प्रधानमन्त्री ओलीलाई ज्यानकै खतरा छ ? | Khabarhub Khabarhub

प्रधानमन्त्री ओलीलाई ज्यानकै खतरा छ ?

विज्ञहरू भन्छन्: राजनीतिक अस्त्रमात्रै हो



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न एक कार्यक्रममा बोल्दै आफूमाथि ज्यानकै खतरा रहेको बताए ।

आफ्नो सरकारले विकास निर्माणमा तीव्र गतिमा काम गरिरहेकाले देशी–विदेशी तत्त्वहरू आफूमाथि प्रहार गर्न केन्द्रित रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले भने, ‘तपाईंहरू अनौठो नमान्नु होला, यदि ममाथि कुनै शारीरिक हमला नै भयो वा मेरो ज्यान तलमाथि भइहाल्यो भने पनि कुनै अनौठो नमान्नु होला ।’

पार्टीको नेतृत्वमा रहेर पार्टीलाई अघि बढाइरहेको, सरकार प्रभावकारी र गतिशील ढङ्गले सञ्चालन गरिरहेको र विकास निर्माणका कामहरूले गति लिइरहेको हुनाले आफूमाथि प्रहार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले भनेजस्तो उनको सुरक्षा खतरा बढेको हो भने यो निकै गम्भीर कुरा हो । गृहमन्त्रालयले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र अन्य केही उच्च पदस्थहरूको सुरक्षा बढाएको छ । साँच्चै प्रधानमन्त्री ओलीमाथि ज्यानकै खतरा हुने गरी सुरक्षा जोखिम छ ?

पछिल्लो समय चरणबद्धरूपमा भइरहेको राजनीतिक परिवर्तनको विश्लेषण गर्दै सुरक्षा निकायहरूले त्यहीअनुसार सतर्कता अपनाएका छन् । नेपाली सेनाका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्रीमाथिको सुरक्षा थ्रेट (खतरा) को सूक्ष्म विश्लेषण गर्दै उनका निर्धारित कार्यक्रमको सूची हेरेर तत्काल सुरक्षा योजना बनाई कार्यान्वयन हुने गरेको छ ।

गृहमन्त्रालयका एक अधिकारीले प्रधानमन्त्रीको सुरक्षा व्यवस्था बलियो रहेको बताए । खबरहबसँग कुरा गर्दै गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले भने, ‘राजनीतिक हिसाबमा बोल्नु भएको हुनसक्छ । प्रधानमन्त्री भनेको देशको अति विशिष्ट व्यक्ति हुनुहुन्छ । उहाँको सुरक्षामा कुनै किसिमको समस्या नहुने गरी व्यवस्था गरिएको हुन्छ । हामीले उचित सुरक्षा व्यवस्था मिलाएका हुन्छौँ, सुरक्षा निकासँग समन्वय गरेका हुन्छौँ ।’

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालले प्रधानमन्त्रीले बोलेको कुरामा आफूले प्रतिक्रिया दिन नमिल्ने बताए । खबरहबसँग कुरा गर्दै उनले भने ‘उहाँको भनाइमा मैले कमेन्ट गर्न मैले मिल्दैन । नेपाली सेनाले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ अनुसार अतिविशिष्ट र विशिष्ट व्यक्तिहरूलाई सुरक्षा व्यवस्था गर्दै आएको छ ।’
उनका अनुसार सेनाले सुरक्षा खतराको आकलन गर्दै अन्य निकायसँग पनि समन्वय गरेर आवश्यक पर्ने सुरक्षा व्यवस्था मिलाउने गरेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार गृहमन्त्रालयले तयार गरेको कार्यविधिअनुसार प्रधानमन्त्रीको सुरक्षामा प्रहरी परिचालन हुने गरेको बताए । उनले भने, ‘वर्तमान अवस्थाको मूल्याङ्कन गर्दै सुरक्षा चुनौती सामना गर्न सोही अनुरूप नै सुरक्षा व्यवस्था मिलाइएको छ । सुरक्षा संवेदनशीलताप्रति प्रहरी कटिबद्ध छ ।’

उनले प्रधानमन्त्रीको सुरक्षामा कुनै कमी नहुने बताए ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार प्रधानमन्त्रीको सुरक्षार्थ खटिने निकायहरू सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूबीच लगातार समन्वयात्मक बैठक हुने गरेको छ । प्रधानमन्त्रीलाई हुनसक्ने आन्तरिक एवं बाह्य सुरक्षा खतराको सूक्ष्म विश्लेषण गरी त्यसअनुसार सुरक्षाकर्मी परिचालन हुने गरेको छ ।

ती अधिकारी भन्छन्, ‘राजनीतिक रूपमा हुने थ्रेट उहाँहरूको कुरा भयो तर सुरक्षा थ्रेटको विषयमा भने हामी एकदमै संवेदनशील ढङ्गबाट लागेका छौँ, त्यहीअनुसार सुुरक्षाकर्मी परिचालित छन् ।’

प्रधानमन्त्रीले भनेजस्तो थ्रेट छैन

सुरक्षा विज्ञ तथा नेपाली सेनाका पूर्वरथी डा. उमेश भट्टराईका अनुसार प्रधानमन्त्रीले भनेजस्तो सुरक्षा खतरा छैन । उनी भन्छन्, ‘यो अलिकित पोलिटिकल स्टन्ट हो । उहाँलाई साँच्चै थ्रेट छ भने सेनासँग गहिरो छलफल गर्नुपर्छ र बाहिरको हिँडडुल बन्द गर्नुपर्छ । इन्टेलिजेन्ससँग छलफल गर्नुपर्छ । मिडिया ब्रिफिङ गर्नुपर्छ, सभामा भाषण गर्ने होइन ।’

प्रधानमन्त्रीले राजनीतिक अस्त्रका रूपमा सुरक्षा थ्रेट भनेको हुनसक्ने अनुमान नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यातको छ ।

‘प्रधानमन्त्रीलाई दिइएको सुरक्षा व्यवस्था हेर्दा सुरक्षामाथि खतरा हुन देला जस्तो लाग्दैन ।’ बस्न्न्यात थप्छन्,’ उनी भन्छन्, ‘उहाँको यो भनाइ सुरक्षा व्यवस्थाको भन्दा पनि राजनीतिक अस्त्रमात्र हो ।’

सुरक्षाविद् डा. दीपकप्रकाश भट्टका अनुसार पनि प्रधानमन्त्रीको ज्यानमाथि नै खतरा हुने अवस्था छैन । उनी भन्छन्, ‘मेरो अध्ययन र सुरक्षा आकलन अनुसार प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट छैन । उहाँले पोलिटकल भाषा जे बोलिरहनुभएको छ, त्यो उहाँको हतास मानसिकता हो ।’

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल साँच्चै सुरक्षा थ्रेट हो भने प्रधानमन्त्रीले सार्वजनिक स्थलमा त्यस्तो अभिव्यक्ति दिन नहुने बताउँछन् । मल्ल प्रश्न गर्छन्, ‘उहाँ नै यस्तो थ्रेटमा हुनुहुन्छ भने आम सर्वसाधरणको हालत के होला त ?’

मल्लका अनुसार राष्ट्र प्रमुख, सरकार प्रमुखलाई सुरक्षा थ्रेट नै नहुने भन्ने कुरा हुँदैन तर त्यसको स्तर प्रधानमन्त्रीले अहिले भनेको जस्तो होइन ।

यस्तो छ प्रधानमन्त्रीको सुरक्षा प्रबन्ध

गृहमन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७७ (संशोधित) ले प्रधानमन्त्रीलाई अतिविशिष्टको रूपमा वर्गीकरण गरेको छ । सोही आधारमा अति उच्चस्तरको सुरक्षा प्रबन्ध मिलाइएको छ ।

नेपाली सेनाका प्रवक्ता उपरथी सन्तोषवल्लभ पौडेलका अनुसार प्रधानमन्त्रीको सुरक्षामा कार्यविधि अनुसार सबै प्रबन्ध गरेको छ ।

अहिले प्रधानमन्त्रीको सुरक्षार्थ ३ सय जनाभन्दा बढी सुरक्षाकर्मी परिचालित छन् । उनीहरू फरक–फरक ठाउँमा हुन्छन् । प्रधानमन्त्रीको आवत–जावत तालिका, उनको सुरक्षा अवस्था, सम्भावित चुनौती विश्लेषणका बारेमा सुरक्षाकर्मीले सूचना सेटबाटै जानकारी आदान प्रदान गरिरहेका हुन्छन् ।

प्रधानमन्त्री चार तहको सुरक्षा घेरामा हिँड्छन् । सबैभन्दा भित्री घेरामा नेपाली सेना हुन्छ । सादा पोसाकमा खटिएका सुरक्षाकर्मीहरू पनि नेपाली सेनाकै हुन् ।

प्रधानमन्त्रीका साथमा नेपाली सेनाका तालिमप्राप्त सुरक्षाकर्मीहरू आवश्यक सुरक्षा साधनका साथ खटिएका हुन्छन् ।

प्रधानमन्त्रीको निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी चौबीसै घण्टा सूचना संकलनमा सक्रिय हुन्छन् ।

सवारी र निवास एवं कार्यालयमा खटिने सुरक्षाकर्मी स्वचालित हतियारका साथ तम्तयार रहन्छन् ।

तस्वीरहरू– रासस 

 

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ६ : ५६ बजे

महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो

महोत्तरी– महोत्तरीका वनक्षेत्रमा फेरि वन डढेलोका घटना बढ्न थालेका छन्

बोलेरोको ठक्करबाट तीन जनाको मृत्यु

दमक– पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–झिलझिले खण्डमा आज बिहान बोलेरोले र

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर– भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

वैदेशिक रोजगारका क्रममा गर्भवती हुने महिला ‘नेपाली पुरुष’ बाटै शोषणमा

काठमाडौं– वैदेशिक रोजगारका क्रममा गर्भवती भएर फर्किने अधिकांश महिला नेपाली

नेपाल कतार संयुक्त वाणिज्य परिषदको स्थापना

काठमाडौं– नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त