था झन् कमजोर हुँदै गएको छ । संघीय संसदलाई सरकारको लाचार छायाँ बनाइएको छ । संवैधानिक निकायहरूलाई कमजोर र अस्तव्यस्त बनाइएको छ । नेकपा (एमाले) नेतृत्वको सरकारले गरेका विकास निर्माण र जनपक्षीय कामहरूलाई उल्ट्याएर विनियोजित बजेट कटौती गरिएको छ । संसदमा रहेका विधेयकहरूलाई फिर्ता गरेर अध्यादेशमार्फत् अलोकतान्त्रिक र स्वेच्छाचारी रुपमा शासन संचालन गरिंदैछ । नेकपा (एमाले)को विभाजनका लागि असंवैधानिक हर्कत मात्र गरिएको छैन, राज्यका संवैधानिक निकायहरूलाई दुरुपयोगसमेत गरिएको छ । र, अनेक शक्तिका बीचमा षड्यन्त्रपूर्ण साँठगाँठ गरिएको छ । यसरी संविधान कार्यान्वयनसँगै विस्तारै बन्दै गएको लोकतान्त्रिक राजनीतिक स्थायित्वलाई पूरै धरासायी बनाएर मुलुकलाई पुरानै अस्थिरतातर्फ धकेलिंदै छ । वर्तमान सरकारका कारण सर्वत्र उत्पन्न विसंगतीको अन्त्य गरी फेरि पनि लोकतान्त्रिक राजनीतिक स्थायित्वको लागि ताजा जनादेशभन्दा अर्को कुनै विकल्प छैन । दशौं राष्ट्रिय महाधिवेशनले यस दिशामा ठोस धारणा बनाउनेछ । र, तिनै तहका निर्वाचनमा नेकपा (एमाले)को लोकप्रिय बहुमत हासिल गर्न सम्बद्ध पार्टीपंक्तिमा असाधारण उत्साह र ऊर्जा पैदा गर्नेछ ।

– दशौं राष्ट्रिय महाधिवेशनले मूलतः नयाँ नेतृत्व निर्वाचित गर्नेछ । २०७८ असोज १५–१७ मा सम्पन्न विधान महाधिवेशनले पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान पारित गरिसकेको यहाँहरूलाई अवगतै छ ।

– ‘संवैधानिक, शान्तिपूर्ण एवं लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट समाजका सबै क्षेत्रमा श्रेष्ठता हासिल गर्दै राज्य संरचनामा श्रमजीवी वर्गको वर्चश्व विस्तार गर्नु, तीव्र आर्थिक बृद्धि र न्यायोचित वितरणबीच समुचित सन्तुलन कायम गर्नु, राज्यका सबै अंगको लोकतान्त्रिक रुपान्तरण गर्ने र जनताको बहुदलीय जनवादी कार्यक्रम लागू गर्दै समाजवादको आधार तयार गर्ने ।… संवैधानिक, शान्तिपूर्ण र लोकतान्त्रिक प्रतिस्पर्धाको बाटोबाट जनताको बहुदलीय जनवादको कार्यक्रम लागू गर्दै राष्ट्रिय पुँजीको विकास गर्नु र समाजवादको आधार निर्माण गर्नु हामीले अवलम्बन गरेको राजनीतिक कार्यदिशाको सार हो’ भनी राजनीतिक कार्यदिशालाई पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ ।

प्रतिवेदनले ‘पार्टीलाई एकताबद्ध, सुदृढ, व्यापक जनआधारित बनाउने, आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिका रुपमा स्थापित गर्ने, दक्षिणपन्थी अवसरवादी गठबन्धन र त्यसले सञ्चालन गरेको सरकारका गलत कामको विरोध गर्ने, राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमान अभिवृद्धि गर्ने, लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विकास एवं राजनीतिक स्थायित्वको सम्बद्र्धन गर्ने, मौलिक साँस्कृतिक मूल्यहरूको सम्बद्र्धन र साँस्कृतिक रुपान्तरण, आर्थिक विकास र समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाउने’ गरी आगामी कार्यभार निश्चित गरेको छ ।

– संगठनात्मक प्रस्तावमा आजको सन्दर्भमा पार्टी निर्माण र संगठन व्यवस्थापन कार्यलाई ‘वैचारिक स्पष्टता, बुझाई र गराईमा एकरुपता, राज्य संरचनासापेक्ष पार्टी संगठनको संरचना, नीति र विधि निर्माणमा केन्द्रित विधान महाधिवेशनको आयोजना, सकारात्मक सोंच र रचनात्मक व्यवहारको विकास, विधिसम्मत पार्टी संचालन, पार्टी सदस्यता विस्तार र गुणस्तरमा बृद्धि, संगठनात्मक अराजकता र अवसरवादविरुद्ध वैचारिक संघर्ष, आर्थिक–सामाजिक विकासमा अगुवाई गर्ने पार्टीपंक्तिको निर्माण, पार्टी सम्बद्ध जनसंगठनहरुबीच घनिष्ट सम्बन्ध र समन्वय, पार्टी जीवनको लोकतान्त्रिकरणको सिर्जनात्मक प्रयोग, पारदर्शिता, असल आचरण र जीवनशैलीको विकास, नेतृत्व विकास र हस्तान्तरणको विधिसम्मत प्रणाली, जनसम्बन्धको विकास र विस्तार, सामाजिक र सामुदायिक संगठनमा पार्टी नेतृत्व स्थापित गर्ने, समग्र प्रवासको कामको व्यवस्थापन, संसदीय क्षेत्र, सरकार र पार्टी कामको संयोजन, विभिन्न तहको निर्वाचनको तयारी, जनसरोकारका कामका क्षेत्रमा पार्टीको नेतृत्व स्थापित गर्ने, सामाजिक सेवा र लोककल्याणकारी कार्य गर्ने र पार्टीको केन्द्रीय कार्यालयको भवन निर्माण गर्न’ जोड दिइएको छ ।

– विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौं राष्ट्रिय महाधिवेशनले अध्यक्ष, बरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव जना गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ । यसैगरी महाधिवेशनले १५ सदस्यीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगको पनि चयन गर्नेछ ।

– नेतृत्व निर्वाचनको कार्य इलेक्ट्रोनिक भोटिङ मेशिन (ई–भोटिङ)को प्रयोग गरी सम्पन्न गरिनेछ ।

– विधान महाधिवेशनले पारित गरेका राजनीतिक, सांगठानिक तथा विधानसम्बन्धी व्यवस्थाको बुझाइमा एकरुपता कायम गर्दै तिनको वैचारिक, राजनीतिक तथा साँगठानिक जगमा नेकपा (एमाले)लाई थप सुदृढ र एकताबद्ध गर्न दशौं राष्ट्रिय महाधिवेशनले ठोस रुपमा मार्गदर्शन गर्नेछ ।

– मूल व्यवस्थापन समितिको कार्यालय भरतपुरस्थित नेकपा (एमाले)को जिल्ला पार्टी कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले कात्तिक १५ गते शुभारम्भ गरिसक्नुभएको छ । र, त्यहीँबाट आवश्यक तयारी कार्यहरूको संयोजन भइरहेको छ । तिहार लगत्तै सौराहामै उक्त कार्यालय पनि सार्ने योजना रहेको छ ।

महाधिवेशनको उद्घाटन नारायणी नदीको किनारामा अवस्थित विशाल मैदानमा गरिनेछ । त्यस प्रयोजनका निम्ति मैदानलाई सम्याउने र खाल्डाखुल्डी पुर्नेलगायतका कामहरू गर्नका निम्ति सम्बन्धित निकायहरूलाई अनुरोध गरी कार्य भइरहेको छ । बन्द सत्र सौराहास्थित हात्तीसारमा गर्नेगरी संरचना निर्माणको काम अघि बढाइनेछ । र, प्रतिनिधिहरूलाई सौराहास्थित होटलहरूमा बसोबासको व्यवस्था गरिनेछ ।

केन्द्रीय कमिटी बैठकद्वारा गठित दशौं महाधिवेशन मूल व्यवस्थापन समिति

संयोजक – रामबहादुर थापा ‘बादल’

सहसंयोजक – सुरेन्द्रप्रसाद पाण्डे

सचिव – विष्णु रिमाल

सदस्यहरू: अष्टलक्ष्मी शाक्य, पृथ्वीसुव्वा गुरुङ, योगेश भट्टराई, रघुजी पन्त, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, काशीनाथ अधिकारी, भानुभक्त ढकाल, यामलाल कँडेल, राजन भट्टराई, शेरबहादुर तामाङ, विनोद श्रेष्ठ, आनन्द पोखरेल, देवी ज्ञवाली, सीता पौडेल, कपिल पोखरेल, लीला गिरी, दीपक देवकोटा, कृष्णभक्त पोखरेल र पार्वती रावल गरी २३ जना ।

महाधिवेशनको व्यवस्थित आयोजनासम्बन्धी कामलाई संयोजन गर्न निम्न बमोजिम कमरेडहरूलाई उपसमिति संयोजनको जिम्मेवारी तोकिएको छ । र, आगामी बैठकमा सदस्यहरूको नाम प्रस्ताव गरी निर्णय लिइनेछ ।

प्रतिनिधि व्यवस्थापन – विष्णुप्रसाद पौडेल/संगठन विभाग

जनपरिचालन : सुरेन्द्रप्रसाद पाण्डे, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लीला गिरी, यामलाल कँडेल, आनन्दप्रसाद पोखरेल, दीपक देवकोटा, सीता पौडेल, देवी ज्ञवाली र कपिल पोखरेल ।

प्रचार- योगेश भट्टराई

आर्थिक –विष्णु रिमाल

यातायात – काशीनाथ अधिकारी

आवास – कृष्णभक्त पोखरेल

स्वयंसेवक – विनोद श्रेष्ठ

खाद्य – कपिल पोखरेल/पार्वती रावल

मञ्च व्यवस्थापन – शेरबहादुर तामाङ

अतिथि सत्कार – डा. राजन भट्टराई

साँस्कृतिक – रघुजी पन्त/देवी ज्ञवाली

स्वास्थ्य – भानुभक्त ढकाल

कार्यालय – कपिल पोखरेल

महाधिवेशनका प्रतिनिधिको निर्वाचन आगामी कात्तिक २७ गते देशैभरि एकसाथ देहाय बमोजिम गरिनेछ :

– केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारी समेत सदस्यहरू मध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि । सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुने तर उहाँहरूलाई मताधिकार नहुने ।

– प्रदेश र सो सरहका कमिटीका पदाधिकारी र सदस्यहरू मध्येबाट कम्तिमा २ महिलासहित ५ जना दरले निर्वाचित हुने प्रतिनिधि ।

– प्रतिनिधिसभा निर्वाचन क्षेत्र अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।

– देशभित्रका विशेष जिल्ला अन्तर्गतका १२०० सम्म पार्टी सदस्य मध्येबाट कम्तिमा १ महिला सहित ३ जनाका दरले निर्वाचित हुने प्रतिनिधि । सो संख्यामा ८०० सम्म सदस्य थप भएमा थप १ जना, १६०० सम्म सदस्य थप भएमा थप २ जना, २४०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।

– देशभित्रका जिल्ला र विशेष जिल्ला अन्तर्गतका ५०० सम्म दलित पार्टी सदस्य मध्येबाट निर्वाचित हुने १ जना प्रतिनिधि । सो संख्यामा ५०० सम्म सदस्य थप भएमा थप १ जना, १००० सम्म सदस्य थप भएमा थप २ जना, १५०० सम्म सदस्य थप भएमा कम्तिमा १ महिला सहित ३ जना र सो भन्दा बढी भएमा सोही अनुपातमा निर्वाचित हुने दलित प्रतिनिधि । ३ जना प्रतिनिधि निर्वाचित हुँदा कम्तिमा १ जना महिला अनिवार्य हुने ।

– भूगोलका प्रदेश अन्तर्गतका मजदूर पार्टी सदस्य मध्येबाट कम्तिमा ३ महिलासहित ७ जनाका दरले निर्वाचित हुने प्रनितनिधि ।

– भारत, अमेरिका (क्यानडा समेत), युरोप, एशिया प्यासिफिक, खाडी र ओसियाना मध्ये प्रत्येकका पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित हुने प्रतिनिधि ।

– पार्टीका केन्द्रीय विभाग र केन्द्रीय कार्यालय अन्तर्गतका पार्टी सदस्यहरूबाट निर्वाचित हुने कम्तिमा २ महिला सहित ५ जना प्रतिनिधि । विभागका सचिव र सदस्यहरू विभाग र केन्द्रीय कार्यालय वा आफ्नो पार्टी सदस्यता कायम रहेको मध्ये कुनै एक स्थानबाट उम्मेदवार बन्न सक्ने ।

– स्वदेशका देहायबमोजिमका २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरूबाट कम्तिमा २ महिला सहित ५ जनाका दरले निर्वाचित प्रतिनिधि :

– नेपाल ट्रेड युनियन महासंघ, अखिल नेपाल किसान महासंघ, अखिल नेपाल महिला संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, राष्ट्रिय युवा संघ, नेपाल, राष्ट्रिय जनसाँस्कृतिक महासंघ, नेपाल, लोकतान्त्रिक मधेसी संगठन, नेपाल खेलकूद महासंघ, आदिवासी–जनजाति महासंघ, नेपाल, पेशागत महासंघ, नेपाल, नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेपाल मुस्लिम ईत्तेहाद संगठन, प्रेस चौतारी, नेपाल, नेपाल भूमिहीन सुकुम्बासी संगठन, लोकतान्त्रिक अपाङ्ग संगठन, नेपाल बुद्धिजीवी परिषद, प्रगतिशील पेशागत कानून व्यवसायी संगठन, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन, नेपाल उद्योग व्यवसायी महासंघ, प्रगतिशील इन्जिनीयर्स एशोसिएसन, नेपाल, मानव अधिकार एलाइन्स र राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल ।

– दशौं महाधिवेशनमा विदेशी पाहुनाहरुलाई सहभागी बनाउन पत्राचार गरिएको छ । यसका लागि नेकपा (एमाले)सँग भाइचारा सम्बन्ध रहेका विभिन्न मुलुकका पार्टीहरु, मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टीहरु, दक्षिण एसियाका सत्तारुढ दल र विपक्षी दलहरु तथा आइक्याप (आईसीएपीपी)का स्थायी कमिटीका सदस्यहरुलाई निमन्त्रणा गरिएको छ । निमन्त्रणा गरिएका पार्टीहरुबाट सकारात्मक सन्देश प्राप्त भएको पनि जानकारी गराउन चाहन्छौं । यस्तै नेपालका प्रमुख राजनीतिक दलहरुलाई पनि निमन्त्रणा गरिनेछ । यसैगरी नेपालस्थित विभिन्न कूटनीतिक निकायका प्रमुखहरुलाई पनि दशौं महाधिवेशनमा निमन्त्रणा गरिनेछ ।

अन्तमा,

नेपालकै मध्यभाग र प्रसिद्ध पर्यटकीय गन्तव्य चितवनमा सम्पन्न हुने नेकपा (एमाले)को दशौं राष्ट्रिय महाधिवेशनले मुलुकको राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशा दिनेछ । आगामी मंसिर १० गते भरतपुरस्थित नारायणी नदीको विशाल मैदानमा पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले एक भव्य समारोहका बीचमा महाधिवेशनको उद्घाटन गर्नुहुनेछ । महाधिवेशनलाई भव्य एवं ऐतिहासिक रुपले सफल गर्न पार्टीका सम्पूर्ण सदस्य तथा आम जनसमुदायहरुमा हामी हार्दिक अनुरोध गर्दछौं । साथै, सञ्चारकर्मी मित्रहरूबाट आवश्यक सहयोग, सुझाव र रचनात्मक टिप्पणीको अपेक्षा गर्दछौं ।

दीपावली, नेपाल सम्वत् तथा छठका अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  १ : ४४ बजे

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन : अर्थमन्त्री

वासिङ्टन– अर्थमन्त्री वर्षमान पुनले जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपालसहित

च्याम्पियन्स लिग : रियल मड्रिड सेमिफाइनलमा

काठमाडौँ– युईएफए च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड सेमिफाइनलमा प्रवेश गरेको

मानसिक रोगको कारण बन्नसक्छ स्मार्ट फोन

सामाजिक मनोचिकित्सक जोनाथान हाइडट पछिल्लो समय युवा पुस्ता अझ भनौँ

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज

एकीकृत घुम्ती सेवाप्रति स्थानीयमा उत्साह

महोत्तरी– स्थानीय तहमा राज्यका विभिन्न निकायद्वारा सञ्चालन गरिने एकीकृत घुम्ती