कोरोना संक्रमण दर र मृत्यु दर दुवै बढ्दो क्रममा | Khabarhub Khabarhub

कोरोना संक्रमण दर र मृत्यु दर दुवै बढ्दो क्रममा



काठमाडौँ– एक साताको समग्र विवरणअनुसार कोरोना भाइरस संक्रमण दर र कोरोनाका कारणले भएको मृत्युदर दुबै बढ्दो क्रममा रहेको छ ।

हरेक दिनको कोरोना परीक्षण र संक्रमितको संख्या तथा हरेक दिनको कुल संक्रमित संख्या र मृत्यु संख्याका आधारमा संक्रमण दर र मृत्युदर बढेको देखिएको हो ।

यही असार ११ गते १७ दशमलव २५ प्रतिशत रहेको संक्रमण दर १७ गते २५ दशमलव १८ प्रतिशत पुगेको छ । असार १२ गते २१ दशमलव १९ प्रतिशत रहेको संक्रमण दर थोरै घटेर १३ गते १९ दशमलव ५२ प्रतिशत भयो । यसपछि फेरि लगातार बढ्दो क्रममा छ ।

असार १४ गते संक्रमण दर २० दशमलव ९९ प्रतिशत, १५ गते २२ दशमलव ४३ प्रतिशत र १६ गते २५ प्रतिशत रहेको छ ।

यसै गरी मृत्यु दर पनि सातभरिमा एक दिनबाहेक बढ्दो क्रममा देखिएको छ । असार ११ गते शून्य दशमलव शून्य ५८ प्रतिशत रहेको मृत्युदर १७ गते शून्य दशमलव १ प्रतिशत पुगेको छ । असार १२ गते शून्य दशमलव शून्य ७१ प्रतिशत रहेको मुत्युदर बढेर १३ गते शून्य दशमलव शून्य ८४ प्रतिशत र १४ गते शून्य दशमलव ११ प्रतिशत पुग्यो ।

चौध गतेको मृत्युदर झन्डै आधाले घटेर १५ गते शून्य दशमलव शून्य ५६ प्रतिशत भयो । यो मत्युदर बढेर १६ गते शून्य दशमलव १२ प्रतिशत पुग्यो । यो दर थोरै घटेर असार १७ गते शून्य दशमलव १ प्रतिशत रहेको छ ।

बिहीबार काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या ८ हजार ३५४ रहेको छ । यसमध्ये सबैभन्दा बढी काठमाडौँमा ५ हजार ११ जना, ललितपुरमा १ हजार ९४८ जना र भक्तपुरमा १ हजार ३९५ जना सक्रिय संक्रमित रहेका छन् । बिहीबार काठमाडौँमा ३१६ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा १९ जना संक्रमित थपिएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार हाल १७ वटा जिल्लामा ५०० जनाभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । संक्रमित संख्या सबैभन्दा बढी रहेको जिल्ला काठमाडौँ हो र प्रदेश वाग्मती हो ।

समग्रमा कोरोना संक्रमणको परीक्षण पनि घट्दो क्रममा छ । असार ११ गते ९ हजार ५८६ जनाको पीसीआर परीक्षण भएकोमा घट्दै गएर १७ गते ७ हजार १३० जनाको परीक्षण भएको छ । एन्टिजेन परीक्षण पनि घट्दो क्रममा छ । असार ११ गते ४ हजार ७६५ एन्टिजेन परीक्षण भएकोमा १७ गते ३ हजार ८५५ परीक्षण भएको छ ।

एक सातामा कुल ४८ हजार ५१४ पीसीआर परीक्षण र ३१ हजार १२४ एन्टिजेन परीक्षण भएको छ । यो परीक्षण दैनिक क्रमशः ६ हजार ९३० र ४ हजार ४४६ हो ।

सरकारले देशभरका प्रयोगशालाबाट दैनिक २२ हजारभन्दा बढी पीसीआर परीक्षण हुने क्षमता रहेको बताउने गरे पनि दैनिक परीक्षण कुल क्षमताको एक तिहाइमात्र छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा देशभरिमा पीसीआर परीक्षण प्रयोगशाला ४४ वटा रहेको उल्लेख गरिएको छ ।
प्रवक्ता डा. पौडेलले कोरोना परीक्षण कम भएको र कन्ट्याक्ट टे«सिङ पनि नभएको बताए ।

काठमाडौँ उपत्यकामा असार १४ गतेदेखि धेरै जमघट हुने केही सीमित बाहेक धेरै क्षेत्र खुला भएका छन् । बजार खुला भएको छ । मानिसहरूको आवतजात निर्बाध भएको छ । फुटपाथहरू भरिभराउ हुन थालेका छन् ।

निजी सवारी साधनहरू जोरबिजोरका आधारमा र अत्यावश्यक सेवाका सबै सवारी साधनहरू चलेका छन् । सबै जसो निजी तथा सरकारी कार्यालयहरू खुला भएका छन् ।

काठमाडौँ उपत्यकाका प्रशासन कार्यालयहरूले २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीका गाडी स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोरका आधारमा चलाउन अनुमति दिएका छन् । यातायात व्यवसायीहरूले भने प्रशासनको निर्देशन अवज्ञा गर्ने र सबै किसिमका सार्वजनिक सवारी साधन चलाउने चेतावनी दिएका छन् ।

काठमाडौँ उपत्यकाका तीनै जना प्रमुख जिल्ला अधिकारीहरू र यातायात व्यवसायी तथा मजदुर सङ्गठनका प्रतिनिधिहरूबीच बिहीबार भएको संयुक्त बैठकमा कोरोना संक्रमणको अवस्था हेरेर आगामी सोमबारदेखि छोटो, मध्यम तथा लामो दूरीका सबै गाडी चलाउने सहमति भएको नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष धर्मराज भण्डारीले खबरहबलाई बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. पौडेलले खबरहबसँग कुरा गर्दै काठमाडौँ उपत्यका र वाग्मती प्रदेशमा कोरोना संक्रमणको जोखिम अझै उच्च रहेकोले सबै किसिमका सवारी साधन चलाउन मन्त्रालयको सिफारिस नरहेको बताए । उनले निषेधाज्ञा सम्बन्धी अधिकार जिल्ला प्रशासन कार्यालयको रहेकाले संक्रमणको अवस्था हेरेर उचित निर्णय हुने विश्वास प्रकट गरे ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  ६ : ३५ बजे

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका

एफटीएक्सका संस्थापक साम बैंकम्यानलाई २५ वर्षको जेल सजाय

काठमाडौं– अमेरिकी कम्पनि एफटीएक्सका संस्थापक साम बैंकम्यान फ्राइडलाई २५ वर्षको