चिनेजानेका र आफन्तले नै गर्छन् बलात्कार | Khabarhub Khabarhub

चिनेजानेका र आफन्तले नै गर्छन् बलात्कार

प्रत्येक ४ घण्टामा १ जना बलात्कृत



काठमाडौँ– नेपाली समाजमा जघन्य अपराध बलात्कारको घटना बढ्दो क्रममा छ । बालिकादेखि वृद्धासम्म पीडित हुने गरेका छन् । शारीरिक अशक्तता र अपाङ्गता भएकाहरू पनि बलात्कारीको निसानामा पर्ने गरेका छन् ।

नेपाल प्रहरीका पूर्वएआइजी नवराज ढकाल नेपालमा विशेषगरी बालिका र किशोरीमाथि हुने गरेको र बलात्कारको घटनाले डरलाग्दो रूप लिन थालेको बताउँछन् । ढकाल भन्छन्, ‘निम्न र मध्यम वर्गका किशोरीमा शिक्षाको स्तर र पहुँच कम हुनु, अभिभावकमा पनि सुरक्षात्मक ढङ्गको ज्ञान नहुनु लगायतका रकाणले बालिका र किशोरीमाथि हुने बलात्कारका घटनामा बढोत्तरी पाएको छ ।’

अर्को विडम्बना के छ भने बलात्कारमा संलग्न अधिकांश व्यक्ति परिवारका सदस्य, आफन्त र चिनेजानेहरू नै हुने गरेका छन् ।

पछिल्लो एक महिनाका केही घटना

गत भदौ १४ गते कैलालीको जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीया युवतीमाथि सामूहिक बलात्कार भयो । बलात्कारको आरोपमा प्रहरीले युवतीका चिनेजानकै चारजनालाई पक्राउ गर्‍यो ।

भदौ १८ गते ७ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका-३१ शंखमुल बस्ने ४० वर्षीय बाबु पक्राउ परे ।

भदौ २० गते तीन बालिकालाई बलात्कार गरेको आरोपमा लम्जुङको क्व्होलासोथार गाउँपालिका–३, बगुमका ४३ वर्षीय नन्दमान गुरुङ पक्राउ परे । उनले चिनेजानेकै ११ वर्ष उमेरका दुई जना र नौ वर्षकी एक बालिकालाई पटक पटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

भदौ २४ गते आफ्नै वृद्ध आमालाई बलात्कार गरी फरार भएका इालमका एक २३ वर्षीय युवकलाई प्रहरीले पक्राउ गर्‍यो । प्रहरीका अनुसार उनी भदौ ७ गते राति ६३ वर्षीया आफ्नी आमालाई बलात्कार गरी फरार भएका थिए ।

भदौ २८ गते सुनसरीको इटहरीमा १२ वर्षीय बालिकालाई छिमेकीले फाकाइफुल्याई बलात्कार गरेको आरोपमा पक्राउ परे ।

भदौ २९ गते सप्तरीको डाक्नेश्वरी नगरपालिका–७, ब्रह्मपुरमा खेतमा घाँस काट्न गएका बेला सामूहिक बलात्कारको शिकार बनेकी एक किशोरीलाई न्याय दिनुको साटो समाजका अगुवाकै दबाबमा मिलापत्र गराएपछि पीडित किशोरीले आत्महत्या गरिन् ।

असोज ७ गते बझाङको मष्टा गाउँपालिका-२ मा घरबाट करिब आधा घण्टाको पैदल दूरीमा रहेको गोठमा गाईबस्तुलाई घाँस दिन गएकी १२ वर्षीया सम्झना विकको गाउँकै चिनेजानको व्यक्तिबाट बलात्कारपछि हत्या भयो ।

असोज ७ गते भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा बुहारीलाई जबर्जस्ती करणी गरेको अभियोगमा ससुरा पक्राउ परे । उनले २० वर्षीया बुहारीलाई पटक-पटक जबर्जस्ती करणी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको दाबी छ ।

असोज १२ गते धादिङमा छोरीलाई बलात्कार गरेको अरोपमा बाबु पक्राउ परे । उनले चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पछिल्लो एक महिनाका यी घटना त आफन्त र चिनेजानेकै व्यक्तिबाट भएका बलात्कारका केही घटना मात्र हुन् । नेपालमा बलात्कारको तथ्याङ्क कहालिलाग्दो छ ।

प्रहरी प्रधानकार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २ हजार २५४ जना बलात्कारको शिकार बनेका थिए । अर्थिक वर्ष २०७६/७७ मा २ हजार १६७ जना बलात्कृत भए ।

चालु आर्थिक वर्षको साउन एक महिनामा मात्र बलात्कारका २६४ वटा घटना भए । प्रहरी प्रवक्ता कुवेर कडायतका अनुसार त्यसयता डेढ महिनामा यो संख्या झनै बढ्दो मात्रामा छ ।

उमेरका आधारमा २ वर्षको तथ्याङ्क

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८ साउनमा मात्र २६४ वटा बलात्कारका घटना भइसकेका छन् ।

आफन्तबाटै असुरक्षित

प्रहरीका अनुसार नेपालमा अधिकांश बलात्कारका घटनामा आफन्त र चिनेजानेका व्यक्तिको संलग्नता हुने गरेको छ । प्रहरी प्रवक्ता कुवेर कडायत भन्छन्, ‘अहिलसम्मको तथ्याङ्क विश्लेषण गर्ने हो भने बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्त, छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।’

नेपाल प्रहरीले विश्लेषण गरेको तथ्यांकले बलात्कारमा आफन्तको संलग्नता पुष्टि गर्छ ।

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/७७ मा देशभर भएका २ हजार १६७ वटा बलात्कारका घटनामा आफन्त र चिनेजानेका व्यक्तिबाटै ९१५ वटा घटना भएको देखिएको छ ।

बलात्कारमा कसको संलग्नता ?

प्रहरी प्रवक्ता कडायतका अनुसार आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभन लगायतका कारणबाट बढीजसो घटना घटेको पाइएको छ ।

दैनिक ६ जना बलात्कारको शिकार

प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार नेपालमा सरदर दैनिक ६ जना बलात्कार हुने गरेको छ ।

प्रहरी प्रवक्ता कडायत भन्छन्, ‘आर्थिक वर्ष २०७६/७७ मा देशभर भएका बलात्कारको घटना विश्लेषण गर्ने हो भने दैनिक सरदर ६ जना चेलीको बलात्कार हुने गरेको देखिन्छ ।’ उनका अनुसार यो निकै भयावह अवस्था हो ।

प्रहरीको तथ्याङ्क विश्लेषण गर्दा नेपालमा प्रत्यक ४ घण्टामा एक जनाको बलात्कार हुने गरेको देखिएको छ । सबैभन्दा बढी बलात्कार हुनेमा ११ देखि १६ वर्ष उमेरका किशोरीहरू रहेका छन् ।
यो तथ्याङ्क प्रहरीमा आएको उजुरीअनुसार हो । धेरै प्रहरीसम्म आइपुग्दैनन् ।

उजुरी कम पर्दा समस्या

नेपालमा बलात्कार सबैभन्दा कम उजुरी पर्ने अपराधमा पर्छ । पूर्व एआईजी नवराज ढकाल भन्छन्, ‘बलात्कारको घटनामा अधिकांश किशोरीहरू पीडित छन् । किशोरीहरू उजुरी दिन आफैँलाई सुरक्षित ठान्दैनन् । परिवार, नातागोता र समाजको डरले उजुरी दिन हिच्किचाउँछन् । उनीहरू घटनालाई बाहिर ल्याउँदा दोहोरो पीडामा पर्छन्, एक बलात्कारको अर्को सामाजिक लाञ्छनाको ।’

पीडितहरू पीडकले कानूनअनुसारको सजाय पाउनेमा पनि ढुक्क हुने अवस्था छैन । शक्तिको दुरुपयोग, राजनीतिक संरक्षण, आर्थिक प्रलोभन, नातावाद, कृपावाद जस्ता प्रवृत्ति पीडितको न्यायप्राप्तिको तगारो हुने गरेको छ ।

नेपाल प्रहरीको विशेष ब्यूरोको कमाण्ड सम्हालिसकेका पूर्वडीआइजी हेमन्त मल्ल कानूनअनुसार दोषीले सजाय नपाएकै कारण पनि बलात्कारका घटना बम नभएको बताउँछन् । उनी भन्छन्, ‘सामान्यतया पहुँच भएका व्यक्ति सुरुमै मिलापत्र गराउँछन् । अदालत पुगिहाले पनि धरौटी राखेर छुट्छन् । अधिकांश घटनामा गरिब व्यक्तिमात्र जेल जाने गरेका छन् ।’

पहुँचवाला अपराधीले उन्मुक्ति पाउँदा र फौजादारी अपराधमा मिलापत्र गराउँदा समस्या थपिएको मल्लको तर्क छ ।

कानूनी व्यवस्था

नेपालको मुलुकी अपराध (संहिता) ऐन २०७४ परिच्छेद १८ मा जबरजस्ती करणीसम्बन्धी व्यवस्था छ । जसमा कुनै पनि प्रकारको करकाप, प्रलोभन, धम्की, करणी गरेमा घटनाको प्रकृतिअनुसार सजायको व्यवस्था छ ।

दस वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेमा १६–२० वर्ष, १०–१४ वर्ष उमेर समूहको बालिकाको हकमा १४–१६ वर्ष, १४–१६ वर्ष उमेर समूहका बालिकाको हकमा १२–१४ वर्ष, १६ देखि १८ वर्षसम्मका बालिकाको हकमा १०–१२ वर्ष र १८ वर्षदेखि माथि उमेरको महिलाको हकमा १० वर्ष सजाय तोकिएको छ ।

कानूनमा जेजस्तो लखिए पनि यसको कार्यान्वयनको पक्ष भने निरीह छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ११ : ४५ बजे

एक जना मन्त्री सहित सरकार विस्तार गर्दै कर्णालीका मुख्यमन्त्री कँडेल

कर्णाली– सत्ता साझेदार दलको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्री बनेका यामलाल

विपक्षीले अपव्याख्या गरे, हाम्रो सरकार २०८४ सम्म जान्छ : खगराज अधिकारी

काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेकपा (एमाले) बाट लाभका

उपनिर्वाचनको आज प्रचार प्रसारको अन्तिम दिन

इलाम– इलाम क्षेत्र नम्बर-२ मा वैशाख १५ मा हुने उपनिर्वाचनका

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित 

वासिङ्टन– अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल

नेपाल र कतारबीच विभिन्न ८ वटा समझदारीमा हस्ताक्षर

नेपाल र कतारबीच विभिन्न ८ वटा विषयमा समझदारी भएको छ