हेभी इक्युप्मेन्ट जिन्दगी « Khabarhub
Logo
२९ बैशाख २०७८, बुधबार

हेभी इक्युप्मेन्ट जिन्दगी



काठमाडौँ- नेपोलियन बोनापार्टले भनेका थिए रे– दृढ इच्छा शक्ति भए संसारमा असम्भव भन्ने केही छैन ।

धेरैले असम्भव ठानेकोलाई सम्भव तुल्याइन् तनहुँमा जन्मेकी मुना घिमिरेले । उनी मुलुकको ‘पहिलो महिला स्क्याभेटर चालक’ का रूपमा चिनिन्छिन् ।

मुना उमेरले १६ वर्ष टेकेकी थिइन्, ९ कक्षामा पढ्दै थिइन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । जीवनमा अभावले संघर्ष सिकाउँछ भन्छन् मानिसहरू । मुनाको जीवनमा पनि यस्तै भयो ।

मुना तनहुँमा जन्मिन् । उनका बाआमा बसाइँ सरेर गोरखा जाँदा उनी चार वर्षकी थिइन् । उनको घर छेउमा त्यतिबेला मस्र्याङ्दी जलविद्युत आयोजना आयो । उनले त्यहाँ काम गर्ने ठूला मेसिनहरू देखिन् ।

उनको दिमागमा जिज्ञासा हुन्थ्यो– यी मेशिनहरू कसरी बने होलान् ! कसरी चलेको होला ! म चलाउन सक्छु कि सक्दिनँ होला ! इत्यादि ।

मुनाका बाआमा एउटा क्याम्पमा काम गर्थे । मुना स्कुल जान्थिन् तर ९ कक्षामा पढ्दै गर्दा १६ वर्षको उमेरमा पढाइ छोडिन् । उनी घरमा नभनी नेपालगञ्ज पुगिन् ।

एक जना आफन्तको सहयोगमा उनले नेपालगञ्जको एक निर्माण कम्पनीमा कार्यालय सहयोगीको काम पाइन् । त्यहाँ पनि ठूला मेसिनहरू थिए ।

‘क्यापभित्र कार्यालय सहयोगीका रूपमा काम गर्दा मेरो मन मेशिनमै पुग्थ्यो,’ ती दिन स्मरण गर्दै मुना भन्छिन्, ‘मलाई निर्माणको काम गर्छु र पहिलो महिला चालक बन्छु भन्ने सोच थिएन तर संयोगले त्यहाँ पुगेँ ।’

मानबहादुरले दिए मौका

काम गर्दै जाँदा एकदिन ‘लामा स्वदेश निर्माण सेवा’ का म्यानेजर मानबहादुर लामाले मुनालाई सोधे– तिमी मेशिन चलाउन सिक्ने हो ?

तुरुन्तै उनले भनिन्– सर ! सिक्न पाए त सिक्थेँ नि !

कुरा यतिकैमा सकियो ।

हप्तादिनपछि मुनाले भनिन्– सर ! अस्ति तपाईंले मलाई मेशिन चलाउन सिक्ने हो भनेर सोध्नुभएको थियो, म सिक्न चाहन्छु, मौका दिनुहोस् ।
मानबहादुरले अविश्वासको पारामा भने– सक्छ्यौ र !

आखिर तिनै मानबहादुरले मुनालाई मौका दिए । अफिस बन्द भएपछि मुना मेसिनको काम सिक्न थालिन् ।

शुरूका दिन स्मरण गर्दै मुनाले भनिन्, ‘अफिसको काम सकेर मेशिन मर्मत, सिस्टम, क्रेन, लोडर, डोजर आदिमा ग्रिज, डिजल, मोबिल हाल्न काम सिक्न थालेँ ।’

उनले स्क्याभेटर चलाउन सिक्ने मौका पाइन् करिब ६ महिनामा सिकिन् । यसपछि राजधानी काठमाडौँ आइन् र थानकोटमा डेरा लिइन् । आर्थिकरूपले चरम अभावमा थिइन् । भन्छिन्, ‘थानकोटबाट कोटेश्वर पुग्न ४ रुपैयाँ भाडा लाग्थ्यो, मसँग त्यति पैसा पनि हुँदैन थियो ।’

मुना निर्माण क्षेत्रमै काम गर्न चाहन्थिन् । स्क्याभेटर चलाउन सिकेकी थिइन् तर निर्माण कम्पनीका मान्छेहरू पत्याउँदै थिए । ‘मान्छेहरू ठूलो मेशिन चलाउन १० पटक सोच्छन् तिमी जिद्दी गछ्र्यौ’ भन्दै निरुत्साहित गर्थे तर उनले हिम्मत हारिनन् ।

काठमाडौँका धेरै ठाउँमा भौतारिँदा भौतारिँदै मुना पञ्चकन्या गुप्रअन्तर्गतको ‘तेज कन्ट्रक्सन’ मा पुगिन् ।

तेज कन्ट्रक्सनले पत्यायो

मुनाले तेज कन्ट्रक्सनमा स्क्याभेटर चलाउन थालिन् । बिस्तारै राजधानीबाट स्क्याभेटर लिएर जिल्लाहरू पुग्न थालिन् । तेज कन्ट्रक्सनबाटै रसुवाको चिलिमे हाइड्रोपावर पुगिन् ।

मुना भन्छिन्, ‘स्क्याभेटर लिएर काम गर्न ७० जिल्लामा पुगेँ । भारतको गुजारात पुगेर स्क्याभेटर चलाएँ ।’ उनी सन् २००५ मा ‘समग्र महिलालाई नै प्रोत्साहित गरेको’ मा गुजारातमा सम्मानित पनि भइन् ।

श्रीमानलाई पनि सिकाइन्

निर्माण सामग्री लिएर जाने क्रममा स्याङ्जामा राज श्रेष्ठसँग भेट भयो । दुई जना प्रेममा परे, २०५९ सालमा उनीहरूको बिहे भयो । बिहेपछि उनले श्रीमानलाई पनि निर्माण क्षेत्रमा काम गर्न प्रोत्साहन गरिन् ।

अहिले उनका श्रीमान ‘मुना एण्ड राज कन्ट्रक्सन’ चलालाउँछन् ।

हेभी इक्यूप्मेन्टमा डिभिजनमा जागिरे

काठमाडौँमा हिँड्दै गर्दा मुनाको आँखा मीनभवनमा रहेको ‘हेभी इक्युप्मेन्टमको कार्यालय’ लेखेको बोर्डमा पर्‍यो ।

उनले आफूले उक्त कार्यालयमा काम पाउन सक्ने अनुमान गरिन् । नभन्दै उनले २०६८ सालमा हेभी इक्युप्मेन्टको कार्यालयमा करारमा काम पाइन् र बाग्मती करिडोरमा स्क्याभेटर चलाउन थालिन् ।

२०७२ सालमा लोकसेवा खुल्यो । पोखराबाट ८ जना मागिएकोमा ९ जनाले परीक्षा दिएका थिए । ‘९ जनामा २ जनाको नाम निस्कियो,’ मुनाले भनिन्, ‘भगवानले तँ आट म पुर्‍याउछु भन्दा रहेछन् झैँ भयो, म पास भएँ ।’ फेरि त्यसको १० महिनापछि काठमाडौँबाट पाचौँ तहमा नाम निकालिन् र बढुवा भइन् ।

आत्मविश्वासले मानिसलाई लक्ष्यमा पुर्‍याउँछ भन्छिन् मुना । उनी अहिले हेभी इक्युपमेन्टको कार्यालयमा सिनियर अपरेटर छिन् । ‘हेभी इक्युपमेन्ट अपरेटर संघ’ को महासचिव पनि छिन् ।

जागिरमा बढुवा हुँदै गएपछि पढाइ शुरू गरिन् । उनले कसैलाई थाहै नदिई २०६९ सालमा एसएलसी उत्तीर्ण गरिन् र लगातार १२ कक्षा पनि पूरा गरिन् ।

मनसुनमा पुग्छिन् पहिरोमा

मनसुन शुरू भएपछि मुनालाई कामको चाप बढ्छ । बाढीपहिरोका घटना हुन थालेपछि उनको अधिकांश समय स्क्याभेटरमै बित्छ । गत साउनमा रसुवामा पहिरो पन्छाउँदै गर्दा माथिबाट ढुङ्गा झरेर मेसिनको सिसा फुट्यो, उनी म भागेर बचिन् ।

उनी भन्छिन्, ‘दुर्गम गाउँहरूमा पुग्दा भिरपहिरो छिचोल्दै जानुपर्छ, कति बेला के हुन्छ भन्नै सकिँदैन ।’

हेभी इक्यूप्मेन्टमा आउन आग्रह

महिलाहरू टेम्पो, ट्याक्सी हुँदै ठूला सवारीसाधन गुडाइरहेका छन् । पुरुषसरह काम गर्न सक्छौँ भनेर देखाउन पनि हेभी इक्युप्मेन्टमा आउन मुनाको आग्रह छ ।

मुना भन्छिन्, ‘नेपालभरि ८ वटा हेभी इक्यूपमेन्ट कार्यालय छन् । तिनमा एक–एक जना महिलाका कोटा खुलाएको हुन्छ तर महिलाको आवेदन नै आउँदैन ।’

मुनालाई आफ्नो कर्मप्रति गर्व महसुस हुन्छ । बाल्यकालको त्यो इच्छाशक्ति साकार भएको छ । ‘केही गर्नुछ भने दतचित्त लगाएर आउनुस्,’ उनको सुझाब छ, ‘काम पर्दा जहाँ पनि जान सक्छु भन्ने अठोटले आउनुस् ।’

आफूले सिकेको सिप अरू महिलालाई पनि सिकाउने उनको सोच छ ।


भर्खर

0