गाउँका मात्र होइन शहरका शिक्षितले पनि गराउँदैनन् क्यान्सरको जाँच « Khabarhub
Logo
२८ चैत्र २०७६, शुक्रबार

गाउँका मात्र होइन शहरका शिक्षितले पनि गराउँदैनन् क्यान्सरको जाँच

‘बिरामीले डाक्टरलाई परिवारको सदस्य जस्तै व्यवहार गर्दा खुसी लाग्छ’



कुनैपनि व्यक्तिलाई परिवारको साथ र सहयोग रह्यो भने कुनै पनि कार्य पूरा गर्न सहज हुन्छ । परिवारको साथ पाए पेशा, व्यवसाय जीवनमा पनि सफता हात पर्न सकिन्छ भन्ने उदाहारण पाउन सकिन्छ ।

परिवारको प्रोत्साहन र प्रेरणाबाट आफ्नो पेशामा जमेकी व्यक्ती हुन् क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईँ । उनी अहिले वीर अस्पतालमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत छिन् ।

डा सन्ध्या क्यान्सर लागेका बिरामीको उपचार मात्र गर्दिनन् । ‘क्यान्सर रोग लाग्नै दिनु हुँदैन’ भन्दै क्यान्सर रोगबारे सचेतनाका कार्यक्रम गर्नमा पनि सक्रिय छिन् उनी ।

‘म शिक्षित परिवारमा जन्मिएकाले मेरो बाल्यकालमा पढ्नुपर्छ, डाक्टर बन्नुपर्छ भनर परिवारले नै प्रेरणा दिनुभयो,’ डा सन्ध्याले भनिन्, ‘विवाह पछि पनि म संयुक्त परिवारमा छु, परिवारमा सबै शिक्षित भएकोले नै मलाई आफ्नो पेशामा निरन्तर लाग्न सहज भएको छ ।’

परिवारको चाहनामा डाक्टर

क्यान्सर रोग विशेषज्ञ डाक्टर सन्ध्या चापागाईँ काठमाडौंको बालाजुमा जन्मिएकी हुन् । घर र मामाघर नजिक भएकाले उनी घर र मामाघरको सयुक्त परिवार सहितको वातावरणमा हुर्किइन् ।

मामाघरका हजुरबुबा पनि शिक्षित थिए । शिक्षित परिवारमा जन्मिएकाले सन्ध्याको बाल्यकाल सुखद् रुपमा नै वित्योे । पढ्ने वातावरण पनि राम्रोसँग पाइन् । उनले सिद्धार्थ बनस्थली स्कुलबाट अध्ययन शुरु गरिन् । सन्ध्याले २०४७ सालमा एसएलसी प्रथम श्रेणीमा पास गरिन् । एसएलसी सकिएपछि सिद्धार्थ बनस्थलीमा नै आइएसीको अध्ययन पूरा गरिन् ।

सन्ध्याको पढाइप्रति उनको परिवार खुसी थिए । सन्ध्यालाई उनका परिवारले डाक्टर बनाउने योजना बनाएका थिए । परिवारको योजनामै सन्ध्याले आफ्नो भविष्य ठिक देखिन् ।

परिवारकै चाहना अनुसार उनले पोखराको मणिपाल मेडिकल कलेजमा एमबीबीएसको अध्ययन शुरु गरिन् । सन् २०००मा एमबीबीएसको पढाइ सकिएपछि नेपाल आर्मी तथा वीर अस्पतालमा इन्टर्नसीप गरिन् । उनी सन् २००० मा एमबीबीएस डाक्टर बनिन् ।

‘परिवारबाट नै पहिला देखि नै तिमी त डाक्टर बन्नुपर्छ भन्नुहुन्थ्यो, परिवारले नै डाक्टर बन्नुपर्छ भनेर नै मैले डाक्टरी पढें,’ सन्ध्याले मेडिकल क्षेत्र रोज्नुको कारणरबारे बताइन्, ‘परिवारले दवाव नै दिनुभएको त होइन, तर प्रथम श्रेणीमा एसएलसी पास गरेपछि साइन्स नै पढ्नुपर्छ, डाक्टर बन्नुपर्छ भनेर परिवारका सदस्यहरुले भन्नु भएपछि मैले आफ्नो माइन्ड सेट बनाए र डाक्टरी पढे ।’

वीर अस्पतालबाट सेवा

२०६१ सालमा एमबीबीएस पूरा गरेर इन्टर्नसीप पनि सकिएको थियो, सन्ध्याको । भर्खर–भर्खर डाक्टर बनेकी सन्ध्या जागिरको खोजीमा थिइन् ।

त्यहि समयमा एमबीबीएसको पढाइ पूरा गरेका डाक्टरका लागि वीर अस्पतालमा मेडिकल अफिसरको पदमा लोकसेवाको आवेदन खुल्यो । उनले लोकसेवा तयारी गरिन् । त्यतिबेला वीर अस्पतालमा खुलेको मेडिकल अफिसरको लोकसेवा परीक्षामा ५ सय जना एमबीबीएस डाक्टरहरु प्रतिस्पर्धामा थिए । तर, वीर अस्पतालमा जम्मा ३० जना माग गरिएको थियो ।

सन्ध्या पनि लोकसेवाको परीक्षामा ५ सयजना मध्येबाट ३० जनाभित्र परिन् । मेडिकल अफिसरमा नाम निकाल्ने मध्ये डा सन्ध्या सहित दुईजना मात्र महिला डाक्टर थिए ।

उनी वीर अस्पतालमा मेडिकल अफिसरको रुपमा सरकारी डाक्टर बनेर बिरामीको सेवा गर्न थालिन् ।

लोकसेवा पास गरेका नयाँ चिकित्सक थिइन् डा सन्ध्या । वीर अस्पतालमा सरकारी सेवा शुरु गर्दा उनले दुईवर्ष आकस्मिक सेवा विभागमा आउने बिरामीको उपचार गरिन् । आकस्मिक सेवा लिन आउने विभिन्न थरिका बिरामीको उपचार गर्दा उनले मेडिकल क्षेत्रमा कामगर्दा भोग्नुपर्ने चिकित्सकको समस्या र बिरामीको पीडा देखिन् ।

वीर अस्पतालको आकस्मिक सेवा विभागमा दुई वर्ष काम गरेपछि उनले एमडी गर्ने सोच बनाइन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)बाटै उनले मेडिकल अंकोलोजीमा एमडी शुरु गरिन् ।

तीन वर्षमा अंकोलोजीको अध्ययन पूरा गरेपछि उनी वीर अस्पतालमै कार्यरत थिइन् । उनले सन् २०११ मा क्यानडाबाट क्यान्सर रोगको विषयमा फेलोसिप पनि गरिन् । डा सन्ध्या अहिले वीर अस्पतालमा क्यान्सर रोग विशेषज्ञको रुपमा कार्यरत छिन् ।

एमबीबीएस पढ्दा सिकाउने साथी नै जीवनसाथी

डाक्टर सन्ध्याले एमबीबीएसको पढाइ पूरा गरेर सरकारी चिकित्सकको रुपमा जागिर शुरु गरेपछि विवाह गरिन् । सन्ध्याका पति पनि डाक्टर हुन् । पोखराको मणिपाल मेडिकल कलेजमा सँगै पढ्ने साथी डाक्टर सुवास आचार्यलाई नै उनले जीवनसाथी बनाइन् ।

सन्ध्या र सुवास पोखराको मणिपाल मेडिकल कलेजमा एमबीबीएस अध्ययनको क्रममा भेट भएको थियो । सुवाससँग पढाइको विषयमा छलफल हुँदाहुँदै सन्ध्या र सुवासको साथीको सम्बन्ध प्रेमी–प्रेमीकाको रुपमा परिणत भयो ।

अन्ततः एमबीबीएस पढाइ पूरा गरेपछि उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । सन्ध्याका पति सुवास आफै पनि डाक्टर भएकाले सन्ध्यालाई आफ्नो डाक्टरी पेशामा लाग्न सहज भएको छ ।

‘मैले लभ म्यारिज गरेको हो, एमबीबीएस पढ्दा मलाई एनेटोमी ( मानवशरीर) को कोर्ष निकै गाह्रो लाग्थ्यो, सुवासलाई एनेटोमी राम्रोसँग आउने, एउटा साथीले सुवासले तिमीलाई एनेटोमी पढ्न सिकाइदिन्छ होला नि उसँग सिक न भनिन्,’ सन्ध्याले हाँस्दै भनिन्, ‘हामी सँगसंगै पढ्दा पढ्दै लभ पर्यो‍ । उहाँसगै विवाह गरें ।’

डा सन्ध्या र सुवासको एउटी छोरी छिन् ।

बिरामीले कोसेली ल्याउँदा

डा सन्ध्याले वीर अस्पतालमा धेरै बिरामीको उपचार गरिसकेकी छन् । क्यान्सर रोग विशेषज्ञ भएपछि हिमाली जिल्ला सोलुखुम्बु, पूर्वको इलाम लगायत देशका विभिन्न भागबाट आउने बिरामीको उपचार गर्दाको सुखद् अनुभवहरु डा सन्ध्यासँग अनगिन्ती छन् । क्यान्सरको लामो समयअवधिको उपचारले बिरामीसँग बढाएको आत्मियतालाई उनी कहिल्यै विसर्न सक्दिनन् ।

डा सन्ध्याको काम आफूकहाँ आउने बिरामीको चेक जाँच गर्ने र उनीहरुलाई निको पार्ने हो । तर बिरामीसँग उनको सम्बन्ध परिवारको सदस्यको जस्तै पनि हुने गरेको उनको अनुभव रहेको छ ।

केही बिरामीले डा सन्ध्यालाई आफ्नो उपचार गर्ने डाक्टरको रुपमा मात्र होइन आफ्नै परिवारको सदस्य जस्तै माया र सम्मान पनि गर्छन् । आफूले उपचार गरेको बिरामीले आफुलाई परिवारकै सदस्यजस्तै गरेर उपचार गर्न आउँदा समेत गाउँबाट कोशेली ल्याइदिने गरेको डाक्टर सन्ध्या बताउँछिन् ।

‘क्यान्सरको उपचार त लामो समयसम्मको हुन्छ, बिरामीहरु फलोअपमा आइरहदाँ हामीले आफ्नो सबै बिरामीलाई चिन्ने भइसक्छौं,’ डा सन्ध्याले भनिन्, ‘कतिपय बिरामीसँग त बिरामी र डाक्टरबीचको सम्बन्धमा सिमित हुँदैन, आफ्नै परिवारको सदस्यजस्तै पनि हुन्छन् । धेरै बिरामीहरुले आफ्नो घरमा पाइने स्याउ, चियापत्ति समेत बोकेर ल्याइदिनु हुन्छ । उहाँहरुले आफ्नो परिवार सम्झेर छोराछोरीलाई भेट्न आएजसरी कोशेली बोकेर आउँदा खुसी लाग्छ ।’

शहरका महिलाले पनि गराउँदैनन क्यान्सर जाँच 

नेपालमा रोग लागेपछि मात्र उचार गराउने तर त्यसअघि जाँच गराउने परिपाटी नहरको डा सन्ध्याको अनुभव रहेको छ ।

ग्रामिण क्षेत्रका मात्र होइन शहरी क्षेत्रका शिक्षितले पनि क्यान्सर जस्तो रोगको जाँच नगर्ने गरेको उनी बताउँछिन् ।

सरकारले महिलामा हुने विभिन्न खालको क्यान्सर जाँचमा सहुलियत दिएपनि त्यसको उपभोग महिलाहरुले गर्न नसकेको र नखोजेको उनको भनाइ छ ।

नेपालमा महिलाहरुमा हुने क्यान्सरमा पाठेघरको मुखको क्यान्सर पहिलो नम्बरमा पर्छ । पाठेघरको मुखको क्यान्सरबाट धेरै महिलाहरु पीडित हुने गरेका छन् । सरकारले क्यान्सर रोगको उपचारमा सहुलियतको व्यवस्था पनि गरको छ ।

क्यान्सर रोग समयमै पहिचान भएर रोग निदान गर्न सकिन्छ । त्यसका लागि समय समयमा स्वास्थ्य परीक्षण गराउनुपर्छ । सरकारले पनि महिलाहरुमा हुने स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरबारे सचेतना दिन विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सरकारले राष्ट्रिय कार्ययोजना नै बनाएको छ । सरकारले नेपालभरी नै पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ ( परिक्षण) निःशुल्क समेत गरेको छ । सरकारले पाठेघरको मुखको क्यान्सर निशुल्क परीक्षण गर्ने व्यवस्था गरेपनि धेरै नेपाली महिलाहरुलाई यो विषयमा जानकारी नै नभएको डा सन्ध्याले बताइन् ।

‘सरकारले पाठेघरको क्यान्सरको स्क्रिनिङ देशभर निःशुल्क रुपमा गर्न पाउने व्यवस्था गरेको छ, तर, धेरै महिलाहरुलाई यो विषयमा जानकारी नै छैन, यो सेवा लिनुपर्छ भन्ने नै थाहा छैन, जनचेतनाको कमी अझैपनि छ,’ डा सन्ध्याले भनिन्, ‘महिलाहरुमा समेचना पुग्न नसक्दा आफैले जाँच गर्न जानुपर्छ भनेर पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न आउने महिलाहरु अझै पनि कम छन् ।’

ग्रामिण क्षेत्रमा सचेतना नपुग्दा स्वास्थ्य जाँच नगराउने महिलाको संख्या धेरै रहेको छ । यस्तै शहरी क्षेत्रमा पनि पाठेघरको मुखको क्यान्सर परीक्षण नगराउनेको संख्या धेरै भएको डा सन्ध्याको तर्क छ । स्वास्थ्य जाँच गराउनुपर्छ भनेर जानकारी पाएपनि कार्यव्यस्तताका कारण शहरी क्षेत्रका महिलाहरुले पाठेघरको क्यान्सरको जाँच नै नगराएको डा सन्ध्या बताउँछिन् ।

‘शहरी क्षेत्रमा क्यान्सरको जाँच समय– समयमा गर्नुपर्छ, सरकारले पनि सुविधा दिएको छ भनेर जानकारी त छ । तर, जानकारी भएरपनि धेरै कामकाजी महिलाहरुले पाठेघरको मुखको क्यान्सर परीक्षण गराएका छैनन्,’ डा सन्ध्या भन्छिन्, ‘अब हामीले कामकाजी महिलाहरुलाई पनि क्यान्सर जाँच गराउनुपर्छ भनेर सचेत गराउनुपर्ने अवस्था आएको छ ।’


भर्खर

0