विश्वविद्यालयको विशिष्ट पदका आकांक्षीहरूका लागि | Khabarhub Khabarhub

विश्वविद्यालयको विशिष्ट पदका आकांक्षीहरूका लागि



खुला प्रतिस्पर्धाबाट छनौट भई म काठमाडौँ विश्वविद्यालय (कावि) को सहप्राध्यापकको पदमा नियुक्त भएको केही दिन भएको थियो । विश्वविद्यालय उत्कृष्ट हुन विद्यार्थी, प्राध्यापक र कर्मचारीहरू प्रत्येक दिन तोकिएको कार्यकक्षमा वा कक्षाकोठामा उपस्थित भएर आफ्नो अध्ययन वा वृत्तिविकासमा लगनशील भई संलग्न हुनु जरुरी हुन्छ ।

आफ्नो मातहतका हजारौँ अनुयायीलाई थप जाँगर र उत्साहका साथ काम गर्न प्रोत्साहन गर्ने प्रमुख कार्यकारी वा उपकुलपतिले कसरी आफ्नो कार्यकक्षलाई चुस्त, दुरुस्त राख्लान् वा उनीहरूलाई कसरी प्रभाव पार्लान् भन्ने कौतूहल मेरो मनमा थियो । एक दिन मेरो चिन्तनमा रहेको यस विषयको अस्पष्टता र अन्यौलको चिरफार गरिदिने रोचक प्रसङ्ग सिर्जना भयो ।

स्विजरल्यान्डको विश्वप्रसिद्ध प्राज्ञिक थलो स्विस फेडेरल इन्स्टिच्युट अफ टेक्नोलोजी लाउसानेमा दुई कार्यकाल अध्यक्ष भई अवकाश प्राप्त र संसारमै नाम कहलिएका इमिरेटस प्राध्यापक जिन क्लाउड बडुक्स काविका शुभचिन्तक र हितैषीका रूपमा कहलिएका रहेछन् । उनी एक भ्रमणका सिलसिलामा कावि आएका बेला काम सम्पन्न गरी संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मासँग उनकै निवासमा भेट गर्न जाने कार्यक्रम तय भएको रहेछ ।

उनलाई सवारीसाधन बिसौनीसम्म पुर्‍याउन आएका प्राडा रमेश मास्केले मलगायत अन्य केही प्राध्यापकहरूको जमाततर्फ हेर्दै भने, ‘प्राध्यापक बडुक्सको साथ लागेर पूर्वभिसी सरको घर गई काठमाडौँसम्म जाने सहयात्री चाहिएको छ । तपाईंहरूमध्ये कसैले फुर्सद निकाल्न सक्नुहुन्छ कि !’

हामीले मुखामुख गर्‍यौँ । यसमा कसैले रुचि देखाएन । मेरो मनले भन्यो, ‘प्राध्यापक बडुक्ससँग केही घण्टा एकान्तमा कुरा गर्न पाउने अवसर गुमाउनु हुँदैन । तुरुन्त आशय प्रकट गर् ।’ मैले तुरुन्तै निर्णय लिएँ ।

मैले प्राडा मास्केको ध्यानाकर्षण गर्दै भने, ‘रमेश सर ! म समय निकाल्छु ।’

मैले अवसर पाइहालेँ । सवारीचालकले हामीलाई गाडीमा राखे । प्राध्यापक महोदय पछाडिको सिटमा बसे, म अगाडिकोमा । यस्ता विषयमा संवेदनशील हुनु जरुरी हुन्छ भन्ने मैले बुझेको छु ।

सन् २०१४ मा म लगायत केही साथीहरूले धेरै मिहिनेत गरेर एक अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्‍यौँ । दरबारमार्गको याक एण्ड यती होटलमा सम्मेलन उद्घाटन समारोह थियो । प्रथम राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने कार्यक्रम थियो ।

विश्वविद्यालयमा भाइरस बनेर अध्यापक, कर्मचारी वा विद्यार्थीले आफूलाई सत्तापक्ष वा प्रतिपक्षी दलहरूसँग गर्ने राजनीतिको भद्दा खेलले शैक्षिक व्यवस्थापन वा प्रशासन सञ्चालनका विषयहरू प्रभावित छन् ।

होटलका प्रमुख व्यवस्थापकसँग समन्वय गरेर मैले राष्ट्रपतिको स्वागतका लागि सवारीसाधनको पछाडिको ढोका खोल्नेदेखि लिएर फूल दिएर मन्चसम्म लैजाने कदमहरूको योजना बनाई कार्यान्वयन गरेको थिएँ ।

आयोजक संस्था कावि भए पनि तत्कालीन उपकुलपतिको सचिवालयले मलाई यसमा खासै सहयोग गरेन । यसकारण पनि मलाई कूटनीतिक औपचारिकताका मिहिन अवयवहरूको थप जानकारी हुन गएको थियो ।

धुलिखेलको सिरानबजारमा रहेको शर्मा निवाससम्म पुगुन्जेल मैले मेरा अतिथि महोदयका कुरा सुनेँ । पूर्वउपकुलपति शर्मा र उनका समकक्षी बडुक्सबीच लगभग दुई घण्टा कुराकानी भयो । मैले ल्यापटपमा केही काम गर्नुपर्ने भएको जनाई निवासको बाहिरी कक्षमा पर्खेर बस्ने सोचेँ । हामी अपराह्न चार बजेतिर धुलिखेलबाट काठमाडाँैका लागि प्रस्थान गर्‍यौँ । पर्खने क्रममा मैले विश्वविद्यालय हाँक्न आवश्यक पर्ने केही महत्वपूर्ण सवालहरूको पहिचान गरेँ ।

ती सवालहरूको बारेमा प्राडा बडुक्सको विचार जान्ने कौतूहलले मेरो मन अधैर्य भएको थियो । धुलिखेलका पितामह बेलप्रसाद श्रेष्ठको हिमालय होराइजन होटेलको आसपासमा आइपुगेपछि मैले मेरा आदरणीय अतिथिको ध्यानाकर्षण गर्दै सोधेँ, ‘प्राध्यापक महोदय, यहाँले सम्बोधन गर्ने दीक्षान्त समारोहजस्ता गरिमामय अनुष्ठानमा विद्यार्थी, अभिभावक र अध्यापकहरूको कस्तो उपस्थिति हुने गर्दथ्यो ? र, यहाँको सम्बोधन भाषण कसले तयार गर्दथ्यो ?’

मलाई थाहा थियो कि मेरो दोस्रो प्रश्नको ओज पहिलोको तुलनामा कैयौँ गुणा बढी थियो । किनभने मभित्र गढेर बसेको नेतृत्व कौशल विधाको ज्ञानले भन्छ, ‘सभालाई सम्बोधन गर्दा अब्बल नेताको लागि हजारौँको संख्यामा उपस्थित दर्शकका आँखामा आँखा जुधाएर तिनको मनमा वर्षौँदेखि आसन जमाएका जडताका अवशेष एकै निमेषमा चिर्ने अवसर प्राप्त हुन्छ । यो काम गर्न आवश्यक अचुक अस्त्र नै सम्बोधन भाषणभित्र लुकेको सन्देश हो ।’

मेरो अन्तस्करणमा चट्टानझैँ स्थापित यो मान्यताले सर्वमान्य सिद्धान्तको रूप लिएको भान मलाई भयो । मेरो प्रश्नले प्राध्यापक महोदयका आँखा बलेका थिए । उनले एकै छिन मतिर नियालेर हेरे । अनि मेरो प्रश्नको मुक्तकण्ठले प्रशंसा गर्दै भने, ‘वाउ ! हाउ वन्डरफुल । जेन्टलम्यान, आई हाइली एप्रिसिएट योर भिजन एण्ड थट । दिस इज वन अफ दि मोस्ट इम्पोरटेन्ट डोमेन अफ अ लिडर ।’

मेरो प्रश्नले यति धेरै अंङ्क पाएकोमा मेरा पनि आँखा नबल्ने कुरो थिएन । उनको जवाफले झन ठूलो मूल्य थप गर्‍यो जुन अहिलेसम्म पनि मेरो हृदयको शिलालेखमा सुनौला अक्षरमा कुँदिएको छ । कहिलेकाहीँ मेरा श्रोता दशौँ हजारको संख्यामा हुन्थे । मेरो भाषण लेख्ने एक प्राध्यापक थिए । भाषण लेखनमा उनको विशेष अभिरुचि थियो ।’

यस जवाफले स्पष्ट संकेत गर्‍यो– आफ्ना सयौँ कर्मचारीको औकात र सिपको बारेमा अध्ययन गरी कसलाई कुन काम लगाउने भन्ने विषय उपकुलपति वा कार्यकारीलाई थाहा हुन जरुरी छ ।

काविलगायत अन्य विश्वविद्यालयमा भाइरस बनेर अध्यापक, कर्मचारी वा विद्यार्थीले आफूलाई सत्तापक्ष वा प्रतिपक्षी दलहरूसँग गर्ने राजनीतिको भद्दा खेलले शैक्षिक व्यवस्थापन वा प्रशासन सञ्चालनका विषयहरू प्रभावित छन् । यस्ता राजनीतिक गतिविधि र स्थानीय जनता वा संघसंस्थाले अघि सारेका माग सम्बोधन गर्दै उनीहरूसँग सम्झौता गर्नेजस्ता काम सम्पन गर्ने क्षमता भएका अध्यापकहरूलाई चयन गरी विवाद मिलाउने वा सर्वमान्य सिद्धान्तका आधारमा परीक्षा सञ्चालन गर्ने वा प्रशासन चलाउने सवालमा विश्वविद्यालयका अधिकांश पदाधिकारीहरू चुकेका छन् ।

जीवनमा कहिल्यै पनि राजनीति नगरेको, मुद्दा मामिला वा वादविवाद मिलाउने काम नगरेको, प्रकृति विज्ञान वा गणितजस्ता विषयको अध्यापनमा अभ्यस्त प्राध्यापकलाई बलिको बोको बनाई यस्ता काम कारबाहीमा फसाइदिने संस्कारले जरो गाडेको छ ।

यसले गर्दा तालबन्दी र हडतालजस्ता निषेधका गतिविधिहरूले प्रश्रय पाएका छन् । शैक्षिक संस्थाहरूमा महिनौँसम्म पठनपाठन नहुने समस्या सिर्जना हुने गरेको छ । प्रा. बडुक्सले अपनाएको ‘सही मान्छे, रुचिको काम’ सिद्धान्तको प्रयोगले हाम्रा पनि धेरै समस्याहरू समाधान हुने मैले अनुमान गरेँ ।

मेरो दोस्रो प्रश्न थियो, ‘कसैले नितान्त व्यक्तिगत समस्याका कारणले तपाईंलाई भेट्न चाहेमा के व्यवस्था थियो ?’

उनले यसको पनि सटिक जवाफ दिए ।

विश्वविद्यालयले राजनीतिक गतिविधि, लागु पदार्थ दुर्व्यसन, परीक्षाकक्ष र कक्षा कोठाका अनियमित कार्य, शैक्षिक संस्थाभित्र हुने अश्लिल क्रियाकलाप आदिमा शून्य सहनशीलताको रणनीति अख्तियार गर्न सक्ने इच्छाशक्ति उम्मेदवारमा हुनै पर्छ ।

उनको कार्यालय समय रहेछ बिहान आठ बजेदेखि बेलुकी साढे चार बजेसम्म तर उनी बिहान ६ बजे नै कार्यकक्षमा पुग्दा रहेछन् । कार्यालय सुरु हुनुअघिको दुई घण्टा अग्रिम सूचना दिएर जोकोहीले पनि उनलाई भेट्न सक्ने नियम बनाएका रहेछन् । कार्यालय समय सुरु भएपछि उनको औपचारिक भेटघाट मात्र हुने रहेछ ।

उनले गर्वका साथ भने, ‘मैले दुवै कार्यकालमा हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म कार्यकक्षमा उपस्थित हुने अनुशासन पालना गरेँ । यो मैले जीवनमा गर्व गर्ने एक विषयमध्ये हो । यस्तै कामले मानिसको जीवन सफल हुने हो । यसले संस्थाको उद्देश्य प्राप्तिमा ठूलो महत्व राख्छ ।’

उनको कार्य शैलीका अन्य विशेषता पनि रहेछन् । उनले विभिन्न समूह बनाएर रात्रिभोज आयोजना गर्ने थिति पनि बनाएका रहेछन् । यस्ता समारोहमा कहिले ५० वर्ष नाघेका प्राध्यापकहरू, कहिले महिला प्राध्यापकहरू त कहिले युवा प्राध्यापकहरूले निमन्त्रणा पाउँदा रहेछन् । उनीहरूसँग घुलमिल गर्ने र उनीहरूका सामूहिक समस्याहरूमा छलफल गर्ने चलन उनको संस्थामा रहेछ ।

उनले भने, ‘आफ्ना अनुयायीहरूलाई म कार्यरत संस्थाको कार्यकारी हाम्रो पिरमर्का सुनेर सम्बोधन गर्न सक्छ भन्ने आत्मविश्वास जगाउनु असल नेतृत्वको अर्को महत्वपूर्ण पाटो हो ।’

नेपालको धेरै पटक भ्रमण गरेका र पूर्वउपकुलपति शर्मासँग घनिष्ट सम्बन्ध रहेका यी सफल कार्यकारीका कार्यशैली र अनुभवहरू भर्खरै बामे सर्न लागेको काविजस्तो शैक्षिक संस्थाका पदाधिकारीहरूले कति अनुशरण गरे, त्यो अनुसन्धानको विषय होला । मैले भने स्थायी दरबन्दीमा पद बहाली भई सात वर्ष बिताउँदा यस्ता महारथी कार्यकारीहरूका प्रेरणादायी अनुभूतिहरूको टेको लगाएर धेरै महत्वपूर्ण निर्णयहरू गरी सफलता हासिल गरेको छु ।

छोटो अवधिमै वातावरण इन्जिनियरिङ विधाको कार्यक्रम संयोजकको थप जिम्मेवारी मैले पाएँ । मसँग नेपालमा वातावरण प्रभाव मूल्याङ्कन विषयका पितामह प्राडा. रामबहादुर खड्काद्वारा सञ्चालित स्क्कीम कलेजको प्राज्ञिक विभागको प्रमुख र नेपाल विकास अनुसन्धान प्रतिष्ठानको कार्यकारी निर्देशक तहको कार्यकारी अनुभव थियो ।

स्कूल अफ साइन्सका तत्कालीन डिनले विद्यार्थीहरूले गरेको अनुशासन उल्लंघन छानविन गरी दोषीलाई कारबाही चलाउने छानबिन समितिमा मलाई संयोजकको भूमिका दिएका थिए । विद्यार्थीसँग विवादमा एक विशिष्ट पदाधिकारीलाई जुत्ता प्रहार गर्ने एक प्राध्यापकको छानविन र सुनुवाइ समितिमा पनि म थिएँ ।

मेरो सात वर्षे कार्यकालको आरम्भतिरै सेमेस्टरको अन्तिम परीक्षाको नतिजा प्रकाशित भएको दुई दिनपछि मैले कल्पनै नगरेको एक घटना भयो ।

एक अभिभावकले फोन गरे, ‘सर ! मेरो छोरोको चार वटा विषय लागेछ । यो पीडा उसले सहन सकेन । दुई दिनदेखि ढोका बन्द गरेर बसेको छ । विष पनि किनेर ल्याएको रहेछ । आत्महत्या गर्न ठिक्क परेको छ । सबैले सम्झायौँ । केही लागेन । अब सरमात्र एक अन्तिम व्यक्ति हुनुहुन्छ, जसले मेरो छोरोलाई बचाउन सक्नुहोला ।’ उनी फोनमै रुन थाले ।

म अप्रत्यासितरूपमा आइलागेको समस्या विश्लेषण गर्न लागेँ । ममाथिका पदाधिकारीहरूको सहयोगले कुनै मूल्य अभिवृद्धि नगर्ने दृष्टान्तहरू यसअघिका अन्य घटनाहरूले देखाइसकेका थिए । मेरासामु मेरै बुद्धि र विवेकबाहेक अरू साधन थिएन ।

अभिभावकसँगको फोनवार्तालाई निरन्तरता दिँदै मैले सोधेँ, ‘उसको साथमा मोबाइल फोन छ ?’

‘छ तर ऊ कसैको पनि फोन उठाउँदैन ।’

मैले त्यसैलाई अस्त्र बनाउने विचार गरेँ । फोन गरेँ । उठेन । तीनपटक गर्दा पनि फोन उठेन । मैले मेसेन्जरमा एक सन्देश पठाएँ ।

‘म डा. नवराज खतिवडा हुँ । कृपया एक पटक फोन गर । विशेष कुरा गर्नु छ ।’ मेरो रणनीतिले काम गर्‍यो । उनले फोन गरे । मैले जानेको मनोवैज्ञानिक सिद्धान्तको फेर समातेर कुरा गरेँ । दुई बजे दिउँसो मेरो कार्यकक्षमा बोलाएँ ।

प्राध्यापक बडुक्सको आफ्ना अनुयायीसँग अन्तक्र्रिया गर्ने र उनीहरूका गुनासा सुन्ने कार्यशैलीसँग मैले उल्लेख गरेको प्रसङ्ग पनि मेल खान्छ भन्ने मेरो मान्यता छ । विश्वविद्यालको सफल सञ्चालनका लागि यस्ता दृष्टान्तहरू नजिर बन्छन् ।

केही बेरमा अभिभावकको फोन आयो । छोरो ढोका खोलेर बाहिर आएको सन्देश दिए । म ढुक्क भएँ ।

नभन्दै दुई बजे ती विद्यार्थी मेरो कार्यकक्षमा आए । उनले भने, ‘सर ! चार विषय लागेपछि मैले बाँच्नुको कुनै अर्थ देखिनँ । विष पनि किनेर ल्याएँ । सुसाइड नोट पनि लेखेँ । सरसँग कुरा नभएको भए शायद मेरो जीवन अन्त्य भइसकेको हुने थियो ।’

मैले उनीसँग जीवन र जगतका धेरै कुरा गरेँ । सकेसम्म सम्झाएँ । आत्महत्या लिखत लिएर भोलि फेरि भेट्न आउन अनुरोध गरेँ ।

भोलिपल्ट पनि उनी आए । आठ पृष्ठको रहेछ आत्महत्या लिखत । त्यो मैले लिएँ । उनी त्यसपछि म कहाँ आएनन् । अभिभावकको कुनै फोन पनि आएन । मैले लिखतको छायाँप्रति र यो घटनाको विवरण उपकुलपतिको कार्यालयमा बुझाएँ ।

प्राध्यापक बडुक्सको आफ्ना अनुयायीसँग अन्तक्र्रिया गर्ने र उनीहरूका गुनासा सुन्ने कार्यशैलीसँग मैले उल्लेख गरेको प्रसङ्ग पनि मेल खान्छ भन्ने मेरो मान्यता छ । विश्वविद्यालको सफल सञ्चालनका लागि यस्ता दृष्टान्तहरू नजिर बन्छन् ।

किन विद्यार्थीहरू अनुत्तीर्ण हुन्छन् ? यो के भर्ना प्रक्रियाको कमजोरी हो ? कि विद्यार्थीले कक्षा कोठामा पढाएको नबुझेको हो ? कि शिक्षकले पढाउन नजानेको हो ? हरेक घटना या दृष्टान्तले यस्ता प्रश्नहरू सिर्जना गर्छ । यिनका उत्तरले मौजुदा पद्धतिमा सुधार गर्न र आगामी कार्यदिशा तय गर्न सहयोग पुर्‍याउँछन् ।

अहिले काविलगायत केही विश्वविद्यालयमा विशिष्ट पदाधिकारीको चयन गर्ने प्रक्रिया सुरु भएको छ । विश्वविद्यालयले राजनीतिक गतिविधि, लागु पदार्थ दुर्व्यसन, परीक्षाकक्ष र कक्षा कोठाका अनियमित कार्य, शैक्षिक संस्थाभित्र हुने अश्लिल क्रियाकलाप आदिमा शून्य सहनशीलताको रणनीति अख्तियार गर्न सक्ने इच्छाशक्ति उम्मेदवारमा हुनै पर्छ ।

आफूलाई योग्य उम्मेदवारको सूचीमा राख्न चाहनेले प्राडा बडुक्सजस्ता देश विदेशका शैक्षिक संस्थाका कार्यकारीहरूको अनुभवबाट ज्ञान लिनु कल्याणकारी हुनेछ भन्नेमा दुई मत नहोला ।

(लेखक काविका पूर्व सहप्राध्यापक हुन् ।)

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ६ : २९ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न