कुरा स्वास्थ्य र शरीर सौन्दर्यको « Khabarhub
Logo
३ कार्तिक २०७८, बुधबार

कुरा स्वास्थ्य र शरीर सौन्दर्यको



कोरोना सन्त्रासमा हात धुने कुराले व्यापकता पायो । हातमुख सधैँ सफा राख्नुपर्छ । हातले धेरै वस्तुहरू छोइन्छन्, समातिन्छन् । हातबाटै मुखमा खानेकुरा लगिन्छ । आँखा, कान, नाक हातैबाट चलाइन्छ ।

दिशापिसाब गरेपछि हातैले सफाइ गरिन्छ । नङमा र हस्तरेखाहरूमा नदेखिने किटाणुहरू बसेका हुन्छन् । हात र मुखकै कारण शरीरको पाचन प्रणालीमा असर परिराखेको हुन्छ । खैनी, चुरोट, पान खाँदा पनि हातैबाट शरीरभित्र किटाणुहरू प्रवेश गर्न सक्छन् । त्यसैले हाम्रा हात सधैँ सफा हुनुपर्छ ।

खाना खानुअघि र पछि मुख, दाँत, जिब्रो, नाक र हात सफा गर्नुपर्छ । दाँत राम्रा भएनन् भने बोली स्पष्ट हुँदैन । अनुहारको सौन्दर्य हुँदैन । सानै उमेरदेखि दाँत राम्रा, बलिया र आकर्षक बनाउने प्रयत्न गर्नुपर्छ । गुलियो खानकुरा खाएपछि दाँत सफा नगर्दा किटाणुले दुःख दिन्छ । दाँत सफा भएन इनामेल नष्ट हुन्छ ।

रुघाखोकीमा कानको विशेष ध्यान पुर्‍याउनुपर्छ । शरीरको आकर्षण आँखा, नाक, कान, घाँटीमा हुन्छ । कपालको विषेश ख्याल गर्नुपर्छ । नुहाउँदा सकेसम्म टाउकोमा कडा तातोपानी हाल्नु हुँदैन । खुट्टाले जति तातो लिन सक्छ त्यति टाउकोले लिन सक्दैन । जाडोयाममा नुहाउँदा हल्का मनतातोले नुहाउन सकिन्छ ।

शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी छैन । भएको लगानीले पनि अपेक्षित लाभ दिएको छैन । निजी क्षेत्रले शिक्षा र स्वास्थ्य दुवैलाई कब्जामा पारेका छन् । दुर्गम ठाउँमा आवश्यक दक्ष जनशक्ति पुग्न सकेको छैन । औषधि र उपकरण उपलव्ध छैन । आधुनिक प्रविधिमा हामी निकै पछाडि छौँ ।

सके नित्य स्नान राम्रो हो । स्नान सूर्योदयअघि नै गर्नुपर्छ । दक्षिणतिर फर्केर नुहाउनुहुन्न । सधैँ नुहाउनेले जिउमा हरेक दिन साबुन लगाउनु आवश्यक पर्दैन । जाडो याममा चिसोबाट बच्न नुहाउनुअघि तोरीको तेलले मालिस गर्दा राम्रो हुन्छ । तोरीको तेलले छाला बलियो हुन्छ र नरम पनि । नित्य स्नानले अरुचि हुन पाउँदैन र शरीर अल्छी हुँदैन ।

शरीर निरोगी राख्न घर, कोठा र बेडरूमको पनि ध्यान दिनुपर्छ । फोहोरमा आँखाले देख्न नसक्ने किटाणुहरू बस्छन् । घर, कोठा र पानीको मुहान सफा राख्नुपर्छ । सूर्यको किरण नछिर्ने कोठा, बेडरूममा किटाणुहरू बसेका हुन्छन् । सुत्ने कोठा सकेसम्म घाम छिर्ने हुनुपर्छ । नछिर्ने भए बेलाबेला कोठाका सामग्री र लुगाफाटो घाममा सुकाउनुपर्छ । सूर्यको किरणमा किटाणु मार्ने क्षमता हुन्छ । हानिकारका किटाणु अरूतिर सर्ने डर पनि हुँदैन ।

फुर्सद भयो भन्दैमा दिउँसो सुत्नु हुँदैन । खाना खानासाथ सुत्नु पनि हुँदैन । देव्रे कोल्टो पहिले र त्यसपछि दाहिने कोल्टो वा उत्तानो सुत्न सकिन्छ । उमेर अनुसार सुत्ने समय कम हुन सक्छ । यौवन र प्रौढ अवस्थामा ६ देखि ८ घण्टा सुत्नु पर्याप्त हुन्छ । सुत्दा उत्तर सिरानी गर्नु हुँदैन ।

दिनभरिको परिश्रमले थकित शरीर रातको निद्राले ठिक हुन्छ । सुत्ने समय एउटै हुनु राम्रो हो । सुत्नुअघि मनतातो पानीले खुट्टा धुँदा निद्रा राम्रो पर्छ । नाकबाट मात्र सास फेर्ने गर्नुपर्छ । कसिलो लुगा लगाएर सुत्नु हुन्न । नाकमुख पूरै ढाकेर सुत्नु हुन्न । सिरानी पातलो र नरम हुनुपर्छ । बिछ्यौना पनि पातलै हुनु राम्रो हुन्छ ।

रातमा निद्रा लागेन भने शरीर रोगी हुन्छ, मानसिक समस्या देखिन्छ । मिठो गीत वा भजन सुन्दै र ईश्वरको स्मरण गर्दै सुत्नाले राम्रो निद्रा पर्न सक्छ । निद्रा लाग्न गाह्रो भए श्वासबाटै प्रणायम गर्न सकिन्छ । लामो सास लिने छोड्ने गर्नाले गहिरो निद्रा लाग्न सक्छ ।

शरीर सुन्दर र निरोगी राख्न कुनै औषधि वा रासायनिक वस्तुको अधिक प्रयोग गर्नु हुँदैन । बस्दा, हिँड्दा र सुत्दा नियमबद्ध हुन सके राम्रो हुन्छ । भान्छामा बस्दा, पकाउँदा, गह्रौँ वस्तुहरू उचाल्दा विशेष ध्यान दिनुपर्छ । भारी बोकेर हिँड्दा शरीरसँग तौलको सन्तुलन मिलाउनु पर्छ ।

हार्मोनियमको तारजस्तै हो हाम्रो शरीर । सङ्गीतमा सुरताल मिलेन भने राम्रो सुनिँदैन । शरीरको पनि सुरताल मिल्नुपर्छ । सुरताल मिलेन भने शरीर शिथिल, अल्छी, निष्क्रिय र रोगी हुन्छ । आफ्नो शरीर आफूलाई र अरूलाई पनि बोझिलो बन्छ । सवारी चलाउँदा, सवारी साधनमा बस्दा, खेतबारी वा उद्योग, कलकारखानामा काम गर्दा पनि शरीरको सन्तुलन मिलाउन जरुरी हुन्छ ।

मौसम अनुसारका सजिला र हलुका कपडा लगाउनुपर्छ । कसिला कपडाले शरीरलाई हानी गर्छ । जहिले पनि शरीरको मूल भाग मेरुदण्ड सिधा राख्ने प्रयास गर्नुपर्छ । बस्दा र हिँड्दा मेरुदण्ड झुकाउनु हुन्न । सुत्दा पनि सकेसम्म मेरुदण्ड र टाउको सिधा राख्नुपर्छ ।

नाना, खाना, छानाको अभावले सताएको नेपाली परिवेशलाई भोलिको भन्दा आज र अहिलेकै चिन्ताले बढी ग्रस्त बनाएको छ । औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन । महँगा औषधि र उपकरण खरिद गर्दैमा धेरै रकम विदेशिएको छ । मुलुक उच्च व्यापारघाटाको अवस्थामा छ र घाटा बढेको बढ्यै छ ।

हड्डीका जोर्नीहरू खिइन दिनुहुन्न । शरीरका सबै अङ्गलाई स्वतन्त्ररूपले काम गर्न दिनुपर्छ, अवरोध सिर्जना गरिदिनुहुन्न । एकै ठाउँमा, एकै मिसिमले लामो समय बसेर काम गरिरहनु हुन्न । वेलावेलामा हातपाखुरा हल्लाउँदै केही कदम हिँड्नुपर्छ । यसो गर्दा शरीरमा रक्तसञ्चार राम्रो हुन्छ । काममा शरीर फुर्तिलो र सक्रिय भइरहन्छ । शरीरका अङ्गहरूलाई बढी दबाब पर्ने गरी काम गर्नु हुँदैन ।

आवश्यकताभन्दा बढी व्यायाम र बढी आराम राम्रो होइन । शरीरको आवश्यकता अनुसार निद्रा, व्यायाम र आरामको सन्तुलन मिलाउनुपर्छ । दीर्घरोगीहरूले चिकित्सकको सल्लाहअनुसार सन्तुलित भोजन खानुपर्छ, नियमति व्यायाम गर्नुपर्छ । शरीर सुन्दर राख्न व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । शरीर स्वस्थ रहे सबै थोक रहन्छ । निरोगिताभन्दा ठूलो धन र सन्तोष अर्को हुँदैन ।

स्वस्थ रहन पोषणयुक्त खाना आवश्यक हुन्छ । जङ्कफुड, बट्टाबन्दी खाना, केटाकेटीहरूको खाजामा फास्टफुड इत्यादिबाट टाढा रहनुपर्छ । विज्ञापनका भरमा बजारिया खानामा भुल्नु राम्रो होइन । यस्ता बजारिया खानाले शरीरको रोगप्रतिरोधी क्षमता घटाउँछ । सामान्य रोगमा हाम्रा जडीबुटीका परम्परागत औषधिले काम गर्न छाडेको छ । गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहुँच छैन । पोषणयुक्त खानाको अभाव छ ।

विषादियुक्त तरकारी, विषाक्त तेल, अखाद्य मिठाई, अखाद्य वस्तु हालेर लामो समय ताजाझैँ राखिएका फलफूल इत्यादिको बिगबिगी छ । उपभोक्ताको हित संरक्षण गर्ने कानून प्रभावकारी छैन । प्रदूषित हावापानी र विकिरणयुक्त पर्यावरणले सबै जीवजन्तु समेतको स्वास्थ्यमा धावा बोलिरहेका छन् ।

जतिसुकै आधुनिक युग भनिए पनि धुँवाधुलोबाट आम नेपालीहरू मुक्त छैनन् । मास्क लगाएर पनि यस्तो परिवेशबाट त्राण पाउन सकिएको छैन । पानीका मुहानहरू फोहोर हुँदैछन् । प्रशोधित भनिएको जारको पानी गुणस्तरहीन छ । बजारिया तयारी खाद्य वस्तुका बारे बढाईचढाई हुने विज्ञापनले अकर्षण गरेको छ । यी सबैले मानव स्वास्थ्य उच्च जोखिममा पारेका छन् ।

शिक्षा र स्वास्थ्यमा पर्याप्त लगानी छैन । भएको लगानीले पनि अपेक्षित लाभ दिएको छैन । निजी क्षेत्रले शिक्षा र स्वास्थ्य दुवैलाई कब्जामा पारेका छन् । दुर्गम ठाउँमा आवश्यक दक्ष जनशक्ति पुग्न सकेको छैन । औषधि र उपकरण उपलव्ध छैन । आधुनिक प्रविधिमा हामी निकै पछाडि छौँ ।

आफ्नो व्यक्तिगत स्वास्थ्यको हेरचाह आफैँले गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्य र शरीर सौन्दर्य आफ्नै जिम्माको काम हो । कोभिडको दोस्रो लहर आयो भनेर निराश नभई आफ्नो क्षमता वृद्धि गर्नेतिर लाग्नुपर्छ ।

स्वास्थकर्मीहरू राजनीतिक सङ्गठनमा आबद्ध छन् । सबै आआफ्नो डम्फू बजाउनमै व्यस्त छन् ।

निजी अस्पतालहरू पनि सर्वसाधारणको विरोधको निशनामा छन् । विशेषज्ञ सेवा विज्ञापनमा मात्र छ । योग र आयुर्वेदको वैकल्पिक उपचार सेवाले मानिसको मन जित्न सकेको छैन । सबैतिर अस्पताल विकास समितिहरू छन् । स्वास्थ्यसम्बन्धी व्यावसायिक परिषद्हरू छन् तर सक्षम र जवाफदेही बन्न सकेका छैनन् ।

ज्येष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा राज्यले पर्याप्त ध्यान दिनसकेको छैन । स्वास्थ्यसेवा सुलभ छैन । कुपोषण न्यूनीकरण गर्न सकिएको छैन । नागरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका अखाद्य वस्तुको विज्ञापन र बजार अनियन्त्रित छ । पर्याप्त जनचेतना छैन ।

नाना, खाना, छानाको अभावले सताएको नेपाली परिवेशलाई भोलिको भन्दा आज र अहिलेकै चिन्ताले बढी ग्रस्त बनाएको छ । औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन । महँगा औषधि र उपकरण खरिद गर्दैमा धेरै रकम विदेशिएको छ । मुलुक उच्च व्यापारघाटाको अवस्थामा छ र घाटा बढेको बढ्यै छ ।

धेरै नेपालीहरू अकालमै मर्न बाध्य छन् । अस्पताल नदेखी र बाटैमा मर्ने नेपालीहरू धेरै छन् । स्वास्थ्य सेवा प्रवाहमा सुधार हुन सकेको छैन । सरकार आफ्ना नागरिकको अभिभावक हुन सकेको छैन ।

आफ्नो व्यक्तिगत स्वास्थ्यको हेरचाह आफैँले गर्नुपर्छ । व्यक्तिगत स्वास्थ्य र शरीर सौन्दर्य आफ्नै जिम्माको काम हो । कोभिडको दोस्रो लहर आयो भनेर निराश नभई आफ्नो क्षमता वृद्धि गर्नेतिर लाग्नुपर्छ ।


भर्खर

0