‘कोरोनाको औषधि बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन्’ | Khabarhub Khabarhub

‘कोरोनाको औषधि बनाएँ, संक्रमितले पत्याए अरू वास्तै गर्दैनन्’



बुटबल– भैरहवाका आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका बिरामी निको भएको बताएका छन् ।

उनले आफूले बनाएको औषधिको नाम ‘अर्कबटी’ राखेका छन् । तीन दशकदेखि जडीबुटीमा अनुसन्धान गर्दै आएका आयुर्वेदाचार्य डा. गौतमले कोरोना संक्रमित १५३ जनाले उक्त औषधि सेवन गरेकोमा १३५ जना निको भइसकेको बताए ।

डा. गौतमका अनुसार बाँकी १८ जना बिरामीले पनि औषधि सेवन गरिरहेका छन् । नेपालमा पाइने ५ प्रकारका जडीबुटी र स्वर्ण घटक द्रव्य मिश्रण गरी आयुर्वेदिक औषधिको गोली तयार पारेका उनको भनाइ छ । चीनको वुहान प्रान्तमा कोरोना भाइरसका कारण मानिसको मृत्यु भएको खबर सुन्नसाथ जडिबुटीबाट औषधि बनाउन आफूले अध्ययन थालेको उनले बताए ।

२५ सय वर्षपहिले अत्रि ऋषिले पत्ता लगाएको सूत्रअनुसार श्वासप्रश्वास र पाचन नलीमा हुने रोग निको पार्न प्रयोग गरिएको जडिबुटी नै कोरोना भाइरसको औषधि बन्नसक्ने ठानेर सोही विधिअनुसार औषधि तयार पारेको डा. गौतमले बताए । निजीरूपमा १५ लाख रुपैयाँ खर्च गरेर ‘अर्कबटी’ आयुर्वेदिक औषधि तयार पारेको उनको भनाइ छ ।

डा. गौतमका अनुसार कोरोना भाइरस संक्रमण सुरु हुनुअघि उनको नाकमा मासु पलाएको थियो । साथीहरूले उपचारका लागि भारत जान सुझाएका थिए । उनले भने, ‘मैले आफैँ औषधि बनाएर प्रयोग गरेँ, ५ दिनमै नाकको घाउ निको भयो, रुघाखोकी लागेका बिरामी निको भए ।’

कोरोना भाइरस देखिएपछि उनले औषधि बनाएर प्रचार नगरी चिनेका साथीहरूलाई दिए । उनीहरूलाई ठिक भयो । भारतबाट आएका आफ्ना साथीहरूलाई पनि दिए । सबै निको भए, माग बढदै गयो ।

डा. गौतमले भीम अस्पताल, भैरहवामा आइसोलेसनमा रहेका बिरामीलाई निःशुल्क वितरणका लागि आफ्नो औषधि पठाए । लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका अध्यक्ष सूर्यबहादुर भट्टाईलाई पनि औषधि पठाए । तर, उनीहरूले वास्ता गरेनन् ।

पछि उनले पाएको जानकारीअनुसार अस्पतालका चिकित्सकहरू अप्रमाणित औषधि बिरामीलाई दिन तयार भएनन् ।
डा. गौतम जडिबुटी सहकारी लिमिटेडअन्तर्गत काम गर्छन् । जडीबुटीबाटै देश समृद्ध बनाउनुपर्छ उनको अभियान छ ।

उनी २०६८ सालदेखि ‘त्रयम्बकम्य जडिबुटी सहकारी’ मार्फत अनेक प्रजातिका जडिबुटीको प्रवद्र्धन, संरक्षण र अनुसन्धानमा छन् ।

रुपन्देहीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि एकाएक ‘अर्कबटी’ को माग बढेको छ । भैरहवाको युनिभर्सल मेडिकल कलेजमामा कार्यरत एक जना संक्रमित स्वास्थ्यकर्मीले अर्कबटी सेवनपछि श्वासप्रश्वासमा आफूलाई सुधार भएको बताइन् । उनले भनिन्, ‘मलाई संक्रमण थियो, मेरो श्रीमानको कन्ट्याक्ट ट्रेसिङ भयो तर रिपोर्ट नआउँदै आत्तिएर अर्कबटी खानुभयो, अहिले सुधार भएको छ ।’

यी स्वास्थ्यकर्मीको उमेर ५२ वर्ष र उनका श्रीमानको उमेर ६५ वर्ष छ ।

बुटबलका पत्रकार डिआर घिमिरेले पनि बुटबलको नयाँ गाउँमा १० जना संक्रमित अर्कबटी सेवन गरेर निको भएको बताए । बुटबल उपमहानगरका एक कर्मचारी र उनकी श्रीमतीले पनि अर्कबटी सेवन गरेको र संक्रमणमुक्त भएको घिमिरेले बताए ।

कतै आश्वासन त कतै आरोप

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले आयुर्वेदिक औषधि अर्कबटीबारे जानकारी पाएर शुभकामना दिएको डा. गौतमले बताए । वागमती प्रदेशका मन्त्री अरुण नेपालले अनुसन्धानका लागि प्रयोगशाला आवश्यक भए सहयो गर्ने आश्वासन दिएको पनि डा गौतमले बताए ।

डा. गौतमले प्रदेश ५ कै सरकारले भने बेवास्ता गरेको आरोप लगाए । उनले भने, ‘प्रदेशमा कुनै पनि मन्त्री र सांसदले औषधिबारे कुरा बुझ्न खोजेनन् । उल्टै आयुर्वेद चिकित्सकले भ्रम फैलाएको भने ।’

औषधि दर्ताको प्रयास

डा. गौतमले आफूले बनाएको अर्कबटी आयुर्वेदिक औषधि दर्ताका लागि औषधि व्यवस्था विभागमा पठाएको बताएका छन् । श्वासप्रश्वास, रुघा र पाचनसँग सम्बन्धित रोग निको पार्ने औषधिका रूपमा दर्ता गर्ने प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

पाँच प्रकारका जडीबुटी र स्वर्ण धातु मिश्रित अर्कबटी दर्ता भएपछि वैधानिक रूपमा बजारमा ल्याउने डा. गौतमले बताए । स्वाद र गन्ध थाहा नपाउने, ज्वरो आउने, पखला लाग्ने र बान्ता हुने लक्षणका बिरामी अर्कबुटीले १० दिनमा निको हुने डा. गौतमको भनाइ छ ।

उनका अनुसार रोगको अवस्थाअनुसार औषधिको मात्रा फरक हुन्छ । औषधिको माग धेरै आएको भए पनि दर्ता नभएकाले आपूर्ति नगरेको उनले बताए । उनका अनुसार नेपालमा वार्षिक ५ अर्बको रुपैयाँको आयुर्वेद औषधि खपत हुन्छ । यसमध्ये भारतबाट साढे ३ अर्बको आउँछ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ६ : २१ बजे

सातामा ९.२१ अंकले घट्यो नेप्से, कुन दिन कस्तो थियो बजार ?

काठमाडौं– यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ९.२१ अंकले घटेको छ

फेरि फिल्ममा अभिनय गर्दै ऋषि धमला

काठमाडौं– विभिन्न विषयमा चर्चामा आइरहने पत्रकार ऋषि धमला पुनः फिल्ममा

मुलुकलाई आत्मनिर्भर बनाउन कृषिलाई प्राथमिकता दिन माधव नेपालको सुझाव

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको

एमाले सांसद ढकालविरुद्ध परेको रिट दरपीठ

काठमाडौं– नेकपा एमालेका सांसद एकनाथ ढकालविरुद्ध सर्वोच्च अदालतमा परेको रिट

खोटाङमा आगलागीबाट ७९ घर जले, एक जनाको मृत्यु

खोटाङ- जिल्लाका विभिन्न ठाउँमा भएको आगलागीबाट ७९ वटा घर जलेर