जानकारहरू भन्छन् : प्रतियोगिता सुरु हुन असोज कुर्नुपर्छ | Khabarhub Khabarhub

जानकारहरू भन्छन् : प्रतियोगिता सुरु हुन असोज कुर्नुपर्छ


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लकडाउन पाँच साता पूरा भएको छ । लकडाउनका कारण अरू सबै झैँ नेपालमा खेल गतिविधि पनि ठप्प छ ।

नेपालमा खेल प्रतियोगिताका लागि माघदेखि वैशाखसम्मको समय उपयुक्त मानिन्छ । यो समयमा थुप्रै प्रतियोगिता हुने गरेका थिए तर कोरोना भाइरसका कारण फागुन मध्यदेखि नै खेल गतिविधि ठप्प छ ।

यसबीचमा राष्ट्रियस्तरका क्रिकेटमा प्रतियोगिता हुन सकेनन् । नेपाल क्रिकेट संघ (क्यान) ले चैत अन्तिममा सुरु गर्ने गरी राष्ट्रिय प्रतियोगिताको तयारी गर्दै थियो तर चैत ११ देखि लकडाउन भएपछि स्थगित भयो ।

लकडाउन खुलेपछि कति समयमा खेल सुरु होला भन्ने जिज्ञासा क्रिकेटप्रेमीहरूमा देखिएको छ । लकडाउन बढ्दै जानु र नजिकिँदै गरेको वर्षायामले क्रिकेट लामै समय हुन नसक्ने हो कि भन्ने अनुमान पनि हुन थालेको छ । वर्षामा क्रिकेट हुँदैन ।

खबरहबले क्रिकेट खेलका जानकार र पारखीहरूसँग कुराकानी गरेको छ । उनीहरू लकडाउन पूर्णरूपमा नखुलेसम्म खेल गतिविधि गर्न हतार गर्नु हुँदैन भन्नेमा एकमत देखिन्छन् । नेपालमा अब क्रिकेट प्रतियोगिताका लागि असोज नै कुनुपर्ने हुनसक्छ भन्नेमा पनि एउटै मत देखियो ।

अशोकनाथ प्याकुरेल, सचिव (क्यान)

‘राष्ट्रिय प्रतियोगिता गर्न सके हुन्थ्यो’

लकडाउन खुल्यो र स्थिति सामान्य बन्यो भने नेपाल क्रिकेट संघ (क्यान) को प्राथमिकता राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने नै हो । अन्य प्रतियोगिता गर्न सकिएन भने पनि महिला–पुरुष राष्ट्रिय प्रतियोगिता र यु–१९ प्रतियोगिता गर्ने भन्ने हो ।

अहिलेको समय हेर्दा कठिन हुँदै गएको छ । काठमाडौँमा केही सहजजस्तो देखिएपछि तराईतिर अलि समस्या देखिएको छ । यस्तोमा क्रिकेट गराउन अप्ठ्यारो हुन्छ ।

लामो समय क्यान राष्ट्रिय प्रतियोगिता हुन सकेको थिएन । अहिले क्यान आएको छ तर समय कठिन बनिदिँदा समस्या भयो ।

सरकारले सबै ठिक भयो, प्रतियोगिता गर्न पाउँछ नभनेसम्म खेलाउने कुरा भएन । सरकारले अनुमति दिएपछि हामी एउटा भए पनि राष्ट्रिय प्रतियोगिता गर्छौं । जेठसम्ममा भए पनि काठमाडौँमा खेलाउन पाए हुन्थ्यो तर परिस्थिति कसैको नियन्त्रणमा छैन ।

वर्षापछिको सिजनमा हामी यसैलाई निरन्तरता दिएर अघि बढ्नुपर्छ । जेठसम्म गर्न नसकिए असोज नै कुर्नुपर्छ । वर्षायाममा इन्डोरमा हुने कोच, रेफ्रिको ट्रेनिङ गर्ने कि भन्ने छलफल भइरहेको छ ।

ज्ञानेन्द्र मल्ल, कप्तान (राष्ट्रिय क्रिकेट टोली)

‘चिकित्सकहरूसँग सल्लाह गर्नुपर्छ’

लकडाउन पन्ध्र दिनमा खुले पनि खेलकुदका गतिविधि भइहाल्ने स्थिति छ जस्तो लाग्दैन । चिकित्सकहरूसँग पनि छलफल र सल्लाह गरेर त्यसअनुसार जानुपर्छ ।

कोरोना भाइरसको भ्याक्सिन अझै पत्ता लागेको छैन । यस्तो अवस्थामा हतार–हतार गतिविधि गरे भिडभाड हुँदा समस्या बल्झिन सक्छ । लकडाउन खुलेपछि सबै कुरामा ध्यान दिएर अघि बढ्नुपर्छ । सरकार र स्वास्थ्यसम्बन्धी जानकारहरूसँगको छलफलपछि निर्णय लिनुपर्छ । म चाहिँ हतार नगरौँ भन्छु ।

मनसुन पनि हाम्रो नियन्त्रणको कुरा होइन । नेपालमा कहिले असार–साउनमा पनि क्रिकेट खेल्ने माहौल हुन्छ । खेलाडीले तयारी गर्ने अर्को पाटो भइहाल्छ । सामूहिक तयारी गर्ने हो भने लकडाउनपछि पनि सुरक्षित गन्तव्य खोज्नु पर्छ ।

वर्षायाममा पनि राष्ट्रिय प्रतियोगिता हुने गरेका छन् तर साउन–भदौमा क्रिकेट हुन्छ जस्तो लाग्दैन । अब क्रिकेट सुचारु गर्न असोज नआएसम्म अप्ठ्यारो हुन्छ । प्रतियोगिता आयोजनाका लागि रिस्क (जोखिम) लिने समय यो होइन भन्छु म चाहिँ ।

यस्तो अवस्थामा क्यानले पनि एउटा रोडम्याप बनाउनुपर्छ । खेलाडीको तयारीका लागि आईसीसी र क्यानको सेड्युअल आउन सक्यो र त्यसैअनुसार गर्न सकियो भने सजिलो हुन्छ । क्यानले पनि मुख्य प्रशिक्षक र आईसीसीको सेड्युअल अनुसार तयारी गर्ने माहोल बनाउनुपर्छ ।

जगत टमटा, प्रशिक्षक

‘काठमाडौँमा एउटा र बाहिर अर्को गर्न सकिन्छ’

विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसको पूर्ण अन्त्य हुनुपर्छ । यो रोकियो भने अन्य कामहरू नियमित हुन सक्छन् । हामीसँग सबै क्यालेन्डर छँदैछ । त्यसलाई प्राथमिकताका आधारमा अगाडि बढाएर प्रतियोगिता आयोजना गर्न सकिन्छ ।

क्रिकेटका लागि अप्ठ्यारो महिना भदौ हो । त्योभन्दा अगाडि असार मसान्त वा साउनसम्म पनि क्रिकेट प्रतियोगिता भइरहेकै थिए । यस्तोमा चुनौती पक्कै छ ।
कोरोना रोकिएपछि काठमाडौँमा एउटा प्रतियोगिता सञ्चालन भइरहँदा उपत्यकाबाहिर अर्को गर्न पनि सकिन्छ । अहिले मैदान जताततै छ । प्रतियोगिता गर्न असहज हुँदैन ।

पवन अग्रवाल, पूर्व कप्तान

‘अब सेप्टेम्बर अगाडि क्रिकेट गर्न सकिँदैन’

अहिले त कोरोना भाइरसको त्रास कहिले सकिने भन्ने नै छ । यस्तोमा लकडाउन खुले पनि सरकारले खेलकुद गतिविधि गर्न अनुमति देला भन्ने मलाई लाग्दैन । सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले लकडाउन खुलेको एक–डेढ महिना खेलकुद प्रतियोगिता गर्न कठिन हुनसक्छ ।

त्यसपछि वर्षायाम सुरु हुन्छ । वर्षामा पिच र मैदानको कन्डिसन राम्रो नहुने भएकाले क्रिकेट गर्न सहज छैन । गर्नकै लागि गर्न त सकिन्छ तर त्यसले कुनै आउटपुट दिँदैन ।

मेरो विचारमा अब क्रिकेट सेप्टेम्बर अगाडि गर्न सकिन्छ जस्तो लाग्दैन । यसले लामो समय लिने पक्का छ ।

राजु बस्नेत, अध्यक्ष, वागमती प्रदेश क्यान

‘बहस र छलफलमा समय सदुपयोग गरौँ’

लकडाउन कहिलेम्म जान्छ भन्ने निश्चित भइसकेको छैन । क्रिकेटका लागि वर्षायाम अफ सिजन हुन्छ । यसबीचमा हुनुपर्ने धेरै प्रतियोगिताहरू हुन सकेनन् ।
अब क्रिकेटका प्रतियोगिताहरू आउँदो भदौभन्दा पछाडि नै जान्छन् होला । प्रधानमन्त्री कपका जिल्ला, प्रदेश र राष्ट्रिय प्रतियोगिता भदौपछि गर्ने गरी योजना बनाएर व्यवस्थित गरेर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ ।

अहिले खेल्नमात्रै नमिल्ने हो । भविष्यमा के गर्न सकिन्छ, कसरी अगाडि बढ्न सकिन्छ भनेर बहस र छलफल गर्ने समय मिलेको छ । नेपाली क्रिकेटको विकास कसरी द्रुत गतिमा अगाडि बढाउन सकिन्छ भन्ने विषयमा यो समयमा छलफल गर्दै समयको सुदुपयोग गर्नुपर्छ जस्तो लाग्छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  १२ : ०७ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका