दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे | Khabarhub Khabarhub

दशैँका यात्रुलाई महामारीको त्रास : उपत्यका भित्रिने र छाड्ने घटे


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् ।

विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने केही लाखले मात्रै आवतजावत गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड/घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाख हुने गरेकोमा यसपाली भने एक लाखको हाराहारीमा रहेको बताउँछन् ।

गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए । यसपाली दशैँमा भने तीन लाखले उपत्यका छाडे । झण्डै दुई लाख भित्रिएका छन् । कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएका हुन् ।

दशैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।

पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ ।

सङ्ख्यात्मक रुपमा विष्लेषण गर्दा यसवर्ष इतिहासमै पहिलो पटक मानिसको आवागमन न्यून भएको प्रहरीको दाबी छ । विसं २०७७ लाई छाड्दा २०७१ पछिको विवरणमा विसं २०७१ र २०७२ मा उपत्यकामा सबैभन्दा कम यात्रुको आवागमन भएको पाइन्छ ।

विसं २०७१ को दशैँमा ६५ हजार सवारी साधनमार्फत आठ लाख यात्रु बाहिरिएका र ५१ हजार सवारी साधानमार्फत पाँच लाख मानिस भित्रिएका थिए ।

यस्तै २०७२ सालमा ५९ हजार सवारी साधानमार्फत आठ लाख ३० हजार यात्रु बाहिरिएका र ५६ हजार सवारी साधनमार्फत पाँच लाख १६ हजार यात्रु भित्रिएका थिए । विसं २०७३ देखि २०७६ सम्म यात्रु भित्रिने र बाहिरिने अवस्था ह्वात्तै बढेको थियो ।

यसपाली भने सबै भन्दा कम यात्रुको चहलपहल देखियो । नयाँ संविधान निर्माण भई सङ्घीयता कार्यान्वयनको समयमा शान्ति प्रक्रिया टुङ्गोमा पुगेको र शान्ति/सुरक्षा अब्बल बन्दै गएकाले वातावरण सहज हुँदा यात्रुलाई एक ठाउँबाट अर्को स्थानमा जानआउन समस्या थिएन । तर यसपाली गत चैतबाट बढेको कोरोना महामारीले चाडबाडलाईसमेत नराम्ररी प्रभावित बनाएको तथ्याङ्कले देखाएको छ ।

प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउँछन् । बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उनको भनाइ छ ।

गतवर्ष र यसपालीका यात्रु आवागमन

यसपाली दशैँको समय कात्तिक १३ गतेसम्मको विवरणमा ५१ हजार ५९४ सवारी साधानमार्फत दुई लाख तीन हजार यात्रु काठमाडौँ भित्रिएका छन् । काठमाडौँबाट भने ५८ हजार सवारी साधानमा झण्डै तीन लाख यात्रु बाहिरिए ।

यो विगत वर्षको भन्दा अत्यन्तै न्यून आवागमन हो । विगतमा सवारीसाधनको सङ्ख्या बराबर यसपाली यात्रुको सङ्ख्या देखिएको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को दशैँका अवधिमा तीन लाख ५९ हजार सवारीसाधनबाट ३० लाख मानिस काठमाडौँ छाडेर बाहिरिएका थिए ।

उक्त साल तीन लाख ३५ हजार सवारीमार्फत १८ लाख ३५ हजार मानिस भित्रिएका थिए । महाशाखा प्रमुख ढकालले कोभिड–१९ का कारण दशैँ लाग्नु अघि नै मानिस उपत्यका छाडिसकेको र दशैँमा सङ्क्रमणको डरले पनि आवागमन नगरेको पाइएको बताउँछन् । कतिपय घर कोठामै बसेर दशैँ मनाइरहेका छन् ।

“अझै मानिस सङ्क्रमणको त्रास नै छ, त्यसैले जो जहाँ छन्, त्यहीँ बसेर दशैँ मनाए”, ढकालले भने, “कतिपय तिहार मानेर फर्कने योजनाका साथ बसेका पनि हुन सक्छन् ।”

यसपाली कोरोनाकै कारण चाडबाडसमेत खल्लो भएको छ । गाउँमा रौनक देखिएको थिएन भने सकेसम्म मानिस आफन्तको हातबाट टीका थाप्नसमेत गएनन् । कतिपयले प्रविधिको प्रयोग गरी आशिर्वाद लिएका छन् । पर्यटन व्यवसायी रमेश सिलवाल यसपाली सावधानी अपनाएरै दशैँ मनाएको अनुभव सुनाउँछन् ।

हुन त नेपाल सरकारले नै जो जहाँ छौँ त्यहीँ बसेर दशैँ मनाउन सार्वजनिक अपिल नै गरेको थियो । सामाजिक सञ्जालमा सर्वसाधारणले कोडिभ–१९ बाट जोगिएर दशैँ मनाउन अनुरोध गर्दै स्टयाटस सार्वजनिक गरेका थिए ।

अधिकांशले भौतिक दूरी कायम गरी स्वास्थ्य मापदण्डको प्रयोग गर्दै दशैँ मनाएका भए पनि कतिपय सर्वसाधारण दशैँ मान्न घर पुगेका थिए । जसका कारण गाउँगाउँमा कोभिड–१९ को सङ्क्रमण बढ्ने आशङ्का कायमै छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  ३ : ३६ बजे

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार