भारतीय स्वतन्त्रता सङ्ग्रामकी एक गुमनाम वीरङ्गना « Khabarhub
Logo
१८ श्रावण २०७८, सोमबार

भारतीय स्वतन्त्रता सङ्ग्रामकी एक गुमनाम वीरङ्गना



काठमाडौँ– संसारमा राजनीतिक र सामाजिक अभियानमा सङ्गीतकर्मीको भूमिका महत्वपूर्ण रहँदै आयो । अनेक विकृति र विसङ्गतिविरुद्ध जागरण ल्याउन सङ्गीत निकै प्रभावकारी ठहरियो । संसारमा भएका धेरै राजनीतिक र सामाजिक परिवर्तनमा सङ्गीतकर्मीहरू प्रभावकारी सहयोगी सिद्ध भए ।

विद्रोहको आवाज उठाउने क्रममा सङ्गीत सधैँ अग्रमोर्चामा रह्यो । संसारको सङ्गीत इतिहासमा धेरै यस्ता नाम छन् जसको विद्रोही आवाज सत्ताका लागि टाउको दुखाइ बन्यो भने विद्रोहीका लागि आत्मबल ।

सन् ८० र ९० को दशकमा हिपपको दुनियाँमा क्विन लतिफाको नाम चर्चामा थियो । ‘हिपप क्वीन’ को उपमा पाएकी लतिफालाई उनका समर्थकहरूले सङ्गीत, टीभी र सिनेमाकी क्विन भनेर बुझ्थे ।

बजारमा क्वीन लतिफा अर्थात् मेघन स्टालिनको पोस्टरको उच्च माग थियो । उनको अभियानका कारण रङ्गको र लिङ्गको आधारमा विभेद हुन हुँदैन भन्ने भावना उच्च भएको थियो ।

सन् २०१८ मा अमेरिकी गायक डोनाल्ड ग्लेभरले इन्टरनेटमा एउटा भिडियो अपलोड गरेका थिए । अमेरिकी समाजमा रहेका गलत परम्परातर्फ इङ्गित गर्दै राखिएको उक्त भिडियो भाइरल भएको थियो ।

अम्ब रेलीको ‘फ्रिडम’ एउटा विद्रोही गीत थियो । त्यसो त सन् ८० को दशकको ‘आइ वान्ट अ ब्रेक फ्री’ को प्रभाव अहिलेसम्म छ । गीतसङ्गीतमार्फत सामाजिक र राजनीतिक विकृतिको विरुद्धमा बोल्ने, मान्छेलाई जागृत गर्ने र परिवर्तनको दिशा देखाउने काम संसारभरकै हो ।

नेपालमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनमा सङ्गीतकर्मीको भूमिका निकै महत्वपूर्ण मनिएको छ ।

भारतमा धेरै सिनेमा र गीत तत्कालीन ब्रिटिस शासनको सेरोफेरोमा रहेर बनेका छन् । त्यो समयमा पनि गीतमार्फत सत्ताको विरुद्धमा चेतना फैलाउने काम भएको थियो ।

यो क्रम सन् १९३० देखि अझ बढेको थियो । ब्रिटिस सरकारको विरुद्धमा कलाकारहरू पनि सक्रिय रहे । भारतीय सङ्गीतको चर्चा हुँदा त्यो समयमा सक्रिय व्यक्तिहरू सम्झना गरिन्छन् ।

एक वीरङ्गना भारतमा थिइन् जसको जीवनकथा आश्चर्यजनक र पठनीय छ । उनी हुन् गायिका तथा अभियानी खुर्सदबेन नाओर्जी ।

यी ऐतिहासिक महिलाका बारे धेरैलाई थाहा छैन । भारतीय स्वतन्त्रता सङ्ग्रामको समयमा यी गायिकाको विशिष्ट योगदान थियो । उनीसँग महात्मा गान्धी पनि प्रभावित थिए । उनी यस्ती महिला थिइन् जसको साहसबाट ब्रिटिस शासकका लागि टाउको दुखाइ बनेको थियो ।

खुर्सदबेन पछिल्लो पुस्ताका धरै भारतीयका लागि परिचित नाम होइन । हालसालै इतिहासकार डिनार पटेलले उनको बारे लेखे । रामचन्द्र बारुले खुर्सदबेनको वृत्तान्त पुस्तकमा लेखे । यसपछि भारतीय, स्वतन्त्रता सङ्ग्राम, गान्धीको अहिंसात्मक आन्दोलन तथा भारत–पाकिस्तान विभाजनबारे अझै धेरै बुझ्न खुर्सदबेनका बारे पढ्नुपर्छ ।

पर्सिएन मूलकी नाओर्जीको जन्म सन् १८९४ मा एक प्रतिष्ठित घरानामा भएको थियो । खुर्सदबेनका हजुरबा दादाभाइ नओर्जी ब्रिटिस संसदमा काम गर्ने पहिलो भारतीय थिए । युवा अवस्थासम्म बम्बई (हालको मुम्बई) मा हुर्किएकी खुर्सदबेनको शास्त्रीय सङ्गीतमा विशेष खुबी थियो ।

सन् १९२० मा उनी सङ्गीत अध्ययनका लागि पेरिस पुगेकी थिइन् । त्यहाँ सांस्कृतिक परिवर्तित हुँदै गर्दा उनको भेट अर्की आप्रवासी सङ्गीतकर्मी इभा पाल्मरसँग भएको थियो ।

भारतीय स्वतन्त्रता सङ्ग्राममा विशिष्ट योगदान गरेकी सङ्गीतकर्मी खुर्सदबेन नाओर्जीका बारे धेरैलाई थाहा छैन । यिनको साहसबाट महात्मा गान्धी औधी प्रभावित थिए । गान्धीवादी सङ्गीतकर्मी खुर्सदबेनको अभियानबाट अङ्ग्रेज शासकहरू त हैरान नै थिए ।

यी दुईको जोडी जमेपछि पेरिसमै गैरपाश्चात्य सङ्गीत विद्यालयको बाटो खुलेको थियो । पेरिसमा रहँदा खुर्सदबेन ग्रीक सङ्गीतमा पारङ्गत भइन् । भारतीय सङ्गीतका धार पछ्याउन भने छाडिनन् ।

खुर्सदबेन महात्मा गान्धीले शुरू गरेको स्वतन्त्रता आन्दोलनमा सहभागी हुन भारत फर्किन् । उनले गुजरातमा गान्धीसँग भेट गरिन् र आन्दोलनमा महिलाको व्यापक सहभागिता हुन आवश्यक हुने बताइन् ।

उनी कसरी सीमा क्षेत्रमा पुगिन् भन्ने चाहिँ धेरैका लागि आश्चर्यजनक नै रहेको छ । अझ भनौँ, यसबारे इतिहास खोतल्ने काम भइरहेको छ । सन् १९३० मा उनी एनडब्लुएफए (नर्थ वेस्ट फ्रन्टियर पोलिटिक्समा) मा आबद्ध भइन् । सीमा क्षेत्रमा अब्दुल गफर खानसँग उनको दोस्ती भयो । उनले त्यहाँ चालेको कदमले ब्रिटिस सरकारलाई क्षुब्ध बनायो ।

त्यही रहेको समयमा ब्रिटिस सरकारले खुर्सदबेनलाई गिरफ्तार गरेर पेसावरको एउटा जेलमा राखियो । उनले यहीँबाट चिठ्ठी लेखेर गान्धीलाई घटना जानकारी गराइन् । उनले जेलमै रहेर आफ्नो अभियान चलाइरहँदा गान्धीले हिन्दु र मुस्लिमलाई एकजुट बनाएर अभियान चलाउँदा सार्थक हुने सुझाएका थिए ।

जेलबाट रिहा भएपछि खुर्सदबेन बाजिरिस्तानमा सक्रिय रहिन् । त्यहाँ मुस्लिम डकैतले छानीछानी हिन्दुहरूलाई यातना दिइरहेका थिए । त्यस क्षेत्रमा अपहरणका घटना सामान्य मानिन्थे । एउटा निश्चित क्षेत्रमा सक्रिय डाकाहरूको समूहले बेलायती र भारतीय प्रहरीलाई आजित तुल्याएको थियो ।

खुर्सदबेन बिस्तारै डाकाहरूको सम्पर्कमा पुगिन् । उनले तिनीहरूलाई सम्झाईबुझाई गरेर गान्धीको अभियानमा सरिक गराउने अभियान चलाइन् । एनडब्ल्युएफपीका उनका सहकर्मीहरू विकृत हुँदै गएपछि उनलाई आफ्नो अभियानलाई निरन्तरता दिन अप्ठेरो नभएको होइन । परन्तु खुर्सदबेन आफ्नो पथमा अविचलित रहिन् ।

ग्रामीण भेगका सर्वसाधारणसँगको भेटमा उनले त्यहाँका महिलालाई डकैती गर्नु अपराध हो भन्ने कुरा बुझाउँदै हरेकले आफ्ना श्रीमान् र छोरालाई डकैती छोड्न लगाउने अभियान चलाइन् ।

यो अभियानका कारण उनी थुप्रै डाका नाइकेको निसानामा पर्न थालिन् । आफ्नो शिविरमा फर्किएपछि पनि उनीमाथि आक्रमण भयो । एक पटक उनले आफ्नो छेवैबाट गोली गएको र भाग्यले मात्र बाँचेको भन्दै गान्धीलाई चिठी लेखेकी थिइन् । ब्रिटिस सत्ताले पनि उनको यो अभियानको प्रशंसा गरेको थियो ।

सन् १९४० को दशकमा उनको सक्रियता रहेकै समयमा केही हिन्दुहरूलाई मुस्लिम अपहरणकारीले बाजिरिस्तानको एक ठाउँमा राखेका थिए । ती अपहृतहरूलाई छुटाउन खुर्सदबेन आफैँ जान तयार भइन् । उनले यस विषयमा जानकारी गराउँदै गान्धीलाई एउटा पत्र लेखिन् ।

उनी अपहृत व्यक्तिहरू राखिएको ठाउँतिर जाँदै थिइन्, बाटैमा ब्रिटिस सत्तले गिरफ्तार गरेर उनलाई जेल पठायो । सन् १९४४ सम्म उनी जेलमै थिइन् ।

सन् १९४७ मा भारत विभाजन र आफूले लामो समय बिताएको क्षेत्र भिन्नै देश भएपछि यसले उनलाई निकै पीडा दियो । सन् १९६६ मा देहावसान समाप्त हुनअघि खुर्सदबेन केही सरकारी आयोगमा रहेर काम गरिन् ।

खुर्सदबेनका बारेमा त्यति धेरै समाचार बनेन । परन्तु, भारतीय लेखक र इतिहासकारहरू खुर्सदबेनले उठाएको जागरण धेरैका लागि अनुकरणीय र भारतीय इतिहासमा सधैँ स्मरणीय रहने बताउँछन् ।

बाजिरिस्तानमा सन् १९३६ देखि पास्तुन राष्ट्रवादी अभियानका कारण तनावको वातावरण थियो । पश्चिमा इरानी मूलका भारतीयहरूले बेलायती सत्ताको विरुद्ध भिन्नै आन्दोलन चलाउँदै थियो । यहीँ हिन्दु र मुस्लिमबीचको साम्प्रदायिक मनमुटाब पनि थियो । यही डकैती र अपरहणका घटना पनि हुने गरेका थिए ।

त्यो समयमा बाजिरिस्तानको यात्रामात्र पनि एउटा महिलाका लागि कठिन थियो । खुर्सदबेन त झन् सम्भ्रान्त परिवारमा जन्मेकी महिलाका थिइन् ।

संसारको चेतना र विकासमा सङ्गीतमार्फत विद्रोह गर्ने धेरै आवाज छन् । आम मानिससँग घुलमिल गर्दै गान्धीवादी अभियानमा साथ खुर्सदबेनको आत्मवृत्तान्त सम्भवतः अब धेरैले खोजी गर्नेछन् ।

–एजेन्सीहरूको सहयोगमा

 


भर्खर

0