खेल खेलाडीका, लेख लेखाडीका « Khabarhub

खेल खेलाडीका, लेख लेखाडीका


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

ओहो, दाइ ! तपाईं त खतरा लेखक पो हुनुहुँदो रहेछ त ! क्या गजब लेख लेख्नुभएछ खबरहब डट कम मा !

भाइले राम्रै भनेका हुन् हुनलाई तर मेरो उल्टो बुझाइले आफ्नै कन्पारो रन्कायो । भेट्नामा लाग्ने गरेर भन्न मन थियो तर भाइ सानै छन् भनेर रिसको रन्को चपाउँदै ओठे हाँसो देखाउँदै ‘ए ! हो र भाइ, ल ठिक छ । तपाईं क्रिकेट हेर्नुहुन्छ ?’ भने

अत्तो न पत्तोसँग कहाँको लेख कहाँको क्रिकेट खेल ! भाइ जिल्ल परे । मेरो काम नै अरूलाई जिल्ल पार्ने हो । सफल भएँ ।

भाइले फेरि भने, ‘कहाँ लेख कहाँ क्रिकेट खेल ! किन र दाइ क्रिकेटको कुरो ?’

‘भाइ, यार ! म अनेस्टली तिमीलाई भन्दै छु, मलाई यो ‘खक खक’ गरेर खकारेजस्तो गरेर लेखक नभन न यार चित्त दुख्छ । एउटा लेख तयार पार्न कति मिहेनत गर्नुपर्छ, थाहा छ तिमीलाई ?’

‘दाइ पनि यार कस्तो अचम्मको कुरा गर्नु हुन्छ भन्याँ ! आफैँ लेख्ने अनि लेखक भन्यो भनेर रिसाउने ! लेखकलाई लेखक नभनेर के भन्ने त ?‘
भाइ सिरियस भए ।

एकताका कसैले लेखकभन्दा आफूलाई निकै गर्व लाग्थ्यो ।

महेन्द्र मोरङ कलेज पढ्दाताका क्रिकेट भनेपछि हुरुक्कै भएर हेरिन्थ्यो । त्यसताका क्रिकेट शहरिया खेल भएकाले आफूलाई पनि शहरिया भनाउन क्रिकेट हेरिन्थ्यो । मित्र सुदेशमणि र सागरमणिको प्रेरणाले क्रिकेट हेर्न जान्ने भइयो ! चौका, छक्का ! तासमा मा त एक्का, दुक्की हुन्थ्यो । क्रिकेटमा चाहिँ चौका र छक्का हुने । एक्का, दुक्की नहुने ! रमाइलो खेल क्रिकेट ।

जर्ज बर्नार्ड शा भन्थे रे– क्रिकेट भनेको मुर्खले खेल्ने अनि महामुर्खले हेर्ने खेल हो ।

विश्वप्रसिद्ध मान्छेको विश्वप्रसिद्ध भनाइ, लोकल मान्छेको लोकल खोकाइ ! दक्षिण अफ्रिका र अष्ट्रेलियाको एक दिवसीय खेल हुँदै थियो । महेन्द्र मोरङ कलेजको चौरमा उभिएर खैनी पड्काउँदै शैलेन्द्रलाई भनेँ, ‘आज तिम्रो अष्ट्रेलिया हार्छ शैलु !’

उनले रन्किन्दै जवाफ लगाए, ‘हार्ने होइन दाइ, आज त आदम गिल्किष्टले जोन्टी रोड्सका टाङमुनिबाट चौका हान्छ !’

नयाँ पाठ्यक्रम लागू भएको हुनाले पुस्तक उपलब्ध थिएनन् । कक्षामा हुने लेक्चरकै भर हुन्थ्यो सबैजसो पढाइ ! सरको कुरो सुन्यो, लेख्न मन लागे लेख्यो नत्र बाहिर निस्किएर क्रिकेटका गफ हाँक्यो ! अहिले कसो हुँदो हो कुन्नि त्यो कलेजमा !

नयाँ सत्रमा नेवि संघ र अखिलका स्वागत कार्यक्रम हुन्थे । अखिलको कार्यक्रम एक प्रकारले पार्टीको कार्यकर्ता प्रशिक्षणजस्तो हुन्थ्यो । नेवि संघको चाहिँ हिन्दी सिनेमाका गीत र नाचले भरिभराउ भएर रोचक हुन्थ्यो । नेवि संघको कार्यक्रम छुटाउने चाहिँ पछुतो मान्थ्यो ।

क्रिकेटका गफ गर्दा गर्दै एमाले सरकारका सय दिन बितेछन् । नेवि संघले ‘सरकारका सय दिनको समीक्षा’ नामको कार्यक्रम आयोजना ग¥यो । झलनाथ खनाल, सुरेन्द्रबहादुर बस्नेत इत्यादि नेताहरू आएका थिए ।

त्यो कार्यक्रममा भएका कुरामध्ये अहिलेसम्म पनि भुल्न नसकेका तीनवटा कुरा छन् । पहिलो, सुरेन्द्र बस्नेतको डाँगीहाट गाउँमा रहेको कृषि फारमको उत्पादकत्वको कुरा । बस्नेतले भने, ‘कसैले भन्दैमा परिवर्तन हुन्छ र ? मिहिनेत गर्नुपर्छ, मेरो फारममा एक बिघा जग्गामा वर्षमा १४९ मन धान फल्छ ।’

दोस्रो र तेस्रो कुरो चाहिँ झलनाथ खनालको ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ र ‘स्माइलिङ फेस विद आइरन टीथ !’

प्रसङ्ग सुरु गरौँ परिवर्तनका लागि मिहिनेतबाट ।

अहिले लिपुलेकको कुरो जोडतोडले उठेको छ, उठ्नै पर्छ । एमाले सरकारकै बेला ऊ बेलाको जनमोर्चा नेपालले कालापानीदेखि र लिपुलेक लिम्पियाधुरासम्मको भूभागको बारेमा विराटनगर उपमहानगरपालिकाको हलमा एउटा बहस कार्यक्रम आयोजना गरेको थियो । वर्ष हिसाब लगाउने हो भने निक्कै भए होलान् तर समस्या चाहिँ भारतले कैलाश मानसरोवर जाने बाटो उद्घाटन गर्दासम्म जहाँको त्यहीँ रहेछ ।

उति बेला त्यो कार्यक्रममा वर्तमान शिक्षामन्त्री गिरिराजमणि पोखरेल र पूर्वमन्त्री लालबाबु पण्डित उपस्थित थिए । त्यतिबेला पक्ष–विपक्ष भए पनि अहिले भने समक्षमा बसेर काम गर्दा शायद गिरिराजमणि र लालबाबु दुवैलाई नेपालको सीमाना थाहा नभएको नहोला । फेरि अचम्म यस्तो छ, कि परिवर्तन गफ गरेर अथवा कसैले भनेका भरमा मात्रै हुने रहेनछ भन्ने ज्वलन्त उदाहरण कालापानी–लिपुलेक–लिम्पियाधुरा हो ।

ऊ बेला विश्वेश्वरप्रसाद कोइरालाले भनेजस्तै नेपाल एउटा स्वतन्त्र देश नभएर प्रशासनिक इकाई मात्रै हो कि क्या हो भन्दा पनि शाह वंशको बिर्ता मात्रै पो थियो कि क्या हो जस्तो लाग्न थाल्यो ।

नयाँ अमिन नाप्न आउँदा गाउँभरि खैलाबैला मच्चिन्थ्यो उस बेलामा । अझै मच्चिँदो हो । पोहोर सालको अमिनले लगाएको साँध यसपालिको अमिनले सारेरै छाड्ने । हरेकपटक नयाँ साँध ! कस्तो अमिन हुन्थ्यो त्यो !

त्यस्तै, नेपालको नक्सा पनि कहिल्यै सोझो भएन रे । कहिले कुटीयाङ्दी, कहिले लिपम्पयाधुरा, कहिले लिपुलेक, कहिले महेशपुर, कहिले कहाँ, कहिले कहाँ । सालैपिच्छे अमिनले साँध सारेको जस्तो ! देशको एउटा आधिकारिक नक्साको ठहर हुँदो हो, सीमाना निक्क्र्योल हुँदो हो, ठीकठीक टुङ्गो लाग्दो हो !

उतिबेला पाखुरा खैँचिदै कालापानीमा गएका योगेश भट्टराई अहिले मन्त्री छन् । त्यति बेला उठाएका मुद्दा अहिले पनि जहाँका त्यहीँ हुँदा उनी पनि ढुक्क होलान्, ए अब अर्को चुनाव हारिएछ भने फेरि पाखुरा सुर्किंदै हान्निएर पुग्ने हो लिपुलेक ! यो त जमिनदारको बिर्ताको सीमाना अमिनले नाप्दै पिच्छे सरेको जस्तो भएन र हजूर !

बिर्ता चलाउने कम्त्याहा यसपालिको अमिनलाई फकाउँछ, ‘होइन अमिनसर यसपालि अलिकति अचेटेर नाप्नु पर्लाजस्तो छ, यो नहरको डिल चाहिँ यता कामतभित्रै परोस् !’

संवेदनशील विषयमा संवेदनाहीन कार्यशैली हाम्रै नेपालमा हेर्न पाइन्छ ।

कुनै बेला लर्कासर्कामा राजनीति गर्दा मन्त्रीसँग बसेर ख्यालठट्टा गर्दै चिया पिउने मौका पनि मिल्थ्यो । केही विसंगतिका विषयमा कुरो उक्काउँदा मन्त्रीले भन्थे, ‘होइन हो शंकरजी ! यस्ता लाखौँ मुद्दा अहिल्यै छन् फेरि यो नयाँ कुरो कहाँ थप्ने भन्याँ !’

म पनि झलनाथको ‘स्मालिङ फेस विद आइरन टीथ’ ल्याएर प्वाक्क भन्थेँ, ‘ए त्यसो भए चौधरी ग्रुपले नयाँ कम्पनी खोल्न नपाउने भएछ नि होइन र मन्त्रीजी ? अहिल्यै त्यति धेरै फ्याक्ट्री छन् !’

यहाँसम्म आउँदा तपाईंले, मैले र हामी सबैले बुझ्नु पर्ने कुरो, सुरेन्द्रबहादुर बस्नेतको मिहिनेतले देश परिवर्तन हुन्छ । त्यो देश साँच्चै परिवर्तन भयो भने समस्यालाई समस्याले ढाकेर समस्याको राजनीति गर्ने परम्परामा समस्या उत्पन्न हुने हुँदा समस्यालाई समस्याले नै ढाकेर समस्याको समाधान गर्ने किसिमको झलनाथजीको दोस्रो भनाइ ‘थिंक ग्लोबल्ली, एक्ट लोकल्ली’ मा सहमत हुनु आजको अपरिहार्यता हो ।

म पनि कहाँ यो राजनीतिको रोइलोमा हराएछु ! मेरो कुरो त लेखकको पो थियो त ! कुन्साङ काकाका लेख नपढेको हप्ता कब्जियत भएजस्तै असहज हुन्थ्यो कुनै बेला । काकाको बेजोडको लेखनशैली । उति बेला भुराभुरी छँदा कसैले हेप्यो भने थर्काइन्थ्यो, ‘हेप्न सक्नेलाई हेप्छस् ? ऊ त्यसलाई छोएर देखा ?’

आजकाल म आफू पनि हेप्नसक्नेलाई असाध्यै हेप्छु । हेपाहा प्रवृति छ । ऊ बेला सरकार र नेतालाई हेप्न सकिँदैन थियो । कसैले यिनीहरूलाई हेपिदिए पनि हुन्थ्यो भन्ने कल्पना सधैँ भइरहन्थ्यो । कुङसाङ काकाले हाकाहाकी तुफान गाली हाँक्दा कसलाई चित्त बुझ्दैन थियो होला र !

किशोर नेपाल, योगेश उपाध्याय, प्रदीप गिरी, प्रदीप नेपाल इत्यादि पनि कहलिएका लेखक तर यिनीहरू नरम तरिकाले गाली गर्ने । गाली त्यो पनि नरम ! लेख त काकाको जस्तो पो हुनुपर्छ त जस्तो लाग्थ्यो मलाई ! यस्तो धेरैलाई लाग्थ्यो होला ।

अहिले भर्खर आएर सीके लालले पनि काकाको लाइन समातेको देख्दा ढुक्क लाग्छ नत्र कहाँको बुझ्दै नबुझिने गरी आधा कूटनीति आधा राजनीति गरेर क्लिष्ट शैलीमा शालीन पाराले परिष्कृत गरिएका विद्वत राजनीतिक विश्लेषण ! प्रा. कृष्णप्रसाद पोखरेलको विश्लेषण जस्तो !

गाली तुफान हाँक्न सक्नु पर्दो रहेछ तब पो लेखक ! लेखकको धारणाले उति बेलादेखि मनमा हलचल मच्चाउँथ्यो ।

दीपकदाइको ‘हाम्रो साहित्य सदन’ छाडेर काठमाण्डू आइयो । आफ्नो खैनी खाने बानी । गोविन्ददाजुलाई मैले खैनी खाएको पिटिक्कै मन नपर्ने । खैनीको लत अलिक लतिलो नै हुने । दाजु गाली गर्थे, ‘तँ मूला, खैनी खान्छस् अनि ख्वाक ख्वाक खोक्छस् !’

म लाज पचाएर खैनी फ्याटफ्याट पारेर च्याप्प च्याप्थेँ, ख्वाक्क खकार्यो पिच्च थुक्यो । खैनी खाने मान्छेको अनौठो आदत हुन्छ । जता फर्किएर खैनी खाए पनि सधैँ उसै गरी मुन्टो बटारेर एउटै दिशामा फर्किएर ख्वाक्क गर्दै पिच्च थुक्छ । म पनि त्यसै गर्थें ।

अहिले ‘लेखक’, ‘देखक’ सबै एउटै मेलामा सधैँ एकै तरिकाले उसै गरी पेट र दिमागका चुर्ना मर्ने गरेर ‘खकखक’ गर्दै खकार्दै गरेको देख्दा किन हो कुन्नि म आफूलाई चाहिँ लेखक भनाउन मन पर्दैन ।

भाइ रिसाए होलान् भन्ने लागेर सम्झाउँदै सोधेँ, ‘भाइ ! तिमीले जोन्टी रोड्सको फिल्डिङ हेरेको छ ?’

‘छैन दाइ ! मैले क्रिकेट हेर्न थाल्दा जोन्टी रोड्स रिटायर भइसकेको थियो ।’

‘पारस खड्काले स्लीपमा हान्ने चौका हेरेको छ ?’

‘यार, दाइ ! त्यो त खत्रा सिग्नेचर सट हो पारसको !’

भाइ निक्कै उत्साहित भए ।

‘हेर भाइ ! लेख र खेल उस्तै हुनुपर्छ । जति हेर्‍यो उति मजा आउनुपर्छ । शब्द पनि हेर त कस्तो मिलेका ! लेख–खेल ! उल्टो–पाल्टी । जसरी खेल खेल्ने खेलाडी हुन्छ, त्यसरी नै लेख लेख्ने लेखाडी हुन्छ । जसरी खेलाडीले सबैतिर बराबरी खेल्छ, त्यसरी नै लेखाडीले सबैतिर घुमीघुमी लेख्न सक्नुपर्छ ।’

भाइले ध्यानपूर्वक सुनिरहे ।

‘जो घुमीघुमी लेख्छ त्यो लेखाडी हुन्छ । त्यही भएर अब उपरान्त लेखकलाई लेखक नभनेर लेखाडी भन्नु पर्छ । जसरी खेलाडी भन्दा मान्छेको मनमा आफैँ एक तमासको रोमाञ्च उत्पन्न हुन्छ, त्यसरी नै लेखाडीभन्दा लेखकका मनमा अलग्गै किसिमको रोमाञ्च उत्पन्न हुन्छ । तब पो लेख हुन्छ त ! होइन त भाइ, खेल खेलाडीका, लेख लेखाडीका !’

यति सुनेपछि भाइ फुरुङ्ग हुँदै कामतिर लागे । म मन भरङ्ग बनाउँदै कम्प्युटर छाम्न थालेँ !

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ३ : ४२ बजे

सिद्धार्थनगरमा कांग्रेसका मेयर र एमालेको उपमेयर निर्वाचित

भैरहवा– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

भरतपुर महानगरमा रेनु दाहाल अग्रता बढाउँदै

काठमाडौं- भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् ।

मकवानपुरको मनहरीमा गठबन्धन विजयी, अघिल्लो पटकको विजेता एमाले चार सदस्यमा सीमित

बागमती– मकवानपुरको मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

महोत्तरीको पिपरा गाउँपालिकामा जसपा निर्वाचित

महोत्तरी– महोत्तरीको पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र

ललितपुरमा चिरीबाबुलाई १३ हजार ६४६ मत, बढाउँदै अग्रता

काठमाडौं– ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जनले आफ्नो अग्रता