होम स्टे क्रान्तिमा कोरोनाको कहर « Khabarhub
Logo
१० कार्तिक २०७८, बुधबार

होम स्टे क्रान्तिमा कोरोनाको कहर



पोखरा – केही दिनअघि तनहुँको व्यास नगरपालिका–११ को तनहुँसुरमा सामुदायिक ‘होम स्टे’ अर्थात ‘घरबास’ खोलिएको छ ।

ऐतिहासिक, धार्मिक सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वको यो ठाउँमा पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर ‘तनहुँसुर देवस्थल सामुदायिक होम स्टे’ सञ्चालनमा ल्याएका हुन् ।

तनहुँसुरका १४ घरधुरीमा ४० बास बस्न सक्ने गरी होम स्टे सञ्चालन गरिएको छ । होम स्टे सञ्चालक समितिका अध्यक्ष पदमबहादुर थापाका अनुसार मगर, नेवार र दलितको बसोबास रहेको यो ठाउँमा पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी भट्ट लगायतका स्थानीय परिकार खुवाउने व्यवस्था छ ।

गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमानले यो होम स्टे उद्घाटन गरेका थिए । तनहुँसुर तत्कान सेन राजाले राज्य सञ्चालन गरेको एतिहासिक ठाउँ हो । केन्द्र र स्थानीय सरकारको १० करोड रुपैयाँ लागतमा तनहुँसुर पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रे गरिँदैछ । यसअघि तनहुँका व्यास नगरपालिका–३, बराहखोलामा तीन वर्षअघि होम स्टे सञ्चालन गरिएको थियो ।

सिरुवारीले गरेको शुरूवात

स्याङजा जिल्लाबाट ग्रामीण पर्यटनको अवधारणा शुरू भएको थियो । स्याङ्जाको सिरुवारीमा सबैभन्दा पुरानो होम स्टे सञ्चालनमा छ ।

२०५४ सालमा मा ब्रिटिस लाहुरे रुद्रमान गुरुङले शुरू गरेको सिरुबारीको होम स्टे पर्यटनको ख्याति देशभरि फैलिएको छ । पर्यटनले सिरुवारीको जीवनस्तर उकासिएको हो । सिरुवारी होम स्टेमा ट्राभल एजेन्सीहरूले समेत पर्यटक पठाउने गरेका छन् ।

सन् १९९८ मा नेपाल सरकारले सिरुबारीलाई ‘नमुना होम स्टे गाउँ’ घोषणा गरेको थियो । सिरुवारीबाहेक स्याङ्जामा मात्रै अहिले २० वटाभन्दा बढी गाउँमा होमस्टे सञ्चालनमा छन् ।

चर्चित घलेगाउँ होम स्टे

स्याङ्जाको सिरुवारीजस्तै लमजुङको घलेगाउँ होम स्टेका लागि उत्तिकै परिचित छ । क्व्होलासोथर गाउँपालिका–३ मा रहेको घलेगाउँ आन्तरिक पर्यटकका लागि पनि आकर्षक ठाउँका रूपमा रहेको छ ।

लमजुङ हिमाल र अन्नपूर्ण हिमालको काखमा रहेको घलेगाउँ दक्षिण एशियाकै नमुना तथा नेपालकै पहिलो स्मार्ट गाउँ मानिन्छ । घलेगाउँमा १२५ घरधुरीमध्ये ३८ वटा होम स्टे छ ।

होम स्टेमा जातीय पहिचान

गण्डकी प्रदेशकै राजधानी रहेको कास्की जिल्लामा पनि झण्डै तीन दर्जन होम स्टे छन् । तीमध्ये अन्नपूर्ण गाउँपालिकामा रहेको घान्द्रुकमा रहेको होम स्टे पनि निकै चर्चित बनेको छ ।

गुरुङ समुदायको बसोबास रहेको घान्द्रुकको होम स्टेमा रहेका पर्यटकहरूलाई गुरुङ समुदायको चर्चित ठाडो भाकाको नाच देखाएर आकर्षित गर्ने गरिएको छ ।

यता, नवलपरासीपूर्वमा पनि होम स्टे खुल्ने क्रम चलिरहेको छ । नवलपरासीपूर्व देवचुलीमा थारू समुदायले प्रिपहर सामुदायिक होम स्टे सञ्चालन गरेका छन् । कावासोती नगरपालिकामा अमलटारी सामुदायिक होम स्टे र रतौल सामुदायिक होम स्टे सञ्चालनमा छन् ।

देवचुलीमै बोेटे माझीहरूले पनि होम स्टे सञ्चालन गरेका छन् । विनयी त्रिवेणी गाउँपालिकाको बगुबनमा मगर समुदायले होम स्टे चलाएका छन् ।

गण्डकी प्रदेशको अर्को जिल्ला पर्वतमा पनि डेढ दर्जनभन्दा बढी गाउँमा होम स्टे छन् । गोरखा जिल्लामा पनि होम स्टेहरू सञ्चालनमा छन् ।

होम स्टेले ग्रामीण पर्यटन प्रवर्द्धनमा मद्दत गरेको भए पनि कोरोना भाइरस संक्रमणले व्यवसाय धरापमा परेको छ । गाउँ गाउँमा खोलिएका होम स्टेहरूले लगानीअनुसार पर्यटकलाई स्वागत गर्न पाएका छैनन् ।

नवलपुरको देवचुलीस्थित बोटे माझी सामुदायिक होम स्टेकी सचिव पूर्णिमा बोटेका अनुसार होम स्टे सञ्चालन गरेको दुई महिना नबित्दै कोरोना संक्रमणको जोखिमले लकडाउन भएपछि सुस्ताएको व्यवसायमा प्रगति हुन सकेको छैन ।

केही दिनयता आक्कलझुक्कल पाहुना आउने थालेका छन् तर फेरि कोरोना संक्रमणको हल्लाले होम स्टे सञ्चालकहरू चिन्तित देखिएका छन् ।

गण्डकी प्रदेशमा कार्यविधि

स्थानीय तहले नै सञ्चालनको अनुमति दिनसक्ने भएकाले टोल टोलमै होम स्टे खुलेका छन् । ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेश सरकारले ‘होमस्टे सञ्चालन कार्यविधि, २०७५’ तयार पारेको थियो ।

स्थानीय समुदायको संलग्नतामा स्वरोजगारीको अवसर सिर्जना गर्न, ग्रामीण अर्थतन्त्रमा योगदान पुर्‍याउन एवं ग्रामीण पर्यटनको विकास, प्रवर्द्धन, व्यवस्थापन र नियमन गर्न होम स्टे सञ्चालन कार्यविधि तयार गरेको कुरा कार्यविधिमा लेखिएको छ ।

ग्रामीण क्षेत्रमा एकल रुपमा दर्ता गरी निजी स्तरमा र ग्रामीण क्षेत्रमा कम्तीमा ५ वटा अलग अलग स्वामित्व भएका घरधनीले सामूहिकरूपमा व्यवस्थापन गरी सामुदायिक होम स्टे सञ्चालन गर्न सक्ने व्यवस्था कार्यविधिमा छ ।

स्थानीय तहले नै दिन्छ अनुमति

सामुदायिक होम स्टेको सञ्चालन गर्न कम्तीमा पाँच जना घरधनीले आआफ्नो घरमा सामूहिक रूपमा होमस्टे सञ्चालन गर्न सहमत भएको लिखित प्रतिबद्धता र वडाको सिफारिससहित सम्बन्धित स्थानीय तहमा निवेदन दिएमा त्यहीँबाट स्वीकृत हुने व्यवस्था छ ।

स्थानीय तह प्रमुखको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले निरीक्षण गर्ने र मापदण्ड पुगेको भए १० हजार रुपैयाँ शुल्क लिएर अनुमति दिनसक्ने व्यवस्था कार्यविधिमा छ ।

होम स्टेमा पाहुनाका लागि हरेक घरमा कम्तीमा एक कोठामा दुई बेड र बढीमा चार कोठमा आठ बेड मात्र राख्न पाइने व्यवस्था छ । सामुदायिक होम स्टेमा कम्तीमा एक सामुदायिक भवन वा हलको व्यवस्था हुनुपर्ने पनि कार्यविधिमा लेखिएको छ ।

कार्यविधिमा पाहुनाको मनोरञ्जन र अन्य सुविधा तथा वातावरणीय पक्ष पनि समेटिएको छ ।


भर्खर

0