आशलाग्दा यी टिन एजर नेपाली खेलाडीहरू « Khabarhub
Logo
३१ बैशाख २०७८, शुक्रबार

आशलाग्दा यी टिन एजर नेपाली खेलाडीहरू



नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक प्रहार गर्ने विश्वकै कान्छा ब्याट्सम्यान बने ।

वैशाखको दोस्रो साता काठमाडौँमा भएको त्रिकोणात्मक शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्ध शतक प्रहार गर्दै उनले विश्व कीर्तिमान बनाए ।

बायाँ हाते यी ब्याट्सम्यानले २४ बलमा अर्ध शतक बनाउँदा उनको उमेर उमेर १७ वर्ष ५० दिन थियो । यसअघि युगान्डाका ब्याट्सम्यान फ्रान्क अकान्कवासाको नाममा यो रेकर्ड थियो । उनले १७ वर्ष ५२ दिनको उमेरमा कतारविरुद्ध अर्ध शतक प्रहार गरेका थिए । उनलाई केवल २ दिनले कुशलले पछि पारे ।

सन्दीप जोराले ३१ जनवरी २०१९ मा यूएईविरुद्ध अर्ध शतक हानेर बनाएको कान्छा ब्याट्सम्यानको कीर्तिमान युगान्डाका ब्याट्सम्यानले गत वर्षको फेब्रुअरीमा तोडेका थिए ।

एक दिवसीय क्रिकेटमा अर्ध शतक प्रहार गर्ने विश्वका कान्छा ब्याट्सम्यानको कीर्तिमान पनि कुशलकै नाममा छ । उनले विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा सो कीर्तिमान बनाएका थिए ।

नेपालकै रोहितकुमार पौडेलको कीर्तिमान उनले भङ्ग गरेका हुन् । गत वर्षको फेब्रुअरीमा कुशलले सो अर्ध शतक हान्दा उनको उमेर १५ वर्ष ३४० दिन थियो ।

यस पटकको क्रिकेट शृंखला दुई नेपाली युवा ब्याट्सम्यानका लागि शुभ बनेको छ । शृंखलाका प्लेयर अफ द सिरिज बनेका कुशल भुर्तेलले ५ खेलमा चारमा अर्ध शतक बनाए ।

पहिलो टी–ट्वान्टी शृंखलामा गरिएको यो प्रदर्शन साँच्चै अस्वाभाविक नै हो । कुशल ५ म्याचमा २७८ रन जोड्न सफल भए । उनले ६९.५० को औसत र १४०.४० को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए । कुशलले फाइनलमा पनि ७७ रन बनाए ।

केही वर्षयता नेपाली क्रिकेटमा सन्दीप लामिछाने चर्चामा छन् । संयोग नै हो कि ! नेपाली खेलकुदका सेलिब्रेटीको रूपमा स्थापित हुँदा सन्दीप पनि १७ वर्षका थिए ।

पहिलो पटक इन्डियन प्रिमियर लिगमा अवसर पाएका सन्दीप यसयता चार वर्षमा धेरै देशका फ्रेन्चाइज लिगमा आफूलाई उपस्थित गराउन सफल भएका छन् ।

अहिले कुशलको उत्कृष्टता निखार्ने काममा वर्तमान प्रशिक्षक डेभिड हटमोरको भूमिका महत्त्वपूर्ण मानिन्छ ।

श्रीलंका, पाकिस्तान र बङ्गलादेशमात्र होइन केरलाको घरेलु टोली हेर्दा समेत युवा खेलाडीलाई स्टार बनाउन र त्यहाँको क्रिकेट उकास्न हटमोरको भूमिका अतुलनीय मानिन्छ ।

तीनै हटमोरको उपस्थिति र कुशलको प्रदर्शनलाई क्रिकेट समीक्षकहरू यो एउटा संयोगमात्र नभएर हटमोरको विशेष क्षमता नै भएको बताउँछन् ।

यो भयो क्रिकेटको कुरा ।

अब केही युवा खेलाडी र अन्य खेलमा बारेमा पनि चर्चा गरौँ । नेपाली भूमिमै पौडी प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्ने कुरा केही समय अघिसम्म असम्भव झैँ लाग्थ्यो ।

हो, त्यही असम्भव जस्तै लाग्ने काम पनि अहिले सम्भव देखिन थालेको छ । यो सम्भावना देखाएकी हुन्, मनाङकी १४ वर्षीय डुवाना लामाले ।

गत साग खेलमा २ रजत र तीन कास्य जितेकी डुवाना नयाँ सम्भावना बोकेर उदाएकी छन् । उमेरको सापेक्षमा उनको उपलव्धि ठूलो हो ।

दुई सय मिटर ब्रेस्ट स्ट्रोकमा २ मिनेट ४४.६८ सेकेन्ड तथा २ सय मिटर बटरफ्लाइमा २ मिनेट ३३.१६ सेकेन्ड साँच्चै राम्रो समय हो । यसै कारण त उनले लामो समयको योजना बुन्न थालिन् ।

आगामी टोक्यो ओलम्पिक डुवानाका लागि त्यति चासोको विषय होइन । उनको चासो सन् २०२४ को पेरिस ओलम्पिक र यसका लागि अहिलेदेखि नै गरिने तयारी हो ।

मुखिया लामा र आइरिस मूलकी मेरी लामाकी छोरी डुवाना ५ वर्षको उमेरमै पौडी पोखरीमा होमिएकी थिइन् । छोरीको यस्तो साहस देखेर आमा ‘मेरो छोरीले साँच्चै केही गरेर देखाउँछे’ भन्ने निष्कर्षमा पुगिन् । आमाको यो विश्वास अहिले केही हदसम्म साकार भएको छ ।

पौडीमा सामान्य रूपमा पिक फर्मको उमेर १९ वर्ष हो । डुवानाका लागि अझ ६ वर्ष बाँकी छ । अझ स्प्रिन्ट र मध्यम दूरीमा त यो भन्दा बढी समय छ । यस कारण डुवानाले आफूलाई कति सुधार गर्छिन्, यसमा धेरैको चासो हो ।

डुवाना सुरुमा जोन डेबी स्कुल पुगिन् । हाल ब्रिटिस स्कुलमा छिन् । फुकेटमा प्रशिक्षण लिइन् । लिंकन स्कुल पनि उनको प्रशिक्षण स्थल बन्यो ।

प्रशिक्षकको रूपमा शुरूमा शुभ श्रेष्ठ र त्यसपछि आनन्द लेप्चा, रत्न, नयना शाक्य, शंकर कार्की, वाङेल लामा र ईश्वर कार्की सबै जोडिए । यी सबैका लागि डुवाना प्रिय पनि हुन् । डुवानाका बाबु मुखिया भन्छन्, ‘आज डुवानालाई मेरी छोरी भनेर चिन्दैनन्, मलाई डुवानाको बाबु भनेर चिन्छन् । आमाबाबुले पाउने सबैभन्दा महत्त्वपूर्ण कुरा हामीले पाएका छौँ । साँच्चै म मेरो छोरी प्रति गौरवान्वित भएको छु ।’

डुवानाको प्रवेशसँगै नेपाली पौडीमा ट्यापरको प्रयोग पनि हुन थालेको छ । डुवाना भन्छिन्, ‘अहिले ट्यापर गराउने काम नयना म्यामले राम्रो गर्नु हुन्छ । वाङेल सरले पनि राम्रो गर्नु हुन्छ ।’

डुवाना, नेपाली पौडीको सुखद भविष्य वाकेर आएकी छिन् । उनको बाटो र योजना तयार गर्दै छन् बाबुआमा । उनको लक्ष्य सन् २०२१ को विश्व जुनियर च्याम्पियनसिप थियो ।

संसारमा देखिएको अस्वाभाविक प्राकृतिक विपत्तिले यो त सम्भव भएन । परन्तु उनका लागि थुप्रै बाटा खुला छन् ।

डुवाना त्यही स्तरको खेलाडीका रूपमा हेरिएकी छन्, जसरी ४ दशक अघि जितबहादुर केसी थिए ।

गत दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जितेकी गौरीका सिंह पनि टिनएजमै छिन् । परन्तु पौडीमा महिलाको पिक फर्म उमेर २२ वर्षको हाराहारी हो । विश्व स्तरीय प्रदर्शन १८ वर्ष उमेरको हाराहारीमा हुने गरेको छ ।

उमेरको आधारमा हेर्दा डुवानाले आगामी केही वर्षमा विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने पौडीबाजको रूपमा आफूलाई उभ्याउने अपेक्षा छ ।

नेपाली खेलकुदको नयाँ सम्भावनामा संरक्षकभूषण बज्राचार्य पनि हेरिएका छन् । पन्ध्र वर्षको उमेरमा राष्ट्रिय च्याम्पियन भएका भूषण हाल छात्रवृत्तिमै अमेरिकाको अलाबामा स्टेट युनिभर्सिटीमा पढ्दैछन् ।

भूषणले बाल्यावस्थामा घरमै टेनिस सिकेका हुन् । संरक्षकका बाबु सूर्यभूषण बज्राचार्य र आमा रेणु कोन्डा दुवै टेनिस प्रशिक्षक हुन् ।

नेपालमा केही खेलकुदमा टिनएजरको प्रभाव धेरै छ । भर्खरै टिनएज सकिएका उसुका विजय सिन्जाली र निमा घर्ती मगरले दक्षिण एसियाली खेलकुदमा ठूलो सफलता हासिल गरेका थिए ।

निमाले लगातार दुई पटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी छन् । विजयले १२औँ दक्षिण एसियाली खेलकुदमा रजत तथा १३औँमा स्वर्ण पदक जितेका छन् ।

केही युवा खेलाडी छन्, जो घरेलु प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा चर्चाको पात्र बनेका छन् ।

नेपालमा भलिबल खेलमा पुरुषभन्दा महिला खेलाडी सेलिब्रेटीको रूपमा छन् । यसमा न्यु डायमन्ड स्पोर्ट्स एकेडेमीका खेलाडी कम उमेरमै स्टार भएका उदाहरण धेरै छन् । यस पटक भने सबैलाई उछिन्दै तनँहुकी उषा भण्डारी नयाँ स्टारका रूपमा उदाएकी छन् ।

गत दक्षिण एसियाली खेलकुदमा रजत पदक विजेता टोलीमा उषा पनि थिइन् । पन्ध्र वर्ष उमेरमा यो सफलता पाएकी उषा घरेलु भलिबलमा आफू आबद्ध नेपाल पुलिस क्लबकी सबैभन्दा श्रेष्ठ खेलाडी मानिन्छिन् ।

उषाको खेल स्तर र क्षमता पर्गेल्नेहरू उनी नेपाली भलिबलको उदाउँदो स्टार हुन् भन्छन् । उषाभन्दा अघि प्रतिभा माली भलिबल खेलमा कम उमेरकी खेलाडीको रूपमा उदाएकी थिइन् ।

नेपाली खेलकुदमा तथ्यांकको अभाव छ । तथ्यांक राख्ने र ‘ट्यालेन्ट सर्च’ गर्ने काममा धेरै जसो संघहरू असफल भएका छन् । धेरैले थाहा नपाएका प्रतिभाशाली युवाहरू देशका कुनाहरूमा हुन सक्छन् ।


भर्खर

0