धने « Khabarhub
Logo
९ आश्विन २०७७, शुक्रबार

धने



उसको परिवार काठमाडौंको नयाँ बानेश्वरमा बसेको लगभग २० वर्ष भयो । सुरुमा त ऊ एक्लै थियो । खासै पढेलेखेको नभएर हो कि अरूतिर रुचि नभएर, ऊ ज्यामी काम गथ्र्यो ।

ऊ अर्थात् धनबहादुर । ऊ कहाँ जन्मियो उसैलाई थाहा छैन । माने बुढाले उसलाई शंखमूलको फाँटमा फेला पारेका थिए रे ! खै ! कति महिनाको दुधे बालक थियो ऊ, तर एक्लै फेला परेको थियो रे बिहानीपख ।

माने बुढा भरिया थिए । धनबहादुरलाई उनैले हुर्काए, १४ वर्षसम्म । त्यसपछि माने बुढा मरे । धने टुहुरो भो । भलै माने बुढाले धनेलाई जन्माएनन्, उसलाई माम दिए, नाम दिए र पछि आफ्नै काम दिएर बिदा भए ।

कहिलेकाहीँ माने बुढाले धनेलाई भन्थे–

मेरो लासमा अगुल्टो झोस्नलाई फेला परिस् धने ! अलि धनीको फेला परेको भए तेरो दिन राजासरी चल्थ्यो होला । हुन त तलाई धेरै हुनेखानेले मैलेभन्दा पहिले नै देखेका हुन् तर उठाउने हिम्मत कसैले गरेन । सबैभन्दा धनी त मैँ हुँ जस्तो लाग्यो अनि तँलाई उठाएँ । कसका कर्ममा के लेख्या छ, आज छाक टार्न नसकेर के भो त, पछि धन कमाऊलास् ।

यस्तो कुरा सुनेर धने टोलाउँथ्यो तर जीवनमा उसले कहिल्यै कुनै पनि विषयमा कसैसँग कुनै गुनासो गरेन । भन्थ्यो– सबै कुरा माथि देउताले नै लेख्छन् रे ! मेरो भाग्य लेख्दालेख्दै देउताको कलममा मसी सक्यो रे ! मैले के गर्नु !

यसैगरी चलेको छ उसको जीवन । बाह्र वर्ष बितेछ माने बुढाले देहत्याग गरेको । कर्म दिने बाबुको मृत्युपछि निकै एक्लिएको थियो धने । भारी बोक्दै जाँदा पुरानो बानेश्वर ओरालोमा मकै पोलेर बेच्ने चम्पासँग उसको तारन्तार भेट हुन थाल्यो ।

मायाको पहिलो इजहार आँखाले गर्दो रैछ भन्ने लाग्यो धनेलाई । तिनै चम्पालाई आफ्नो एक्लो जीवनको सहारा बनाउने निर्णय मनमनै गरेपछि भारी पुर्‍याएर फर्किंदै गर्दा धनेले प्रेमप्रस्ताव राख्यो ।

उनीहरूबीच दुःखसुखका कुरा सामान्य भइसकेका थिए । चम्पाले पनि उसलाई मन पराउन थालेकी थिई तर आफैँले मुख खोलेर भनिहाल्दा कस्ती केटी रैछे भन्ने आक्षेप लाग्ला भनेर धनेको भावनाको पर्खाइमा थिई ।

चम्पाको जीवन पनि धनेसँग मिल्दोजुल्दो छ । आफ्ना आमाबाबुको मृत्युपछि उनलाई मितबाले हुर्काएका हुन् । छोरीको बिहे गरेरमात्रै मर्छु भन्थे तर इच्छा पूरा गर्न नपाउँदै अचानक बिते ।

मितबा बितेपछि चम्पा एक्ली भई । उनलाई धनेको प्रस्ताव मन पर्‍यो । हर्षले स्वीकार गरिन् ।

दैवले धने र चम्पा एकअर्कालाई सहारा जुटाइदियो, बाँच्ने आधार बनिदियो । त्यति बेला धने २०–२१ वर्षको हुँदो हो, चम्पा १७–१८ की । उनीहरूले एकअर्कालाई आफ्नो जीवनका सारथि बनाउने निर्णय गरेर जीवनरथ सुरुवात गरे ।

समय बित्दै गयो, दुवै अत्यन्तै खुसी थिए । उनीहरूको आम्दानी यथेष्ट थिएन तर आफ्ना सीमित चाहनाहरू पूरा गर्न सकेका थिए । उनीहरूको पहिलो सन्तान जन्मियो, छोरो । नाम कमल राखे । धने र चम्पा औधी खुसी भए । धने भन्थ्यो– छोरा गतिलो भए जुनी फेरिन्छ भन्छन् । हाम्रो पनि भाग्य फेर्ने जन्मियो । बाँचुन्जेल पाल्छ । मरेपछि पोल्छ ।

कमल जन्मेको दुई वर्षपछि धने र चम्पाको दोस्रो सन्तानको जन्म भयो । यसपटक आफ्नै झुपडीमा छोरीको जन्म भयो । उनीहरूको सानो परिवार पूर्ण भयो । छोरीको नाम कमला राखे । आमाबाबु र छोराछोरी रमाइलो जीवन बिताउँदै थिए ।

कमल र कमला दुबै जना बानेश्वरकै सरकारी स्कूलमा पढ्थे । कमल पढाइमा अब्बल थियो । अक्सर प्रथम हुन्थ्यो । कमजोर नतिजा आउँदा पनि चौथो भन्दा तल झरेको थिएन ।

बिस्तारै चम्पाको स्वास्थ्यमा समस्या आउन थाल्यो । सानो उमेरमा गरेको दुःखले हो वा धुवाँधुलोसँगको नियमित लडाइँले वा दैवको लीला । कमल ८ कक्षा र कमला ६ कक्षामा पढ्दै गर्दा माघको जाडोमा चम्पा दम र क्षयरोगले च्यापेर सदाको लागि संसार छोडेर गई ।

पत्नी वियोगमा डुबेको धनेले पहिलोपटक भगवानसँग गुनासो गर्‍यो । पैसा नभएर आमालाई बचाउन नसकेको ठानेर कमलले आफ्नो पढाइ छोड्यो । दश कक्षाको परीक्षा पनि नदिई कतार जान तयार भयो । हामीजस्ता गरिबका छोराले पढाइमा जति नै उत्कृष्ट नतिजा हात पारे पनि समाजका उपल्लो वर्गको नोकर नै बन्नुपर्ने रहेछ भन्ने ठहर गरेर धनेले छोराको निर्णयमा मौन स्वीकृति दियो ।

आफ्नी अर्धाङ्गिनीको मृत्युपछि धने शारीरिकमात्रै होइन मानसिक रूपमा समेत गल्न थालेको थियो । एकोहोरो हुन्थ्यो । धेरै बेर टोलाउँथ्यो अनि एक्लै भक्कानिन्थ्यो ।

आफ्ना बाबुको यस्तो अवस्था देखेको कमल बहिनीको भविष्य निर्माण अनि बाबुको सहाराको निम्ति पैसा कमाउन मुग्लान जान तयार भएको थियो । कतारमा दैनिक पत्रिका बेच्ने काम गर्नेगरी उस अनुबन्धित भयो । सुनौलो भविष्यको लागि पचास डिग्रीको तापक्रममा आफ्नो श्रम बेच्न कमल कतार उडेको थियो ।

धनेको सुखी परिवारको दुई जना बाँकी भए काठमाडौंमा । आर्थिक स्रोतको लागि धने छोरामा मात्र निर्भर थिएन । अझै पनि आफू पुरानो पेशा गथ्र्यो । उताबाट छोराको कमाइ र यता आफ्नो सानो कमाइले उसको परिवारको खर्च, कमलाको पढाइखर्च र धनेको औषधि खर्च जेनतेन पुगेको थियो ।

हुनत, कसले पो सोचेको र चाहेको सबै पुरा हुन्छ र ! जसोतसो जीवन चलेकै थियो । बाबुछोरी एकअर्काको सहारा बनेर बाँचेका थिए । कमल हप्ताको एकपटक फोन गर्ने गथ्र्यो । शुक्रबार उसको छुट्टी हुने भएकाले छोरो फोन आउने आशामा धने शुक्रबार बिहानैदेखि हर्षित देखिन्थ्यो ।

कमल विदेश गएको दुई वर्ष पुगेकोले अब छुट्टी मनाउन एक महिनाको लागि नेपाल आउने तयारीमा थियो । यो खबर आफ्नो बाबु र बहिनीलाई सुनाउँदा दुवै अत्यन्तै खुसी भएका थिए । टुहरो हुर्केको धने आफ्ना छोराछोरीलाई ईश्वरका साक्षात रूप ठान्थ्यो ।

चीनको उहान सहरबाट सुरु भएको कोरोना भाइरसको महामारी विश्वभर देखापरेको थियो । करोडौँ मानिस संक्रमित भएका थिए । लाखौँको संख्यामा मानिस मरेका थिए । नेपालमा पनि सरकारले निषेधाज्ञा जारी गरेको थियो ।

विदेशमा रहेका नेपालीहरू पनि पीडित थिए । यो खबरले धने र उसकी छोरी कमला निरन्तर कमलको बारेमा सोचेर चिन्तित हुन्थे । जब शुक्रबार कमलको फोन आउँथ्यो उनीहरू खुसी हुन्थे । अस्थायीरूपमा उनीहरूको चिन्ता हट्थ्यो ।

विदेशको जिन्दगी, त्यो पनि कतारको खडेरीमा दैनिक उच्च तापक्रममा काम गर्दा आनन्द त कसलाई पो हुन्थ्यो होला र ! कमल आफ्नो दुःखको कहानी बुबा र बहिनीलाई सुनाउँदैन थियो । आफ्नो दुःखको कहानीले बुबा र बहिनी दुःखी नहोऊन् भन्नेमा सचेत थियो । हरेक शुक्रबार कमल प्रफुल्ल मनले फोन गथ्र्यो ।

एकदिन साँझापख बाबुका लागि औषधि किन्न गएकी कमला निकै बेरसम्म फर्किन । जवान छोरी यत्रो बेरसम्म नआउँदा धनेको मनमा चिसो पस्यो । अलिकति रिस पनि उठ्यो । दुई घण्टासम्म छोरी नआएपछि धने चिन्तित भयो । उसको मनमा के के अनिष्टको कल्पना भयो । केही दिनअघि एक जना छिमेकी भाउजुले तिम्री छोरी त को को केटासँग हिँडेको देख्छु भनेकी थिइन् ।

रातको दश बजिसक्यो । कमला आइन । धनेले प्रहरीलाई खबर गर्ने विचार पनि गर्‍यो तर आफ्नी छोरी आउँछे भन्ने तर्कनाले जित्यो । धने रातभरि निदाउन सकेन । उसले कमलालाई कति पटक फोन गर्‍यो, गनेर के साध्य ! सुरुसुरुमा सम्पर्क हुन सकेन भनेको फोनले पछि स्विच अफ भनेपछि उसले उमेर पुगेकी छोरी भन्ने ठान्यो । छिमेकी भाउजुले भनेको सम्झ्यो । बिरामी बाबु छाडेर भागी भनेर मुर्मुरियो । बिहे नै गरेर दिन्थेँ नि भन्दै एक्लै फतफतायो । यस्ती छोरी जन्माएकोमा भगवानसँग चित्त पनि दुखायो ।

रातभर निदाउन नसेकेको धने बिहान सबेरै पुर्पुरोमा हात राखेर बसेको थियो । शंखमूल पुलतिर प्रहरीको गाडी गएको आवाज आइरह्यो । मान्छेहरूको चहलपहल बढ्यो । धनेको मनमा चिसो पस्यो । के के सोच्दै थियो, कमलको साथी रूपेश स्कूटर चढेर आइपुगेछ । रूपेशले काका एकपटक युएन पार्कसम्म जानपर्यो रे’ भन्यो । धने बोल्न सकेन । स्कूटरमा पछाडि बस्यो । पुलमा पुगेपछि देख्छ त, आफ्नो खुट्टामा जुत्ता चप्पल केही छैन ।

उसले अचानक सम्झ्यो, आज त शुक्रबार हो । छोराले फोन गर्छ, उसलाई के भन्नु !

स्कूटर रोकियो । मानिसको भिड थियो । धनेको मन आत्तियो । दुई जना प्रहरीले दुईतिर हातमा समातेर उसलाई भिडको बीचमा पुर्‍याए ।
छोरीको निर्वस्त्र मृत शरीर ! धने एकपटक ‘छोरी…!’ भनेर चिच्यायो र बेहोस भयो । उसलाई प्रहरीले सह्माले ।

पोस्टमर्टमपछि प्रमाणित भयो । कमलामाथि बलात्कार भएर उसको हत्या भएछ । कमलाको मृत शरीर र धनेको अवस्थाले भिड स्तव्ध थियो ।

बेलुका कमलको फोन आउने नियमित समयमा धनेको फोनको घन्टी बज्यो । उसले फोन उठायो । उताको आवाज फरक थियो । स्वर मधुरो थियो । धनेको धैर्यको बाँध टुट्यो । फोन कमलको साथी सुजनले गरेको थियो । सुजनले मलिन आवाजमा सुनायो–अंकल ! मलाई माफ गरिदिनुस्, कमल हामीमाझ रहेन । कतारमा कोरोना संक्रमणले उसको मृत्यु भयो ।

धनेको हातबाट मोबाइल फोन खस्यो । धनेको धरोहर ढल्यो । दैवले धनेको सबै खुशी चुँड्यो ।

कमलको शव काठमाडौं ल्याउने कुरै भएन । शव उतै गाडेको खबर आयो । आफ्नो बंश धान्ला र आफूलाई पोल्ला भनेको छोरोको अस्तुसमेत धनेले पाएन ।
यता कमलाको ज्यान लिने को थियो, आजसम्म फेला परेको छैन ।

धने आजकाल एकोहोरो भएको छ । बेर बेरै भक्कानिन्छ । बेर बेरै सडकमा कमल ! कमला ! भन्दै चिच्याउँछ ।


भर्खर

0