पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् « Khabarhub
Logo
१० आश्विन २०७७, शनिबार

पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन्



सांकेतिक तस्वीर

काठमाडौं- आगामी एक दशकमा नेपालमा निमोनिया लगायत अन्य प्रमुख रोगका विरुद्ध लड्ने अभियानलाई बलियो बनाउँदा पाँच वर्षमुनिका २३ हजारभन्दा बढी बालबालिकालाई मृत्युबाट जोगाउन सकिने एक अध्ययन प्रतिवेदनले औँल्याएको छ ।

स्पेनको बार्सिलोनामा बुधबारदेखि शुरु भएको ‘बाल्यावस्थाको निमोनियाको विश्वव्यापी मञ्च (ग्लोबल फोरम अन चाइल्डहुड निमोनिया’) पूर्वसन्ध्यामा सो आँकलन प्रतिवेदन सार्वजनिक गरिएको हो । विश्वमा पहिलोपटक सो मञ्चको बैठक भएको जनाइएको छ ।

जनस्वास्थ्यका विविध क्षेत्रको अध्ययन अनुसन्धानमा विश्व प्रसिद्ध अमेरिकाको जन्स हप्किन्स विश्वविद्यालयद्वारा गरिएको सो अध्ययन प्रतिवेदनका अनुसार नेपालमा निमोनियाको उपचार र रोकथाम सेवाको विस्तारले मात्र पनि पाँच वर्षमुनिका करिब नौ हजार बालबालिकालाई अकालमा मृत्यु हुनबाट जोगाउन सकिने र यस्ता सेवाको विस्तारले सिर्जना गर्ने ‘लहर प्रभाव’ ले थप १४ हजारभन्दा धेरै बालबालिकाको अन्य रोगबाट हुने मृत्युलाई रोक्न सकिने औंल्याइएको छ ।

ब्याक्टेरिया, भाइरस र फङ्गी पाँच वर्षमुनिका बालबालिकमा निमोनिया हुने प्रमुख कारकतत्व मानिन्छ । यसको सङ्क्रमणबाट बालबालिकाको फोक्सोमा पिप र पानी भरिँदा उनीहरुलाई सास फेर्न अप्ठ्यारो हुने गर्दछ ।

पाँच वर्षभन्दा कम उमेरका बालबालिकाको मृत्युको सबैभन्दा ठूलो कारण निमोनियालाई लिइन्छ । गत वर्ष मात्र संसारभर आठ लाख बालबालिकाको मृत्युको मुख्य कारक निमोनिया बनेको थियो ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले हरेक ३९ सेकेण्डमा एक बालबालिकाले निमोनियाका कारण मृत्युवरण गर्नुपर्ने जनाएको छ । नेपालका पाँच वर्षमुनिका बालबालिकाको मृत्युको प्रमुख कारण निमोनिया नै रहेको छ ।

पाँच वर्षमुनिका गत वर्ष मृत्यु भएका करिब १८ हजार बालबालिकामध्ये १३ प्रतिशतको मृत्यु निमोनियाका भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

केही किसिमका निमोनिया खोपले र कम खर्चका एन्टिबायोटिक्सले उपचार गर्न सकिने भए पनि प्रतिवेदनले नेपालका पाँचमध्ये एक शिशुले निमोनियाबाट जोगाउने खोप लगाउन नपाएका र निमोनियाका लक्षण देखिएका धेरै बालबालिकाले उचित उपचारसमेत नपाएको औंल्याएको छ ।

निमोनियाबाट मृत्यु हुने बालबालिकाको सङ्ख्या विश्वका गरीब देशमा धेरै छन् । सीमान्तकृत बालबालिका सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । प्रतिवेदनले सन् २०२० देखि २०३० को दशकमा नेपालका पाँच वर्षभन्दा कम उमेरका १८ हजारभन्दा धेरै बालबालिकाको मृत्यु निमोनियाका कारण हुने अनुमान लगाएको छ ।

यसैगरी निमोनियाबाट अल्जेरियामा १४ लाख, भारतमा ८८ लाख, कङ्गोमा ३५ लाख र इथियोपियामा दुई लाख ८० हजार बालबालिकाको मृत्यु हुने अनुमान प्रतिवेदनमा छ ।

प्रतिवेदनले स्वास्थ्य सेवा प्रवाह र पोषणको अवस्थामा सुधार, एन्टिबायोटिक्सको सहज उपलब्धता र पूर्ण खोप, स्तनपानको दरमा बृद्धिजस्ता पहलले निमोनियाबाट मृत्यु भइरहेका बालबालिकाको सङ्ख्या घटाउन सकिने दिएको छ ।

ती पहलले सेप्सिस, झाडापखाला र मेनिन्जाइटिसजस्ता रोगबाट मृत्यु हुनसक्ने हजारौँ बालबालिकालाई पनि जोगाउन सकिने जनाएको छ ।

‘बालबालिकाको जीवन जोगाउने कुरामा हामी गम्भीर छौँ भने निमोनियासँग लड्नका लागि पनि गम्भीर हुनुपर्छ । अहिलेको कोरोना भाइरसको महामारीले पनि समयमै पहिचान र रोकथामका लागि जोड दिएका छ । यसको अर्थ सही निदान र सही उपचारको सिफारिस हुनुपर्छ’, युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा एच फोरलले मञ्चको बैठकमा भने, ‘निमोनियाबाट हुने मृत्युको पछाडिका कारणजस्तै कुपोषण, खोप र एन्टिबायोटिक्सको अभावको सम्बोधन र वायु प्रदूषणजस्ता थप जटिल चुनौतीको सामना गर्नुपर्छ ।’

माघ १७ गतेसम्म जारी रहने सो मञ्चको आयोजना आइएस ग्लोबल, सेभ द चिल्ड्रेन, युनिसेफ, एभ्रीब्रिद काउन्ट्स, लाकाइसा फाउन्डेसन, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन, युएसएड, युनाइटेड र गाभीजस्ता बालबालिकाका क्षेत्रमा काम गर्ने नौवटा सस्थाले संयुक्तरुपमा गरेका हुन् ।

साथै मञ्चबाट सेरुम इन्स्टिच्युट अफ इन्डियाले थप सुलभ पिसिभीखोपको घोषणा गर्ने र सहभागी देशले निमोनियाबाट हुने मृत्युलाई घटाउन थप राजनीतिक प्रतिबद्धता व्यक्त गर्ने यहाँस्थित युनिसेफ कार्यालयले जनाएको छ ।


भर्खर

0