ओलीको आक्रोश प्रचण्ड र नेपालमाथि, पार्टी विभाजन भएको मान्दैनन् प्रतिनिधिहरू | Khabarhub Khabarhub

ओलीको आक्रोश प्रचण्ड र नेपालमाथि, पार्टी विभाजन भएको मान्दैनन् प्रतिनिधिहरू



गोदावरी (ललितपुर)– नेकपा एमालेको प्रथम विधान महाधिवेशनमा सभागी देशभरका प्रतिनिधिहरूमा पार्टी विभाजन भएकोमा थोरै पनि ग्लानी वा पछुतो देखिँदैन । उनीहरू उत्साहित देखिन्छन् र मंसिरमा हुने भनिएको महाधिवेशनबाट केपी ओली दोस्रो कार्यकालका लागि पनि अध्यक्ष निर्वाचित हुनेमा ढुक्क देखिन्छन् ।

एमाले नेताहरूले ६ हजार प्रतिनिधिहरू सहभागी भएको बताएका छन् । सम्मेलन केन्द्रका एक अधिकारीका अनुसार शुक्रबार ८ हजारभन्दा बढीको प्रवेश भएको छ । कुल ३ हजार सीट क्षमताको सभाहलको दुवैतर्फको लबीमा खचाखच कुर्सी राखिएका छन् ।

सहभागी प्रतिनिधिहरू आगामी निर्वाचनमा आफ्नो पार्टी नेकपा एमालेले बहुमत हासिल गर्ने र त्यसो नभए पनि कम्तीमा सबैभन्दा ठूलो पार्टी बन्नेमा पनि ढुक्क देखिन्छन् ।

सबैभन्दा ठूलो पार्टी भयो भने एमालेकै नेतृत्वमा सरकार बन्नेछ र ओली नै प्रधानमन्त्री हुनेछन् भन्ने उनीहरूको विश्वास छ । त्यस्तो सरकारका एमालेले सहकार्यका लागि अन्य पार्टीको साटो बरु नेपाली कांग्रेसलाई नै प्राथमिकता दिनेछ ।

सडकमा बनाइएका स्वागतद्वार तथा सम्मलेन परिसरमा अध्य केपी शर्मा ओलीका पूर्णकदका तस्वीरहरू राखिएका छन् । ती तस्वीरका फेदमा उभिएर आफ्नो व्यक्तिगत र आफ्नो समूहको तस्वीर खिचाउनेहरूको घुइँचो दिनभरि थियो । प्रतिनिधिहरू ओली पार्टीको सर्वेसर्वा एकल नेताका रूपमा स्थापित भएकोमा प्रसन्न देखिन्थे ।

काठमाडौँका प्रतिनिधि भगवानराज घलेले नेता माधवकुमार नेपालले ओलीको ईष्या गरेर पार्टी छाडेको निष्कर्ष सुनाए । उनका विचारमा नेकपा माओवादी केन्द्र अलग भएपछि एमालेका सबै शीर्ष नेताहरू एक ठाउँमा उभिनुपथ्र्यो तर त्यसो नहुनमा सबैभन्दा बढी जिम्मेवार माधव नेपाल नै हुन् ।

घले भन्छन्, ‘पार्टीभित्रै संघर्ष गर्नुपर्थ्याे, विभाजन त ओलीलाई झन् शक्तिशाली र एकल नेताका रूपमा स्थापित गर्ने कदम हो । यसबाट जे जति क्षति भए पनि त्यो माधव नेपाल एक्लैले व्यहोर्नुपर्नेछ ।’

घलेको निष्कर्षअनुसार अर्का नेता झलनाथ खनाल पार्टी छाडेर जाने थिएनन्, माधव र प्रचण्डको उक्साहटमा लागेर फसेका हुन् । उदरपुरबाट आएका प्रतिनिधि महेश्वर चौधरी पनि घलेको विचारमा सहमत देखिए ।

उनका अनुसार अदालतको आदेशले तत्कालीन नेकपा विभाजित हुनुअघि ओलीलाई अध्यक्षबाट र ससंदीय दलको नेताबाट हटाउने निर्णयमा सहभागी भएका कारण नैतिक दृष्टिले पनि खनाल एमालेमा रहनसक्ने अवस्था रहेन ।

घलेको ठहर छ कि आउँदो निर्वाचनसम्ममा नेकपा (एकीकृत समाजवादी) कार्यकर्ताशून्यको अवस्थामा पुग्नेछ र नेतामात्रै रहनेछन् ।

चौधरी पनि यही ठहरमा सहमत देखिए । चौधरी पहिले माओवादीमा थिए । एकीकरणबाट नेकपा बनेपछि उनी नेकपाका कार्यकर्ता भए । विभाजनपछि नेकपा एमालेमा रहे ।

घलेको विचारमा लाजमर्दो क्षति व्यहोर्ने अर्का नेता हुन् वामदेव गौतम । उनको विचारमा गौतम एमालेमै रहनुपथ्र्यो वा खुलेर माधव नेपालको पार्टीमा लाग्नुपथ्र्यो, अहिले घरको न घाटको भए ।

दोस्रो पुस्ताका नेताहरू भीम रावल, युवरावराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरूको अवस्था के होला ?

घलेका विचारमा रावल एमालेमा फेरि पनि स्थापित हुनेछन् । सुदूरपश्चिममा उनको प्रभाव र कर्मठ व्यक्तित्वका कारण उनलाई पाखा पार्न सहज हुनेछैन । अर्थात ओलीले उनलाई अन्यथा गर्ने छैनन् ।

भट्टराई, विष्ट र पाण्डे शान्त प्रकृतिका नेताहरू हुन् । उनीहरू पनि स्थापित हुनसक्नेछन् । ज्ञवाली र भुसालको हकमा भविष्यले निर्धारण गर्नेछ । अर्का एक सहभागीका अनुसार अबको करिब एक कार्यकाल ओलीको प्रत्यक्ष विरोधमा लाग्ने नेता पार्टीभित्र ओझेलमा पर्नेछ ।

तेह्रथुमबाट आएकी सहभागी रेणुका भट्टराई पनि आगामी निर्वाचनमा एमालेले बहुमत हासिल गर्ने वा कम्तीमा ठूलो पार्टी हुने र ओली नै प्रधानमन्त्री हुनेमा ढुक्क छिन् ।

यति ठूलो र यति महत्वपूर्ण सभाको मञ्चमा बीचमा अध्यक्ष ओली, उनको एकतार्फ नेपाल, अर्कातर्फ खनाल र त्यसपछि गौतम लहरै बसेको दृष्य कति गौरवपूर्ण हुन्थ्यो होला ?

घले भन्छन्, ‘हामीले पनि चाहेको यस्तै थियो तर माधव नेपालका कारणले हुन सकेन । खनाल फसेका मात्रै हुन् तर हामीलाई अतिकति पनि पछुतो छैन ।’

पार्टी विभाजन हुनमा अध्यक्ष तथा प्रधानमन्त्रीका हैसियतमा रहेका ओली अलिकति पनि दोषी छैनन् ?

यस्तो जिज्ञासा राख्दा धेरैजसोले नेपालकै दोष देखाए । ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुवै भूमिकामा एकसाथ देख्न नचाहने माधव नेपालको दम्भका कारण उनी र उनका केही कार्यकर्ता बाहिरिएका हुन्, पार्टी विभाजन भएको होइन भन्ने धारणा धेरैको थियो ।

एक प्रतिनिधिले भने, ‘सहमति भनेर ओली लत्रेका भए पहिलाको नेकपा र अहिलेको नेकपा एमाले समाप्त हुने थियो । पार्टी विभाजन भएको होइन, केही ईष्र्यालु व्यक्तिहरू बाहिरिएका हुन् ।’

खबरहब प्रतिनिधिले संवाद गरेका महाधिवेशन प्रतिनिधिहरू कोही पनि विभाजनबाट ओली नेतृत्वको एमालेमा कुनै नकारात्मक असर पर्छ भन्नेमा सहमत देखिएनन् । एक प्रतिनिधिले भने, ‘विभाजन नहुनुपथ्र्यो तर भएर पनि एमालेलाई केही फरक परेको छैन ।’

हुन पनि अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नामै किटेर दोषी देखाइएका छन् । खनालको नाम कतै छैन ।

प्रतिवेदनमा पार्टी एकीकरणको सन्दर्भमा प्रचण्डलाई लक्षित गरेर भनिएको छ, सीमित व्यक्तिका निहित स्वार्थका कारण एकीकरण निष्कर्षमा पुग्न सकेन ।’

अर्को एक ठाउँमा नेपाललाई लक्षित गरेर भनिएको छ, ‘नवौँ महाधिवेशनपछि पनि अस्वस्थता र कटुताका असर समाप्त हुन सकेनन् ।’ ओलीले प्रतिवेदनमा पार्टीका दिवङ्गत तथा वर्तमान नेताहरू ‘तपाईं’ आदरार्थीले सम्बोधन गरेका छन् । नेपाल र प्रचण्डका लागि भने ‘तिमी’ सम्बोधन गरेका छन् ।

प्रतिवेदनको पृष्ठ २२ मा भनिएको छ, ‘वाह्य शक्तिको इशारामा प्रधानमन्त्रीलाई एउटा बजेटसम्म प्रस्तुत गर्न नदिई विस्थापित गर्ने योजनामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायत तिनै पात्रहरू क्रियाशील थिए जसले २०७४ पछि केपी ओली नेतृत्वको सरकारलाई असफल बनाउन पनि उसै गरी घेराउ, मोर्चाबन्दी र षड्यन्त्र गरे ।’

प्रचण्डले गुटको नेतृत्व गरेको र अदालतको फैसलापछि पनि उनकै कारणले पार्टीको नयाँ नाम दर्ता हुन नसकेको ओलीको आरोप छ ।

पृष्ठ ३१ मा भनिएको छ, ‘२०७६ मंसिरमा कार्यकारी अधिकार सहितको जिम्मेवारी पाएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाए ।’

ओलीले दाहाल देशी विदेशी प्रतिक्रियावादीहरूको इच्छा पूर्ति गर्न वचनबद्ध रहेको आरोप लगाएका छन् । पृष्ठ ३२ मा भनिएको छ, ‘प्रतिनिधिसभा विघटनको अघिल्लो दिन प्रचण्ड निवासमै पुगेर पार्टी एकता जोगाउन अन्तिमसम्म आग्रह गरियो । तर पार्टीको नेतृत्वलाई अपमानपूर्वक पदच्युत गरेर पार्टी कब्जा गर्ने र देशी विदेशी प्रतिक्रियावादीहरूको इच्छा पूर्ति गर्न वचनबद्ध पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भएनन् ।’

ओलीले पार्टी एकता निष्कर्षमा नपुग्नुमा दाहाल र नेपाललाई दोषी ठहर्‍याएका छन् । ‘सके पार्टी कब्जा गर्ने, नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुङ्गिएको छ,’ प्रतिवेदनको पृष्ठ ३३ मा भनिएको छ, ‘तर यसो हुनुमा नवौँ महाधिवेशनदेखि नै पारित नीति र निर्वाचित नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ ।’

ओलीले नेपाललाई पार्टी विभाजनका मुख्य योजनाकार भनेका छन् । पृष्ठ ५२ मा भनिएको छ, ‘विभाजनका मुख्य योजनाकार माधव नेपाल नवौँ राष्ट्रिय महाधिवेशनदेखि नै पार्टीका नीति र नेतृत्वका विरुद्ध अन्त्यहीन गुटबन्दी, किचलो र असहयोगमा संलग्न थिए ।’

ओलीले नेकपा माओवादी केन्द्रतर्फबाट नेकपा एमालेमा आएका नेताहरूलाई ‘पार्टी एकताको पक्षमा रहेका नेता’ भनेका छन् । ओलीले उनीहरूलाई सामूहिकरूपमा ‘तपाईं’ आदरार्थीले सम्बोधन गरेका छन् ।

ओलीले सञ्चारमाध्यमले सबैलाई एकै मुष्ठ ‘तिमी’ लेखेर नेपाली आदरार्थी परम्पराको उपहास गरेको र अङ्ग्रेजीको ‘यु’ नक्कल गरेको आरोप लगाउँदै आएका छन् ।

शनिबार राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रस्ताव र विधान संशोधन प्रस्तावमा समूहगत छलफल सुरु भएको छ ।

 

 

 

प्रकाशित मिति : १६ आश्विन २०७८, शनिबार  ११ : २० बजे

बुद्ध जयन्तीमा नेपालदेखि भारत हुँदै श्रीलंकासम्म ‘बाइक राइड’

श्रीलंका, भारत र नेपालको संयुक्त आयोजनामा बुद्ध जयन्तीका दिनबाट ‘हार्टफुलनेस

सुनचाँदीको मूल्य घट्यो, कतिमा कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

डीएसपी भण्डारी र इन्सपेक्टर लिम्बू चैत महिनाका सर्वोत्कृष्ट प्रहरी

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) नवीनकृष्ण भण्डारी

इलामको चिया समस्याबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री भन्छन् : निजी क्षेत्रलाई समेटेर देश विकासको नयाँ मोडेल बनाऊँ

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा