दुर्घटनाको संघारमा नेकपा « Khabarhub
Logo
२२ श्रावण २०७७, बिहीबार

दुर्घटनाको संघारमा नेकपा



एमाले र माओवादी गठबन्धन मिलेर चुनाव जितेपछि केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने भयो । तर, माओवादीले मन्त्रिपरिषदमा जाने सदस्यको नाम दिएन ।

केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका बीच पार्टी एकताको सहमति भयो तर नेतृत्वमा कुरा मिलेन । यसैले तत्काल माओवादीले मन्त्रीमा नाम पठाएन ।

तत्कालीन चुनावी परिणम हेरेर केपी ओली अध्यक्ष र प्रचण्डलाई सह–अध्यक्ष राख्ने तयारी थियो तर प्रचण्डले मानेनन् । र, दुई जना अध्यक्ष रहने सहमति भयो ।

नेतृत्वको कुरा मिलेपछि बल्ल नीतिको बारेमा बहस भयो । तर, महाधिवेशनसम्म जनताको बहुदलीय जनवाद वा जनताको जनवाद दुवै सिद्धान्त स्थगित राख्ने सहमति भयो । पार्टी चल्ने भनेकै नीति र विधिले हो । तर, नेकपामा दुई वर्षदेखि थाती रहेको यो विषय अहिले पनि टुङ्गो लाग्न सकेको छैन ।

नेकपा अहिले अनौठो समस्यामा छ । सात बुँदे कार्यसूचीमा बहस गर्न सुरु भएको स्थायी कमिटी बुँदा नम्बर दुईमै प्रवेश गर्न सकेको छैन । बैठकमा अहिलेसम्म सीमा अतिक्रमण र नक्सा सार्वजनिक गरिएको बारेमा मात्र वहस भएको छ । यहाँसम्म कि कार्यसूचीको पहिलो नम्बरमा रहेको कोभिड–१९ को बारेमा समेत बहस भएको छैन ।

खासमा पहिले नीति, विधि अनि मात्र नेतृत्व चयन हुनुपर्ने थियो । नेकपाको उल्टो यात्रा अझै जारी छ । नीति र विधि विना नै कम्युनिष्ट पार्टी कसरी बन्न सक्छ ? यसरी किन पार्टी बन्छन त ? विश्लेषक विष्णु सापकोटाका अनुसार केपी ओलीले पार्टी एकता गर्नुको एकल उद्देश्य नै आफू प्रधानमन्त्री र अध्यक्ष हुनका लागि थियो । जब त्यो एकल औचित्य भङ्ग हुन खोज्छ, त्यस्तो एकता उनलाई किन चाहियो ? कुरा यति हो ।

नेकपाभित्रको विवाद समाधानका लागि असार गत १० गते स्थायी कमिटीको बैठक डाकिएको हो । खासमा यो स्थायी कमिटी ‘स्थगित कमिटी’ जस्तो हुन थालेको छ । साउन १३ गते ओली समुहले बैठक स्थगन र प्रचण्ड–माधव समूहले बैठक सञ्चालनको द्वन्द्व चल्यो ।

प्रधानमन्त्री समेत रहेका अध्यष केपी ओलीले बैठक स्थगित गरेपछि किन बालुबाटारमै प्रचण्ड समूहले बैठक राख्यो ? खासमा बालुबाटारमा नै बैठक राख्नुको मतलब केपी ओलीलाई नै अभिभावक मान्नु हो ।

मङ्गलबार बालुबाटारमै प्रचण्ड–माधव समूहले स्थायी कमिटीको भेला सुरु गरे लगत्तै कुनै समयमा माधव नेपाल समूहमा रहेका मन्त्री योगेश भट्टराईले लेखे– दुर्घटना नजिक देखिन्छ । सबै रोकिऔँ । सल्लाह गरौँ ।

यति लेखे तर भट्टराई बैठकमा गएनन् । यो बैठकमा उनी जस्तै १६ जना सदस्य गएनन् । बरु, दिउँसो ६ बुँदे प्रस्ताव सार्वजनिक गरेका वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली साँझ श्रीमती राधिकसहित भैँसेपाटीमा पुगे । यो ओलीको डिनर डिप्लोमेसी थियो, साथमा थिए– महासचिव विष्णु पौडेल ।

ख्याल गर्नुपर्ने कुरा के छ भने यो बैठक गोप्य थिएन, फोटो सेसन गरेर तस्बिर सार्वजनिक गरिएको छ । बैठक भैँसेपाटीमा भएको थियो तर यसको परकम्प खुमलटारमा गएको थियो । यति भएपछि ओली भैँसेपाटी किन गए भनेर धेरै टाउको दुखाउनै परेन ।

नेकपा बैठक महिना दिनदेखि चलेको छ तर पार्टीमा निरन्तर विवाद भने करिब ६ महिना देखि चलिरहेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली यसबीचमा पार्टीभित्र अल्पमतमा खुम्चिएर बस्नु परेको छ भने सरकारको कामको बारेमा चौतर्फी आलोचना भइरहेको छ ।

उनले पार्टीका साथीहरूलाई विश्वासमा लिन सकेका छैनन् भने सरकारलाई स्फूर्ति दिन सकेका पनि छैनन् । उनी आलोचनाको शिखरमा छन् ।

दुई शरीर मिल्दासम्म जरासन्धलाई कसैले हराउन सक्दैन, छुटिनासाथ स्वतः समाप्त हुन्छ । ४० प्रतिशत भए त नयाँ पार्टी बनाइहाल्थेँ वा बहुमत भए त प्रधानमन्त्री हटाइहाल्थेँ भन्ने जस्ता उत्तेजक र गैरजिम्मेवार अभिव्यक्तिले एकतामा बल पुग्ला र ?

थाहा अभियन्ता रूपचन्द्र विष्ट रुदानेले भनेका छन्– केटाकेटी बिग्रे बाबुआमा दोषी, जनता बिग्रे सरकार दोषी, सरकार बिग्रे व्यवस्था दोषी र व्यवस्था बिग्रे अगुवा दोषी ।

नेकपा अहिले अनौठो समस्यामा छ । सात बुँदे कार्यसूचीमा बहस गर्न सुरु भएको स्थायी कमिटी बुँदा नम्बर दुईमै प्रवेश गर्न सकेको छैन । बैठकमा अहिलेसम्म सीमा अतिक्रमण र नक्सा सार्वजनिक गरिएको बारेमा मात्र वहस भएको छ । यहाँसम्म कि कार्यसूचीको पहिलो नम्बरमा रहेको कोभिड–१९ को बारेमा समेत बहस भएको छैन ।

ओली किन राजीनामा दिन तयार छैनन् ?

जब प्रधानमन्त्री केपी ओलीले भारतले सरकार ढाल्न खोजेको र यसमा पार्टीका केही नेता समेत उपयोग भएको अभिव्यक्ति दिए, यसपछि बैठक सिधै यस्तो अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष हुन सक्दैनन भनेर दुवै पदबाट राजीनामा माग्ने ठाउँमा पुग्यो ।

तर, ओली कुनै पदबाट पनि राजीनामा दिन्न भनिरहेका छन् । नेकपाको विवाद अहिले जम्माजम्मी यति कुरामा अड्किएको छ । पार्टीभित्रकै विपक्षीले भने बमोजिम राजीनामा दिए नक्सा जारी गरेर भारतसँग अडान लिएका ओलीको नुर गिर्ने र भारतको अभिमान बढ्ने ओलीपक्षधर नेताको भनाइ छ । यसैकारण ओलीले छिटो महाधिवेशन गरेर प्रचण्डलाई अध्यक्ष बनाउने आश्वासन दिएका हुन ।

बाँकी अवधि आफैँ प्रधानमन्त्री रहने उनको अडान छ । ओलीको राजीनामा मागेको प्रचण्ड–माधव पक्षले यो कुरा मानेको छैन । दुवै नेतामा अहिले ‘इगो समस्या’ छ । यता प्रचण्ड पनि अप्ठ्यारोमा परेका छन् । उनले अहिले सम्झौता गरे भने उनलाई दुई वटा समस्या तत्काल पर्ने देखिन्छ । एक, उनीसँग रहेका सहकर्मीहरू भडकिन्छन् र जता शक्ति छ उतै अर्थात केपी ओलीतिर लाग्छन् ।

दुई, ओलीले यति भित्तामा पुर्‍याउनेछन् कि त्यहाँबाट उठ्न प्रचण्डलाई कठिन हुनेछ । र, उनको अध्यक्ष हुने चाहनामा नेकपामा ओली क्याम्प भित्रबाट अर्को पुस्ता तयार हुनेछ, जसको नेतृत्व अहिले ईश्वर पोखरेलले गरिरहेका छन् ।

यति मात्र होइन, प्रचण्डको बाध्यता अरू पनि छ । प्रचण्डले जति बेलासम्म नेकपाभित्र गुट बनाए तबसम्म ठिकै थियो तर जब उनले समीकरण नै बनाउन थाले तब उनी संकटमा परेका छन् । अब उनलाई कस्तो अप्ठयारो परेको छ भने उनी न निर्णय गर्न सक्छन् न मौन बस्न । जस्तो, ओली प्रचण्डलाई अध्यक्ष दिन तयार भएका थिए ।

प्रधानमन्त्री आफू रहेर अध्यक्ष दिन तयार हुँदा उनलाई दुई कुराले भाँजो हाल्यो । एक–माधव नेपाललाई कसरी चित्त बुझाउने भन्ने नयाँ सवाल खडा भयो । अर्को, प्रचण्डलाई अध्यक्ष दिएपछि आफू पछि पर्ने ठानेर ईश्वर पोखरेलहरूको सक्रियता बढ्यो, जसले तत्काल यो हुन सक्दैन भनेर सार्वजनिक मिडियामार्फत अभिव्यक्ति दिए । यसपछि नै हो प्रचण्ड र माधव नेपालले एउटै मञ्चबाट अर्थपूर्ण अभिव्यक्ति दिएको ।

प्रचण्डले निर्वाचन आयोगमा नेकपा एमाले दल प्रधानमन्त्रीले नै दर्ता गराएको अभियोग लगाए भने माधव नेपालले पार्टी चोइटिन सक्ने चेतावनी दिए ।

पार्टीभित्र अल्पमतमा परेका भनिएका केपी ओलीको हातमा अनेक अवसर छन् । यसैले उनी अल्पमतमा भएर पनि डेग चलेका छैनन् । कथंकदाचित पार्टी विभाजन भए पनि उनी मदन भण्डारीको लिगेसी थाम्ने दाउमा छन् ।

हुन त नेकपाभित्र प्रचण्ड–माधव समूहले आफूसँग बहुमत छ भनिरहेका छन् तर यसो हो भने यसको प्रयोग किन भइरहेको छैन भन्ने सवाल पनि खडा भएको छ । माधव नेपाल निकट नेकपा युवा नेता विष्णु रिजालले भनेका छन्– नेकपाको अवस्था महाभारतमा वर्णित जरासन्धको शरीर जस्तो हो ।

दुई शरीर मिल्दासम्म जरासन्धलाई कसैले हराउन सक्दैन, छुटिनासाथ स्वतः समाप्त हुन्छ । ४० प्रतिशत भए त नयाँ पार्टी बनाइहाल्थेँ वा बहुमत भए त प्रधानमन्त्री हटाइहाल्थेँ भन्ने जस्ता उत्तेजक र गैरजिम्मेवार अभिव्यक्तिले एकतामा बल पुग्ला र ?

तत्कालीन एमालेभित्र एकपटक सीपी मैनालीलाई प्रश्न गरिएको थियो– तपाईं यो पार्टीमा कतिञ्जेल रहनुहुन्छ ? उनले जवाफ दिएका थिए– जबसम्म अपमान सहन सक्छु तबसम्म बस्छु, नसकेको दिन पार्टीबाट अलग हुन्छु ।

प्रचण्डको हकमा अहिले यो भनाइ ठयाक्कै मिल्ने खालको भएको छ ।

किनभने तत्कालीन मालेको महासचिव मैनाली मदन भण्डारीसँग सैद्धान्तिक मत बझाएर बसेका थिए । उनले यसपछि कमजोर अवस्थामा लामो समयसम्म उक्त दलमा राजनीतिक जीवन बिताए । र, अहिले नेकपा मालेको महासचिव भएर बसेका छन् ।

ओलीको दाउ

पार्टीभित्र अल्पमतमा परेका भनिएका केपी ओलीको हातमा अनेक अवसर छन् । यसैले उनी अल्पमतमा भएर पनि डेग चलेका छैनन् । कथंकदाचित पार्टी विभाजन भए पनि उनी मदन भण्डारीको लिगेसी थाम्ने दाउमा छन् ।

यसो गर्दा पनि सरकार नगिरोस् भन्ने कुरामा उनी ध्यान लगाएर बसेका छन् । यसको लागि उनी पार्टीभित्र प्रचण्ड गर्मी भए रुखको छहारीमा बस्ने सोचमा छन् । यसैको लागि विपक्षी दलका नेता शेरबहादुर देउवासँग निकट सम्बन्ध बनाएका छन् । तर, त्यहाँ पुग्नु भन्दा अघि नै उनी पार्टीभित्रैका विपक्षीलाई छिन्नभिन्न पार्ने खेलमा लागेका छन् ।

भनिन्छ नि भेडा भेडासँग बाख्रा बाख्रासँग । नेकपा मिलनको दुई वर्षसम्म पनि एकता नभएको हेर्दा यो पार्टीमा प्रष्ट दुई धार देखिन्छ– एकातिरबाट बगेर आएको सुनकोशी र अर्कोतिरबाट बगेर आएको इन्द्रावती जस्तो । उनीहरूसँगै भेटिन्छन् तर मिल्दैनन् ।

वामदेव गौतमलाई आफूतिर तान्न ओली सफल भइसके । प्रखर युवा भनिएकाहरूलाई पार्टी विभाजन हुनुहुन्न भन्ने लाइनमा ल्याएर आफ्नो पक्षमा पारिसकेका छन् । कतिसम्म भने प्रचण्ड निकट भनिएका रामबहादुर थापा, लेखराज भट्ट, मणि थापा, टोपबहादुर रायमाझीसम्म ओलीसँग सहमत देखिएका छन् ।

हरिबोल गजुरेलले पनि टोपबहादुरको पछि लागेर ओलीलाई भेटिसकेका छन् । जनार्दन शर्माले ओलितिर सेटिङ मिलाएको सुईंको पाएपछि प्रचण्डको सचिवालयले हस्तक्षेप गरेर वक्तव्य नै जारी गरेको छ ।

अबको बाटो

नेकपामा अहिले पूर्वएमाले र पूर्वमाओवादी सोलोडोलो एक छैन । त्यहाँ गुटहरूबीच अन्तर्घुलन भएको देखिन्छ । तर, जब जनताको बहुदलीय जनवाद मान्दिनँ भनेर प्रचण्डले भने तब उनीसँगै अहिले रहेका माधव नेपालले यही विचार लिएर देशभर जाने उदघोष गरे । प्रचण्ड अप्ठयारोमा परे । कुरा जब स्वार्थको हुन्छ तब मिल्छ । तर, जब सिद्धान्तको हुन्छ तब भाँडिन्छ ।

कम्युनिष्ट पार्टीकै जन्मदाता पुष्पलाललाई गद्दार भनेकोबाट पनि नेपालका कम्युनिष्टहरू कुन हदसम्म जान्छन् भन्ने सहजै बुझ्न सकिन्छ । भनिन्छ नि भेडा भेडासँग बाख्रा बाख्रासँग । नेकपा मिलनको दुई वर्षसम्म पनि एकता नभएको हेर्दा यो पार्टीमा प्रष्ट दुई धार देखिन्छ– एकातिरबाट बगेर आएको सुनकोशी र अर्कोतिरबाट बगेर आएको इन्द्रावती जस्तो । उनीहरूसँगै भेटिन्छन् तर मिल्दैनन् ।

कुनै बेला प्रचण्डसँग कुम जोडेर १० वर्ष युद्ध लडेका डा. बाबुराम भट्टराईका निकट सहयोगी विश्वदीप पाण्डेले हालै एउटा भनाइ सार्वजनिक गरेका छन् ।

उनले लेखेका छन्–मेरो विचारमा एमालेसँग एकता गरेर नेकपासम्म आइपुग्दा प्रचण्डको र नयाँ शक्ति हुँदै जसपासम्म आइपुग्दा बाबुरामको राजनीतिक प्रयोगको आफ्नो रहर पक्कै पूरा भयो होला । अब प्रचण्ड बाबुरामसहित २०५२ सालपछिका सबै प्रगतीशील शक्तिहरू एकठाउँमा हुने वातावरण बन्दा नै प्रचण्ड बाबुराम र सँगै देशको हित हुने देख्छु ।


भर्खर

0