तेस्रो व्यक्ति | Khabarhub Khabarhub

तेस्रो व्यक्ति



दिउँसो १ बजे, चिया पिउँदै म मग्न भएर बुद्धि सागरको उपन्यास कर्णाली ब्लुज पढिरहेको थिएँ । मेरो मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो । बेवास्ता गरेँ मैले । अरु बेला पनि यस्तै नोटिफिकेसन आइराख्थ्यो ।

फेरि एकछिन पछि के सोच आयो मनमा । मोबाइल हेरेँ । मेरो इन्स्टाग्राममा कसैले फलो गरेको नोटिफिकेसन रहेछ । नाम हेरेँ । जब नाम पढेँ म झस्किए ।

अनि मेरो मानसपटलमा बिगतका घटनाहरु एकपछि अर्को गर्दै दोहोरिन थाले । फेरि पनि मेरो कानमा उही नाम गुञ्जिन थाल्यो ‘वर्षात’ । सुन्दर दिन थिए ती । कलेजका रमाइला दिन । आज त १४ वर्ष भइसकेछ, वर्षातसँग मेरो भेट नभएको । अनि कुरा पनि नभएको ।

त्यो कुनै दिन हुँदैन थियो होला हामी नभेटेको । अनि कुनै साँझ हुँदैन थियो होला हामी गफमा भुलिँदै हिँडेको । अनि कुनै रात पनि त्यसै बितेन होला, हामी फोनमा बोल्दा बोल्दै सुतेको । कति रमाइला पल थिए, उसँग बिताएका । आँखा अगाडि अतितका यी कुराहरु नाँचिरहे ।

त्यो साँझ छट्पटिमा नै बित्यो । के गरुँ कसो गरुँ । वर्षातको प्रोफाइल खोलेर हेरेँ । उही पहिले जस्तै वर्षात, मन्द मुस्कान, गहुँगोरो हसिँलो ।

जे होस् जस्तो होला भनेर उसलाई मैले फलो ब्याक गरेँ । अनि एउटा स्माइलको ‘स्माइली इमोजी’ पठाएँ । स्माइली इमोजी पठाएको मात्रै के थिएँ तत्काल रिप्लाई आईहाल्यो हाई भनेर । एकछिन त मलाई सपना जस्तो लाग्यो । एक दशकपछि कुराकानी भएको थियो हाम्रो । मैले पनि उनलाई रिप्लाई गरेँ ।

वर्षात : सन्चै छौँ ?
म : सन्चै छु अनि तिमी ?
वर्षात : म पनि सन्चै छु । अनि कहाँ हो अहिले ? बिहे पनि गरेछौँ ?
म : म अहिले काठमाडौंमा नै छु । बिहे गरेँ त अनि तिमीले नि ?
वर्षात : अम्…मैले पनि ।

अनि हाम्रो यस्तै सामान्य कुरा भइराख्यो । मैले बाइफाई बन्द गरेर सुत्न खोजेँ । निन्द्रा पटक्कै लागेन । उही वर्षातको अनुहार, उही दिनहरु मनभरी आइरह्यो । बल्ल बल्ल निदाएँछु । बिहान छेउमै सुतेकी छोरी हल्लिँदा पो ब्युझिएछु ।

मोबाइल अन गरेँ । अनि वर्षातसँगको मेसेजहरु डिलिट गरेँ । ओछ्यानबाट उठेर नित्य कर्म सकेर चियाँ पिएँ । त्यसपछि खाना बनाउन तिर लागेँ । मेरो श्रीमान कामको सिलसिलामा दुई हप्ताको लागि बाहिर जानु भएको थियो । वर्षातलाई मेरो परिवारले अस्वीकार गरेपछि त्यतिबेलै हाम्रो बिछोड भएको थियो । उ क्षेत्रीको छोरो अनि म नेवारकी छोरी ।

परिवारविरुद्ध जान मन लागेन । सम्बन्ध मैलै नै तोडे । मेरो श्रीमान (सुमन) सँग मेरो प्रेम विवाह नै भएको हो । उहाँसँग सम्बन्धमा रहेपछि मैलै अरु कोहीसँग सम्बन्ध बढाइनँ । सुमन र म वैवाहिक जीवनमा बाधियौँ । हाम्रो जिन्दगी राम्रै चल्दै थियो । तर, उहाँ भने कामको सिलसिलामा कहिले एक हप्ता, कहिले दुई–तीन दिन बाहिर गइराख्नु पर्ने ।

अनि छुट्टिको दिनमा साथीहरुसँग रमाइलो गर्न जानुहुन्थ्यो । कहिलेकाही घरमा पनि समय दिनु भनेर भन्थेँ म । अनि बल्ल बल्ल दुई घण्टा जस्तो घरमा बिताएर फेरि साथीहरुसँगै जानुहुन्थ्यो । घरमा म एक्लै छोरीसँग । कहिलेकाही त दिक्क पनि लाग्थ्यो । आफ्नो मनको कुरा भन्ने साथीसमेत हुँदैन थिए । श्रीमान कामबाट थाकेर आउनु भएको हुन्थ्यो । उहाँलाई बोलाएर डिस्टर्ब गर्न मन लाँग्दैन थियो ।

उहाँलाई काम र साथीभाइ प्यारो थियो । मलाई उहाँसँग समय बिताउन मन लाग्थ्यो । मेरो श्रीमानले मेरो हर चाहनाहरु बेवास्ता गर्दै जानुभयो । तर, आर्थिक स्थितिमा कहिले पनि आँच पुर्‍याउनु भएन । यद्यपि, के नारीलाई पैसाले मात्रै सुख मिल्छ र ? थोरै भएपनि श्रीमानले दिएको समय प्यारो लाग्छ । श्रीमानसँग मेरो झगडा पनि यही विषयमा हुन्थ्यो । म प्रश्न गर्दथेँ : ‘किन हजुर मलाई समय दिनुहुन्न ?’ उहाँको जवाफ हुन्थ्यो : ‘म काममा कति व्यस्त हुन्छु तिमीलाई थाहै छ, हैन ?’

यस्तै, खटपटको समयमा फेरि वर्षातसँग भेट भएको थियो इन्स्टाग्राममा । त्यसपछि दैनिक रुपमा हाम्रो कुराकानी हुन थाल्यो । विगतका कुरा हुन्थे हामीबीच, अनि आज के गर्‍यौँ ? कसो गर्‍यौँ ? यस्तै यस्तै कुराकानी ।

वर्षातसँग रातको समयमा पनि कुरा हुन थाल्यो । हामी फेरि नव प्रेमी जोडी जस्तै कुरा गर्न थाल्यौँ ।

बिहान, दिउँसो, साँझ र सुत्ने बेलामा पनि हामी एकअर्काप्रति चासो राख्थ्यौँ । कहिलेकाहीँ त पहिलेकै दुनियाँमा छु कि जस्तो पनि लाग्ने ।

कुनैकुनै बेला सम्झिन्थे, के मैले यो गलत गरिरहेकी त छैन ? मैले यो जे गरे गलत गरिरहेकी थिएँ । आफ्नो घर बिगार्दै थिएँ भने, अर्कोको घर पनि बिगार्दै थिँए । वर्षातसँगको माया बसेर नजिकिँदै थिएँ वा सुमनसँगको माया र समयको अभावमा त्यसको पूर्ति गर्न यसो गर्दै थिएँ मलाई नै थाहा थिएन । तर, मैले जे गर्दै थिएँ एकदमै गलत गर्दै थिएँ ।

कुनै पल म एकदमै सोझी । आफ्नो श्रीमानको खुशीका लागि जे पनि गर्न तयार हुने । हाम्रो सम्बन्धमा तेस्रो व्यक्ति त कल्पनानै गर्न सक्दिन थिएँ । तर, आज म उहीँ नसोचेको बाटो हिँडिरहेकी छु । तर, के यस्तो बाटो रोज्नु म एक्लैको गल्ती हो ? यदि मेरो श्रीमानले मलाई पहिलाको जस्तै माया दिएको भए, समय दिएको भए मैले पनि तेस्रो व्यक्ति मेरो जीवनमा कहिल्यै प्रवेश गराउने थिइनँ होला । बिहे पछिको जिन्दगी बिहे अगाडिको जस्तो त कहाँ हुँदो रहेछ र । यद्यपि, त्यसलाई व्यवस्थापन गर्न सकियो भने जे पनि हुन्छ, आखिर मनै त हो ।

श्रीमान आउन दुई दिन बाँकी थियो । मनमा छटपटी भइरहेको थियो । के गरुँ कसो गरुँ । कसलाई सुनाउ यो मेरो कथा व्यथा । जसलाई सुनाए पनि नराम्रो त समाजमा छोरी चेली नै हुन्छ । मैले वर्षातसँग नै कुरा गर्ने निर्णय गरेँ । त्यो रात मैले वर्षातसँग कुरा गरेँ ।

उनले पनि सम्झाए मलाई । मैले पनि उनलाई सम्झाए । टिपेको फूलभन्दा नटिपेकै फूल कति राम्रो हुन्छ । तर टिपिसकेपछि पनि सुन्दर तरिकाले त्यो फूललाई सजाउँदा अझ सुन्दरता झल्किन्छ । जानी नजानी मानिसबाट गल्ती हुन्छ तर समयमानै गल्ती सुधार्‍यो भने दुर्घटनाबाट बच्न सकिन्छ । वर्षातसँग त्यसरी कहिल्यै नबोल्ने अठोट गरेँ । कुनै पल प्रेमी–प्रमिका थियौँ, अब एउटा राम्रो साथी रहने निर्णय गरेँ ।

उनले पनि मलाई नकारात्मक दृष्टिले कहिल्यै लिएन । हाम्रो भेट त्यो बेला भएको थियो जति बेला याहु च्याट हुन्थ्यो, हट मेल हुन्थ्यो । फेसबुक त मलाई याद पनि छैन । अनि फोन हाम्रो एनटिसी टु एनटिसी हुन्थ्यो, या त ल्यान्डलाइन फोन हुन्थ्यो ।

त्यसबेला हाम्रो माया सामान्य खालको थियो । स्वच्छ र निश्चिल थियो । अहिलेको जस्तो सामाजिक सञ्जालको प्रभावमा परेको माया भए, मेरो पनि उही युटुब च्यानलहरुमा देखाइने अवैध सम्बन्धको कारण हत्या, हिंसा जस्ता अकल्पिनीय घटना घट्थ्यो होला ।

मेरो श्रीमान आउने दिन, मोबाइलको कल डिटेल्स्, म्यासेजहरु सबै डिलिट गरेँ । वर्षातसँगको सम्झना त डिलिट गर्न सक्दिनथेँ । तर उनको पनि वैवाहिक जीवन सुन्दर रहोस् भनेर भगवानसँग प्रार्थना गर्दछु ।

श्रीमान आउनुभयो । उही थकान लिएर तर यो पटक मैले उहाँको थकानलाई महसुस गरेँ । छोरा मान्छेको मन छोरी मान्छेको माया र आँशुले नै पग्लिन्छ । कफी बनाएर दिएँ अनि एकछिन आराम गरेपछि उहाँले नै म र छोरीलाई डिनरको लागि बाहिर लानु भयो होटलमा ।

होटलका वेटर भाइहरुले युटुबमा भिडियो हेरिरहेका थिए । ‘आफ्नो श्रीमान हुँदाहुँदै परपुरुषसँग लागेकी महिलाको हत्या ।’ लामो सास फेरेँ ।

श्रीमानलाई पुलुक्क हेरेँ, उहाँ छोरोसँग गफ गर्दै चिसो बियर पिइरहनु भएको थियो । अनि मैले पनि चिसो कोक पिउँदै छोरी र श्रीमानसँग रमाइलो कुराकानी गर्न थालेँ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  २ : ४५ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन