पहिचानका लागि ‘माया लुकी लुकी’ गाएँ | Khabarhub Khabarhub

पहिचानका लागि ‘माया लुकी लुकी’ गाएँ


२० माघ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ए पिपलु कति दिन्छौ तिमी मात्रै छायाँ
मलाई पनि बन्न देऊ न एउटा सानो हाँगा,
मेरो परदेशी घर आउने बेला भो
म पनि त दिन सक्छु लुकी लुकी छायाँ
माया लुकी लुकी…

गीतकार आनन्द अधिकारीको शब्द, सङ्गीतकार आशीष अविरलको सङ्गीत तथा एरेन्ज र गायिका टीका प्रसाईंको स्वर रहेको यो गीतले युट्युबमा १० करोडभन्दा बढी दर्शक पाएको छ ।

नेपाली सुगम सङ्गीतमा कुनै एक गीतले यति धेरै दर्शक पाएको सम्भवत पहिलो हो । डान्सिङ नम्बरको यो गीतको भिडियोमा ‘कार्टुन क्रू फिचर’ छन् । गत शनिबारमात्र गायिका टीका, सङ्गीतकार तथा एरेन्ज अविरलसहित सङ्गीतकर्मीले केक काटेर खुसी मनाए गरे । यही सन्दर्भमा खबरहबले गायिका टीकासँग कुराकानी गरेको छ ।

‘माया लुकी लुकी’ ले १० करोड दर्शक पाउँदाको अनुभव कस्तो रह्यो ?

अहिलेसम्म जति गीतहरू रेकर्ड भएका छन्, सबैमा उत्तिकै मिहिनेत गरिएको छ । समयअनुसार लगानी गरिएको हुन्छ । गीतको शब्द, सङ्गीत, एरेन्जमेन्टदेखि भिडियो बनाउनेसम्मको एउटा खाका हुन्छ । एउटा गीत चल्नु र नचल्नुमा श्रोता र दर्शककै हात रहन्छ ।

यो गीतको अडियो बन्न डेढ वर्ष र भिडियो बन्न थप ९ महिना लाग्यो । एउटा गीत निर्माणमा आउने बाधा, चुनौती सबै कुराहरू यो गीतले भोगेको छ ।

मुख्य कुरा धैर्य रहेछ । गीतले भ्यूजको आधारमा सफलता पाएको छ । ‘माया लुकी लुकी’ लाई स्वदेश र विदेशमा बस्ने नेपालीले मात्र होइन, विदशीले पनि मन पराइदिनुभएको छ । यो हाम्रा लागि सन्तुष्टिको कुरा हो ।

के कुराले ‘माया लुकी लुकी’ गाउन प्रोत्साहित गर्‍यो ?

मैले ‘स्लो’ खालका, वियोगान्त गीत र अलिकति ‘फास्ट’ भए पनि ड्वेट गीतहरू गाइरहेकी थिएँ । समयअनुसार फरक खालको सोलो गीत गाउने मन थियो । स्टेजका कार्यक्रम र मेरो पहिचानको लागि पनि एउटा डान्सिङ नम्बरको गीत चाहिएको थियो ।

मेरा ड्वेट गीतहरू ‘नाइँ मलाई थाहा छैन’, ‘कर्के नजर’, ‘तिमी मलाई मनपर्छ’, ‘एउटा कुरा भनुम’ चलिरहेका थिए । मैले सोलो एलबम ‘मेलोडी’ पनि निकालिसकेकी थिएँ । ती एलबममा मेरा गीत नाँच्ने किसिमका थिएनन् । त्यही चाहना पूरा गर्न ‘माया लुकी लुकी’ गाएँ ।

यो गीत रेकर्ड गर्दाको कुनै रोचक स्मरण ?

यो गीत रेकर्डिङ गर्दा मेरो ‘सँगसँगै’ एलबमका गीतहरू रेकर्ड भइरहेका थिए । त्यही क्रममा मलाई स्लो टाइपको गीत चाहिएको थियो । सञ्जीव दाइ (गायक सञ्जीव पराजुली) लाई मैले ‘मेरो पनि गीत सुनिदिनु है’ भनेर सङ्गीतकार आशिष अविरल दाइ कहाँ पठाएको थिएँ ।

सञ्जीव दाइ हाम्रो ड्वेट गीत ‘कर्के नजर’ सुन्न आशिष दाइकहाँ जानुभएको थियो । आशिष दाइलाई ‘एउटा सिङ्गल कुनै गीत छ भने सुनाउन लगाउनु’ भनेकी थिएँ ।

सञ्जीव दाइले ‘ल तपाईंको गीत यस्तो छ’ भनेर स्थायी अलिकति रेकर्ड गरेर ल्याउनुभयो । त्यो गीतको ‘ए पिपलु कति दिन्छौ तिमी मात्रै छायाँ, मलाई पनि बन्न देउन एउटा सानो हाँगा’ मात्र थियो । त्यसमा न एरेन्ज थियो, न त पछाडिका शब्द ।

मैले हल्का अभ्यास गरेर गएकी थिएँ । मलाई पिपल सबैभन्दा बढी मनपर्छ । गीतमा पिपल नै थियो । शब्द मन परे पनि गीत गाउन अनकनाइरहेकी थिएँ । मैले गीत एक खालको सोचेको छु, आशिष दाइले मान्नुहुन्छ कि हुन्न भन्ने थियो । ‘नाइँ मलाई थाहा छैन’ उहाँले गर्नुभएको थियो ।

गीतको पछाडिको ‘मेरो परदेशी घर आउने बेला भो, म पनि त दिन सक्छु लुकी लुकी छायाँ’ शब्द सुनेपछि झन गरूँ गरूँ लाग्यो । अनि म दाइलाई भेट्न गएँ । उहाँले नयाँ शैलीमा गर्नुपर्छ भन्नुभयो । अनि रेकर्डिङको डमी गर्‍यौँ ।

गीत हिट भएपछिको चुनौती के देख्नुभयो ?

एकपछि अर्को गीत चलिरहँदा पनि तीमध्ये धेरै गीतहरू नचलेका पनि हुन्छन् । मैले यो चार वर्षमा धेरै गीत गाएकी छु । ती सबै गीत चलेका छैनन् । केहीमात्र चले । अन्य स्रष्टाहरूको पनि औँलामा गन्न सकिने गीतहरू मात्र चलेका हुन्छन् ।

गीतले आफ्नो कर्म, भाग्य लिएर आएको हुन्छ । यो मान्छेले यस्तो खालको गीत गाउन सक्छ भनेर ‘ब्राण्ड’ बनाउन सक्नुपर्छ । गीतमा फरकपन दिने सर्जकलाई श्रोता–दर्शकले ‘अब के आउँछ’ भन्ने सोधिरहनुभएको हुन्छ । एउटा गीत चलेपछि अब अर्को के गर्ने भनेर आफैँसँग एक किसिमको प्रतिस्पर्धा हुँदो रहेछ ।

कोरोना महामारीपछि अब सङ्गीत करियर कसरी अगाडि लैजाने योजना बनाउनुभएको छ ?

अहिले केही अप्ठ्यारो छ । रेकर्डिङ गर्नलाई दुई चार हजारले पुग्दैन । एउटा अडियो बनाउन पनि डेढलाखभन्दा माथि नै खर्च लाग्छ । आफूसँग सीप, क्षमता भए पनि आयस्रोतको कुरामा अहिले अलिकति बाँधिएको अवस्था छ । सोचे जसरी काम गर्न पाइएको छैन ।

यो अवस्थामा रोकिएका कामहरू पूरा गर्ने र आर्थिक स्थिति कसरी मजबुत बनाउने भन्ने सोच्नुपर्छ । अहिले काम चलाउन भन्दा पनि कसरी राम्रो गर्न सकिन्छ या त आफैँ गर्न सकिन्छ अथवा खर्च घटाएर आफूले गरेका सिर्जनालाई एरेन्जमेन्ट वा रेकर्डिङ गर्न सकिन्छ, त्यो तरिकाले पनि सोचिरहेकी छु ।

लकडाउनको समयमा साङ्गीतिक कर्म कस्तो रह्यो ?

घरमा बस्न, परिवारसँग समय दिन र रोकिएका कामहरू गर्न समय पाइयो । यस्तो समय प्रकृतिले नै दिएको हो कि जस्तो लाग्छ । यसलाई मैले सकारात्मकरूपमै लिएँ । त्यो समय गइसकेको पनि छैन । अब के हुन्छ भन्ने पनि बाँकी नै छ ।

म झापामा हुँदा झापामै रेकर्डिङ गरेँ । सिन्धुलीमा हुँदा अलिअलि गीतहरू लेखेँ । त्यो बीचमा दुईचार वटा म्युजिक भिडियोहरू रेकर्डिङको काम पनि गरेँ ।

गीत रेकर्ड गराउँदा तपाईंको मापदण्ड के हो ?

पहिलो त गीतको शब्द नै हो । गीतमा शब्द खराब भइदियो र त्यो गीत गाएँ भने मेरो इमेजमा, मेरो गीतमा र मेरो करियरमा नै गाह्रो अवस्था आउनसक्छ । समाजलाई असर पार्ने किसिमका शब्द छ भने त्यो म गाउदिनँ । यस्ता शब्द भएका गीतहरू मैले धेरै छोडेकी छु ।

सङ्गीतसँग जोडिएको शब्द जीवन्त हुन्छ । त्यसले गर्दा म शब्दमा ध्यान दिन्छु । त्यहीकारण तीनचार वर्षदेखि शब्दहरू छानेर गीत गाइरहेकी छु । सामाजिक चेतना भएका, सकारात्मक सोच भएका शब्दहरू मनपर्छ । मौलिक कला, संस्कृति र समाजलाई देखाउने, बुझाउने खालका शब्द प्रिय लाग्छन् ।

सङ्गीतबाहेक अन्य व्यवसायमा आबद्ध हुने सोच पनि छ कि !

यो त एकदमै आवश्यक पर्छ । गीत र सङ्गीत भनेको सधैँ मनपराइरहनु हुन्छ भन्ने हुँदैन । समय सधैँ एकनासको पनि हुँदैन । एउटा गीत हिट भए पनि त्यसले हाम्रो दैनिकी र जीवनयापनमा कत्तिको प्रभाव पारेको छ भन्ने कुरामा निर्भर हुन्छ ।

अहिले सङ्गीतबाहेक अन्य केही काम गरेको पनि छैन । हामी श्रीमानश्रीमती नै सङ्गीतमा छौँ । व्यापार व्यवसाय साइडमा हुँदा अलिकति फरक चाहिँ हुन्छ । यही गर्छु भन्ने चाहिँ छैन तर गर्नुपर्छ भन्ने छ ।

प्रकाशित मिति : २० माघ २०७७, मंगलबार  ३ : १० बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०