१९ हप्ताको लकडाउनपछि न्युजिल्याण्डले यसरी जित्यो कोरोना भाइरस | Khabarhub Khabarhub

१९ हप्ताको लकडाउनपछि न्युजिल्याण्डले यसरी जित्यो कोरोना भाइरस

कठोर लकडाउन, सेल्फ आइसोलेसन र सुलभ परीक्षण मुख्य सूत्र


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१९ हप्ताको लकडाउनपछि प्रशान्त महासागरको टापु मुलुक न्युजिल्याण्ड कोरोना भाइरस परास्त गर्ने महत्वाकांक्षी लक्ष्य पूरा गर्न सफल भएको छ ।

तर, न्युजिल्याण्डमा यसको खुशीयाली भने अझै आइसकेको छैन ।

पछिल्ला केही दिनमा नयाँ संक्रमितको संख्या एकल अंकमा सीमित छ । सोमबार त्यहाँ एक जनामात्रै नयाँ संक्रमित पुष्टि भएको थियो ।

‘यसले कोरोना भाइरसलाई परास्त गर्ने हाम्रो लक्ष्य पूरा गरेकोमा हामीलाई आत्मविश्वास दिलाएको छ । कोरोना भाइरसलाई परास्त गर्नुको अर्थ संक्रमितको संख्यालाई शून्यमा झार्नु होइन बरु संक्रमणहरू कहाँबाट आइरहेका छन् भन्ने जान्नु हो,’ न्युजिल्याण्डका स्वास्थ्य महाप्रबन्धक एश्ली ब्लुमफिल्डले भने ।

उनका अनुसार अप्रिल १ यता मुलुकमा एक जनामात्रै नयाँ संक्रमित देखिएका छन् र अधिकारीहरू उक्त संक्रमणको स्रोतबारे अनुसन्धान गरिरहेका छन् ।

सोमबार पाँच साता लामो कठोर लकडाउनको अन्तिम दिन थियो । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अड्रेनले यसलाई ‘न्युजिल्याण्डको आधुनिक इतिहासकै सबैभन्दा कठोर कदम’ भनेकी थिइन् ।

मंगलबारबाट लकडाउनका नियम धेरै हदसम्म खुकुलो बनाएर तेस्रो श्रेणी (लेभल थ्री) मा झारिएको छ । यसबाट ४ लाखभन्दा धेरै नागरिकलाई काममा जान बाटो खुला भएको छ । त्यहाँको ७५ प्रतिशत अर्थतन्त्र पनि पुनः सञ्चालनमा आएको छ । त्यस्तै, नयाँस्तरको नियमअनुसार मानिसहरूलाई भीडभाड नगरी अन्त्येष्टी समारोहमा सहभागी हुन तथा सामानहरू किन्न पनि खुला गरिएको छ ।

कोरोना भाइरसका कारण न्युजिल्याण्डमा १९ जनाको मृत्यु भएको छ भने १ हजार ४७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमितमध्ये १, हजार २१३ अर्थात् ८२ प्रतिशत निको भइसकेका छन् ।

कोरोना भाइरसलाई परास्त गर्न सफल भएको न्युजिल्याण्डमा खुशीयालीको माहौल भने छैन । प्रधानमन्त्री अड्रेनले सतर्कता अपनाउन अझै पनि आह्वान गरिरहेकी छिन् ।

‘हामीले अझै समस्याबाट पार पाइसकेका छैनौँ,’ मंगलबार पत्रकार सम्मेलनमा उनले भनिन् । ‘(तेस्रो श्रेणीको लकडाउन) मा हामी न्युजिल्याण्डका नागरिकहरूले गरेका काम कति प्रभावकारी रहे भनेर मूल्यांकन गर्नेछौँ ।’

न्युजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अड्रेन, फाइल तस्वीर

न्युजिल्याण्डले कोरोना भाइरसको सफल व्यवस्थापन गर्नुमा केही कारणहरू छन् । न्युजिल्याण्डमा निकै ढिलो गरीमात्र कोरोना भाइरसका संक्रमित देखिएका थिए । न्युजिल्याण्डमा फेब्रुअरी २८ मा अर्थात् अमेरिकामा भन्दा एक महिनाभन्दा धेरैपछि पहिलोपटक कोरोना भाइरसका संक्रमित पुष्टि भएको थियो ।

अर्को, न्युजिल्याण्ड तुलनात्मक रूपमा दुर्गम मानिन्छ । दक्षिण प्रशान्त क्षेत्रमा अवस्थित न्युजिल्याण्डमा त्यतिधेरै अन्तर्राष्ट्रिय उडानहरू हुँदैनन् । त्यस्तै, अमेरिका वा अष्टे«लियाजस्तो संघीय नभई न्युजिल्याण्ड एकात्मक मुलुक हो । यसबाट पनि कोरोना भाइरसविरुद्ध सरकारले चालेका कदम थप प्रभावकारी बन्न पुग्छ ।

तर, न्युजिल्याण्डका लागि सफलताको सुत्र भौगोलिक अवस्थिति वा राज्यप्रणाली मात्रै होइन । न्युजिल्याण्डको सूत्र विश्वका जुनसुकै मुलुकमा पनि लागू हुन सक्छ– छरितो, सुलभ परीक्षण र विज्ञानको प्रयोग ।

न्युजिल्याण्डले कोरोना भाइरसविरुद्ध प्रभावकारी कदम नचालेका मुलुकको भयावह अवस्था नियालिरहेको थियो । सोही कारण न्युजिल्याण्डले महामारीविरुद्ध अरू मुलुकहरूभन्दा तुलनात्मकरूपमा छिटो कदम चाल्यो ।

प्रधानमन्त्री जसिण्डा अड्रेनले गत मार्च १४ मा विदेशबाट न्युजिल्याण्ड प्रवेश गर्ने सबैले दुई साता लामो सेल्फ आइसोलेसनमा बस्नुपर्ने नियम जारी गरिन् । यो विश्वकै सबैभन्दा कठोरमध्येको स्वास्थ्य सुरक्षा नियम थियो । त्यसबेला त्यहाँ ६ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै, मार्च १९ का दिन अड्रेनले सबै विदेशीलाई न्युजिल्याण्ड प्रवेशमा प्रतिबन्ध लगाएको घोषणा गर्दा त्यहाँ कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या २८ थियो ।

र, उनले मुलुकमा लकडाउन घोषणा गरेको दिन अर्थात् मार्च २३ सम्म त्यहाँ १०२ जना कोरोना भाइरसका संक्रमित थिए । त्यसबेलासम्म कोरोना भाइरसका कारण न्युजिल्याण्डमा कसैले पनि ज्यान गुमाएका थिएनन् ।

प्रधानमन्त्री अड्रेनले पनि मंगलबार विज्ञप्ति जारी गर्दै न्युजिल्याण्डले कोरोना भाइरसको सफल व्यवस्थापन गर्न सक्नुमा छिटो लिइएका निर्णायक र कठोर कदमलाई जस दिएकी छिन् ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै न्युजिल्याण्डले कठोर कदम चाल्नुका केही कारणहरू छन् । प्रधानमन्त्री अड्रेनले भनेजस्तै न्युजिल्याण्ड प्रशान्त क्षेत्रका स–साना टापु मुलुकहरूको मुख्य प्रवेशमार्ग हो त्यसैले न्युजिल्याण्डले आफ्ना छिमेकी मुलुकहरूको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न पनि कठोर कदम चाल्नु परेको हो । कोरोना भाइरसविरुद्धका न्युजिल्याण्डमा लागू गरिएका नियमले न्युजिल्याण्डका नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण थिए ।

‘यहाँ न्युजिल्याण्डमा हामीसँग अरू मुलुकजस्तो सघन उपचारका लागि धेरै शैयाहरू छैनन् । त्यही भएर अड्रेनले छिटो कदम चाल्नु परेको हो,’ अकल्याण्ड विश्वविद्यालयकी माइक्रोबायोलोजी विज्ञ सियोक्सी विलेसले यही महिनाको सुरुमा भनेकी थिइन् ।

कोरोना भाइरसका नयाँ संक्रमित देखिने क्रम ओरालो लागिरहे पनि न्युजिल्याण्डले यसअघि लागू गरेका नियमहरू खुकुलो बनाउन हतार गरेन । अड्रेनले सबैभन्दा कठोर स्तर अर्थात् चौथो श्रेणीको लकडाउन (लेभल फोर) को अवधि पाँच दिन बढाएकी थिइन् ।

यसका बाबजुद न्युजिल्याण्डका नागरिकहरू यस किसिमको कडाइको पक्षमा नै देखिए । गत साता कोलमर ब्रन्टनले जारी गरेको सर्वेक्षणको नतिजामा ८७ प्रतिशत नागरिकले महामारीविरुद्ध सरकारको कामको समर्थन गरेको जनाइएको थियो ।

न्युजिल्याण्डले परीक्षण तीव्र पारेको छ । हरेक दिन न्युजिल्याण्डमा ८ हजार जनासम्मको परीक्षण भइरहेको मंगलबार प्रधानमन्त्री अड्र्रेनले जनाएकी थिइन् ।

हालसम्म न्युजिल्याण्डमा १ लाख २६ हजार ६६ वटा परीक्षण भइसकेको छ । तुलना गर्दा १३ गुण धेरै जनसंख्या रहेको बेलायतमा हालसम्म ७ लाख १९ हजार ९१० वटा परीक्षण भएको छ ।

न्युजिल्याण्डको परीक्षण अभियानले काम गरिरहेको उदाहरण परीक्षण गरिएका मानिसमा संक्रमण पुष्टि हुने दर हो ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओ अन्तर्गत विश्व स्वास्थ्य संकट कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनका अनुसार परीक्षण अभियान प्रभावकारी भइरहेको छ भनेर जान्ने उपाय कति जनाको परीक्षण गर्दा कति जना संक्रमित भेटिन्छन् भन्ने हो ।

उनले बताएअनुसार हरेक संक्रमित पुष्टि हुँदा भेटिँदा परीक्षण गरिएका अरू ९ जनामा संक्रमण देखिएन अर्थात् संक्रमण पुष्टि हुने दर ९ प्रतिशतभन्दा कम छ भने त्यसलाई प्रभावकारी परीक्षण अभियान मान्न सकिन्छ ।

न्युजिल्याडमा संक्रमण पुष्टि हुने दर केवल १ प्रतिशत आसपास छ । यसको अर्थ स्वास्थ्य प्रणालीको पकडबाहिर न्युजिल्याण्डमा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छैन भन्ने हो ।

सोमबार प्रधानमन्त्री अड्रेनले विश्वका अरू मुलुकमा कोरोना संक्रमित हरेक मानिसले औसतमा २.५ जनालाई भाइरस सार्ने गरेको भन्दै लकडाउनका कारण न्युजिल्याण्डमा भने हरेक संक्रमितले अरूलाई भाइरस सार्ने दर केवल ०.४ रहेको अर्थात् एकजना संक्रमितले आधाभन्दा कम मानिसलाई मात्रै कोरोना सार्ने गरेको पाइएको बताएकी थिइन् ।

कोरोना भाइरसका कारण लगाइएको प्रतिबन्ध फुकुवा भएपछि न्युजिल्याण्डको क्रिस्टचर्चस्थित म्याक डोनाल्ड (फास्ट फूड)को पसल अगाडि गाडीमै लाइनमा लागेका ग्राहकहरु, तस्वीर– एपी

ओटाको विश्वविद्यालय अन्तर्गत जनस्वास्थ्य विभागका प्राध्यापक माइकल बेकरका अनुसार न्युजिल्याण्डले कोरोना भाइरसलाई परास्त गर्न सफल हुनुको मुख्य कारण चाहिँ विज्ञानको र नेतृत्वको समाञ्जस्य हो ।

लकडाउन अवधिभर प्रधानमन्त्री अड्रेनले नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य महाप्रबन्धक एश्ली ब्लुमफिल्डलाई पनि सहभागी गराउँदै आएकी थिइन् । अड्रेनले सञ्चारमाध्यमबाट आउने धेरै प्रश्नको जवाफ ब्लुमफिल्डलाई नै दिन लगाउँथिन् ।

राष्ट्रसेवक कर्मचारी भए पनि ब्लुमफिल्डको शैक्षिक योग्यता चिकित्सकको छ । उनी जनस्वास्थ्य औषधिका विज्ञसमेत हुन् । त्यहाँको स्वास्थ्य मन्त्रालयको वेबसाइटमा राखिएको विज्ञप्तिअनुसार उनी नसर्ने रोग नियन्त्रण र रोकथामका क्षेत्रमा सक्रिय छन् ।

‘न्युजिल्याण्डमा विज्ञान र उत्कृष्ट नेतृत्वको संयोजन छ । यही कारणले कोरोना भाइरस व्यवस्थापन निकै प्रभावकारी भएको हो,’ बेकरले भने । उत्कृष्ट एवं ठूलो संख्यामा वैज्ञानिक स्रोत भए पनि अमेरिका, बेलायत र युरोपेली मुलुकहरूले कोरोना नियन्त्रणका लागि न्युजिल्याण्डले भन्दा धेरै संघर्ष गरिरहेको भन्दै उनले निराशासमेत व्यक्त गरे ।

कोरोना भाइरसविरुद्धको युद्धमा न्युजिल्याण्ड सफल भएको देखिए पनि त्यहाँको नागरिकहरूलाई महामारीअघिको जीवनशैलीमा फर्किन भने केही समय लाग्नेछ । लकडाउन खुकुलो पारिए पनि न्युजिल्याण्डमा कोरोना भाइरस नियन्त्रण एवं रोकथाम गर्ने अभियान अझै सकिएको छैन ।

मुलुकमा लकडाउन खुकुलो बनाइए पनि मानिसहरूलाई घरमै बस्न आह्वान गरिएको छ ।

अर्डेनले महामारी अघिको जीवनशैलीमा फर्कन समय लाग्ने सोमबार नै बताइसकेकी छिन् । ‘त्यो दिन अवश्य आउने छ तर अहिलेसम्म अझै आइसकेको छैन,’ उनले सोमबार भनिन् ।

उनका अनुसार खोपको विकास नहुँदासम्म महामारीविरुद्धको युद्ध जारी नै रहनेछ ।

त्यसबाहेक न्युजिल्याण्डले कोरोना भाइरसका कारण उत्पन्न आर्थिक समस्याविरुद्ध पनि युद्ध लड्न बाँकी नै छ ।

यो महामारीले न्युजिल्याण्डको सबैभन्दा ठूलो निर्यातमुखी उद्योग पर्यटन क्षेत्रलाई नराम्ररी प्रभावित बनाएको छ । विदेशीलाई न्युजिल्याण्ड प्रवेश गर्न बन्देज गर्ने नियम अझै पनि कायमै छ । विदेशमा रहेका न्युजिल्याण्डका नागरिकले स्वदेश आइसकेपछि कम्तीमा १४ दिन अनिवार्य सरकारले तोकेका क्वारेन्टाइन क्षेत्रमा बस्नुपर्ने व्यवस्था छ ।

त्यस्तै न्युजिल्याण्ड र अष्ट्रेलियाका सरकारबीच एक मुलुकले अर्को मुलुकका नागरिकलाई प्रवेश दिने विषयमा छलफल भइरहे पनि यसबारे आधिकारिक घोषणा भएको छैन ।

सबैभन्दा उत्तम अवस्थामा पनि न्युजिल्याण्डको बेरोजगारी दर १३ प्रतिशत पुग्ने त्यहाँको अर्थ मन्त्रालयको अनुमान छ ।

‘स्वास्थ्य जोखिमविरुद्ध हामी जसरी लड्यौँ, भाइरसबाट उत्पन्न आर्थिक प्रभावविरुद्ध लड्न पनि हामी सक्दो कोशिस गर्नेछौँ,’ प्रधानमन्त्री अर्डेनको भनाइ थियो ।


(सिएनएनको अनलाइन संस्कारणमा प्रकाशित जुलिया होलिङ्सवर्थको यो आलेख हिमाल कोइरालाले भावानुवाद गरेका हुन्)

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  २ : ५९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन