किशोरीलाई विद्यालयमा आइरन चक्की « Khabarhub
Logo
११ कार्तिक २०७८, बिहीबार

किशोरीलाई विद्यालयमा आइरन चक्की



बागलुङ– किशोरी तथा युवतीलाई हुने रक्तअल्पताबाट जोगाउनका लागि विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान सुरू भएको छ ।

बागलुङ नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । कक्षा पाँचभन्दा माथिल्लो कक्षामा पढाइ हुने सबै विद्यालयका छात्रालाई आइतबार आइरन चक्की खुवाइएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए । नेपाल सरकारको पोषण कार्यक्रमअन्तर्गत विद्यालयकै सक्रियतामा यो अभियान सञ्चालन हुनेछ ।

नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य विषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलब्ध गराउने छन् । शिक्षकले आफ्नो विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाउने छन् । अभियानको अनुगमन र सुपरिवेक्षणको जिम्मेवारी विद्यालय नजिकै रहेका स्वास्थ्य संस्थाका प्रमुखलाई दिइएको छ ।

“यो अभियान पोषणको अभियान हो, आज दिएको आइरन चक्कीले भोलि यौवन अवस्थामा महिलामा देखिने रक्तअल्पता कम हुन्छ”, प्रमुख खनालले भने, “बागलुङमा पहिलोपटक सबै वडाका विद्यालयमा पुग्ने गरी हामीले अभियान थालेका छौँ ।” विद्यालय नर्स कार्यक्रम सञ्चालनमा रहेका विद्यालयमा भने नर्सकै निगरानीमा किशोरीले आइरन चक्की खाने व्यवस्था मिलाइएको छ । बागलुङ पाँच वटा विद्यालयमा मात्रै विद्यालय नर्स कार्यक्रम सञ्चालनमा छ ।

१३ हप्तासम्म निरन्तर खुवाइसकेपछि थप १३ हप्ता खाली रहने र त्यसपछिका १३ हप्ता पुनः खुवाइने उनले जानकारी दिए । नगरपालिकाले विद्यालयमा अवश्यक आइरन चक्कीको व्यवस्थापन गरेको छ । यो कार्यक्रममा १० वर्षमाथि १९ वर्षसम्म उमेर समूहका किशोरी सहभागी हुनेछन् । नियमित कार्यक्रम बनाएर अभियानमा कसैलाई नछुट्ने गरी व्यवस्थापन गरिएको प्रमुख खनालको भनाइ छ ।

बागलुङमा चार वर्ष पहिला सुरू गर्ने भनेर थालिएको अभियान विभिन्न कारण देखाउँदै रोकिएको थियो । यस पटकको अभियान भने निरन्तर चल्ने उनले जानकारी दिए । बागलुङ नगरपालिकामा ३४ सामुदायिक र १७ संस्थागत विद्यालयमा कक्षा ५ भन्दा माथि पठनपाठन हुने गरेको छ । सामुदायिक विद्यालयका झण्डै एक हजार र संस्थागत विद्यालयका एक हजार ५०० किशोरी यो अभियानमा सहभागी हुने शिक्षा शाखाका अधिकृत गौरव रानाले बताए ।

किशोरीलाई आइरन किन?

किशोर अवस्थालाई बाल्यावस्थापछि मानव शरीरमा हुने वृद्धि र विकासको दृष्टिकोणले दोस्रो महत्वपूर्ण अवधिको रुपमा लिइन्छ । किशोर अवस्था भन्नाले बाल्यावस्था र वयस्क अवस्थाबीचको मानव विकासको चरणलाई जनाउँछ ।

विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्षको उमेर समूहलाई किशोर अवस्था भनी परिभाषित गरेको छ । किशोर अवस्थामा वयस्क अवस्थाको ४० देखि ६५ प्रतिशत तौल र १५ देखि २० प्रतिशतसम्म उचाइ हासिल हुन्छ । किशोर अवस्थामा तीव्र दरमा शारीरिक वृद्धि विकास हुने भएकाले पोषणको आवश्यकता बढी हुन्छ । पोषणतत्व अधिक आवश्यकता हुने भए तापनि विभिन्न कारणहरु (सामाजिक, सांस्कृतिक, आर्थिक, जीवनस्तर परिवर्तन, मनोवैज्ञानिक आदि) ले गर्दा पोषणयुक्त खानपानमा कमी हुने हुँदा न्यून पोषणको जोखिम हुन्छ, जसमध्ये रक्तअल्पता पनि एक हो ।

रक्तअल्पता भनेको शरीरमा रगतको कमी भएको अवस्था हो । रक्तअल्पताका कारणहरुमध्ये आइरनको कमी एक प्रमुख कारण हो । नेपालमा करिब ३५ प्रतिशत प्रजनन् उमेरका महिलाहरु रक्तअल्पताबाट पीडित छन् भने ३९ प्रतिशत किशोरीहरुमा रक्तअल्पताको समस्या देखिएको तथ्याङ्क छ ।

नेपाल सरकारले रक्तअल्पताको समस्यालाई समाधान गर्न विभिन्न कदम चालिरहेको छ । विगत केही वर्षमा यसको प्रतिशत घटे पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालका किशोरीहरुमा रक्तअल्पता मध्यम जनस्वास्थ्य समस्याको रुपमा रहको छ । यदि यो समस्या ४० प्रतिशतभन्दा बढी किशोरीहरुमा देखिएमा गम्भीर समस्याको रुपमा रहने छ ।

आजका किशोरी भनेका भोलिका आमा हुन् । यदि किशोरी कुपोषित भइन् भने भोलि जन्मने बच्चा पनि कम तौलको र कुपोषित जन्मिन सक्छ, जसले परिवार, समाज र सिङ्गो राष्ट्रको विकासका लागि नराम्रो असर गर्नसक्छ । किशोरीहरुमा आइरनको कमीले हुने रक्तअल्पता भएमा शरीर पूर्ण रुपमा वृद्धि नहुने, कमजोर वौद्धिक विकास हुने, न्यून शारीरिक क्षमता तथा कार्य सम्पादन र दैनिक कार्यमा कम एकाग्रता जस्ता समस्या देखिन्छन् । साथै विभिन्न अनुसन्धानका अनुसार रुक्तअल्पता भएका किशोरीहरु पछि गर्भवती भएमा समयभन्दा अगाडि शिशु जन्माउने र कमतौलको शिशु जन्माउने जस्ता जोखिम व्यहोर्नुपर्ने हुन्छ ।

चिकित्सकहरुका अनुसार शरीरको करिब ६५ देखि ७५ प्रतिशत आइरन हेमोग्लोबिनको रुपमा रगतमा पाइन्छ । आइरनको आपूर्ति कम भएमा हेमोग्लोबिन निर्माण प्रभावित हुन्छ । नेपालमा विद्यमान रक्तअल्पताका विभिन्न कारणमध्ये प्रमुख कारण दैनिक आहारमा आइरनयुक्त खानाको कमी हुनु हो । पोषणयुक्त खाद्यपदार्थको रोजाइबारे कम चेतना, विभिन्न सांस्कृतिक तथा परम्परागत प्रचलन, जुकाको संक्रमण र किशोरीमा रजस्वला चक्र सुरू हुने कारणले गर्दा यो उमेर समूहमा आइरनको आवश्यकता बढी रहेको हुन्छ ।

कलिलो उमेरमा विवाह, किशोरावस्थामा गर्भधारण, पटकपटक गर्भवती हुने जस्ता कारणले गर्दा पनि किशोरीहरु आइरनको कमीबाट रक्तअल्पताको जोखिममा पर्छन् । रक्तअल्पताको न्यूनीकरणका लागि नेपालमा १० देखि १९ वर्षका किशोरीलाई वर्षमा २६ हप्ता (१३÷१३ हप्ता) आइरन चक्की खुवाउने कार्यक्रम रहेको छ । रासस


भर्खर

0