दैनिक १० हजार जनाको पीसीआर परीक्षण भएन | Khabarhub Khabarhub

दैनिक १० हजार जनाको पीसीआर परीक्षण भएन

मन्त्रालयका अधिकारी भन्छन् : क्षमता १० हजारको छ, नमूना संकलन नभएको हो


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्यमन्त्री भानुभक्त ढकाल असार १५ गतेदेखि पीसीआर विधिबाट दैनिक १० हजार जनाको कोरोना भाइरस परीक्षण गर्ने आफ्नो घोषणा कार्यान्वयन गर्न असफल भएका छन् ।

असार १५ गते सोमबार अपराह्न नियमित लाइभ अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ७ हजार ७९१ जनाको पीसीआर परीक्षण भएको छ । देशभरका २२ वटा प्रयोगशालामा उक्त परीक्षण भएको हो । यो संख्या मन्त्रीको घोषणाभन्दा २ हजार २०९ वटा कम हो ।

मन्त्री ढकालले तीन साताअघि प्रतिनिधिसभामा सांसदका प्रश्नको जवाफ दिँदै असार १५ गतेदेखि दैनिक १० हजार व्यक्तिको पीसीआर विधिबाट कोरोना भाइरस परीक्षण हुने बताएका थिए ।

‘क्षमता पो भनेको त !’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार दैनिक १० हजार नमूनाको पीसीआर परीक्षण गर्ने क्षमता छ तर प्रयोगशालाको क्षमताअनुसार कोरोना परीक्षण गर्न आवश्यक नपरेको हो । कोरोना आशंका गरिएको व्यक्तिहरू नै कम भएकाले १० हजार जनाको परीक्षण नभएको डा. अधिकारीको भनाइ छ ।

‘केही दिनअघिसम्म परीक्षणको क्षमता कम थियो, अहिले क्षमताको हिसाबले दैनिक १० हजार परीक्षण गर्न सक्ने अवस्थामा पुगिएको छ,’ डा. अधिकारीले खबरहबसँग भने, ‘कसको परीक्षण गर्नुपर्ने हो, स्याम्पल संकलनको कुरा छ, त्यो चाहिँ आवश्यकता नदेखिएकाले स्याम्पल नै नभएपछि १० हजार परीक्षण नभएको हो । अहिले कुनै पनि प्रयोगशालामा स्याम्पल क्युमा छैन ।’

उनका अनुसार कोरोना परीक्षणका लागि नयाँ निर्देशिका लागू भएपछि परीक्षण गराउनुपर्ने व्यक्तिको संख्यामा पनि कमी आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २० गते कोरोना परीक्षणको नयाँ निर्देशिका बनाएको थियो ।

उक्त निर्देशिकाअनुसार कोरोनाको उच्च जोखिममा रहेका देशबाट फर्किएका, कोरोना संक्रमितको सम्पर्कमा आएका, कोरोनाको उपचारमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, फ्रन्टलाइनमा खटेका सुरक्षाकर्मी, फोहोर व्यवस्थापनका कर्मचारी, कोरोना संक्रमणको शंका गरिएका र तत्काल उपचार वा शल्यक्रिया गर्नुपर्ने बिरामी, कोरोनाको उच्च जोखिम क्षेत्रबाट आएका र स्वास्थ्य अवस्था गम्भीर भएका बिरामीको पीसीआर परीक्षण हुन्छ ।

यस्तै, कोरोना संक्रमण धेरै भेटिएको क्षेत्रमा समुदायस्तर र कोरोनाको लक्षण देखिएका व्यक्तिहरूमा परीक्षण गर्ने कुरा निर्देशिकामा उल्लेख छ । लक्षण नदेखिएका, कोरोना संक्रमितका सम्पर्कमा नआएको र ट्राभल हिस्ट्री समेत नभएका व्यक्तिका परीक्षण नहुने व्यवस्था छ ।

निर्देशिकाले होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा रहेका व्यक्तिहरूमा पनि कोरोनाको लक्षण देखिएकाको मात्रै परीक्षण गर्ने भनेको छ । यस्तै, पीसीआर विधिबाट कोरोना संक्रमण पुष्टि भएका तर लक्षण नभएका व्यक्तिलाई १४ दिनपछि पुनः परीक्षण गर्न आवश्यक नहुने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

नयाँ निर्देशिका लागु भएपछि देशभर कोरोना परीक्षणका लागि नमूना संकलन पनि कम भएको सहप्रवक्ता डा. अधिकारीको भनाइ छ । ‘पहिले निर्देशिकाभन्दा बाहिरको स्याम्पल बढी आउथ्यो, क्वारेन्टिनमा पनि धेरै मान्छे थिए, परीक्षण गर्नुपर्नेको संख्या धेरै थियो, डा. अधिकारीले भने, ‘अहिले निर्देशिकाअनुसार कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति, लक्षण देखिएका व्यक्तिहरूको नै कोरोना परीक्षण भइरहेको छ ।’

अहिले दैनिक १० हजार नमूना परीक्षण गर्नु परे पनि पर्खिनु नपर्ने डा. अधिकारीले बताए । उनले भने, ‘अहिले स्याम्पल भयो भने दैनिक १० हजार परीक्षण गर्न सकिन्छ । अब स्याम्पल होल्ड हुँदैन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कुल जनसंख्याको २ प्रतिशत अर्थात ६ लाख व्यक्तिको कोरोना परीक्षण गर्ने बताएका थिए । प्रधानमन्त्री ओलीले घोषणा गरेअनुसारको स्वास्थ्य मन्त्रालयले तयारी गरेको डा. अधिकारीले बताए ।

२४ घण्टामा ४७६ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ११२ महिला र ३६४ पुरुष गरी ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार १६ वटा प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  ९ : ०६ बजे

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्