चैतमा १४ जिल्लाका ५५ स्थानीय तहमा नमूना जनगणना गरिँदै | Khabarhub Khabarhub

चैतमा १४ जिल्लाका ५५ स्थानीय तहमा नमूना जनगणना गरिँदै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘राष्ट्रिय जनगणना २०७८’ को नमूना जनगणना संकलन चैतमा हुने भएको छ । चैत ९ देखि २३ गतेसम्म नमुना जनगणना संकलन गर्ने तयारि रहेको केन्द्रिय तथ्यांक विभागले जानकारी दिएको छ ।

केन्द्रिय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठका अनुसार देशका १४ जिल्लाका ५५ स्थानीय तहमा राष्ट्रिय जनगणना २०७८ का लागि परीक्षणका रूपमा नमूना जनगणना हुन लागेको हो । सबै प्रदेशको २/२ जिल्लामा हुने सो नमूना जनगणनामा ११ हजार ६ सय १० घर परिवार सहभागी हुने विभागको अनुमान छ ।

प्रदेश १ को पाँचथर र मोरङ, प्रदेश २ को धनुषा र पर्सा, प्रदेश ३ को मकवानपुर र काठमाडौं, गण्डकी प्रदेशको बाग्लुङ र कास्की, प्रदेश ५ को रुपन्देही र प्यूठान, कर्णाली प्रदेशको सुर्खेत र जुम्ला, सुदूरपश्चिम प्रदेशको कैलाली र दार्चुला जिल्ला नमुना जनगणनाका लागि छनौट गरिएको छ । विभागले नमूना जनगणनाका लागि १ करोड १७ लाख बजेट लाग्ने अनुमान पनि गरेको छ ।

सही तथ्यांक ल्याउने उद्देश्यका साथ २०७८ सालको राष्ट्रिय जनगणनाको नमूना जनगणनाको कामलाई सूरु गर्न लागिएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । उनका अनुसार माघ र फागुन भर आवश्यक जनशक्तिलाई तालिम दिने तथा व्यवस्थापनको तयारी हुनेछ ।

नमूना जनगणनाका लागि सुपेरीवेक्षक १५ जना, गणक ६० जना र अन्य ४७ जना गरी जम्मा १ सय २२ जना जनशक्ति परिचालन गरिने विभागले जनाएको छ । यस जनगणनादेखि शिक्षकहरुलाई जनगणनाको गणकको रुपमा नियुक्त तथा परिचालन नगर्ने विभागको भनाइ छ ।

मन्त्रिपरिषद्द्वारा मापदण्ड स्वीकृत

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनगणना ०७८ को प्रशासनिक व्यवस्थापन तथा आर्थिक सुविधासम्बन्धी मापदण्ड ०७६ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को ६ माघमा बसेको बैठकले मापदण्ड स्वीकृत गरेको हो । यससँगै चैतमा हुन गइरहेको जनगणनापूर्वको तयारी काम गर्न, कर्मचारी भर्ना गर्न, भत्तासम्बन्धी मापदण्ड तय गर्ने बाटो खुलेको विभागका महानिर्देशक श्रेष्ठले जानकारी दिए । हरेक १० वर्षमा गरिने राष्ट्रिय जनगणनाको प्रारम्भिक नमूनाको तयारीलाई सहयोग पुग्नेछ ।

केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ को तयारी अन्तिम चरणमा पुगेको विभागले जनाएको छ । ‘मेरो गणनाः मेरो सहभागितामा’ भन्ने नाराका साथ सुरु गर्न लागिएको राष्ट्रिय जनगणनामा सहज पहुँच, उच्च नेटवर्क र व्यवस्थापन जस्ता पक्षका आधारमा ट्याबलेट र कागजी प्रश्नावली प्रणाली हुँदै बिदेशस्थित कुटनैतिक नियोगमा द्वितीय गणना मार्फत राष्ट्रिय जनगणना सम्पन्न गर्ने लक्ष्य राखेको विभागले जनाएको छ ।

१२ औँ (२०७८) जनगणनाका लागि ५ अर्ब रुपैयाँसम्म खर्च लाग्ने प्रक्षेपण गरिएको छ । त्यस्तै, जनगणनाको काममा ५० हजार जनशक्ति आवश्यक पर्ने देखिन्छ । विभागले संघीय संरचना अनुसार जनगणनाका लागि ७ सय ५३ स्थानीय तहको गणना नक्सा तयार गर्ने, जनगणना व्यवस्थापन र सञ्चालन निर्दे्शिका तथा मापदण्ड तयार गरी स्वीकृति लिने, जनगणनामा आवश्यक प्रश्नावली तयार गर्ने कार्य गरिरहेको छ ।

जनगणना सञ्चालन गर्न ९० कार्यालय

केन्द्रीय तथ्यांक विभागका अनुसार २०७८ को जनगणना सञ्चालन गर्न देशभर ९० कार्यालय रहने छन् । २०६८ को जनगणनामा ७५ जिल्लामा एक÷एक वटा र काठमाडौंमा थप ४ गरी ७९ वटा कार्यालय सञ्चालन गरिएको थियो । तर, यसपटक ७७ वटा जिल्लामा एक÷एक वटा र महानगरपालिकामा आवश्यकता अनुसार थप कार्यालय स्थापना गर्ने तयारी छ ।

जनगणनामा शिक्षकलाई प्रयोग नगरिने

२०७८ को जनगणनामा देशभर गाउँगाउँमा खटिने गणकको रूपमा शिक्षक प्रयोग नगरिने भएको छ । २०६८ को जनगणनासम्म देशभर गणकका रूपमा शिक्षकलाई खटाइएको थियो । ‘२०७८ को सुरुदेखि देशभर जनगणना थालिने र त्यहीवेला विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु हुने कारण अध्ययनमा असर पर्ने देखिएकाले सकेसम्म शिक्षकलाई प्रयोग नगरिने योजना बनाएको विभागले जनाकारि दिएको छ । जनगणना संकलनका लागि शिक्षकको विकल्पमा प्लस टु वा त्योभन्दा माथिल्लो तहमा अध्ययन गरेकाहरूलाई प्रयोग गर्ने तयारीमा विभाग छ ।
विषयगत प्रतिवेदन तयार गरिने

केन्द्रीय तथ्यांक विभागले अहिलेसम्म जनगणनाबाट देशभरको जनसंख्याको विभिन्न पक्ष समेटेर एकल प्रतिवेदन तयार गर्दै आइरहेको छ । तर, आगामी जनगणनादेखि सम्पूर्ण नजिता सार्वजनिक गरेपछि विषयगत प्रतिवेदन पनि बनाउनेछ । यसले तथ्यमा आधारित नीति निर्माण तथा विषयगत रूपमा पनि सहयोग पुग्ने आकलन गरिएको छ ।

मूलतः १४ वटा विषयगत तथ्याङ्कको प्रतिवेदन निकाल्ने तयारी गरिएको विभागले जनाएको छ । विशेष गरी जनसाङ्ख्यिक तथ्याङ्क आउने भए पनि सामाजिक र आर्थिक तथ्याङ्कलाई पनि विषयका आधारमा छुट्याई जनगणनाको प्रतिवेदन निकालिनेछ ।

आगामी २०७८ जेठ २५ देखि असार ८ गतेसम्म हुने जनगणना सङ्घीय नेपालको पहिलो राष्ट्रिय जनगणना हुनेछ । उक्त जनगणनामा नेपालमा कूल घरपरिवारको संख्या ७० लाख र जनसंख्या ३ करोड पुग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ४ : ३७ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द