घर बनाउने विचारमा हुनुहुन्छ होला नि ! | Khabarhub Khabarhub

घर बनाउने विचारमा हुनुहुन्छ होला नि !



घर बनाउँदै हुनुहुन्छ वा बनाउने सोचमा हुनुहुन्छ भने वास्तुबारे केही जानकारी राख्नु आवश्यक हुन्छ ।

वास्तुशास्त्र र अध्यात्म विज्ञानका प्रणेता वैदिक ऋषि, महर्षिहरू हुन् । यस्ता तत्वज्ञानी महापुरुषहरू भृगु, अत्रि, वशिष्ठ, विश्वकर्मा, मय, नारद, नग्नजित्, विशालाक्ष, पुरन्दर, सनत, सनन्दन, सनातन, सनतकुमार, शौनक, शुक्राचार्य, वृहस्पति आदि मुख्य छन् ।

वास्तुशास्त्रका प्रमुख ज्ञाताहरूबाट निर्देशित घर, भवन, मठ, मन्दिरहरू, महलहरू बढी भरपर्दा र सुरक्षित हुन्छन् । सम्पूर्ण निर्माणस्थलको केन्द्रबिन्दु वास्तुपुरुषको ब्रह्मस्थान हो, ब्रह्माण्डका सर्जक ब्रह्माको निवास क्षेत्र हो । यो स्थान हरदम खुला हुनुपर्छ ।

ब्रह्मस्थानको मूल चिन्तन गर्दै विश्वकर्माले स्वर्गको निर्माण गरेका हुन् । विश्वकर्माले ‘द्वारका’ बनाए । समुद्रको गर्भगृहमा बनेको द्वारका परमेश्वर श्रीकृष्णको निवासक्षेत्र हो । हालको दिल्ली जो महाभारतकालमा ‘इन्द्रप्रस्थ’ भनिन्थ्यो, यसको निर्माण ‘मय’ ले गरेका हुन् । आजसम्म पनि समुद्रको तटीयभागमा विश्वका विकसित मुलुकहरू छन् । पानीमुनि रेल गुड्ने र चरा उड्ने मुलुकहरू पनि हाम्रै विश्वमा छन् ।

भवन निर्माण गर्दा कुमारीको स्थान, नागको शिरको ज्ञान र वास्तुपुरुषको लक्षण जान्नुपर्ने हुन्छ । शास्त्रीयदृष्टिले वास्तुमुहूर्त वैशाख, श्रावण, कार्तिक र मार्गलाई विशेषरूपमा राम्रो मानिएकोे छ ।

अन्य महिनाहरूमा वास्तुदेवता निद्रामा हुने र वैशाख, श्रावण, कार्तिक र मार्गमा जागा हुने हुनाले पनि यी मासहरूमा निर्माण कार्य बढी हुने गर्छन् ।

श्रावण मासमा पनि अश्विनी, रोहिणी, मृगशिरा, तिष्य, उत्तराफाल्गुनी, हस्ता, चित्रा, स्वाती, अनुराधा, पूर्वाषाढा, श्रवण, धनिष्ठा, शतभिषा, रेवती आदि नक्षत्र बढी शुभ छन् । वृष, मिथुन, सिँह, कन्या, मकर, कुम्भ लग्नहरू वास्तु मुहुर्तका लागि बढी ग्राह्य छन् ।

वास्तुपुरुषको पूर्ण दृष्टि ज्येष्ठ, आषाढ र श्रावणमा उत्तरतर्फ हुने भएकाले उत्तरपूर्वतर्फको ऊर्जा बढी सकारात्मक, शुभ र लाभप्रद हुन्छ । यस बेलाको वास्तु मुहूर्तबाट निर्माण गरिएका घर, भवनहरू, शुभ फलदायी, स्वास्थ्यवद्र्धक र बढी समयसम्म टिकाउ हुने हुन्छन् ।

वास्तु मिलेका घर, भवनमा रहने मानिसहरू बढी आनन्दित र सुरक्षित हुन्छन् । शुभमुहूर्त हेरेर ‘मनु’ ले ‘अयोध्या’ निर्माण गरे । रामायण र योगवाशिष्ठको केन्द्रस्थल ‘अयोध्या’ का परम आदरणीय गुरु वशिष्ठ श्रीरामका गुरु हुन् । अयोध्यानगरी बसाउनमा उनको ठूलो देन थियो । गुरु वशिष्ठ वास्तुशास्त्रका प्रणेता हुन् ।

जुनक्षेत्रमा युद्ध हुँदैन, त्यो नै अयोध्या हो । आदिभौतिक, आधिदैविक र आध्यात्मिक हरेक कुराका तीन अवस्थाहरू हुन्छन् । आधिभौतिक नगरी अयोध्या भन्नु सरयु नदीतटको स्थूल शहर अयोध्या हो । आध्यात्मिक नगरी अयोध्या भन्नु हाम्रो हृदय हो जहाँ भक्तिरूपी सीताको समागम भई सम्पूर्ण जीवप्रतिको स्नेह उजागर हुन्छ ।

मनु नामका वास्तुशास्त्रीबाट निर्मित अयोध्या नगरी त्रेतायुगदेखि हालसम्म सुरक्षित र संरक्षित छ जहाँ प्रवेश गर्नाले मात्रै पनि व्यक्ति बढी आनन्दित महसुस गर्छ । मयद्वारा निर्मित द्वारका द्वापरयुगदेखि नै पवित्रस्थल मानिएको छ जहाँ पुगेर क्षणिक विश्राम गर्दा नै मानिसले दिव्य आनन्द अनुभूति गर्छ ।

रामायण, योगवाशिष्ठ, बराहपुराण, अग्निपुराण, मत्स्यपुराण एवं स्कन्दपुराणको नेपालमाहात्म्यले हाम्रो मुलुकको केन्द्रस्थली पश्चिमक्षेत्र, काली गण्डकीको विशद् चर्चा गरेका छन् ।

परमेश्वर श्रीविष्णुले माथि उल्लेख गरिएका विश्वकर्मालाई आफ्नो मूर्ति बनाउन लगाई अति प्राचीनक्षेत्र नेपालको गण्डकीक्षेत्रमा राख्न लगाएका हुन् । काली गण्डकीक्षेत्रमा हालसम्म पनि असख्य शालिग्राम शिलाहरू पाइन्छन् । शालिग्राम शिला भन्नु भगवान श्रीविष्णुको स्वरूप हो । भनिन्छ– गण्डकी, तुलसी, शालिग्राम, सबैको पुण्यक्षेत्र नेपालधाम ।

नेपाल सत्युगदेखि नै स्थापितक्षेत्र हो । सत्ययुगमा यसको नाम ‘सत्यपुरी’ थियो, त्रेतायुगमा ‘तपोवन’ भनियो । द्वापरयुगमा यसको नाम ‘मुक्तिपुर’ रह्यो भने कलियुगमा ‘नेपाल’ भनिएको छ ।

संस्कृत भाषामा ‘नयेन पाल्यते इति नयपालः’ भनिएको छ । न्यायद्वारा धर्मको रक्षा गरी जहाँ राज्य सञ्चालन हुन्छ, त्यो राज्य ‘नेपाल’ हो भनी अध्यात्मशास्त्रहरूले उद्बोधन गरेका छन् ।

विश्व सम्पदा सूचीमा रहेको मुक्तिक्षेत्र पावन गण्डकीको स्रोत हो । ब्रह्माले यसै मुक्तिक्षेत्रमा बसेर विशाल वास्तुशास्त्रीय यज्ञ सम्पन्न गरी विश्वको सिर्जना गरेका हुन् ।

विश्वका प्रत्येक कुनाबाट आउने पर्यटकहरू हालसम्म पनि प्रसिद्ध पोखराक्षेत्र हँुदै गण्डकीको प्राकृतिक आनन्द लिँदै मुक्तिनाथ जाने गर्छन् । भनिन्छ, विश्वका सर्जक ब्रह्मा, पालक विष्णु र संहारकारी रुद्र संयुक्त रूपमा यहाँ विराजमान छन् ।

कालीगण्डकीमा वास्तुशास्त्री विश्वकर्माले स्थापित गरेका शालिग्राम शिला विश्वमा अन्यत्र कहीँ भेटिन्नन् । कालिगण्डकीमा प्राप्त शालिग्रामको स्थापना एवं नित्य पूजाले घरमा वास्तुदोष रहँदैन ।

वास्तुशास्त्र समृद्ध अध्यात्म विज्ञान हो । प्राचीनकालमा वास्तुशास्त्रका विधिअनुसार शहरहरू बनाइए, मठमन्दिर र ठूला भवनहरू बनाइए । वास्तुको महत्व आज पनि कम भएको छैन । वास्तु मानिसको खुसी र समृद्धिसँग जोडिएको छ ।

शालिग्रामको पूजा गर्दा यसको मुद्रा, आकार एवं चक्रहरूका विषयमा थाहा हुनुपर्छ । धेरै ठूलो वा धेरै सानो आकारको शालिग्राम पूजाका निम्ति उपयुक्त मानिँदैन । मध्यम आकारको नफुटेको, शंख, चक्र, गदा, पद्म अंकित शिलाको पूजाले सबै मनोरथ पूरा हुन्छ । घरमा दरिद्रता, अग्निभय, चोरी, हत्या, हिंसा, रोग, आदिको भय हुँदैन । वास्तुशास्त्र एवं अध्यात्म विज्ञानमा विष्णुको प्रतीक शालिग्राम अतुलनीयरूपमा वर्णन गरिएको छ ।

घरको मूलढोका पूर्व, उत्तर वा पूर्वोत्तर (ईशान) तिर हुनु सुखप्रद हुन्छ । ढोका पश्चिमतिर वा पूर्वदक्षिण (अग्निय कोण) मा पनि राम्रो मानिन्छ । पश्चिम वा वायव्य कोणमा पनि राम्रै हुन्छ । पूरै पूर्णदक्षिण (नैऋत्य) तिर मूलढोका राम्रो मानिँदैन ।

घरमूलीको शयनकक्ष नैऋत्य कोणमा उत्तम मानिन्छ । पूजा, ध्यान, देवकार्य र पितृ कार्य गर्ने क्षेत्रमा शयन कक्ष नहुनु राम्रो हुन्छ । घरमूलीको शयन कक्ष नैऋत्य कोणमा मिलाउन नसके दक्षिण वा पश्चिमपट्टि राख्न सकिन्छ ।

अविवाहित छोराछोरीको शयनकक्ष पूर्व या पूर्वोत्तर कोणहरूमा राम्रो मानिन्न, नव दम्पतीका लागि पनि राम्रो मानिँदैन । घर बनाउँदा झ्याल ढोकाहरू जोर संख्यामा राख्नुपर्छ । एउटै कोठामा दुई वटाभन्दा बढी ढोका राम्रो मानिँदैन ।

घर बनाउने जमिन सकेसम्म चौकोण मिलेको र ईशान कोण झुकेको राम्रो मानिन्छ । भूमिगत पानी ट्याकी र पूजास्थान ईशान कोणमा उत्तम हुन्छ । पूजा गरिने देवदेवीहरू पश्चिम मुख र आपूm पूर्व, उत्तर या पूर्वोत्तर उत्तम मानिन्छ ।

भान्सा कोठा आग्नेय हुनु राम्रो हुन्छ, नसके वायव्य पनि राम्रै मानिन्छ । पाहुनाको शयन कक्ष एवं बिहेयोग्य कन्याको लागि वायव्य दिशाको कोठा उत्तम हुन्छ ।

उत्तर शिरानी गरेर सुत्नु वास्तुदृष्टिले राम्रो मानिँदैन । शौचालय दक्षिण या पश्चिमतर्फ हुनुपर्छ । पसलको नगद बाकस नैऋत्य कोणमा राखेर उत्तर खुल्ने हुनुपर्छ । आफ्नो घरलाई ईशान कोणबाट अग्लो घरले घाम छेक्ने हुनु हुँदैन ।

स्नान कोठा पूर्वतर्पm हुनु जरुरी छ । घर वरिपरि कुनै अनावश्यक सरसामग्री रहनु राम्रो हुन्न । घरको पश्चिम, नैऋत्यमा अग्लो घर, रुख या खाली जमिन हुनु राम्रो मानिन्छ ।

घरको सामुन्ने मठ, मन्दिर वा मूर्तिको दृष्टिलाई पनि राम्रो मानिँदैन । अग्नि तत्व, बिजुलीको तार, ट्रान्सफर्मर आदि घरको आग्नेय दिशातर्फ हुनु राम्रो मानिन्छ । घरको उत्तर क्षेत्रमा कम तौलका सरसामग्री रहनु राम्रो मानिन्छ । भारवहन भने दक्षिण नैऋत्यतिर राम्रो मानिन्छ ।

शहरिया जीवनमा एटेच ट्वाइलेट प्रणाली हुन्छ । यसमा प्यान वा कमोड पूर्वपश्चिम गरी राख्नु हुँदैन । शयन कक्षमा ड्रेसिङ टेबुल उत्तरपूर्वतिर हुनुपर्छ । टेलिफोन सेट कोठाको उत्तरतिर राख्नुपर्छ । भर्‍याङको खुड्किला बिजोर संख्यामा हुनुपर्छ ।

घरको भित्तामा सेतो, पहेँलो, निलो, हरियो वा गुलावी रङ्ग रामो हुन्छ । मूलढोकाकै सामुन्ने भान्सा कोठा राम्रो मानिँदैन ।

अहिलेको जमानामा वास्तुका सबै विधि पूरा गर्न कठिन हुन्छ । यसमा पनि चिन्ता नलिनुहोस् । पूर्व, उत्तर, पूर्वोत्तरक्षेत्र सफा राख्नोस्, प्रकाशमय पार्नोस् । मूल ढोकामा रुद्राक्ष, स्वस्तिक चिह्न, तुलसी मञ्जरी वा शुभसूचक केही सामग्री राख्नुहोस् । देवताको नित्य आराधना गर्नुहोस् । सोमबार शिवजी उपासना गर्नुहोस् । यसो गर्दा वास्तुदोषहरू र ग्रहजन्य दोषका प्रभावहरू कम हुन्छन् ।

(लेखक वास्तुशास्त्री हुन् ।)

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  १० : ५५ बजे

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : ओली

काठमाडौं– नेपाल (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नीति र

रक्सी र मासुमा भोट खेर नफालौँ : रवि लामिछाने 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को

राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरि काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परिवर्तनको औचित्य पुष्टि

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका