एटीएम ह्याकिङमा फेरि चिनियाँ, सुरक्षा खतरा बढ्दो | Khabarhub Khabarhub

एटीएम ह्याकिङमा फेरि चिनियाँ, सुरक्षा खतरा बढ्दो



काठमाडौँ— यही चैत १७ गते मङ्गलबार( मार्च ३०) साँझ करिब साढे ५ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी रामेश्वर पौडेललाई फोनमार्फत मेगा बैंकबाट आफ्नो एटीएम बुथमा अस्वाभाविक गतिविधि देखिएको सूचना आयो ।

उनले सूचनाबारे महानगरीय प्रहरी परिसर, टेकुमा जानकारी गराए । लगत्तै परिसरबाट अर्का डीएसपीको नेतृत्वमा र पौडेलको आफ्नै नेतृत्वमा दुई वटा टोली खटिए ।

महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिंहका अनुसार बैंकका कर्मचारीले दिएको सूचनाका आधारमा खटिएको प्रहरीको अनुसन्धान टोलीले काठमाडौँको ज्याठास्थित मेगा बैंकको एटीएम ह्याक गरी रकम निकाल्ने प्रयास गरिरहेका २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गर्‍यो ।

एसएसपी सिंहले खबरहबसँग भने, ‘सीसीटीभी फुटेज अध्ययन गर्दा शुरूमा ती चिनियाँ नागरिकले बैंकको एटीएममा केही खोलेर सिरियल नम्बर आफ्नो मोबाइलमा खिचेको देखियो । दृश्यमा देखिएका अन्य गतिविधिको आधारमा हामीले ती चिनियाँलाई नियन्त्रणमा लिएका हौँ ।’

एसएसपी सिंहका अनुसार प्रहरी टोलीले ती चिनियाँ नागरिक बस्ने ज्याठास्थित एक होटलको कोठामा पुगेर ह्याकिङमा प्रयोग हुने विभिन्न सामान बरामद गरेको छ । प्रहरीले उनको साथबाट १० थान एटीएम कार्ड, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेनड्राइभ, हिडन क्यामरा, ड्रिल मेसिन, चाइनिज युआन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरेको छ ।

नेपालमा अपराध गर्न चीनमै योजना !

प्रहरीका अनुसार ती चिनियाँ नागरिक वाङ सिआओलङको पासपोर्टमा मार्च १० तारिकमा ९० दिनको पटर्यटक भिसा लागेको छ । उनी यही साताको मङ्गलबार दिउँसो १ : ४१ बजे काठमाडौँ आएर होटेलमा कोठा बुक गरेका थिए ।

एसएसपी सिंहले भने, ‘उनी काठमाडौँ आएको केही घण्टामै एटीएम बुथमा पुगेका थिए तर उनले आफ्नो मिसन सफल बनाउन नपाउँदै हामी पक्राउ गर्न सफल भयौँ ।’

सिंहका अनुसार नेपाल आइपुग्ने बित्तिकै एटीएम ह्याक गर्न शुरू गरेकाले उनले चीनमै यस्तो योजना बनाएको देखिन्छ । एसएसपी सिंहले यस विषयमा अनुसन्धान भइरहेको र चाँडै तथ्य बाहिर ल्याउने बताए । अपराधमा उनी एक्लै छन् कि अरू पनि संलग्न छन् भन्ने अनुसन्धान भइरहेको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार ती चिनियाँ नागरिकले आफूले जानाजान एटीएम मेशिन नफुटाएको र रकम चोर्ने उद्देश्य नरहेको जिकिर गरेका छन् । उनले नेपाल आउने क्रममा चीनको ग्वाङचौमा भेटिएका एकजना चिनियाँले भनेबमोजिम फोटो मात्र खिचेको दाबी गरेका छन् ।

प्रहरीलाई उनले दिएको बयानअनुसार ग्वाङचौमा भेटिएका एक जनाले ६५ डलर दिएर एटीएमको स्क्रिन खोली फोटो पठाइदिन भन्दै मेशिन खोल्न केही सामान दिएका थिए । ती व्यक्तिले एटीएम मेशिनको स्क्रिन खोलेर त्यसभित्रको फोटो खिचेर पठाउँदा नेपालमा अपराध नमानिने बताएको उनले बयानमा भनेका छन् ।

ती चिनियाँले चीनबाटै ‘छ्युनाल’ नामको एपबाट होटल बुक गरेको र ठमेलमा दुई दिन बसेर पोखरा जाने योजना रहेको पनि बताएका छन् । प्रहरीले भने उनको कुरा पत्याएको छैन ।

मेगा बैंकको एटीएम फोर्नुअघि उनले अर्को एटीएममा पनि कोशिस गरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । उनले मोबाइल फोनमा खिचेको एटीएमको भित्री भागको फोटो प्रहरीले फेला पारेको छ । फोटो अन्यत्र पठाए वा नपठाएको भने पत्तो लागेको छैन ।

चिनियाँ नागरिक साइबर अपराधमा

२०७६ भदौ १५ गते अहिलेकै जसरी काठमाडौँका केही बैंकका एटीएम बुथबाट अस्वाभाविक रूपमा रकम निकालिएको सूचना प्रहरीमा पुगेको थियो । तत्काल अनुसन्धानमा जुटेको प्रहरीले त्यही दिन साँझ ५ जना चिनियाँ नागरिकलाई एटीएमको पिन ह्याक गरी रकम चोर्दै गर्दा पक्राउ गरेको थियो ।

भोलिपल्ट अर्का एकजना चिनियाँ समातिएका थिए । उक्त घटनामा सहयोग गरेको आरोपमा केही नेपाली पनि समातिएका थिए । एटीएमको पिन ह्याक गरी पैसा निकाल्ने मुख्य व्यक्ति चाहिँ चिनियाँ नै थिए । यो घटनाले निकै ठूलो चर्चा पाएको थियो ।

२०७६ पुस ७ गते प्रहरीले अवैधरूपमा बसेको र आर्थिक अपराधमा संलग्न रहेको आरोपमा काठमाडौँका विभिन्न स्थानमा छापा मारी १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो । चीनको गृहमन्त्रालय (मिनिस्ट्री अफ पब्लिक सेक्युरिटी) का निर्देशक वाङवाङ होको प्रत्यक्ष निगरानीमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौँको संयुक्त टोलीले बालाजु, महाराजगन्ज र बुढानीलकण्ठका ९ वटा घरमा छापा मारी उनीहरूलाई समातेको थियो ।

चीनमा साइबर अपराधमा संलग्न झन्डै ३ सय चिनियाँहरू नेपालका ७० वटाभन्दा धेरै घरमा बसिरहेको सूचना चिनियाँ गुप्तचर संयन्त्रबाट प्राप्त भए पनि १२२ मात्र पक्राउ परेका थिए । वाङवाङ हो सहितको गुप्चर टोलीले नेपाल प्रहरीलाई अन्तिमसम्म विश्वास नगरी आफैँ हतारिँदा उनीहरूले खोजेका मुख्य अभियुक्तहरू फरार भए ।

नेपाल प्रहरीको टोलीले १२२ जना चिनियाँहरूबाट ७४७ वटा मोबाइल फोन, ३३१ वटा ल्यापटप, ९८ वटा सीपीयू, ९९ वटा मोनिटर, २२ वटा पेनड्राइभ र ३२७ वटा सिमकार्ड बरामद् गरेको थियो । त्यसको अनुसन्धान भने चिनियाँ गुप्तचरहरूले गरे ।

नेपाल प्रहरीले गर्न पाएन । नेपाली भूमिमा अपराध भएका कारण संयुक्त अनुसन्धान हुनुपर्नेमा चिनियाँ अधिकारीहरूले साइबर मामिलामा नेपालको क्षमतामाथि प्रश्न उठाए ।

अचानक ती १२२ जना चिनियाँ नागरिक जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा पेश गरिए । उनीहरूमध्ये ३४ जनालाई जनही २ हजार रुपैयाँ र अन्यलाई जनही १ हजार रुपैयाँ जरिवाना तोकेर घुमाउरो पाराले चीनलाई बुझाइयो । चिनियाँ दबाबका कारण थप अनुसन्धान भएन ।

यी घटनाअघि पनि दरबारमार्ग, ठमेल, लाजिम्पाट लगायतका क्षेत्रबाट एटिएम ह्याक गरेको अभियोगमा केही चिनियाँ नागरिक समातिएका थिए । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार अहिलेको घटनाबाहेक पछिल्लो पाँच वर्षमा एक सयभन्दा धेरै चिनियाँ नागरिक पक्राउ परे । उनीहरू ह्याकिङ, डलर तस्करी, वन्यजन्तुका अङ्ग र जडीबुटी तस्करी, अवैध चिकित्सकीय अभ्यास लगायतका घटनामा मुछिएका थिए ।

चिनियाँबाट बैंक ह्याकिङको खतरा

चिनियाँ नागरिकले एटीएम ह्याक गरेर पैसा निकाल्न थालेपछि बुथ सुरक्षामै प्रश्न उठ्न थालेको छ । नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्लका अनुसार चिनियाँ नागरिकहरू नेपालमा पटक पटक बैंक ह्याकिङमा सक्रिय देखिएका छन् ।

मल्ल भन्छन्, ‘नेपालमा अहिले चिनियाँ नागरिकहरूबाट बैंक एटीएम ह्याक गरी रकम निकाल्ने समस्या पटक दोहोरिएको छ । यसले हाम्रो बैंकिङ प्रणालीको सुरक्षामा चुनौती थपेको छ ।’

एटीएम ह्याक हुन थालेपछि केन्द्रीय बैंकले एटीएम मेसिनबाट झिक्ने रकममा समेत कमी गर्न निर्देशन दिएको थियो । बैंकहरूले केन्द्रीय बैंकको निर्देशनअनुसार दैनिक एक लाख रुपैयाँसम्म झिक्न सकिने व्यवस्था परिवर्तन गरी दैनिक ६० हजारमा सीमित गरेका छन् ।

अहिले एकपटकमा २० हजारभन्दा बढी र दिनमा ६० हजारभन्दा बढी रुपैयाँ एटीएमबाट झिक्न पाइँदैन । बैंकहरूले साइबर सुरक्षा प्रणालीमा पनि सुरधा गरेका छन् । प्रहरीले पनि निगरानी बढाएको छ । चिनियाँ नागरिकबाट हुने ह्याकिङको जोखिम भने उस्तै छ ।

अनुसन्धान कठिन

प्रहरीले एटिएम ह्याक गर्दै गर्दा चिनियाँ नागरिकलाई पक्राउ गरे पनि अनुसन्धानमा झमेला व्यहोर्नु परेको छ । परिसर प्रमुख एसएसपी सिंहका अनुसार चिनियाँ नागरिकको नाम थाहा पाउन मुश्किल हुने र चिनियाँ भाषामात्रै बोल्ने भएकाले अनुसन्धानमा समस्या हुने गरेको छ ।

२०७६ भदौ १५ गते एटीएम प्रणाली ह्याक गरी ठूलो रकम निकालेको घटनामा पक्राउ परेका चिनियाँ नगरिकको अनुसन्धानमा प्रहरीलाई निकै कठिनाइ भएको थियो । बयान लिन समेत दोभाषे व्यक्ति खोज्नुपर्ने हुन्छ । दोभाषे मार्फत बयान लिन कठिन हुन्छ ।
पूर्वडीआइजी मल्ल भाषा, नाम लगायतले अनुसन्धानमा कठिनाइ हुने गरेको बताउँछन् ।

यसरी बढ्यो चिनियाँ संलग्नता

प्रधानमन्त्री केपी ओली नेतृत्वको पहिलो सरकारले चिनियाँ पर्यटकलाई आकर्षित गर्न उनीहरूसँग पर्यटकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । उक्त निर्णयसँगै नेपालमा चिनियाँ पर्यटकको आगमन ह्वात्तै बढ्यो ।

पूर्वडीआईजी मल्ल भन्छन्, ‘नेपाल आउने चिनियाँ नागरिकहरूको संख्या बढ्न थालेसँगै अपराधमा उनीहरूको संलग्नता पनि बढ्न थाल्यो ।’
अपराधमा संलग्न चिनियाँ नागरिकले उच्च तहको प्रविधि प्रयोग गर्ने गरेका छन् । भाषाका कारण चिनियाँ दूतावासमा समन्वय गर्न समेत अप्ठेरो हुने गरेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७७, बिहीबार  ५ : ३१ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म