निरंकुश ओलीको आयू पुग्यो– माधवकुमार नेपाल | Khabarhub Khabarhub

निरंकुश ओलीको आयू पुग्यो– माधवकुमार नेपाल


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा प्रचण्ड माधव समूह)का अध्यक्ष माधवकुमार नेपालले निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गर्ने समय सकिएको बताएका छन् ।

काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘राजतन्त्र विरोधी आन्दोलनका क्रममा पनि मैले भनेको थिएँ । नेपालमा राजतन्त्र तानाशाहा भयो अब राजतन्त्रको आयु सकियो । आज पनि म यो विशाल सभालाई सम्बोधन गर्दै भन्छु निरंकुश शैली अपनाएकाले प्रधानमन्त्री केपी ओलीको पनि नेतृत्व गर्ने आयू अब सकियो ।’

प्रधानमन्त्री ओलीले एकपछि अर्को अलोकतान्त्रिक कदम चालेको बताउँदै नेता नेपालले जनमतविरुद्ध लागेकाले नेपाली जनता सडकमा उत्रिएको बताए ।

उनले संविधानको भावना विपरीत गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई अस्वीकार गरिने बताए ।

संविधानको प्रावधानलाई कुल्चेर यसको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गर्नु कुनै पनि हिसाबले उचित नभएको उनले बताए ।

संसद् विघटन संविधान, जनता, राजनीतिक दलको भावना, नेपाली जनताले गरेको क्रान्ति, परिवर्तनको आकाङ्क्षाअनुरुप तथा नेकपाको निर्णय अनुरुप छ त भनी प्रश्न गर्दै उनले भने, “यो कदम हामीलाई स्वीकार्य छैन ।”

पटकपटक प्रतिनिधिसभा विघटन भएर मुलुक स्थिरतामा प्रवेश गर्न नसकेको भनेर संविधानमा स्पष्टसँग विघटन गर्न नसक्ने प्रावधान राखिएको स्मरण गर्दै उनले संसद भित्र प्रधानमन्त्री निर्वाचित हुन नसक्ने अवस्थामा मात्र प्रतिनिधिसभा विघटन हुन सक्ने व्यवस्था गरिएको बताए ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा पुगेको र त्यहाँबाट संविधानको मर्म र भावनानुसारको फैसला आउने विश्वास व्यक्त गरे ।

“मलाई पूरै विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मा पाएको निकायबाट संविधानको मर्म, प्रावधान, जनताको अभिमतअनुसार समुचित व्याख्या हुनेछ”, उनले भने, “प्रतिनिसभा पुनःस्थापना भइछाड्छ, हुन्छ, हुन्छ, हुन्छ ।”

प्रतिनिधिसभा विघटन भयो अब के हुन्छ भनेर कोही पनि चिन्तित हुनु नपर्ने उल्लेख गर्दै उनले सरकारको कदमविरुद्ध सडकमा उत्रिनाको विकल्प नभएको बताए ।

“हामी देशलाई सही बाटोमा, समाजवाद तथा समृद्धिको दिशामा, सामाजिक न्याय, समानताका आधारमा समाजको पुनःसंरचना गर्न चाहन्छौँ । त्यो काम गर्ने शक्ति नेकपाबाहेक कोही छैन”, उनले भने ।

समाजवादलाई अगाडि बढाउनुपर्ने र गणतन्त्रलाई समृद्ध बनाउनुपर्ने बेलामा सरकारले प्रतिनिधिसभा विघटन गरेर संविधान, लोकतन्त्रको मूल्यमान्यता, जनाधिकार र जनचाहनाका विरुद्ध कदम चालेको आरोप उनले लगाए ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा, नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायत सबै राजनीतिक दल, बुद्धिजीवी सडकमा उत्रेको उल्लेख गर्दै उनले प्रतिनिधिसभाको पुनःबहाली गरेर देशलाई सही दिशामा लैजान सबै शक्तिलाई एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरे ।

प्रधानमन्त्रीक पदमा बसेको व्यक्तिले पार्टीभन्दा अलग भएर स्वेच्छाचारी ढङ्गबाट काम गर्न नपाउने प्रष्ट पार्दै उनले पार्टी नेतृत्व गरेको व्यक्ति पार्टी अनुशासनअनुसार नचल्दा समस्या भएको पैदा भएको विचार व्यक्त गरे ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमलाई अस्वीकार गर्नेबाहेक अर्को उपाय नभएको उल्लेख गर्दै उनले संविधानमा नभएको प्रावधान विपरीत कदम चालेकाले पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गरेको प्रष्टयाए ।

“उहाँलाई पार्टी अध्यक्षबाट हटाइएको हो । पार्टी सदस्यबाट हटाएका छैनौँ”, अध्यक्ष नेपालले भने ।

प्रतिनिधिसभा विघटन गर्ने कदमप्रति पश्चाताप गरेर आएमा ओलीसँग सहकार्य गर्न आफूहरु तयार रहेको उनले बताए । उनले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि सबै वामपन्थी, लोकतन्त्रवादी, परिवर्तनकारी एवं नागरिक समाजका अगुवालाई एकताबद्ध हुन पनि आग्रह गरे ।

नेकपामात्र होइन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दल सडकमा उत्रिएका छन् । यसले ओलीको कदमलाई प्रश्न गरिरहेको उनले बताए ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ३ : ०९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६