कैलालीका एक सयभन्दा बढी घर डुबानमा, पाँच ठूला नदीमा तीन दिनसम्म बाढीको जोखिम | Khabarhub Khabarhub

कैलालीका एक सयभन्दा बढी घर डुबानमा, पाँच ठूला नदीमा तीन दिनसम्म बाढीको जोखिम


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली – लगातारको वर्षाले कैलालीको धनगढी लगायतका भू-भाग डुबानमा परेका छन्।

अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन् ।

नदी तथा कुलाको पानी गाउँ पसेपछि सयौँ घर डुबानमा परेका छन् । घरमा पानी पस्दा खाद्यान्न, अन्नपात भिजेर नष्ट भएका स्थानीयवासी शुभम चौधरीले जानकारी दिए ।

जानकी–३, ७, ८, ९ का सयौँ घर डुबानमा परेको चौधरी बताउँछन् । ‘कुलो फुटेर बस्तीमा पस्दा सयौँ बिघा खेतीयोग्य जमिन पटानी भएको छ’, चौधरीले भने, ‘सयौँ घरमा अन्नपात र लुगाकपडा भिजेको छ । केही बस्ती सार्नुपर्ने अवस्था आएको छ । हामीले प्रहरीलाई खबर गरेका छौँ ।’

टीकापुर नगरपालिका–५ शाहीपुर, सिम्रेनी, वडा नं ६ को बेलुवा बस्ती डुबानमा परेको छ । माथिल्लो तटको पानी बग्दै जाँदा यी क्षेत्रमा बाढीको खतरा बढेको छ ।

निरन्तर वर्षा भएपछि कर्णाली नदीमा निर्माण भएको तटबन्ध भत्कने जोखिम बढेको छ । तटबन्ध भत्कन थालेपछि कर्णाली नदी बस्तीमा पस्ने खतरा बढेको स्थानीयवासी बडघर धर्मराज जैशीले बताए ।

‘वर्षाले गाउँ जलमग्न भएपछि सबैतिरका सडक बन्द भएका छन्’, बडघर जैशीले भने, ‘उद्धारका लागि शाहीपुर–सिम्रेनी जानसक्ने अवस्था छैन । यस्तै वर्षा निरन्तर भइरहे बस्ती सानुपर्नेछ ।’

लगातारको वर्षाले टीकापुरको जमरा नदीमा पानीको बहाव बढेको छ । जमरा कुलोमा पानी सहतभन्दा माथि पुगेपछि बस्तीमा बग्न थालेको छ ।

पानी बस्तीमा पसेपछि मुनुवास्थित किसान बिजवृद्धि कृषि सहकारी संस्थामा रहेको २०० क्विन्टल गहुँको बीउ र मौज्दात मल भिजेर नष्ट भएको छ । नदी पुलभन्दा छ फिट माथिबाट बग्न थालेपछि सामान सार्न जानसक्ने अवस्था नरहेको दिलबहादुर चौधरीले जानकारी दिए ।

टीकापुरमा रहेका सिँचाइ कुला भरिएपछि टीकापुरका सबैजसो बस्ती जलमग्न भएका छन् । टीकापुरमा सयौँ घरमा पानी पसेको स्थानीय दुर्गा बुढामगरले बताए ।

कैलालीको भजनी र जोशीपुर क्षेत्र पनि डुबानमा परेको छ ।  धनगढीका हसनपुर, शिवनगर, उत्तरबेहडी, क्याम्पसरोड लगायतका ठाउँ जलमग्न भएका छन्।

कान्द्रा, काँडा र पथरैया नदीको बाढी कैलालीको भजनी र जोशीपुरका विभिन्न बस्तीमा पस्दा डुबान भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जोशीपुरमा काँडा नदी गाउँ परेपछि २५ घर डुबानमा परेका छन्। उनीहरुलाई सुरक्षित स्थानमा सारिएको छ।

यस्तै पथरैया नदी गाउँ पसेपछि जोशीपुरकै ८ घर डुबानमा परेका छन्। काँडा नदीमा आएको बाढी गाउँ पसेपछि भजनी नगरपालिकाका ६० भन्दा बढि घरमा डुबान भएको छ।

कान्द्रा नदीमा आएको बाढीले पनि भजनीकै १६ घर डुबानमा परेका छन्। घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयबासीले बताएका छन्।

बाढी सूचना केन्द्रले कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरको धेरै स्थानमा ‘अति भारी’ वर्षा भइरहेको र थप वर्षा हुने देखिएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

५ ठूला नदीका तटीय क्षेत्रमा जोखिम

यसैबीच आगामी ३ दिन पाँच ठूला नदीका तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ ।

बाढी सूचना केन्द्रले कन्काई, कोशी, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र यसका सहायक नदीजलाधार क्षेत्रमा बाढीको जोखिम रहेको जनाएको छ ।

केन्द्रले ती नदी र प्रदेश १, २, गण्डकी, प्रदेश ५ र सुदूर पश्चिम प्रदेश भई बहने साना नदीमा बहाव सतर्कता आसपास हुने र केहि साना नदीमा खतरा आसपास पुग्न सक्ने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

आज कन्काई, आरूणखोला, पश्चिम राप्ती, बबई , रिउखोला, तिनाउ, बाणगंगा, कान्द्रा, मोहना-खुट्टिया, चौधर र यसका केही सहायक नदीमा आकस्मिक बहाव भई खतरा तह आसपास सम्म पुग्न सक्ने पूर्वानुमान गरिएको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ८ : ५७ बजे

६ वर्षमा वाणिज्य बैंकका शाखा कार्यालय २ हजारले बढे

काठमाडौँ– पछिल्लो ६ वर्षको समयमा वाणिज्य बैंकहरुको शाखा २ हजारको

आज चैते दसैँ पर्व मनाइँदै

काठमाडौँ– आज चैते दसैँ पर्व हर्षोल्लासका साथ मनाइँदै छ। हिन्दु

आज सेतो मत्स्येन्द्रनाथको रथयात्रा सुरु हुँदै

काठमाडौँ– वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा आज सुरु

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।