कालापत्थरमा स्टेन्डअप कमेडीको विश्व रेकर्ड बनाउन चाहन्छौँ | Khabarhub Khabarhub

कालापत्थरमा स्टेन्डअप कमेडीको विश्व रेकर्ड बनाउन चाहन्छौँ



स्टेन्डअप कमेडीयनको समूह नेपग्याजम कमेडीले प्रदूषणरहित समाजको परिकल्पना, हर अनुहारमा मुस्कान नेपग्याजमको चाहनाभन्ने सन्देशसहित सोलुखुम्बुको कालापत्थरमा आज, यही वैशाख २० गते, स्टेन्डअप कमेडी गर्दैछ ।

विश्व रेकर्ड राख्ने लक्ष्यसहितको यो शोमा उमेशकुमार गौतम (यूकेजी) र लेखमणि त्रिताल (रमेश अंकलको छोरा) ले स्टेन्डअप कमेडी गर्दैछन् । उनीहरूको तयारी र कमेडीका विवधि पक्षमा खबरहबका लागि कविता  श्रेष्ठले यूकेजीसँग कुराकानी गरेको छ ।

तपाईंको नाम उमेशकुमार गौतम अनि यूकेजी भनेर प्रख्यात हुनुहुन्छ । स्टेन्डअप कमेडी गर्नुहुन्छ । स्टेन्डअप कमेडी र अरू कमेडीमा के फरक छ ?

अरू कमेडी चाहिँ अलिक पुरानै खालको, स्टेप कमेडी, अलिकति स्वरूप परिवर्तन गर्ने, आफ्नो बडी स्टक्चर परिवर्तन गर्ने, आफ्नो हुलिया परिवर्तन गरेर ठ्याक्कै फेसमा हेर्दै हाँस्ने खालको, त्यो छुट्टै खालको स्टेज कमेडी भइहाल्यो ।

स्टेन्डअप कमेडी चाहिँ कोही व्यक्तिको सहारामा नभई स्वयं आफूले आफ्नो मनमा लागेका, भोगेका र देखेका कुराहरूलाई अलिकति व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गर्ने हो ।

कमेडी भन्ने बित्तिकै सबैलाई हँसाउने र मनोरन्जन गर्ने, उद्देश्य त एउटै हो नि । विषय समसामयिक नै हो । फेरि पनि कमेडी र स्टेन्डअप कमेडी किन फरक ?

स्टेन्डअप कमेडी अलिक नयाँ भयो । चलिरहेको भन्दा केही फरक भयो । स्टेन्डअप कमेडीमा धेरै व्यक्ति नचाहिने, ब्याकस्टेजमा चाहिने तर अगाडि नचाहिने । फरक यही हो ।

स्टेन्डअप कमेडीमा आजभोलिका युवालाई लागि कति स्कोप छ ?

यसमा स्कोप राम्रो छ । बिस्तारै बढ्दैछ । हामीले शुरू गर्दा निकै स्ट्रगल गरेका हौँ । अहिले चाहिँ धेरै स्कोप छ । अरू रियालिटी शो पनि आए । स्कोप भएरै बजारमा आएको हो ।

स्टेन्डअप कमेडी चलाउन र मानिसलाई प्रोत्साहन गर्न तपाईंहरूलाई कति च्यालेन्जिङ थियो ?

यो त लगभग राजतन्त्र ढालेर गणतन्त्र ल्याउन भएको संघर्षजस्तै थियो । हामीले जतिबेला शुरू गर्‍यौँ त्यति बेला यस किसिमको कमेडी नेपालमा थिएन । हामीले धेरै संघर्ष गर्नुपर्‍यो । बुझ्ने लेभल अलिकति कम्ती नै थियो । दर्शकहरूले बाहिरको स्टेन्डअप कमेडी हेरिरहनुभएको थियो ।

पहिला पनि मनोरन्जनमा पहुँच हुने मान्छे धेरै थिएनन् । पछिल्लो समय ह्वात्तै बढेको हो । युट्युब चलाउने मान्छे पनि धेरै थिएनन् । पछिल्लो एकदुई वर्ष भयो ह्वात्तै बढेको ।

हामीले शुरू गर्दा सेलेक्टिभ अडियन्स हुनुहुन्थ्यो । उहाँहरू बाहिरका कमेडीहरू हेरिरहनुभएको थियो । उहाँहरूलाई नै हामीले तानेका हौँ । बिस्तारै मार्केट बढ्दै गएको हो ।

तपाई स्टेन्डअप कमेडीमा लागेको चाहिँ कति भयो ?

तीन वर्ष पूरा भयो ।

शुरूवात नै स्टेन्डअप भयो कि कमेडी गर्दा गर्दै जाँदा यता आउनुभयो ?

मेरो शुरूवात नै स्टेन्डअप कमेडीबाट भएको हो । त्योभन्दा अगाडि स्कुलतिर क्यारिकेचर गर्थें । खासै राम्रो गरी त होइन तर पनि आफ्ना साथीभाइको माझमा रमाइलो गरौँ, अरूलाई हसाऊँ भन्ने तरिकारले गर्थें ।

यही क्रममा कोशिस गरौँ न त भनेर स्टेन्डअप कमेडी गर्न थालेँ । मभित्र पनि प्रतिभा रहेछ भन्ने कुरा चाहिँ ‘नेपग्याजम’ सँग सहकार्य गरेपछि थाहा पाएँ ।

तपाईंले नेपग्याजमको शुरू भएको कति भयो ?

नेपग्याजम शुरू भएको पनि तीन वर्ष पूरा भयो ।

नेपग्याजमको बारेमा केही बताइदिनुहोस् न ! यसमा तपाईं कसरी जोडिनुभयो ?

नेपग्याजम लोकमणि त्रितालले शुरू गर्नुभएको हो । उहाँको साथी सर्कल नेपग्याजमको टिम हो । एक जना साथीले लोकमणिले कलेजमा हँसाएको भिडियो खिच्नुभएको रहेछ । युट्युबमा हालेर हेर्दा राम्रो देखियो र धेरै मान्छेलाई हसाउन सक्ने भयो । अनि उहाँहरूले सानो टिम बनाएर स्टुडियोमा भिडियो सुट गरेर युट्युबमा राख्न थाल्नुभयो । यसरी हामी दर्शकमाझ प्रस्तुत भयौँ । दर्शकहरूले पनि मन पराउन थाल्नुभयो ।

म तीन वर्ष दुबई बसेँ । नेपाल आउँदा चितवनमा लोकमणिजीहरूको शो भइरहेको थियो । अनि मैले पोस्टर देखेँ । एकदमै आकर्षक थियो । मलाई पनि यसै गरी दर्शकमाझ प्रस्तुत गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । यसपछि नेपग्याजमको फेसबुक पेज र युट्युबमा आउने मोबाइल नम्बरमा म्यासेज गरेँ । रिप्लाइ आयो, अडिसन दिन गएँ र म सेलेक्ट भएँ ।

सेलेक्ट भएर पनि भिडियो आउन तीनचार स्टेप पार गर्नुपर्थ्यो । मैले चाहिँ राम्रो मौका पाएँ । अडिसन दिएलगत्तै नाँचघरमा नेपग्याजमको शोमा सिधै लाइभ पर्फम गरेँ । यसरी दुईवटा शो गरेँ । एकदम मज्जा आयो ।

यसपछि त अब सकिने रहेछ भनेर युट्युबबाट मात्रै नभई लाइभमै काम गरेँ ।

तपाईंले पर्फम गरेको यो तीन वर्षमा तपाईंको आलोचना भएको वा तपाईंले गाली खाएको कुनै स्मरण छ ?

तीन वर्षको यो जर्नीमा दोस्रो भिडियो मलाई याद छ । त्यसमा चाहिँ अलिकति मैले बाबुआमासँग केन्द्रित रहेर डबल मिनिङ टाइपको गरेँको थिएँ । म जन्मिँदा जनआन्दोलन भइरहेको थियो, मैले बाहिर निस्कनुभन्दा भित्रै सेफ ठानेँ, म नौ महिना पुग्दा पनि बाहिर आउन मानिनँ भन्ने हिसाबले कमेडी गरेको थिएँ ।

बाबुआमाको बारेमा कमेडी गर्नु हुने थिएन, बाबुआमाको इज्जत राखिनस् भन्ने कमेन्टहरू आयो । त्यसबाट मलाई पोजेटिभ इनर्जी आयो । उहाँहरूलाई पनि मनपर्ने किसिमको म गर्नसक्छु नि भन्ने भयो । त्यसपछि चाहिँ मैले गाली खाएको रेकर्ड छैन ।

मान्छेलाई मेरो ट्रेन्ड मन नपरेको चाहिँ छ । मैले खाने तरकारी र हजुरले खाने तरकारीमा सबै कुरा उही भएर पनि स्वाद मान्ने तरिका फरक पर्छ, धेरै फरक पर्छ । त्यसैले सबैलाई मनपर्छ भन्ने हुँदैन तर पनि मैले सबैलाई समेट्ने किसिमको गर्ने प्रयास गरेको छु ।

हामी जति आलोचित हुन्छौँ, त्यति सिकिरहेका पनि हुन्छौँ । नेगेटिभ कमेन्टलाई चाहिँ तपार्ईं कसरी लिनुहुन्छ ?

नेगेटिभ कमेन्टलाई पनि पोजेटिभ रूपमा लिन्छु । धरै फुरुङ्ग हुनु हुँदैन भन्ने किसिमले लिन्छु । नेगेटिभ कमन्टेले मलाई मैले अझ राम्रो गर्नुपर्छ भन्ने सम्झाउँछ ।

हँसाउन कतिको गाह्रो काम हो भन्ने लाग्छ तपाईंलाई ?

बच्चालाई चिमोटिदियो भने रुन्छ तर उसलाई हँसाउन निकै गाह्रो हुन्छ । चकलेट दियो भने हाँस्छ तर बोलेर हसाउनु एकदमै गाह्रो काम हो । संसारको सबैभन्दा गाह्रो काम हँसाउनु हो ।

दियोले उज्यालो दिन्छ तर दियोको तल अँध्यारो हुन्छ । हसाउँन गाह्रो हुन्छ । मान्छे हाँसिदिएन भने के गर्ने ! हाम्रो दिमागमा यही कुरा आइरहेको हुन्छ । मान्छे हँसाउन कडा मिहिनेत गर्नुपर्छ, धेरै रिसर्च गर्नुपर्ने हुन्छ । अर्कोले गरिसकेको आफूले गर्नु भएन । हँसाउन गाह्रो मात्र होइन, धेरै गाह्रो छ । एक्स्ट्रिम्ली डिफिकल्ट !

राम्रो कमेडी गर्नुहुन्छ, तपाईंका भिडियोहरू भाइरल छन् । अहिले रियालिटी शोमा कम्पिटिसन हुन्छ । तपाईंले त्यसमा पार्टिसिपेट गर्ने कुरा सोच्नुभएन ?

मैले कमेडी आफ्नो इन्ट्रेस्टले गरेको हो, प्यासनले गरेको हो । मलाई कम्पिटिसनमा भाग लिन मन लागेन ।

एउटा रिजन पनि दिन्छु । मैले घमण्ड गरेको होइन । नेपालमा स्टेन्डअप कमेडी भनेको के हो भनेर चिनाउने नै लेखमणि, त्योभन्दा अगाडि अरू च्यानलबाट दुई तीनजना अरू पनि थिए । त्यसपछि म पनि हो एउटा ।

अहिले रियालिटी शोहरू आए । हामीले संघर्ष गर्‍यौँ, चुनौतीका क्षणहरू पार गर्‍यौँ । अनि बिस्तारै शोहरू हुने र इनकम पनि राम्रो हुन थालेपछि नेपालमा रियालिटी शोहरू आयो ।

यसकारण हामी कम्पिटिसनतिर जाने कुरै भएन ।

नेपग्याजमले गर्न लागेको वर्ल्ड रेकर्डमा तपाईंसँगै लेखमणिजी पनि जाँदै हुनुहुन्छ । अहिले त लकडाउन छ, तयारी कस्तो हुँदैछ ?

हामीलाई यो तीन वर्षको अवधिमा दर्शकहरूले माया दिनुभयो । उहाँहरूको मायाले पोजेटिभ इनर्जी आएको छ । यस्तो पेन्डामिकको बेला छ । घरबाट बाहिर निस्कन भयावह स्थिति छ । हामी त्यो हाई अल्टिच्युडमा जाँदैछौँ, ५३ सय ४० मिटरमा । स्वास्थ्यको हिसाबले पनि त्यो हाइटको चुनौती छ ।

कोरोना त छँदैछ । तैपनि नेपालको पनि नाम राखौँ, स्टेन्डअप कमेडीबाट दुईजनाले नेपालको परिचय दिऔँ भनेर लागेका हौँ । सगरमाथा भनेपछि विश्वले चिन्छ । त्यो हाइटमा गएर स्टेन्डअप गर्दा एउटा इतिहास बनोस् भन्ने हिसाबले हामी अगाडि बढेका छौँ ।

 

गिनिजले हामीलाई एउटा अथेन्टिक पेपर पठाएको छ स्वीकृति दिएर । एक जनाले तीस मिनेट बोल्नुपर्ने भनिएको छ । तीस मिनेट बोल्न हामीलाई गाह्रो हुँदैन । काठमाडौँको शोहरूमा लगभग २५ मिनेट हामीले गरिरहेका छौँ । त्यो अल्टिच्यूडमा चाहिँ तीस मिनेट बोल्न चुनौतिपूर्ण हुन्छ । तैपनि हामीलाई दर्शकको भरोसा छ ।

पहिलेदेखि नै भन्दै हिँडेको थियौँ, हामी विश्व हसाउछौँ भनेर । त्यस्तै मजामजामा हामीले दुनियाँलाई हँसाइदिने हो भनेका थियौँ । हामीले दुनियाँलाई नै हँसाउनु पर्नेछ । दुनियाँलाई हँसाउन हामी त्यहाँ जान लागेको हो ।

भोलि रेकर्ड बन्ला नबन्ला तर बनाउँछौँ भन्ने छ । रेकर्ड बन्यो भने नेपाललाई बाहिरका मान्छेहरूले पनि त चिन्ने भए नि !

लेखमणिजी र तपार्ईंमात्रै पर्फम गर्दै हुनुहुन्छ कि अरू पनि हुनुहुन्छ ?

हाम्रो टिममा आठ जना जाने कुरा भएको छ । हाम्रो एकजना क्यामरा मेन, त्यसपछि हाम्रो टिमबाट तीन जना, हाम्रो नेपग्याजमकै टिमबाट एक जना टिमलिडर, डाइरेक्टर अनि अर्को एकजना मेनेजर । एकजना पत्रकार पनि हुनुहुन्छ, गाइड हुनुहुन्छ, कमेडियन हामी दुई जना । अनि पाइलट ।

ठूलो च्यालेन्ज लिएर त्यो अल्टिच्युडमा जाँदै हुनहुन्छ, यति महत्वपूर्ण कार्यक्रममा कमेडीको थिम चाहिँ के छ ?

हजुर ! थिम छ ।

भन्न मिल्छ कि !

मिल्छ, ‘प्रदूषणरहित वातावरणको परिकल्पना, हर मुहारमा मुस्कान नेपग्याजमको चाहना’ । ग्लोबल वार्मिङको इस्युलाई लिएर वातावरण सफा राखौँ भन्ने हिसाबले हामीले यही स्लोगन बनाएका छौँ । स्वच्छ वातावरण भयो भने हामी हुने हो ।

अहिले यस्तो पेन्डामिक छ, यो प्रकृतिलाई ब्यालेन्समा नराखेर नै त भएको हो नि । ब्यालेन्समा राखेको भए आज मान्छे यो हावासँग, भाइरससँग डराउनुपर्ने थिएन ।

नेपग्याजम अवार्डेड पनि भइसकेको छ । अहिले नेपग्याजमले बिस्तारै मार्केट लिँदैछ, भविष्य कस्तो देख्नुहुन्छ ?

फ्युचर राम्रो छ । फ्युचर आफूले कति दिने भन्ने कुरामा भर पर्छ । च्यालेन्जिङ छ । च्यालेन्ज फेस गर्ने क्यापासिटी आफूमा हुनुप¥यो । हरेक परिस्थितिको सामना गर्न सक्ने ढङ्गले आफू प्रस्तुत हुनुपर्‍यो ।

नेपग्याजममा महिला र पुरुष दुवै हुनुहुन्छ । नेपग्याजमले दुवैलई राम्रो प्लेटफर्म दिएको छ । फिमेलको कतिको इन्ट्रेस्ट कति देखिएको छ ?

फिमेल पार्टिसिपेसन पहिलाभन्दा बढेको छ । फिमेलको लागि अझै पनि त्यति सहज छैन । पछिल्लो समयमा टिकटक र अन्य अवसरले सजिलो भएको छ । आफूसँग भएको प्रतिभा एक मिनेट, डेढ मिनेट, ४० सेकेन्डमा पनि देखाउन सकिने भएको छ ।

यसले आफ्नो कन्फिडेन्स पनि बढ्छ । आफूलाई हेर्न पाइयो, टेस्ट गर्न पाइयो । म गर्न सक्छु भनेर परिवारलाई देखाउन र बुझाउन पाइयो ।

नेपग्याजममा कहिल्यै पनि छाडा शब्दहरू प्रयोग गरेनौँ । बुबाआमाले हेर्न सक्ने खालको भिडियो हामीले बनाएका छौँ । उहाँहरूले पनि ल जाऊ छोरी काम गर भन्ने खालको स्थिति हामीले बनाएका छौँ । त्यसले नेपग्याजममा महिलाको पार्टिसिपेसन बढेको छ । महिलाले कमेडी गर्दा अलिकति सेक्सको कुरा गरिदियो भने त्यही भाइरल हुने ! लजिकहरू, पञ्चहरू खासै केही छैन । यस किसिमको कमेडी हामीले दिन खोजेनौँ ।

हामीले समसामयिक विषय र सरकारको कमीकमजोरी इत्यादिमा व्यङ्ग्यात्मक प्रस्तुति भएको भिडियोहरू बनाइरहेका छौँ ।

कमेडी गर्न त अध्ययन, रिसर्च हुनुपर्छ । तपाईंले कमेडी गर्न कहीँ सिक्नुभयो कि वा कतैबाट प्ररित हुनुभएको हो ?

म चाहिँ मेरो एकजना साथीबाट प्रेरित भएको हुँ । ऊ कमेडी गर्थ्यो । स्टेन्डअप कमेडीमा सोच्न सक्ने क्षमता अरूको भन्दा अलिकति उल्टो भइदिए पुग्छ । अलिकति फरक तरिकाले सोच्नुपर्छ । व्यङ्ग्यात्मक वा अलिकति घुमाएर, हँसाउने तरिकाले सोच्नुपर्छ । शुरूमा अलमल र अलिक कठिन भए पनि बिस्तारै सिक्दै गएपछि भन्न खोजेको कुरा ठ्याक्क आउने हुन्छ ।

नेपग्याजमको होल टिममा पर्फमर तपाईं र लेखमणिजी हुनुहुन्छ । तपाईंहरू गिनिज वल्र्ड रेकर्डको लागि जाँदै हुनुहुन्छ । यसअघि इटालियन मेन पाउलीको रेकर्ड छ, सोलुखुम्बुमा ५ हजार २७० मिटरको । उहाँको रेकर्ड तोड्न खोज्नुभएको हो ?

होइन । हामीले नेपग्याजमको एक वर्षको दौरानमै वर्ल्ड रेकर्ड राख्ने सोचेका हौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा हाम्रै देशमा छ । हामीले कमेडीमार्फत हामीलाई चिनाउने, नेपाललाई पनि चिनाउने भनेर त्यतिबेला नै हामीले प्लान गरेका हौँ । यो बीचमा इटालियन पाउलो नेपालमा आएर रेकर्ड राखिसक्नुभएको रहेछ ।

तपाईंहरूले योजना बनाउँदा पाउलीको रेकर्ड थाहा थिएन ?

हामीले रिसर्चका क्रममा सगरमाथाको बेसक्याम्पमा उहाँले रेकर्ड बनाएको थाहा पायौँ । हामीले त्योभन्दा माथिको रेकर्ड बनाउनु पर्ने भयो । हामी जानसक्ने सम्भावना ५३ सय ४० मिटर हो । यो एकदमै चुनौतीपूर्ण छ ।

बिदा हुनुअघि केही सन्देश दिन चाहनुहुन्छ कि ?

यो रेकर्ड हामी दुई जनाको मात्र होइन, सम्पूर्ण नेपालीको हुनेछ । हाम्रा दर्शकहरूको हौसला र प्रेरणाले नै आज हामी यो स्थानमा छौँ । यही हौसला र प्रेरणाले वर्ल्ड रेकर्ड राख्न मनोबल बढेको हो यो पेन्डामिकको बेलामा । यो काम चुनौतीपूर्ण छ । तपाईंहरूको मायाममता कहिल्यै पनि नटुटोस् । हामी सधैँ नेपाललाई चिनाउने छौँ ।

हेरौँ यो भिडियो कुराकानी

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ११ : ०५ बजे

एसईई परीक्षा केन्द्रबाट पाँच सय बढी मोबाइल बरामद

रौतहट । एसईई परीक्षालाई मर्यादित बनाउन सक्रिय स्थानीय प्रशासन दोस्रोदिन

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज अनुगमन तथा मूल्याङ्कन व्यवस्था

खुमबहादुर खड्कालाई झुठ्ठो मुद्दामा फसाइएको देउवाको दाबी

दाङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको