निर्मला बलात्कार–हत्या प्रकरण : यसरी पाए आठ प्रहरीले सफाइ | Khabarhub Khabarhub

निर्मला बलात्कार–हत्या प्रकरण : यसरी पाए आठ प्रहरीले सफाइ

यातना दिएको र प्रमाण नष्ट गरेको आरोप सिद्ध भएन



महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानमा दुई वर्षदेखि मुद्दा खेपिरहेका ८ जना प्रहरीले सफाइ पाएका छन् ।

आदालतको फैसलाअनुसार यातना दिएको र प्रमाण नष्ट गरेको भन्ने आरोप प्रमाणित हुन नसकेकाले उनीहरूले सफाइ पाएका हुन् ।

उक्त घटना अनुसन्धानमा प्रक्राउ परेका व्यक्तिहरूलाई यातना दिएको तथा घटनाको प्रमाण नष्ट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्टसहित आठ जना प्रहरीले सफाइ पाएका हुन् ।

बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बाँस्तोलाको इजलासले उनीहरूलाई सफाइ दिने फैसला सुनाएको हो । अनुसन्धानका क्रममा प्रक्राउ परेका दिलीप सिंह विष्टलाई यातना दिएको आरोप प्रहरीमाथि थियो ।

दिलीप सिंहको शरीरमा कुनै प्रकारको चोटपटक नलागेको र अदालतमा आफूलाई प्रहरीले यातना दिएको भनी नखुलाएको आधारमा सफाइ पाएको कञ्चनपुर जिल्ला अदालतका स्रेस्तेदार यदुराज शर्माले बताए ।

यसैगरी, प्रमाण नष्ट गरेको कसुरमा निर्मलाको मृत शरीर पानीमा डुबेकोले शरीरमा हिलो लागेको हुँदा निजको शरीरमा कुनै चोटपटक लागेको छ वा छैन भनी हेर्न निजको शरीर तथा कपडा धुने काम पनि अनुसन्धानको बाटो भएको आधारमा उनीहरूलाई सफाइ दिने फैसला भएको स्रेस्तेदार शर्माले बताए ।

घटना अनुसन्धानमा खटिएका कञ्चनपुरका तत्कालीन एसपी विष्टसहित प्रहरी नायव उपरीक्षक (डिएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक (इन्स्पेक्टर) एकेन्द्र खड्का, अर्का इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षक (सई) हरसिंह धामी, सई रामसिंह धामी, जवान चाँदनी साउदले सफाइ पाएका छन् ।

यसैगरी केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी) बाट गएका प्रहरी डिएसपी अंगुर जिसीमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो । उनीहरूविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा मुद्दा दायर गरेकी थिइन् ।

प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दिलीपसिंहका तर्फबाट उनका दाजु खड्कसिंह विष्टले यातना दिएको आरोपमा प्रहरीमा उजुरी दिएका थिए । जिल्ला प्रहरी कार्यालयको अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमार्फत् कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

अभियुक्तहरू २०७५ साल चैतमा धरौटीमा रिहा भएका थिए । डीएसपी अंगुर जिसी यातनासम्बन्धी मुद्दामा ५ लाख र प्रमाण नष्ट गरेको मुद्दामा ४ लाख रुपैयाँ धरौटी छुटेका थिए । तत्कालीन एसपी विष्ट प्रमाण नष्ट गरेको मुद्दामा साढे ४ लाख र यातना दिएकोमा ६ लाख गरी कुल साढे १० लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

त्यस्तै, दुबै मुद्दामा इन्स्पेक्टर एकेन्द्र खड्का र डीएसपी ज्ञानबहादुर सेठीलाई जनही ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । प्रमाण नष्ट गरेको आरोपमा इन्स्पेक्टर भट्टलाई ४ लाख, सई हरसिंहलाई ३ लाख ५० हजार, सई रामसिंहलाई ३ लाख, जवान चाँदनी २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए ।

तत्कालीन एसपी विष्ट र वडा प्रहरी कार्यालयका तत्कालीन प्रमुख रहेका प्रहरी निरीक्षक भट्टलाई प्रहरी सेवाबाट हटाइएको छ । अन्य प्रहरी निलम्बनमा छन् ।

दुई वर्ष अघि, साउन १० गते, साथीको घर गएकी कञ्चनपुरको निम्बुखेडाकी निर्मला फर्किने क्रममा बेपत्ता भएकी थिइन् । भोलिपल्ट उनको मृत शरीर पानी भएको उखुबारीमा फेला परेको थियो ।

निर्मालाको बलात्कारपछि हत्या भएको प्रमाणित भएको थियो । घटनाको दुई वर्ष पूरा हुँदा पनि दोषी फेला परेको छैन । प्रहरीले दोषी भनेर सार्वजनिक गरेको दिलीप सिंह डिएनए नमिलेपछि निर्दोष देखिएका थिए ।

अनुसन्धानका क्रममा धेरै जनाको डिएनए परीक्षण भए पनि दोषी फेला परेको छैन । घटनास्थलमा र अनुसन्धानका क्रममा प्रहरीले प्रमाण मेटिने गरी त्रुटि गरेकोले आरोप लाग्दै आएको छ ।

स्थानीय प्रहरी टोली, केन्द्रीय अनुसन्धान ब्यरोको (आआइबी) को टोली र निजामती टोलीले अलग अलग अनुसन्धान गरेका थिए । निर्मलाकी आमाले दिलीसिंहकै विरुद्ध जाहेरी दिएकी भए पनि प्रहरीले दोषी ठहर गर्न र मुद्दा अघि बढाउन सकेको छैन।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ४४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६