शौचालय « Khabarhub
Logo
८ माघ २०७७, बिहीबार

शौचालय



ऊ शौचालयभित्र पस्दै गर्दा एक महिला बाहिर निस्किँदै थिइन् ।

महिलाले भनिन्, ‘बाबु, तिमी यता होइन, उतापट्टि ।’

त्यस वेला ऊ यस्तै तेह्रचौध वर्ष उमेरको हुँदो हो, जुँगाको रेखी पनि नबसेको कलिलो ।

ऊ ट्वाल्ल परेर बाहिर उभियो र यताउता हेर्‍यो । भित्तामा पुरुष मान्छेको चित्र बनाएर ‘पुरुष’ लेखेको देख्यो । उसले केही पुरुषहरू भित्र पस्दै र केही बाहिर निस्किँदै गरेको पनि देख्यो ।

ऊ थोरै डराउँदै त्यतै पस्यो । भित्र केही मानिसले पिसाब फेरिरहेको देख्यो । उसले पनि त्यसै गर्‍यो । पिसाब फेर्ने त्यस्तो ठाउँ उसले पहिलोपटक देखेको थियो । दिसा गर्नेले कसरी गर्ने होला ! ऊ जिल्ल पर्‍यो । धन्य ! उसलाई दिसा लागेको थिएन ।

बाहिर निस्किएपछि पहिले पस्न लागेको ठाउँमा हेर्‍यो । त्यहाँको भित्तामा महिला मान्छेको चित्र बनाएर ‘महिला’ लेखिएको थियो ।

महिला र पुरुषका लागि छुट्टाछुट्टै शौचालय हुँदा रहेछन् । यसरी त्यस दिन उसले पहिलोपटक ठूलो रहस्य थाहा पायो ।

यसपछि निकै लामो समय उसले त्यस्तो शौचालय प्रयोग गर्नु परेन । ऊ पढ्ने स्कूलमा केटाकेटी पालैपालो एउटै शौचालयमा पस्ने चलन थियो ।

कहिलेकाहीँ उसले अन्यत्र पनि ‘महिला’ र ‘पुरुष’ लेखिएका शौचालय देख्यो । आवश्यक परेका बेला पुरुषतर्फको प्रयोग गर्थ्यो । आफूलाई यस्तो रहस्य थाहा भएकोमा निकै मख्ख पनि थियो । ऊ अरू कतिलाई त आफू अनभिज्ञ हुँदाको झैँ ठान्थ्यो ।

एसएलसी उत्तीर्ण गरेर कलेज पढ्न थालेपछि ऊ पुरुष शौचालय प्रयोग गर्न अभ्यस्त भयो । महिला र पुरुषका लागि किन अलगअलग शौचालय बनाइएका रहेछन् भन्ने पनि आफ्नै ढङ्गले थाहा पायो । सिनेमा हलमा पनि उसले ‘महिला’ र ‘पुरुष’ लेखिएका अलगअलग शौचालय देख्यो । पहिलोपटक सिनेमा हेरिसकेपछि पुरुष शौचालयमा पस्दा पिसाब निख्रिने गरी अडिन नसकेको कुरा उसको सम्झनामा ताजै छ । त्यसपछि ऊ पिसाब फेर्नुपर्ने गरी कहिल्यै पनि सिनेमा हेर्न गएन । शौचालय सफा हुनुपर्छ भन्ने सोच नै थिएन ।

स्नातक तह पढ्न काठमाडौँ आएपछि धेरै ठाउँमा महिला र पुरुषका लागि फरकफरक शौचालय देख्यो । कतै उही पुरानो सिनेमा हलका जस्ता त कतै ओछ्यानै लाएर सुते पनि फरक नपर्ने खालका । काठमाडौँमा एकपटक एउटा ठूलो होटलमा प्रवेश गर्ने मौका पायो । त्यति ठूलो ठाउँमा ऊ पहिलोपटक गएको थियो । केही बेरमा उसलाई पिसाब लाग्यो । त्यहीँ हो उसले ओछ्यान लाएर सुते पनि हुने शौचालय पहिलोपटक देखेको ।

ऊ पूर्वी पहाडको दुर्गम गाउँमा जन्मेहुर्केको हो । त्यहाँ उसले बारीको खुला हगनगौँडीमा दिसा गरेको हो । पिसाब त मान्छेका आँखा छलेर जहाँ गरे पनि भइहाल्थ्यो । पहाडमा पढुन्जेल मैदानको पल्लो छेउमुन्तिरको बाँसझ्याङ वा त्यहीँ वरिपरि जता काम चलाए पनि हुन्थ्यो । त्यसबेला उताको शौचालय परम्परा त्यस्तै थियो ।

आजकाल धेरै फरक परेको छ । व्यवस्थापन राम्रो गर्न नसके पनि गाउँका घरहरूमा ढोका भएका शौचालय बनेका छन् । सरकार ‘एक घर एक शौचालय कार्यक्रम’ चलाउँछ । अनुदानमा शौचालय बनाउन लगाउँछ । देश ‘खुला दिसा मुक्त’ भयो भन्ने सरकारी सफलताको बयान छ ।

मधेशमा पढ्दा स्कुलमा शौचालय त थियो तर ‘महिला’ र ‘पुरुष’ थिएन । जुन खाली हुन्छ, त्यसैमा मौका पार्नु पर्थ्यो । शौचालयको पछाडिपट्टि खुला ठाउँमा पनि काम चल्थ्यो । त्यहाँ चाहिँ कहिलेकाहीँ स्कूलकै महिला र पुरुष जम्काभेट हुन बेर नलाग्ने ।

यसरी हुर्केको केटो विराटनगरको एउटा अस्पतालमा ‘महिला’ शौचालयमा पस्न लागेको रहेछ । त्यहीँ हो उसलाई कसैले ‘बाबु, तिमी यता होइन, उतापट्टि’ भनेको ।

काठमाडौँमा पेसागत र अन्य कामका सिलसिलामा ऊ वेलामौकामा भित्ताको अक्षर ख्याल गरेर शौचालय प्रयोग गर्नुपर्ने ठाउँमा पुग्थ्यो । दिन बित्दै जाँदा यस्तो मौका पनि बढ्दै गएको थियो ।

कहिलेकाहीँ, थोरै पटक, उसले कुनै पुरुष मान्छे महिला शौचालयबाट निकिँदै गरेको पनि देखेको हो । शायद त्यो पुरुषले भित्तो विचार गरेन । वा, जानाजान पो पसेको थियो कि ! भित्र के जात्रा भयो, विचार नगरी ऊ आफ्नो बाटो लाग्यो ।

कुनै पुरुष व्यक्ति झुक्किएर महिला शौचालयमा पसेको कुरा साथीहरूले थाहा पाएर हाँसोको पात्र बनाएको पनि उसले देखेको हो । ‘कसो कुटाइ खाइनस्, हेर्नु पर्दैन !’ भनेको पनि उसले सुनेको हो ।

एकपटक उसको एउटा दौँतरी नसाको सुरमा ‘महिला’ तिर पसेर ढुनमुनिदैँ बाहिर निस्केको पनि उसले देखेको हो । ‘दुई पेग रक्सी खाँदैमा हेर्दै नहेरी महिला शौचालयमा पस्ने हो ॽ हुस्सु’ भन्दै उसले गाली पनि गरेको हो ।

राजधानी काठमाडौँमा सानातिना सभाका लागि ऊ बाक्लै गइरहने एउटा ठाउँमा शौचालय बाहिरपट्टि टहरामा छ । जाँदाजाँदै सामुन्नेमा ‘पुरुष’ र दाहिनेपट्टि ‘महिला’ लेखिएको छ । त्यहाँको शौचालय उसले धेरै पटक प्रयोग गरेको हो ।

माथिल्लो तलामा ऊ सहभागी सभा करिब दुई घण्टामा सकियो । खाजा खाएर बिदा हुन आयोजकको उर्दी छ । भुइँ तलामा बाहिरपट्टि खाजा तयार छ ।

उसलाई पिसाबले च्याप्नु च्यापेको छ । ऊ सरासर शौचालयतिर लम्क्यो । त्यही क्रममा उसले थाहा पायो त्यहाँ अर्को पनि सभा छ ।

ऊ शौचालयमा पस्यो । शौचालय रित्तै छ, अर्को कोही छैन । उसले ढुक्कले पिसाब फे¥यो । त्यसैको आनन्दबाहेक अरू केही सोच्ने कुरै भएन । काम फत्ते भयो । लुगा मिलायो र बाहिर निस्क्यो ।

टि सर्ट र जिन्स पाइन्ट लगाएकी एक ज्यानदार युवतीसँग ढोकैमा जम्काभेट भयो । मौसम गर्मीको थियो ।

‘ए ! तपाई लेडिज ट्वाइलेटमा पसेको ॽ अलिकति पनि सरम छैन ॽ फिजिकल्ली पनि थाहा हुन्छ नि !’

यति भनेर युवती शौचालय छिरिन् । ऊ छाँगाबाट खस्यो । अक्क न बक्क, एक न दुई भयो । होसहवास उड्यो, आँखा तिरमिराए ।

उसले आफूलाई सम्हाल्यो ।

‘लौ ! हो त, म त महिला शौचालयमा पो पसेछु !’ उसको होस ठेगानमा आयो । गालामा चड्कन नपरेकोमा ऊ ती युवतीप्रति कृतज्ञ भयो । धन्य ! ‘सरम छैन ॽ’ भनेर झोँक्किइन् मात्रै । ऊ विराटनगरमा जस्तो ‘बाबु’ थिएन । सेतै कपाल फुलेको ‘बुढो’ थियो ।

ऊ शौचालयअगाडि ती युवतीलाई पर्खेर बस्यो । युवतीलाई भन्ने केही वाक्यहरू प्रत्युत्मन्नमतिको गतिले दिमागमा तयार पार्‍यो ।

उसले अपेक्षा गरेभन्दा ढिलो गरेर युवती निस्किन् ।

‘बहिनी ! सुन्नुस् त !’ ऊ बोल्यो ।

‘के हो ॽ भन्नुस् ।’ हलुका क्रोधको शैलीमा आदेश जारी गरिन् ।

‘आज कुन भ्रमले हो, म महिला शौचालयमा पसेछु । म तपाईं र समस्त महिलाहरूसँग क्षमा प्रार्थी छु । यसमा अन्यथा अर्थ नलगाउनु होला । यति भन्न मैले तपाईंलाई यहीँ कुरेको हुँ ।’

आखिर साँचो कुरा यही थियो । महिला शौचालयमा पस्नुपर्ने गरी ऊ कुनै कुराले पनि विचलित थिएन ।

उसले युवतीको अनुहारमा ‘क्षमा होइन, तेरा बोक्रा उक्काउनु पर्ने, अझ यहाँ स्वाङ पार्छस्’ भन्ने भाव झल्केको अनुभूति गर्‍यो ।

युवतीले अघिको वाक्य दोहोर्‍याइन् र थोरै थपिन् ।

‘फिजिकल्ली पनि थाहा हुन्छ नि ! त्यति पनि थाहा नपाउने !’

उपेक्षा भाव प्रकट गर्दै युवती अघि बढिन् । ऊ लुरुलुरु पछि लाग्यो । ती युवती ऊ सहभागी सभाकी होइनन् ।

पछुतोले उसको अनुहार हतप्रभ छ । खाजा खाने मन भएन । लुसुक्क बाटो लाग्न खोज्दै गर्दा ‘ए दाइ ! खाजा नखाई कहाँ हिन्न पाइन्छ हो’ भन्दै एउटा साथीले तान्यो । सामान्य हुने प्रयास गर्दै थोरै खाजा खायो र ‘अलिक हतार छ’ भन्दै बाटो लाग्यो ।

‘फिजिकल्ली पनि थाहा हन्छ नि !’

युवतीको कथन दिमागमा घुमेको घुम्यै छ । उसले अर्थ खुट्याउन सकेन । दुईतीन दिनपछि अनुमान लगायो । ती युवतीले शौचालयको संरचना हेरेरै थाहा हुन्छ, महिला हो कि पुरुषको भनेको हुनुपर्छ ।

पुरुषतर्फ भित्तामा टाँसिएका युरिनल र महिलातर्फ  टुक्रुक्क बस्ने प्रबन्ध वा कमोड, सामान्य संरचना यही हो ।

ऊ पसेको महिला शौचालयमा कमोड थियो, एउटा मात्र । महिलाको हो भनेर थाहा पाउनै पर्ने गरी थप संरचना थिएन ।

उता पुरुषतर्फ पनि एउटा कमोड छ । कमोडको बाहिर भित्तामा दुई वटा युरिनल छन् ।

राती एघार बजेतिर घर पुग्नासाथ उसले आफ्नी भार्‍यालाई दिउँसोको घटना जस्ताको तस्तै सुनायो । भार्याले सान्त्वना दिइन्, ‘जे भयो, भइहाल्यो, अब त्यसमा टाउको नदुखाउनू । जीवनभरलाई शिक्षा पाएँ भन्ने ठान्नू ।’

ऊ कसरी र कुन भ्रमले महिला शौचालयमा पस्यो ! नयाँ ठाउँ भएर झुक्किएको पनि होइन । त्यसरी झुक्किनुको कारण पत्ता लगाउन माथापच्ची गर्नसम्म गर्‍यो । अहँ आजसम्म पत्तो पाउन सकेको छैन ।

घटना सार्वजनिक गर्न यो आलेख तयार गर्ने क्रममा उसले त्यो कालखण्ड पत्ता लगाउने प्रयास गर्‍यो । चार वर्ष बितेछ । ती युवतीको अनुहार सम्झनामा छैन । सिधा हेर्न सकेको भए पो ! तिनलाई भेटे धक फुकाएर कुरा गर्ने थियो ।

अहिले पनि सार्वजनिक शौचालय प्रयोग गर्नु पर्दा ऊ अगुल्टाले हानेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भने झैँ सचेत रहन्छ ।


भर्खर

0