लकडाउनमा फस्टाउँदो कौसी खेती | Khabarhub Khabarhub

लकडाउनमा फस्टाउँदो कौसी खेती


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बर्खा सुरु हुन लागेसँगै यतिबेला शहरका धेरैजसो घरका कौसी हरिया देखिन थालेका छन् । परिवारका सबै सदस्यहरूको दिन बिताउने माध्यम भएको छ कौसी ।

कोरोना भाइरस संक्रमणका कारण गरिएको लकडाउनले दिएको फुर्सदको समयमा आफूलाई व्यस्त बनाउन चाहनेहरू घरमा सिर्जनशील काममा लागेका छन् ।

कतिपय परिवारले खाली जग्गामा तरकारी रोप्न थालेका छन् । धेरै घरधनीहरूले घरको छतमा तरकारी फलाउन थालेका छन् ।

लकडाउनको फुर्सदमा घरको कौसीमा तरकारी फलाउँदा कोरोनाको जोखिम मोल्दै तरकारी किन्न बाहिर धेरै गइरहनु पर्दैन । आफैँले उत्पादन गरेको तरकारी स्वस्थकर र स्वादिलो पनि हुने भयो ।

शहरमै जन्मे–हुर्केका धेरै मानिस माटोसँग खेलेका हुँदैनन् तर इच्छाशक्ति भए  तरकारी फलाउन बारीमा पुग्नै पर्दैन भन्ने सन्देश दिएका छन् कौसीखेती गर्नेहरूले ।

जाँगर भए शहरमा घरको छत नै पनि पर्याप्त हुन्छ भन्ने उदाहरण बनेका छन् छतमै तरकारी फलाउनेहरू । ‘कौसी खेती’ नाम पाएको तरकारी खेती लकडाउनमा रमाउने मेलो पनि भएको छ ।

लकडाउनमै मौका पारेर पहिलोपटक कौसी खेती थालेकी छन् ललितपुरकी रोजिता ताम्राकारले ।

पाटनकी बासिन्दा रोजिताले घरको कौसीमा गमलामा विभिन्न प्रजातिका फूल लगाएकी थिइन् । तरकारी भने उनको पहिलो प्रयास हो । करिब दुई आनाको कौसीमा उनले अनेक किसिमका तरकारी रोपेकी छन् ।

‘कौसीमा तरकारी लगाउने इच्छा पहिलेदेखि नै थियो, लकडाउनको एक हप्ताअघि सबै सामान ल्याएको थिएँ,’ उनले खबरहबसँग भनिन्, ‘लकडाउनमै कौसी खेती सुरु गरेँ ।’

दुई महिनामा उनको कौसी हरियो भएको छ । ‘काँक्रो, फर्सी, धनियाँ, लसुन, प्याज, गोलभेँडा, सिमी, बोडी, करेला, मूला, काउली, बन्दा लगायत थुप्रै तरकारी रापेको छु’ उनले खुसी हुँदै भनिन्, ‘साग खाने बेला हुन लागेको छ, तरकारी केही समय लाग्छ ।’

उनले खाली कौसीमा ‘ग्रो ब्यागम’ मा र बोरामा  माटो भरेर तरकारी रापेको बताइन् । रोजिता घरमै कम्पोस्ट मल पनि बनाउँछिन् ।

कलंकीकी बासिन्दा गीता ढकाल पूर्वशिक्षिका हुन् । सेवा निवृत्त भएपछि उनले कौसी खेती सुरु गरिन् ।

उनको कौसीमा तितेकरेला, बोडी, फर्सी, राम तोरियाँ, सागलगायतका तरकारी फलेका छन् । कहिलेकाहीँ छमेकीलाई पनि दिन पाएर दङ्ग पर्छिन् । गीता भन्छिन्, ‘अहिले फुर्सदमा छु, कौसीमा तरकारी फलाइरहेकी छु ।’

कौसीमा उब्जाएको तरकारीले उनको भान्सा चलिरहेको छ । भान्साबाट निस्केको फोहोरबाट कम्पोस्ट मल बनाउँछिन् । गीता वर्षभरिमा ५० किलो हाराहारी कम्पोस्ट मल बनाउँछिन् । उनको खेतीलाई त्यसैले पुग्छ ।

भान्साको फोहोरबाट कम्पोस्ट मल

कालीमाटीमा सुयोग कर्माचार्यलाई कडाउनमा फोहोर लिन गाडी आएन भन्ने चिन्ता छैन । उनले घरमै फोहोर व्यवस्थापन गरेका छन् ।

उनले भान्साबाट उत्पन्न हुने फोहर घरमै केही भाँडामा कुहाएर कम्पोष्ट मल बनाउने गरेका छन् । उनले १३ वर्षअघिदेखि आफूले घरायसी फोहोरबाट कम्पोस्ट मल बनाउने गरेको बताए ।

सुयोगले भने, ‘लामो समय भइसक्यो घरमै कम्पोष्ट मल बनाउन थालेको, मल कौसीमा गमलाका विरुवालाई हाल्ने गर्छु ।’

घरमा धेरै सदस्य हुँदा फोहोर पनि धैरे उत्सर्जन हुन्छ । फोहोरलाई कुहिने र नकुहिने छुट्याएर कुहिनेबाट मल बनाउन सकिन्छ । घरमा पुग्ने हरियो तरकारी फलाउन जमिन नै नभई हुँदैन भन्ने छैन । थोरै माटो र मलजल भए घरको छतमै तरकारी फलाउन सकिन्छ ।

‘गुठी’ नामक गैरसरकारी संस्थाले लकडाउनका समयमा कौसी खेती गर्न प्रोत्साहित गरेको छ । गुठीले लकडाउनको समय सदुपयोग गर्न केही दिन फेसबुक पेजमा ‘जुम एप’ मार्फत कृषिका विशेषज्ञसँग कुराकानी गराइदिएको थियो । त्यसबाट थप नयाँ ज्ञान हासिल भएको कौसी खेती गर्नेहरूले बताए ।

के के आवश्यक पर्छ ?

कौसी खेतीमा धेरैले प्लाष्टिक र माटोका गमला प्रयोग गर्छन् ।  गमला नभए सिमेन्टका बोरा पनि प्रयोग गर्न सकिन्छ । धेरैजसोले सिमेन्टका बोरा, आधा काटिएका जार, ड्रम लगायतका सामान प्रयोग गरेका छन् ।

गमला वा बोरामा मलिलो पाँगो माटो एक भाग, बालुवा एक भाग, गोबर एक भाग मिलाएर राख्नुपर्छ । विरुवालाई थाङ्ग्रो पनि दिनु पर्छ । घरमा दैनिक उत्पादन हुने फोहोरबाटै कौसी खेतीमा पुग्न मल बनाउन सकिन्छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : २५ बजे

११ जिल्लाका सीडीओ फेरिए (सूचीसहित)

काठमाडौं– गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा र

एमएडब्लु वृद्धिले सोकोन इलेक्ट्रिक भ्यान नेपालमा ल्याउने

काठमाडौं– एमएडब्लु वृद्धिले सेरेस ग्रुपको सोकोन ईसी ३६, ११ सिटर

अमेरिकन पेस्तोलसहित २ जना पक्राउ

सर्लाही– सर्लाही प्रहरीले एकथान अमेरिकन पेस्तोल र गोलीसहित दुईजना भारतीय

बस दुर्घटनामा ११ विद्यार्थीको मृत्यु, ४२ जना घाइते

नैरोबी– केन्याली विश्वविद्यालयका विद्यार्थी चढेको एउटा बस भारी वर्षाका कारण

साथीको हत्या गरी फरार अभियुक्त २१ वर्ष पछि पक्राउ

काठमाडौं–  साथीको हत्या गरी फरार रहेका अभियुक्त २१ वर्ष पछि