चिनियाँ राष्ट्रपति चाहन्छन् धेरै विदेशी साथी बनाऊँ तर… « Khabarhub
Logo
३१ जेठ २०७८, सोमबार

चिनियाँ राष्ट्रपति चाहन्छन् धेरै विदेशी साथी बनाऊँ तर…



चिनियाँ राष्ट्रपति सि चिनफिङ साथी कसरी बनाउने र मानिसलाई कसरी प्रभावित गर्ने भनेर चिनियाँ नागरिकले सिकून् भन्ने चाहन्छन् ।

सोमबार चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको र वरिष्ठ नेताहरू सम्मिलित एक समारोहमा राष्ट्रपतिले आफ्नो देशको कथा अरूलाई सकारात्मक तरिकाले सुनाउनु महत्वपूर्ण रहेको बताएका थिए ।

राज्य सञ्चालित सञ्चारमाध्यम सिन्ह्वामा जनाइए अनुसार राष्ट्रपति सिले चीनको राम्रो पक्षका विषयमा अरूलाई जानकारी गराउँदा ‘विश्वासिलो, आत्मीय, सम्मानजनक चीन’ को छवि प्रस्तुत गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पार्टीको प्रोपागान्डा संस्थाले बेइजिङको उद्देश्य भनेको ‘चिनियाँ नागरिकको राम्रो जीवनस्तर मात्रै भएको’ विश्वमाझ स्पष्ट पार्नुपर्ने बताएका छन् ।

प्यू रिचर्सले २०२० को अन्त्यबाट युरोप, पूर्वी एसिया, उत्तर अमेरिकाका १४ देशमा गरेको एक अध्ययनअनुसार चीनका विषयमा बहुसंख्यक मानिस नकारात्मक पाइएका छन् ।

सीको योजनामा दम छ । सन् २०१२ मा शक्तिमा आएसँगै, उनले विश्व परिवेशमा चीनको ठूलो भूमिकाका लागि प्रयास गर्दै आएका छन् । यद्यपि, रसिया र पाकिस्तान बाहेकका अन्य शक्ति राष्ट्रसँग चीनको बलियो कूटनीतिक सम्बन्ध छैन ।

सिले कार्यक्रममा नभनेको एउटा कुरा के थियो भने अहिले विश्वका धेरै देशमाझ चीनको छविलाई लिएर समस्या देखिएको छ । प्यू रिचर्सले २०२० को अन्त्यबाट युरोप, पूर्वी एसिया, उत्तर अमेरिकाका १४ देशमा गरेको एक अध्ययनअनुसार चीनका विषयमा बहुसंख्यक मानिस नकारात्मक पाइएका छन् ।

बेइजिङका विषयमा नकारात्मक धारणा कोभिड–१९ महामारीपछि देखिएको पाइन्छ । चीन सरकारले भाइरसको उत्पतिको विषय लुकाएको र त्यसले विश्वकै स्वास्थ्यमा असर पुर्‍यायाएको भन्दै मानिसमा चीनप्रति नकारात्मक धारणा बढेको अध्ययनले देखाएको छ ।

चीनप्रतिको धारणा महामारीअघि पनि खास राम्रो थिएन । यसको एक कारण भनेको देशले अँगालेको ‘वुल्फ वरियर’ कूटनीति हो ।

यो नाम चीनको राष्ट्रवादी फिल्मको शृङ्खलाबाट लिइएको हो । यो कट्टर राष्ट्रवादी विदेश नीति सन् २०१९ मा शुरू भएको हो । वरिष्ठ कूटनीतिज्ञहरूले चीनका विषयमा सञ्चार माध्यममा होओस् अथवा सामाजिक सञ्जालमा, आगो ओकल्न थालेपछि चीनले यस्तो विदेश नीति अख्तियार गरेको हो ।

जुलाई २०१९ मा पाकिस्तानस्थित चिनियाँ दूतावासमा कार्यरत जाओ लिझाङले मानव अधिकारको नाममा अमेरिकाले गर्ने व्यवहारलाई पाखण्डी भन्दै त्यसको आलोचना गर्न थाले । उनले यस्तो आरोप लगाउँदा अमेरिका आफैँमा रङ्गभेद, असमान आय र गोलीकाण्डले प्रताडित रहेको बताएका थिए ।

चीनका वरिष्ठ कूटनीतिज्ञ याङ यइचीले मार्चमा अमेरिकामा आयोजित एक कार्यक्रममा आफ्ना समकक्षीलाई चीनसँग बोल्न अमेरिकाको कुनै योग्यता पुग्दैनभनेपछि यो भनाइ बेइजिङमा उत्पादन हुने धेरै टिसर्टमा लेखिएको पाइएको थियो ।

जाओले जुन प्रकारले चीनको प्रतिरक्षा गरे त्यो आफैँमा विवादस्पद थियो । तर, त्यसले उनलाई विदेशमन्त्रालयको प्रवक्ताका रूपमा बढुवा गरायो । अन्य चिनियाँ कूटनीतिज्ञहरूले जाओको सिको गर्न थाले ।

केही रिपोर्टहरूमा जनाइएअनुसार वुल्फ वरियर कूटनीतिले चीन आफैँलाई अप्ठेरो महसुस भइरहेको छ । तर, तत्कालका लागि जाओ र उनका अन्य साथीहरूलाई रोक्ने कुनै सम्भावना छैन । खासगरी यो अभ्यास आन्तरिक रूपमा धेरै प्रशंसित हुँदा पनि यो रोकिने देखिँदैन ।

चीनका वरिष्ठ कूटनीतिज्ञ याङ यइचीले मार्चमा अमेरिकामा आयोजित एक कार्यक्रममा आफ्ना समकक्षीलाई ‘चीनसँग बोल्न अमेरिकाको कुनै योग्यता पुग्दैन’ भनेपछि यो भनाइ बेइजिङमा उत्पादन हुने धेरै टिसर्टमा लेखिएको पाइएको थियो । यस्तो बेइजिङ बाहेकका अन्य शहरमा पनि भयो ।

सि चीनले बाँकी विश्वसँग मित्रताको हात बढाओस् भन्ने चाहन्छन् । तर, विदेश मन्त्रालयको वुल्फ वारियर नीतिका कारण अन्य देशलाई चीनका विषयमा सोच्न बाध्य बनाएको छ । उनीहरू चीनसँगको व्यवहारमा कुनै शंकाको सुविधा लिन चाहँदैनन् ।

बलियो युआन र त्यसको खतरा

पछिल्लो तीन वर्ष यता चीनको युआन बलियो हुँदै गएको छ । युआनको पछिल्लो व्यापार ६ दशमलव ३८२ अमेरिकी डलरमा भएको थियो । युआन सन् २०१८ यताकै बलियो अवस्थामा पुगेको हो । यस्तो हुनुको कारण चीनको आर्थिक सुधार र अमेरिकाको अर्थतन्त्रमा आएको कमजोरी हो ।

जेपी मोर्गन एसेट मार्केटका विश्व बजार रणनीतिकार चोपिङ झूले बुधबारको रिसर्च नोटमा पिपुल्स बैंक अफ चाइना (पीबीओसी) पछिल्ला वर्षहरूमा युआनको गतिशीलताका विषयमा संयमित रहदै आएको बताउँछन् । युआनको वृद्धि १० प्रतिशतले भएको पनि उनको विश्लेषण छ ।

युआनमा आएको वृद्धिले बेइजिङमा एक प्रकारको दोधार पैदा भएको छ । यति छिट्टै चीनले सबै कुरालाई आफ्नो अर्थतन्त्रको माध्यमबाट कसरी नियन्त्रण गर्छ भन्नेमा उत्सुक बढ्दै गएको छ ।

मुद्रा बलियो हुँदै जाँदा त्यसले निर्यात कम प्रतिस्पर्धी बनाउँछ । यसले गर्दा अन्तर्राष्ट्रिय बजारमा जाने स्वदेशी उत्पादनमा असर पुग्छ । मुद्राका रूपमा युआनको शक्ति बढ्दै जाँदा त्यसले आर्थिक स्थायित्वमा पनि असर पुर्‍याउँछ । यस्तो हुँदा धेरै मात्रामा वैकल्पिक धन देशमा भित्रिन सक्ने खतरा हुन्छ । यसले अर्थतन्त्रमा ‘बबल’ उत्पन हुनसक्छ जसले मुद्रास्फीति बढाउन सक्छ ।

तीव्रगतिमा हुन थालेको प्रशंसाबाट सावधान हुन अधिकारीहरूले सल्लाह दिएका छन् । उनीहरूले युआनलाई आयात नियन्त्रण गर्ने उपकरणको रूपमा प्रयोग गर्न नहुने सल्लाह दिएका छन् । पीबीओसीका उपगर्भनर लिउ गुओकियाङले केन्द्रीय बैंकले युआनलाई ‘स्थायी’ राख्ने कोशिस गरेको गत हप्ता बताएका थिए ।

यस्तै, सोमबार पीबीओसीले भनेको छ कि विदेशी मुद्राको आरक्षित आवश्यकतालाई उसले २ प्रतिशतबाट बढाएर ७ प्रतिशत पुर्‍याउनेछ । यसले बैंकहरूलाई धेरै विदेशी मुद्रा जम्मा गर्न दबाव दिनेछ जसले गर्दा युआनमा आउन सक्ने दबाब कम हुनेछ ।

यो भव्य योजनाको एक सानो कदम हो । यद्यपि, यसले बजारमा एउटा राम्रो सन्देश जानेछ । यसले युआन जुन गतिमा बलियो हुँदैछ त्यसले नीति निर्माता खुशी छैनन् भन्ने देखाउँछ ।

यसको के पनि अर्थ लाग्छ भने युआन बलियो हुने गति कम गर्न केही योजनाहरू आउन सक्छन् ।

(सीएनएनका डिजिटल न्यूज प्रोड्युसर बेन वेस्टकाँट विदेश मामिलामा लेख्छन् । नेक्टर गन एसिया प्यासिफिकका विषयमा लेख्छिन् ।उनी पनि सीएनएन डिजिटल न्युज प्रोड्युसर हुन् । २ जुन २०२१ मा सीएनएनमा प्रकाशित यो लेख खबरहबका लागि पुरुषोत्तम पौडेलले भावानुवाद गरेका हुन् ।)

 


भर्खर

0