महिला हिंसाका घटनामा अनौठो घटबढ | Khabarhub Khabarhub

महिला हिंसाका घटनामा अनौठो घटबढ



काठमाडौँ–  घटना एक : गत साताको सोमबार बोक्सी भनेर गालीगलौज गरेको आरोपमा प्रहरीले सिन्धुलीको दुधौली–१० का ४२ वर्षीय नारायण कार्कीलाई पक्राउ गर्‍यो ।

चालीस वर्षीया छिमेकी महिलालाई बोक्सी भनेर पटक पटक गालीगलौज गरेको आरोपमा अर्की एक महिलाले दिएको लिखित उजुरीका आधारमा प्रहरीले नारायणलाई पक्राउ गरेको हो ।

घटना दुई : दीपायल सिलगढी नगरपालिकाको एक विद्यालयमा कक्षा ८ मा पढ्दै गरेकी एक छात्राको सामाजिक सञ्जाल फेसबुकमार्फत एक युवकसँग चिनजान भयो ।

फेसबुकको सम्बन्ध प्रेममा बदलिएपछि १७ वर्षीया ती छात्राले बिहे गरिन् । हाल उनी २० वर्षकी भइन् । उनका दुई सन्तान छन् ।

घटना तीन : गत बिहीबार १३ वर्षीया एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परे ।

भक्तपुरको कमलविनायक बस्ने ३२ वर्षीय वसन्त दमाईलाई महानगरीय प्रहरी वृत्त जगातीले पक्राउ गरेको हो । उनी दोलखाको वैतेश्वर गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् ।

उपर्युक्त तीन वटा घटना प्रतिनिधिमूलक हुन् ।

प्रहरी प्रधान कार्यालयको अभिलेखअनुसार आर्थिक वर्ष २०७७/७८ मा महिलामाथि हिंसाका १८ हजार ९३७ वटा घटना दर्ता भएका छन् । आर्थिक वर्ष २०७६/७७ मा १५ हजार ८२९ घटना दर्ता भएका थिए । यसअनुसार समग्रमा एक वर्षमा करिब २० प्रतिशले घटनाको दर्ता बढेको छ ।

आर्थिक वर्ष २०७५/७६ मा महिलामाथि हिंसाका १९ हजार १४८ वटा घटना दर्ता भएका थिए । लगत्तै अर्को वर्ष १७ प्रतिशत कम घटना दर्ता भए ।

यसरी एक वर्षमा ह्वात्तै घटेको र ह्वात्तै बढेको देखिने अनौठो घटबढको खासै खोजी भएको छैन ।

घरेलु हिंसा सबैभन्दा धेरै

प्रहरीको तथ्याङ्कअनुसार २०७७/७८ घरेलु हिंसाका घटना सबैभन्दा धेरै भएका छन् । गत एक वर्षमा १४ हजार २३२ वटा घरेलु हिंसा भएका छन् ।

यसपछि जबर्जस्ती करणीका २ हजार ५३४ वटा घटना दर्ता भएका छन् । जबर्जस्ती करणी गर्ने प्रयासका ६३५ वटा घटना दर्ता भएका छन् । बहुविवाह ५५२ वटा र बालयौन दुराचार २७९ वटा घटना दर्ता भएका छन् । बालविवाहका ८४ वटा घटना दर्ता भएका छन् ।

बोक्सीको आरोपमा ६१ वटा, अप्राकृतिक मैथुनका ३६ वटा र यौन दुर्व्यवहारका २ वटा घटना दर्ता भएको प्रहरी प्रधान कार्यालयको अभिलेख छ ।

बोक्सीको आरोप झण्डै दोब्बर

आर्थिक वर्ष २०७६/७७ मा ३४ जना महिलामाथि बोक्सीको आरोपका घटना दर्ता भएका थिए । लगत्तै २०७७/७८ मा ६१ जना महिलामाथि बोक्सीको आरोपका घटना भए । यो वृद्धि झन्डै ८० प्रतिशत हो ।

यौन दुर्व्यहारका घटना ६६ प्रतिशत र घरेलु हिंसाका घटना २१ प्रतिशतले बढेको छ अभिलेख छ ।

नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवानको व्यवस्था गरेको छ । कानूनी व्यवस्थासँगै सरकारले ‘बिहेबारी बीस वर्षपारी’ भन्ने सन्देशका साथ बालविवाह रोक्न चेतना फैलाउने प्रयास पनि गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा बालविवाहका घटना ३१ प्रतिशतले बढेको प्रहरीको तथ्याङ्कले देखाउँछ ।

हिंसा न्यूनीकरण गर्न चुनौती

राष्ट्रिय महिला आयोगका सचिव मनोजकुमार आचार्यका अनुसार पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरी महिलामाथि हिंसा गर्ने घटना बढेको पाइएको छ तर यस्तो घटनामा दोषीमाथि कानूनी कारबाही हुन सकेको छैन ।

के के छन् त चुनौतीहरू ?

ग्रामीण क्षेत्रका महिलाहरूमा सामाजिक प्रतिष्ठा गुम्ने त्रास र पीडकको धम्कीका कारणले हिंसाविरुद्ध उजुरी गर्न नसक्ने स्थिति छ ।

आयोगका सचिव आचार्यका अनुसार यौन हिंसामा परेका सुन्न र बोल्न नसक्ने महिला वा बालिकाहरूको लागि सांकेतिक भाषा विज्ञको अभावमा मनोसामाजिक परामर्श उपलव्ध गराउन कठिनाइ भएको छ ।

हिंसापीडित महिला र उनीमाथि आश्रित बालबच्चाको भरणपोषण र शिक्षादीक्षाको प्रबन्धका लागि सातै प्रदेशमा सुरक्षित आश्रयस्थल र पुनःस्थापना केन्द्र सञ्चालन गर्नु आवश्यक छ । यसतर्फ काम हुन सकेको छैन ।

सामाजिक सञ्जालको दुरुपयोग

प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार बढ्दो जनघनत्व र सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकामाथि हुने हिंसा र अपराधका घटना बढेको पाइएको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेहरूबाट हिंसाका घटना धेरै भएका छन् ।

कोभिडका कारण भएको लकडाउनमा हिंसाका घटना बढेको कुँवरको भनाइ छ । उनी भन्छन्, ‘मानिसहरू घरमै बस्ने भएकाले मानसिक तनाव हुने र घरमा महिलामाथि विभिन्न किसिमले हिंसा भएको देखिन्छ ।’

प्रचलित कानूनी संरचनाअनुसार पीडकमाथि कारबाही गर्न सरोकारवाला सबै निकाय एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।

घटना न्यूनीकरणका लागि कानूनी चेतना बढाउन र सरोकारवाला निकायहरूले समन्वयात्मकरूपमा काम गर्न आवश्यक छ । ‘लगभग ८० प्रतिशत घटना चिनजानका र परिवारभित्रकै मानिसबाट भइरहेको छ,’ प्रहरी प्रवक्ता कुँवर भन्छन्, ‘यो पीडक वर्गलाई सचेत बनाउ पर्‍यो ।’

पीडकहरू ढिलोचाँडो कानूनी दायरामा आएको पनि कुँवरको भनाइ छ । घटना न्यूनीकरणका लागि परिवार र समाजका सदस्यहरू सचेत रहनुपर्छ । तीन वटै तहका सरकारहरूले आफ्नो स्तरमा कानून कार्यान्वयनमा कडाइ गर्नुपर्छ ।

मानवअधिकारकर्मी र सामाजिक संघसंस्थाहरूले एकीकृतरूपमा काम गर्नुपर्ने पनि कुँवरको भनाइ छ ।

प्रकाशित मिति : १८ श्रावण २०७८, सोमबार  ८ : ४० बजे

लोकतन्त्रका नक्कली सिक्का आफैँ खुइलिएर विस्थापित हुन्छन् : कांग्रेस नेता महर

बझाङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेस लोकतन्त्रको सक्कली

एमालेकाे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी पूरा

काठमाडौं– नेकपा एमालेले शनिबारबाट ललितपुरमा सुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि

गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखले गैर संवैधानिक काम गरे : कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले गण्डकी र सुदूर पश्चिम प्रदेशमा प्रदेश प्रमुखबाट

कांग्रेस देश र जनताप्रति उत्तरदायी पार्टी हो : सहमहामन्त्री राठोर

बैतडी– नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठोरले कांग्रेस देश र जनताप्रति

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको