अफगानिस्तानमा तालिवान शासनका दुई महिना | Khabarhub Khabarhub

अफगानिस्तानमा तालिवान शासनका दुई महिना


१५ कार्तिक २०७८, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अहमद राजधानी काबुलको एक प्राइभेट कम्पनीमा सन् २०१९ को सेप्टेम्बरदेखि कार्यरत एक युवक हुन् । तालिवान शासनसँगै कम्पनी टाट पल्टिएपछि उनी बेरोजगार भएका छन् । विद्यालय र विश्वविद्यालय तहका विद्यार्थी बहिनीहरूको पठनपाठनसम्बन्धी जिम्मेवारी थियो उनलाई । जागिरले घर राम्ररी चलेको थियो ।

अफगानिस्तानमा एकाएक तालिवान सत्ता स्थापित भएपछि व्यापारिक क्षेत्रमा पनि नराम्रो झट्का लाग्यो । यससँगै धेरैको रोजगारी गुम्यो ।
अहमदका बाबु ६० वर्षका छन् । बाबुलाई घुँडाको समस्या छ । परिवारको जेठो छोरो भएका कारण घरको जिम्मेवारी अहमदमै धेरै छ । अहिले उनी चरम आर्थिक सङ्कटमा परेका छन् ।

अमेरिकी सेनाको स्वदेश फिर्तापछि एकाएक तालिवान सत्ता स्थापना र कठोर शासन पछिल्लो समय अफगानिस्तानको यथार्थ हो । अहमदजस्ता धेरै युवाहरू बेरोजगारीको समस्यामा परेका छन् ।

जाहरा तालिवान सत्ताअघि नै विश्वविद्यालयकी विद्यार्थी थिइन् । तालिवान सत्तामा आएपछि उनको पढाइ छुटेको छ । उनले दुई वर्षको प्रयासमा चिकित्साशास्त्र पढेर चिकित्सक हुने अवसर पाएकी थिइन् ।

जाहराले चिकित्साशास्त्र अध्ययनको अवसरले जीवन पूर्णरूपले परिवर्तन गरेको र जीवन पूर्ण हुन लागेको अनुभूति गरेकी थिइन् । अहिले पढाइ रोकिएपछि उनलाई जीवन रित्तिएको महसुस भएको छ ।

जाहराले अध्ययनलाई निरन्तरता दिने प्रयास नगरेकी पनि होइनन् । यावत् प्रयासका बाबजुद अहिलेसम्म उनका लागि कुनै उपलब्धि हात लागेको छैन ।

उनले निराशा प्रकट गरेकी छन्, ‘अहिले जीवन बाँकी नै छैन । कुनै उद्देश्यबिना सास फेर्ने र जिन्दगी जबर्जस्ती घचेट्ने काममात्र भइरहेको छ । मैले सपना देखेको जीवन यो होइन । म विद्यालयको विद्यार्थी हुँदा र विश्वविद्यालयसम्म प्रवेश गर्दा सोचेको कुरा र अहिले भोगेको कुरा बिल्कुल फरक छ ।’

उनले निराशा व्यक्त गरिन् । उनी साथीहरूसँग बसेर पढ्न मन पराउने र यसैमा सम्पूर्ण खुसी पाउने बताउँदै यी सबै छिनिएकोमा गुनासो व्यक्त गरेकी छन् ।

अहिले जाहराको समय घरमै बित्ने गरेको छ । उनलाई घरबाहिर निस्कन रुचि पनि छैन । उनी अहिले अङ्ग्रेजी भाषा सुधार्न मिहिनेत गरिरहेको र आफ्नो दिन फर्किनेमा आशावादी रहेको बताउँछिन् ।

जागिरे युवक अहमद, चिकित्साशास्त्रकी विद्यार्थी जाहरा, मानवअधिकारवादी महिला साना, पत्रकार महिला सैयाद, कानून व्यवसायी महिला फरजानाका पीडा उदाहरण मात्र हुन् । कामकाजी महिलाहरू घरमै खुम्चिएका छन् । नीलो मस्जिदमा सेल्फी खिच्न कोही आउँदैन । देशमा आर्थिक सङ्कट बढेको छ ।

अर्की एक महिला साना मानवअधिकारवादी अभियानी हुन् । तालिवान शासनअघि उनी थप केही हकअधिकारका लागि लड्ने र सबैलाई सुशिक्षित गराउने काममा सक्रिय थिइन् । प्राप्त अधिकार उपयोग गर्दै थप अधिकारका लागि प्रयास गर्ने सानाको ध्येय थियो ।

अहिले परिस्थिति फेरिएको छ । नागरिक अधिकार हनन भएको छ । पहिलेजस्तो अहिले हिँडडुल गर्न र मजाले हाँस्न उनी असमर्थ छिन् ।
आफ्नो अधिकारका लागि कानूनसमेत परिवर्तनको आवाज उठाइरहेकी सानाका लागि अहिलेको अवस्था साँच्चै कठिन बनेको छ । त्यहाँको पुरानो कानून त परिवर्तन भयो तर अहिले हकहरू छिनिएका छन् । साना अहिले इरानमा छिन् । उनीसँग जर्मनी प्रवशेको भिसा छ गएकी छैनन् ।

साना अहिले पनि कुनै खराब सपना देखेर ब्युँझिएजस्तै यी सबै नियति अन्त्य हुने र घर फर्कने दिनको पर्खाइमा छिन् । उनी नागरिकले प्राप्त गरेको सबै अधिकार गुमेकोमा विक्षिप्तजस्तै भएकी छन् । आफू विदेशमा रहे पनि आफ्नो आत्मा अफगानिस्तानमै रहेको र यसमा ठूलो चोट पुगेको बताउँछिन् ।

पत्रकारितामा संलग्न सैयाद अफगानिस्तानकी चर्चित मिडिया एन्कर हुन् । ‘मैले पत्रकारको रूपमा पेसागत जिन्दगी गुमाएँ । पेसामा फर्कने आशा छैन र ती सबै कुरा सधैँका लागि गुमेका छन् । अहिले जे भइरहेको छ त्यो सम्झँदा पनि मलाई अत्यास लाग्छ,’ आफ्नो कार्यालय छाडेको दिन सम्झँदै उनी भन्छिन्, ‘हाम्रा कार्यालय रित्तिएका छन् । सबै महिला कर्मचारी घर फर्किएका छन् । हामीले पेसागत पोसाक प्याक गरेर राखेका छौँ ।’

सैयाद अहिले अमेरिकामा छिन् । उनी त्यहीँको शरण चाहन्छिन् । उनका परिवारजन अफगानिस्तानमै छन् । उनी भन्छिन्, ‘२० वर्षदेखिको त्याग र सङ्घर्ष अहिले माटोमा मिलेको छ । मेरो र अफगानिस्तानमा धेरैको सपना केही घण्टाको अन्तरालमा बाढीले बगाएझैँ भएको छ ।’
अहिले एकदमै टाढा रहेर जीवन बिताउनु कठिन भए पनि अमेरिकी जीवनलाई सामान्य रूपमा ग्रहण गरेर त्यहीँ बस्ने चाहना सैयादको छ ।

यी त भए मानवअधिकार हननका कारण अफगानिस्ताको जनजीवनमा पारेको प्रभावका केही उदाहरण ।

तालिवान अधिकारीहरूले आफ्नो देशमा उत्पादन बढाउने र आयात निरुत्साहित गर्ने नीतिका कारण त्यसो भएको जिकिर गर्ने गरेका छन् । तालिवानको दाबी अफगाननिस्तानमै उद्योगको विकास गर्ने र रोजगारी सिर्जना गर्ने भन्ने छ।

नागरिक अधिकार हनन भएको मात्र होइन, अफगानिस्तानको आर्थिक संरचना पनि सङ्कटमा पर्न थालेको समाचार प्रकाशमा आउन थालेको छ । तालिवानले अफगानिस्तानको शासन हातमा लिएको एक महिनापछि उज्बेकिस्तान बोर्डरबाट केही सञ्चारकर्मीले तयार पारेको रिपोर्ट सार्वजनिक भएको थियो ।

रिपोर्टअनुसार अफगानिस्तानका व्यापारीहरू पहिलेजस्तो उज्बेकिस्तानबाट चाहेको जसरी सामग्री खरिद गर्न असमर्थ छन् । उनीहरू यसका लागि प्रशस्त पैसाको जोहो गर्न नसकेको बताउँछन् ।

तालिवान अधिकारीहरूले भने आफ्नो देशमा उत्पादन बढाउने र आयात निरुत्साहित गर्ने नीतिका कारण त्यसो भएको जिकिर गर्ने गरेका छन् । तालिवानको दाबी अफगाननिस्तानमै उद्योगको विकास गर्ने र रोजगारी सिर्जना गर्ने भन्ने छ ।

मजार ए सरिफ अफगानिस्तानको चौथो ठूलो शहर हो । त्यहीँ रहेको छ निलो मस्जिद । यो धार्मिक आस्थाको केन्द्रमात्र होइन, पर्यटकीय हब पनि बनेको थियो । तालिवान शासनअघि त्यहाँ हरेक दिन सेल्फी खिच्ने युवाहरूको जमात हुने गरेको थियो ।

अहिले त्यहाँको अवस्था फरक छ । उक्त मस्जिदमा महिलाहरूका लागि बिहानको समय छुट्ट्याइएको छ, अरू समय पुरुषका लागि । महिलाहरूका लागि छोटो समय भएका कारण उनीहरू हतारिएका हुन्छन् ।

त्यस क्षेत्रको सम्पूर्ण जिम्मेवारी हाजी हिक्मतको हातमा पुगेको छ । आफ्ना समस्या राख्ने मन सबैलाई छ तर संस्कृतिको विरोध गरेको आरोपमा सजाय त भोग्नु पर्ने होइन भन्ने चिन्ता उनीहरूलाई छ ।

हिक्मतले पछिल्लो २० वर्षमा पश्चिमा संस्कृतिले आक्रमण गरेर अफगान संस्कृतिलाई तहसनहस पारेको आरोप लगाउँदै अब कुनै पनि हालतमा सम्झौता नगर्ने बताउने गरेका छन् । मस्जिदमा आफूले बनाएको नियमअनुसार सबै चल्नु पर्ने उनको जोड छ । इस्लाम धर्मअनुसार महिला र पुरुष एकै पटक मस्जिदमा आउन नमिल्ने उनको तर्क छ ।

मस्जिदको दायाँबायाँ कुनै महिलाले सिटी बजाए हिक्मत त्यसलाई अनुशासनहीन भन्छन् । उनका विचारमा संसारका धेरै देशले अफगानी संस्कृति नास गर्न राजधानी काबुल लगायत ठूला सहरमा प्रोपोगान्डा मच्चाइरहेका छन् ।

थुप्रै महिला राति सुत्दा पनि तालिवानको छायाले सताउने गरेको बताउँछन् । अहिले तालिवनाले चिकित्सक र शिक्षिकाबाहेक सबै महिलालाई घरमै बस्न भनेको छ । महिलाकै सुरक्षाका लागि त्यसो गरेको अधिकारीहरूको जिकिर छ ।

पछिल्लो समय तालिवानले सुरक्षा संयन्त्र बलियो बनाएको दाबी गरे पनि अफगानिस्तानमा हत्या र अपहरण लगायत अपराधका घटना बढेका छन् ।

थुप्रै महिला राति सुत्दा पनि तालिवानको छायाले सताउने गरेको बताउँछन् । अहिले तालिवनाले चिकित्सक र शिक्षिकाबाहेक सबै महिलालाई घरमै बस्न भनेको छ । महिलाकै सुरक्षाका लागि त्यसो गरेको अधिकारीहरूको जिकिर छ ।

कानून व्यवसायी फरजाना पनि पछिल्लो परिस्थितिबाट पीडित छिन् । आफ्नो पेसा नै गुमेपछि उनी विदेश जाने या अनुकूल समय आउने पर्खाइमा अफगानिस्तानमै बस्ने भन्नेमा दोमन गरिरहेकी छन् ।

बीस वर्षअघिको झैँ यस पटकको तालिवान सत्ता कठोर नभएको धेरैको मत छ तर त्यस अवधिमा प्राप्त हकअधिकार गुमेको छ । यही अवधिमा शिक्षित भएका महिलाले आफ्नो सबै अवसर गुमाएका छन् । यससँगै आर्थिक सङ्कटले जनजीवन कष्टकर बन्दै गएको छ ।
तालिवानले अफगानिस्तान कब्जा गरेको दुई महिना नाघेको छ । यसको सम्पूर्ण असर बिस्तारै देखिनेछ । अहिले बढेको बेरोजगारीको समस्या र महिला अधिकारको हनन भने गम्भीर विषय बनेका छन् ।

–एजेन्सीहरूको सहयोगमा

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  १० : ०० बजे

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर– कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ । शुक्रबार

अर्थमन्त्री पुन र अमेरिकी यूएस इन्टरनेशनल डीएफसीका सिइओबीच भेट 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस

सर्वदलीय सरकार बनाउन मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सर्वदलीय सरकार बनाउन अपिल

सुप्रिम सहकारी ठगी प्रकरणमा दिपेश पुनसँग ४ लाख धरौटी माग

काठमाडौं– बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले पूर्वउपराष्ट्रपति

दाङमा आगलागीबाट एक जनाको मृत्यु

दाङ– दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ । मृत्यु